20121222

नेपालमा शहरिया धुर्बे आतंक : अखण्ड भण्डारीको यो लेख ले कसको मन नछोला र !! तपाईं पनि यो पुरै पढ्न नभुल्नुस है !

भ्वाइस अफ दि भ्वाइसलेस : ध्रुवे !

 
 पुस ७ - कुनै जंगलमा एउटा 'हात्ती' थियो । उसको नाम ध्रुवे थियो । सानैदेखि ऊ चलाख थियो । जुनसुकै दौड वा भिडन्तमा सबैलाई उछिन्थ्यो । आफूभन्दा ठूला हात्ती नै किन नआऊन्, ऊ पछारिदिन्थ्यो । तर, ऊ समझदार थियो । रिस नउठाई झगडामा उत्रँदैनथ्योे । 'तँसँग बल छ ! बुद्धि छ । हिम्मत छ । क्षमता छ', एक
दिन अझ अजङ्गको हात्तीले उसलाई भन्यो, 'मसँग पनि बल र आइडिया छ ।'

'के भो त यी सबथोक भएर ?' ध्रुवेले सोध्यो ।

'हामीजस्तै हात्ती भेला गरौं', उसले प्रस्ताव राख्यो, 'अनि, लुकेर आक्रमण सुरु गरौं । यस जंगलमा शासन चलाइरहेका अरू जनावरलाई सखाप पारौं । अनि, पो शासन गर्न पाइन्छ ।'

'तपाईं मभन्दा ठूलो हुनुहुन्छ', ध्रुवेले भन्यो, 'शासक तपाईं नै हुनुहोला । म त हेरेको हेर्‍यै पर्दिनँ ?'

'म त्यस्तो गद्दार होइन', उसले भन्यो, 'पालैपालो शासन गरौंला ।'

ध्रुवे राजी भयो । हेर्दाहेर्दै केही हात्ती भूमिगत भए । उनीहरूले लुकीलुकी सानातिना जनावरलाई भेला गरे । मायाले सुम्सुम्याए । आफू शासक भएपछि लुटेर होस् वा कुटेर, जसरी भए पनि पेटभरि खान दिने आश्वासन दिए । सर्पदेखि छेपारासम्म, बाघदेखि स्यालसम्म अनि गिद्धदेखि कागसम्म उनीहरूका पछि लागे । जंगलमा आतंकै मच्चियो । शासक पक्षधरसँग घमासान युद्ध भए । मर्ने र मार्ने घटनाले उग्र रूप

लिन थाले ।

अजङ्गको हात्ती र ध्रुवेहरू ओढारमा बसेर निर्देशन दिन्थे । अरू जनावर युद्धमा जान्थे । आफूजस्तै धेरैलाई मार्थे । कति त भिड्न जाने नै मर्थे । जंगलमा रगतको खोलो बग्यो । त्यहाँका खोला र कुलाहरूमा पानीभन्दा रगतै बढी बग्न थाल्यो । पानी रातो भयो । जंगल तातो भयो । शासकको सातो गयो ।

शासकले अजङ्गको हात्ती, ध्रुवे र अरू केहीलाई 'आतंककारी' घोषणा गर्‍यो । उनीहरूको टाउका ल्याउनेलाई ठूलो रकम दिने तय भयो । तर, कसैले भेट्टाएनन् उनीहरूलाई । किनकि, उनीहरूको टाउको खोज्दै नजिक जानेको आफ्नै टाउको नरहने स्थिति थियो ।

ध्रुवेहरूको दबदबा बढ्दै गयो । शासक गल्दै गयो । त्यसैले 'वार्ता' सुरु भयो । धेरै चरणका वार्तापछि ध्रुवेहरू सुँढ बाँधेर बस्न तयार भए । अन्ततः उनीहरू सबै जनावरका बीचमा आए । सबैलाई खान दिने भनिएकाले साना जनावर पनि उनीहरूका पछि लागे । उनीहरू गर्जिंदा भोका मुखबाट 'जिन्दावाद' का समर्थन निकाल्न थाले ।

समय बदलियो । फेरि शासक छान्नुपर्ने भयो । ध्रुवेहरूको समूहले बढी भोट पायो । अभिभावकजस्तो भएकाले उनीहरूका तर्फबाट अजङ्गको हात्ती शासक छानियो । ध्रुवेले पछिपछि साथ दियो । त्यो शासन एक वर्ष पनि टिकेन । अघाउँजी खाने आस गरेकाले दुई गाँस पनि भेटेनन् । अरू जनावरको शासन र हात्तीकामा फरक केही पाएनन् । फेरि नेतृत्व गर्ने जनावर फेरिए । केही जनावरले शासन गरेपछि भाग्यवश पालो आयो ध्रुवेको ।

ध्रुवे अरूभन्दा बाठो थियो । अलि बुद्धि भएको पनि थियो । शासन सम्हाल्नासाथ सिद्धान्त बनायो- पेटभरि फोहोर खानुभन्दा थोरै सफा खानु उत्तम ! त्यसैले खानेकुरा सफा छ/छैन हेराउनतिर लाग्यो । खाना खुवाउने ठाउँमा जाँचकी पठायो । सफा नभएकालाई फालिदियो । खाद्यान्नमा केही दिन 'ध्रुवे आतंक' नै मच्चियो । खराब खाना दिनेहरू थुरथुर भए । तर, बिस्तारै ऊ पनि सेलायो । फेरि पुरानै अवस्था आयो । अझ दुर्गन्धित खानामा पनि कसैको नजर पर्न छाड्यो ।

ध्रुवेले अर्को कुरा पनि सोच्यो- पुराना शासकले मुसादेखि घोडासम्म हिँड्ने बाटो बनाएका रहेछन्, हात्तीलाई चाहिँ खोइ त ? अनि, धमाधम बाटो बढाउन थाल्यो । मान्नेले मानिहाल्छन्, नमान्नेका वासस्थान सुँढले भत्काउन थाल्यो । यसमा भने उसले प्रशंसा पायो । समर्थक मात्र होइन, विरोधीले पनि ढलकढलक ढल्किँदै हिँड्न पाए ।

त्यसबाहेक सबै कुरामा ऊ अरूभन्दा अघि जान सकेन । शासनको स्वाद न हो ! ऊ पनि लट्ठ पर्‍यो । भोकाएका धेरै थिए, उसले केही दिन सकेन । पहिला आश्वासनका पोका बाँडिएका उत्तिकै थिए, उसले चित्त बुझाउन सकेन । उसको पनि विरोध भयो । हटाउनुपर्छ भन्ने आवाज उठ्न थाल्यो ।

त्यस जंगलमा सबैले मान्ने एउटा सिंह थियो । शक्तिशाली भनाउँदा जनावरका प्रतिनिधि त्यही सिंहकहाँ पुगे । सिंहले आदेश दियो, 'जो शासक भए पनि सबैले मान्ने ल्याओ ! अब एक-दुई वटाको समर्थनमा शासक हुन पाउँदैनौं ।'

ध्रुवेले जिकिर गर्‍यो, 'मलाई नै सबैले समर्थन दिनुपर्छ ।'

अरू गर्जिए, 'ध्रुवेलाई तत्काल हटाउनुपर्छ ।'

अरूसँगै ध्रुवेको अग्रज अर्थात् अजङ्गको हात्ती पनि सिंहकहाँ धाउन थाल्यो । उनीहरू सबै मिलेर अर्कैलाई शासक बनाउने निधो गरे । ध्रुवेले धम्की दियो, 'मेरो कुर्सी कसैले छोओस् मात्र, म त लात्तीले हानेर बारीका पाटामा पुर्‍याइदिन्छु ।'

ध्रुवे बिच्कियो । सनक्क सन्कियो । त्यो देखेर अजङ्गको हात्ती र अरू जनावर 'के गर्ने' भनेर अलमलिए । कसैले भने- ध्रुवेले अचाक्ली गर्‍यो, सीधै सिध्याउनुपर्छ । कसैले ठाने- फकाएरै किनारा लाउनुपर्छ । ध्रुवेचाहिँ झन् जब्बर हुँदै गएको छ । ऊ कसैको कुरा नसुन्ने भएको छ । अहिले पनि ऊ कुर्सी अँठ्याएर बसेको छ । न अरूले जाइलागेर खोस्ने हिम्मत गरेका छन्, न ऊ अलिकति गलेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक