20130105

बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामा अदालतमा, बेलायती अदालतले जमानतमा रिहा गर्न अस्वीकार, उनी जेल चलान

लामा पक्राउ पछी बिगत युद्ध कालमा मान्छे मार्ने अपराधी माओवादी नेताहरु थर्कमान, आफ्नो पनि पालो आउने डरले बिरोधमा उत्रिएका छन उनीहरु पनि, ढिलो चाँडो हो माओवादी कमरेडहरु तिमीहरु पनि बाँकी रहने छैनौ ! नेपाल त तिमीहरुकै कब्जामा भयो काङ्रेस एमाले र राजाको कुबुद्धी का कारण । तर अन्तराष्ट्रिय नियम, कानुन, अदालतहरुपनी छन है, सरकारी सेनाको अफिसर त बाँकी रहेन भने के तिमीहरु बाँकी रहौला   चेतना भया !  
Updated.....नेपालको द्वन्द्वकालमा युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायती अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ। बीबीसीका अनुसार उनलाई आज वेस्टमिनिस्टर म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराई यातनाका दुई अभियोग लगाइएको थियो। यो फैसलापछि लामाले प्रहरी हिरासतमै बसी आफूविरुद्ध लगाइएका अभियोगको सामना गर्नुपर्नेछ। कर्णेल लामालाई सन् २००५ को अपि्रल र मे महिनामा दुई व्यक्तिलाई यातना दिएको आरोपमा तेस्रो पक्षको उजुरीका आधारमा पक्राउ गरिएको बेलायती प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सुडान मिसनमा कार्यरत् लामा लण्डनमा श्रीमती लक्ष्मी लामालाई भेट्न गएका बेला बिहीबार बिहान पक्राउ परेका हुन् । उनको गिरफ्तारीलाई नेपाल सरकारले आन्तरिक मामिलामाथि गरिएको हस्तक्षेप भन्दै बेलायती सरकारलाई बिरोधपत्रसमेत पठाइसकेको अवस्थामा उनलाई रिहा गर्नुको साटो अदालतमा उपस्थित गराइन लागेको हो । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा–माओवादीसहितका प्रमुख दलहरूले नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई बेलायतले
पक्राउ गरेकोमा विरोध गरेका छन् । एमाओवादीले कर्णेल लामालाई पक्राउ गरेर बेलायतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिवार नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो–’बेलायतले मानवअधिकार उल्लघंनका नाम शान्ति प्रक्रिया बिथोल्न खोज्यो । सात समुन्द्रपारीवाट गरिएको यस्तो षडयन्त्रले डर लाग्दो संकत गरेको छ । यो स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप हामीलाई स्वीकार्य छैन ।’ दोषी ठहरिए उनलाई नेपालकै कानुन अनुसार कारबाहि हुनुपर्ने भन्दै माओवादीले बेलायत उनलार्इ तत्काल रिहाई गर्न माग गरेको छ ।
यस्तै कांग्रेसले शनिबार विज्ञप्ती जारी गरि लामाको अनपेक्षित गिरफ्तारीप्रति गहिरो खेद जनाएको छ । विज्ञप्तीमा भनिएको छ-’प्रमाणित आधार र कुनै सूचना विना तथाकथित यातना दिएको भनी गरिएको गिरफ्तारी स्वतन्त्र र सार्वाभौमसत्ता सम्पन्न मुलुकलाई स्वीकार्य हुन सक्दैन ।’
कांग्रेसले कर्णेल लामालाई तत्काल रिहा गर्न र सुडानसिथत शान्ति मिसनमा पठाउन सघाउन बेलायत सरकारसँग माग गरेको छ । दश बर्षे सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लंघनका मुद्दाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोग बनाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।
वर्तमान सरकारको प्रजातन्त्र र मानवअधिकार प्रतिको दोहोरो मापदण्ड र ढुलमुले नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमा मुलुकको मानवअधिकार प्रतिको प्रतिवद्धतामा गम्भीर प्रश्न खडा हुन गएको कांग्रेसको आरोप छ । विज्ञप्तीमा भनिएको छ-’प्रजातन्त्र र मानवअधिकार प्रतिको सरकारको दोहोरो मापदण्डबाट मुलुकको प्रतिष्ठा र विश्वसनीयतामा समेत आघात पुगेको छ ।’

यसैबीच मोहन बैद्य किरण नेतृत्वको नेकपा– माओवादीले पनि कर्णेल कुमार लामालार्इ पक्राउ गरेकोमा विरोध गरेको छ । ‘हाम्रो पार्टीले यो गिरफ्तारीलाई सार्वभौमसम्पन्न राष्ट्र नेपालमाथिको हस्तक्षेपको रुपमा लिएको छ र बेलायत सरकारको यो कदमको तिव्र विरोध गर्दछ’–प्रवक्ता पम्फा भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
लामा कुनै घटनामा दोषी भए उनीमाथि छानबिन गर्ने काम नेपालको भएको भन्दै लामाको स-सम्मान शिघ्र रिहाइको माग गरेको छ ।
 युद्ध अपराध आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई बेलायती कानुनअनुसार २० वर्षसम्म जेल सजाय हुनसक्छ । यद्यपि, उनीविरुद्ध प्रमाण जुटाउन बेलायतका प्रहरी नेपाल आउनुपर्ने छ ।
नेपालमा यातनाविरोधी कानुन नभएकाले कर्णेल लामाले बेलायतमा सजाय भोग्नुपर्ने अवस्था आएको मानवअधिकारवादीहरूले बताएका छन् । मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बेलायती  अदालतले उनलाई २० वर्षसम्मको कैद सजाय दिनसक्ने बताए ।
उनले भने, ‘नेपालमा जारी १० वर्षे जनयुद्धमा युद्ध अपराध भएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो, पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ, प्रमाणित भए २० वर्ष सम्मको कैद सजाय हुनसक्छ ।’ प्याकुरेलले प्रमाण जुटाउने सिलसिलामा बेलायतका प्रहरी नेपाल आउन सक्ने र त्यतिबेला नेपालले सहयोग गर्नुपर्ने बताए ।
सन् २००५ मा यही प्रकृतिको आरोपमा मुछिएका एक अफगानीलाई २० वर्षको जेल सजाय दिइएको थियो । कानुनविद् डा. युवराज संग्रौला पनि पक्राउ परेका कर्णेलमाथि लागेको आरोप प्रमाणित भए निश्चित रूपमा कारबाहीको भागिदार बन्ने बताउँछन् । केही वर्षअघि त्यस्तै प्रकृतिको घटनामा पक्राउ परेका चिलीका पूर्वराष्ट्रपतिको उदाहरण दिँदै उनले भने, ‘चिलीका पूर्व राष्ट्रपति पिनोसेलाई यस्तै आरोपमा बेलायती प्रहरीले पक्राउ गर्‍यो, घटना प्रमाणित भएपछि उनलाई कारबाही भयो ।’
कर्णेल लामालाई कति सजाय हुन्छ भन्ने अहिल्यै बताउन नसकिने कानुनविद संग्रौलाको भनाइ छ । ‘लामामाथि लाग्न सक्ने मुद्धाको टुंगो नलागी केही भन्न सकिँदैन,’ उनले भने, ‘उनलाई त्यतिकै छाड्न पनि सक्छ, अनुसन्धानबाट दोषी देखाउन पनि सक्छ ।’
मानवअधिकारवादी प्याकुरेल भने कर्णेल लामालाई नेपाल फर्काउन कठिन रहेको बताउँछन् । नेपाल अन्तर्राष्ट्रिय  फौजदारी अदालतको सदस्य नभएकाले लामालाई नेपाल ल्याउन कठिन रहेको उनको तर्क छ । उनले भने, ‘कर्णेल लामालाई नेपाल ल्याउनका लागि सरकारबाटै यस्ता अपराधिलाई कारबाही गर्न यहाँको कानुन सक्षम छ भनी प्रमाणित गर्नु पर्छ । त्यो कठिन कार्य हो ।’
पूर्वपरराष्ट्र मन्त्री तथा परराष्ट्रविद् रमेशनाथ पाण्डे
मलाई लग्छ, कर्णेल लामा पक्राउ प्रकरण फितलो कुटनीति, विफल राष्ट्रिय सुरक्षा र  सरकारको चरम लापरबाहीको प्रमाण हो । संयुक्त राष्ट्र संघीय मिसनमा खटिएका सेनाका बहालवाला कर्णेल बेलायतमा पक्राउ पर्नु गम्भीर प्रकृतिको घटना हो । यसले मुलुकलाई दीर्घकालीन उल्झनमा लग्छ । यस्ता घटनाप्रति सरकार र  राजनीतिक दल गम्भीर भएनन् ।  सेनाका बहालवाला कर्णेल पक्राउ गरेको विषयमा सरकारले झारा टार्नेबाहेक केही पनि कम गरेको देखिँदैन ।  यो घटना सरकारसँग मात्रै सम्बन्धित नभएर राष्ट्रलाई झस्काउने खालको हो । जुन चक्रव्यूहमा नेपाललाई पारियो यसबाट पर्ने दूरगामी उल्झनबाट जोगिन सरकारले कूटनीतिक क्षमता देखाउन जरुरी छ ।  यसबेला  राजनीतिक दलले राष्ट्रिय सोच देखाउन जरुरी छ ।
सरकारद्वारा कडा आपत्ति, बेलायत सरकारलाई विरोधपत्र
परराष्ट्र मन्त्रालयले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गर्ने बेलायती सरकारको कदम गलत भएको भन्दै कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले नेपालस्थित बेलायती राजदूतावासका राजदूत जोन टक्नटलाई मन्त्रालयमा नै हाजिर गराएर विरोध पत्र(प्रोटेस्ट नोट) दियो ।
पत्रमा पक्राउ परेका लामालाई तत्काल रिहा गरी काममा फर्कने वातावरण बनाउन बेलायती सरकारलाई आग्रह गरिएको परराष्ट्र प्रवक्ता अर्जुन थापाले जनकारी दिए । उनले भने, ‘पक्राउ परेका लामालाई तत्काल रिहा गर्न भनेका छौँ, ‘प्रोटेस्ट पत्र’ बेलायती राजदूतलाई दिएका छौँ, बेलायतस्थित नेपाली राजदूतावासमार्फत पनि लामा रिहाइको पहल भइराखेको छ  ।’
पत्र बुझ्दै राजदूत टक्नटले विरोधपत्र सम्बन्धित निकायमा बुझाउने प्रतिबद्धता दिएका थिए  । साथमा उनले कर्णेल लामालाई बेलायती कानुन अनुसार पक्राउ गरिएको र सोही मुताविक प्रारम्भिक अनुसन्धान भइरहेको बताए । पक्राउ परेका लामा तत्काल रिहाइका लागि परराष्ट्रले गरेको कुटनीतिक कदम बारे जानकारी गराउन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेको थियो । सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालस्थित बेलायती राजदूतलाई मन्त्रालयमा नै बोलाएर लामा पक्राउप्रति गम्भीर असहमति जनाइएको बताए । उनले भने, ‘लामा पक्राउ प्रकरण सामन्य विषय होइन, यो सार्वभौम मुलुकको  क्षेत्राधिकार र सिद्धान्त माथिको उपहास हो, यसमा हामीले राजदूतमार्फत बेलायती सरकारको ध्यानाकर्षण गराएका छौँ र लामालाई तत्काल रिहा गर्न भनेका छौँ ।’
लामा पक्राउ प्रकरणले मुलुकको शान्ति प्रक्रिया खतरामा पर्ने  उल्लेख गर्दै श्रेष्ठले भने, ‘उहाँलाई कुनै जानकारीविना नै पक्राउ गरिएको छ, यसमा हामी दु:खित छौँ, यस कदमले तार्किक निष्कर्षमा पुग्न लागेको शान्ति प्रक्रिया खल्बलिन सक्छ ।’ बेलायत सरकारले लामालाई पक्राउ गरे पनि मुद्दा बारे जानकारी नदिएको मन्त्री श्रेष्ठले बताए । सम्मेलनमा उनले कर्णेल लामाले  मानव अधिकार नै उलंघन गरेको भए पनि आवश्यक कारबाहीका लागि नेपाल सक्षम रहेको जानकारी दिए । उनले भने, ‘यातना र हिंसाजन्य मानव अधिकार हननका घटना छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनेको छ र दोषीलाई कारबाही एवं पीडितलाई न्याय दिन पहल भइरहेको छ ।’
यस्तो छ कर्णेल लामामाथिको आरोप
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को प्रतिवेदन अनुसार कपिलवस्तुस्थित सैनिक ब्यारेकमा कर्णेल लामाको कार्यकालमा शिवगढी गाविसका माओवादी कार्यकर्ता विपिन भनिने २५ वर्षीय रेखबहादुर थापालाई बेपत्ता पारिएको थियो । उनलाई २१ मंसिर ०६१ मा गजेहडामा सुरक्षाकर्मीले कारबाही गर्ने क्रममा घाइते बनाएको थियो । नियन्त्रणमा लिइएका थापालाई ब्यारेकमा लगियो र त्यहीँबाट बेपत्ता पारियो । पछि सेनाले उनी भिडन्तमा मारिएको जानकारी दिएको थियो ।
कर्णेल लामाकै कार्यकालमा कपिलवस्तुकै अभिराव गाविसका १८ वर्षीय कान्छा थारूलाई सेनाले गोली हानी हत्या गरेको थिए । १९ मंसिर ०६१ मा मारिएका उनी दिसाबस्न खेतमा गएका थिए । उनी सर्वसाधारण व्यक्ति भएको इन्सेकको प्रतिवेदनमा  उल्लेख छ । २७ चैत ०६० मा कपिलवस्तुकै गजेहडा गाविस–३ की १९ वर्षीया मुना भनिने लक्ष्मी परियार,  दाङकी १८ वर्षीया निशा भनिने कमला थापा र बरकलपुर गाविस–२ की १६ वर्षीया बिमला दर्जीलाई नियन्त्रणमा लिई हत्या गरिएको थियो । पार्टीको काममा दुबिया गाविस जाने क्रममा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो ।
कर्णेल लामाकै पालामा सन् २००४ मा २५  जना सर्वसाधारणलाई माओवादीको आरोपमा हत्या गरिएको थियो  । ०६१ फागुन ६ देखि १२ गतेसम्म सेना र प्रतिकार समूहको नामबाट ३५ जनाको हत्या भएको थियो । त्यसैगरी दर्जन व्यक्तिलाई गैरकानुनी रूपमा गिरफ्तार गरी यातना दिइएको थियो । त्यसबेला न्यायका लागि द्वन्द्व पीडित समाजका केन्द्रीय अध्यक्ष शिवपुर गाविस–१ का ३२ वर्षीय जनक राउतलाई ब्यारेकमा लगी चरम यातना दिइएको थियो । घटना विरुद्ध जिल्ला अदालत कपिलवस्तुमा यातना बिरुद्धको मुद्धा परेपछि अदालतले पीडितलाई ७५ हजार राहत र यातना दिने कर्णेल लामालाई विभागीय कारबाही गर्ने समेतको फैसला सुनाएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक