20130125

प्रधानमन्त्री बाबुरामले एमाले कङ्रेसका नेता, कार्यकर्ता र पत्रकारलाई गोली हान्न नमान्ने दैलेखका प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई रातारात सरुवा गरे !

माओवादीका कार्यकर्ताले ‘डेकेन्द्र’ बनाइदिने धम्की दिएपछि असुरक्षित बनेका दैलेखका पत्रकारहरूले बिहीबार जिल्ला छोडे
 आफू विरुद्ध प्रदर्शन गर्ने विपक्षी राजनीतिक दलका कार्यकर्तालाई गोली नहानेको र कफ्र्यु नलगाएकामा आक्रोशित बनेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई रातारात सरुवा गरेका छन्। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र डीएसपी शारदाप्रसाद चौधरीलाई रातारात सरुवा गरिएको हो। विपक्षी दलको आन्दोलनलाई रोक्न नसकेको आरोपमा बुधबार राति नै दैलेखका दुई प्रहरी निरीक्षकलाई २४ घण्टे सरुवाको आदेश पठाइएको थियो। सो आदेशपछि प्रहरी निरीक्षकहरू इन्द्रप्रसाद सुवेदी र किरण न्यौपानेले बुधबार राति नै जिल्ला छोडेका थिए। त्यस्तै, डीएसपी शारदाप्रसाद चौधरीले बिहीबार बिहान १० बजे र सीडीओ उमेशकुमार ढकालले १२ बजे जिल्ला छोडेका हुन्। पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणको अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक विनोद शर्माको पनि सरुवा गर्ने तयारी भइरहेको
प्रहरी स्रोतले बताएको छ। पुसको २० गते हत्या प्रकरणको अनुसन्धान अधिकृत तोकिएका शर्माले सोही दिन नै हत्यामा संलग्न लक्षीराम घर्तीसहित ४ जनालाई पक्राउ गरेका थिए। जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रहरी अधिकृतहरूको सरुवा गर्नुमा आन्दोलनको निहुँ बनाइए पनि पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणलाई प्रत्यक्ष प्रभावित पारी हत्यारालाई उम्काउने चालबाजी भएको प्रहरी स्रोतले जनाएको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम प्रहरी कार्यालय नजिकै रहेको जिल्ला विकास समितिको सभा हलमा तय गरे पनि विपक्षी दलको आन्दोलनका कारण सदरमुकाम छिर्न नसकेकाले काँडाचौरस्थित सेनाको ब्यारेकमा गरेका थिए।  सेनाको ब्यारेकभित्रै कार्यालय प्रमुखहरूसँग भेटघाट गरेपछि प्रधानमन्त्रीले सीडीओसँग छुट्टै भेटेपछि सीडीओको मुहार मलिन भएको एक कार्यालय प्रमुखले बताए। उनका
अनुसार प्रधानमन्त्रीले त्यति बेलै सीडीओलाई सरुवा गर्ने धम्की दिएका थिए। कडा सुरक्षाबीच प्रधानमन्त्री सेनाको ब्यारेकबाहिर निस्किनासाथ विपक्षी दलका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी र कालो झन्डा देखाउन थालेपछि गोली हान्ने आदेश दिइएको थियो। प्रधानमन्त्रीको गोली हान्ने आदेशलाई जिल्लास्थित सुरक्षा समितिका सदस्यहरूको आकस्मिक बैठक बसी नकार्ने निर्णय गरेको बुझिएको छ। कडा सुरक्षाका बाबजुद सम्मेलन स्थलमा सहभागी भएलगत्तै उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेकै बेला विपक्षी दलका कार्यकर्ताले ढुंगा प्रहार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रम केही समय बिथोलिएको थियो। त्यतिखेरै प्रधानमन्त्रीले गोली चलाउन आदेश दिएपछि डीआईजी टपेन्द्रध्वज हमालले पनि आदेश गरे, तर सुरक्षाकर्मीले भने अश्रुग्यास र प्लास्टिकका गोली हवाई फायर गरेका थिए। गोलीको सट्टा हवाई फायर मात्र गर्दाको यो परिणाम आएको एक प्रहरी अधिकृतले बताए। ‘सीधै गोली चलाएको भए ठूलो मानवीय क्षति हुने थियो, गोली हान्ने आदेश नमान्दा हाम्रो जागिर २४ घण्टे सरुवामा पर्यो’ –उनले भने।

उता पत्रकार डेकेन्द्रराज थापाको हत्याको छानबिनमा सरुवा प्रकरणले बाधा पुर्याउने भन्दै दैलेखका विपक्षी ६ राजनीतिक दलसम्बद्ध विद्यार्थीहरूले आन्दोलन गरेका छन्। पार्टी सम्मेलनको निहुँमा प्रधानमन्त्री बाबुराम भट्टराई दैलेख आएर सीडीओलगायत सुरक्षा अधिकृतहरूको सरुवा गरेकामा उनीहरूले आपत्ति जनाएका छन्।
एकीकृत नेकपा माओवादीका कार्यकर्ताले ‘डेकेन्द्र’ बनाइदिने धम्की दिएपछि असुरक्षित बनेका दैलेखका पत्रकारहरूले बिहीबार जिल्ला छोडेका छन्। नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाको नेतृत्वमा २२ जना पत्रकारहरू राति सुर्खेत पुगेका छन्।
विस्थापित पत्रकारहरू शुक्रबार सुर्खेतबाट सुरक्षाको माग गर्दै काठमाडौं आउने भएका छन्। एकीकृत माओवादीका कार्यकर्ताहरूले बिहीबार दैलेखका पत्रकारहरूलाई डेकेन्द्रको जस्तै हालत बनाइदिने धम्की दिएका थिए। 

*************
दैलेख आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चर्को विरोधमा उत्रिएका वर्तमान सरकारको बहिर्गमनका लागि आन्दोलनरत विपक्षी राजनीतिक दलका कार्यकर्ता र उनीहरूलाई नियन्त्रण गर्न परिचालन गरिएको ठूलो संख्याका प्रहरीबीच बुधबार दिनभरि नै सदरमुकाममा झडप भएको छ।

विपक्षी दलका कार्यकर्तामाथि सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता पनि जाइलागेका थिए। झडपले दैलेख सदरमुकाम बुधबार बिहानदेखि साँझसम्म तनावग्रस्त बन्यो।

विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रधानमन्त्री भट्टराईलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गर्दै बिहानैदेखि बजार र यातायात बन्दको आ≈वान गर्दै विरोध जुलुस प्रदर्शन गरेका थिए।

प्रधानमन्त्रीले पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा असंवैधानिक कदम चालेको, दण्डहीनताको अवस्था सृजना गरेको र सत्ताकब्जा गर्न खोजेको भन्दै विपक्षी दलहरूले गरेको आन्दोलनलाई दबाउन स्थानीय प्रशासनले सदरमुकाममा व्यापक प्रहरी परिचालन गरेपछि पटक–पटक झडप भएको थियो।

एमाओवादी दैलेखको प्रथम जिल्ला सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री भट्टराईका साथै पार्टी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू दैलेख आएपछि विपक्षी दलका जिल्लास्तरीय नेता कार्यकर्ताहरू विरोध प्रदर्शन गर्दै सम्मेलन स्थलमा पुगेका थिए। त्यस क्रममा एमाओवादी, वाईसीएल कार्यकर्ता र प्रहरीले विपक्षी दलका कार्यकर्ताहरूमाथि आक्रमण गरेका थिए। आक्रमणबाट विपक्षी दलका एक सयभन्दा बढी नेता कार्यकर्ताहरू घाइते भएका छन्।

सम्मेलन उद्घाटन कार्यक्रममा एकीकृत माओवादीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बोल्दै गरेको अवस्थामा विपक्षी दलका कार्यकर्ताहरूले कालो झन्डा देखाउँदै अगाडि बढेपछि सम्मेलनस्थलमा भागदौड मच्चिएको थियो। भागदौडको क्रममा प्रहरीले विपक्षी कार्यकर्तालाई पक्राउ गर्न खोजिरहेका बेला छिमेकी जिल्लाबाट बुधबार बिहान मात्रै २२ वटा बसमा ल्याइएका वाईसीयल कार्यकर्ताले लाठी र फलामका रडले विपक्षी दलका कार्यकर्ताहरूलाई कुटपिट गर्दा २० जनाभन्दा बढी घाइते भएका थिए।

सभा बिथोलिएपछि प्रहरीले ३६ सेल अश्रुग्यास र १२ राउन्ड हवाई फायर गरेको थियो। सम्मेलनस्थलमा माओवादी कार्यकर्ताले एबीसी टेलिभिजनका संवाददातालाई बाहेक अन्य पत्रकारहरूलाई जान बन्देज गरेका थिए। भागदौडका कारण सम्मेलनस्थल करिब आधा घण्टा बिथोलिएपछि प्रचण्डलगायतका नेतालाई सुरक्षा दिन प्रहरी र माओवादी कार्यकर्तालाई हम्मे–हम्मे परेको थियो। प्रहरी र वाईसीएल कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्का, जिल्ला सभापति कृष्ण बीसी घाइते भएका छन्। आक्रमणबाट सो पार्टीका सचिव भूपेन्द्र शाहीको दाहिने हातसमेत भाँच्चिएको छ। कांगे्रसका सहसचिव रेशम सुनारको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई वाईसीयल कार्यकर्ताले सिसाको बोतलले टाउकोमा हानेका थिए।

त्यसै गरी प्रहरीको लाठी प्रहारबाट नेकपा एमाले दैलेखका अध्यक्ष अमरबहादुर थापाको घुँडामा चोट लागेको छ भने सो पार्टीका करिब २५ जना कार्यकर्ता घाइते भएका छन्। विपक्षी दलको विरोध जुलुसलाई रोक्न खोज्दा विपक्षी दलका कार्यकर्ताले हानेको ढुंगा लागी एकीकृत नेकपा माओवादीका पूर्वसभासद् सरस्वती महरालगायत ५ जना कार्यकर्ता पनि घाइते भएका छन्।

बुधबार दिउँसो नै वाईसीएल कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय, दैलेखमा प्रवेश गरी सो कार्यालयका कार्यालय सहयोगी नरबहादुर थापा र शमशेर केसीलाई कुटपिट गरेका छन्। कुटपिट गरी फर्केका वाईसीएल कार्यकर्ताले प्रशासन कार्यालयनजिकै रहेको हाम्रो तेस्रो आँखा दैनिक पत्रिकाको कार्यालयमा पसी तोडफोडसमेत गरेका छन्। वाईसीएल कार्यकर्ताले गरेको तोडफोडको विरोध गर्दै स्थानीय पत्रकारले वाईसीएल कार्यकर्ताविरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीका क्रममा भएको झडपमा माउन्टेन टेलिभिजनका संवाददाता कमल शर्मा घाइते भएका छन्। सो क्रममा वाईसीएल कार्यकर्ताले पत्रकारहरूलाई डेकेन्द्रको हालत बनाइदिने भन्दै धम्की पनि दिएका थिए।

पार्टीको जिल्ला सम्मेलनमा बोल्दै प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली सेनाका कर्णेल कुमार लामा र डेकेन्द्र थापाको मुद्दा उठाएर डलरवालाहरूले शान्ति प्रक्रिया बिथोल्ने प्रयास गरेको आरोप लगाए। उनले भने– ‘डलरमणिहरूले फेरि द्वन्द्वको खेती गरी डलर खान खोजेका छन्।’ उनले विपक्षी दलका आन्दोलनकारीलाई ‘दैलेखी गुण्डा’ भन्दै आक्रोश पोखे।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटेपटि कांग्रेस–एमाले माओवादी सकिन्छ भन्ने भ्रममा थिए भन्दै आउँदो चुनावमा माओवादी झन् ठूलो पार्टी हुने दाबी गरे।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरेको भन्दै आक्रोशित विपक्षी दलका कार्यकर्ताले गणेशचोकस्थित एकीकृत माओवादीको पार्टी कार्यालय तोडफाड गर्नुका साथै फर्निचर र कागजात पनि जलाइदिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक