20130208

काठमाडौंको खुलामञ्चमा बृहत विरोधसभा : प्रचण्डको नयाँ प्रस्ताव नौटंकी, माओवादीले न्यायालयमा खेल्न खोजेको आरोप

विपक्षी कांग्रेस-एमालेसहितका शीर्षनेताहरुले तत्काल सहमतिमा आउन एमाओवादीलाई आहृवान गरेका छन् । आफूहरु अझै सहमतिकै पक्षमा रहेको भन्दै कांग्रेस र एमालेका शीर्ष नेताहरुले सरकार र एमाओवादी तत्काल सहमतिमा नआए आन्दोलनबाटै हटाउने चेतावनी दिएका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन शुक्रबार काठमाडौंको खुलामञ्चमा आयोजित बृहत विरोधसभामा कांग्रेस सभापति सुशील कोइरालाले जिम्मेवार भएर सहमतिमा आउन माओवादीलाई आग्रह गर्नुभयो । ‘राणाहरु गए, पञ्चालय गयो, राजतन्त्र गयो । लोकतन्त्रको विरुद्धमा जोजो उभिए, सबै हराएर गए, बिलाएर गए’ उहाँले भन्नुभयो-’हामी अहिले पनि सम्झाइरहेको छौं, इमान्दारी र जिम्मेवारीका साथ प्रस्तुत हुनुस, अब पनि बुझ्नु भएन र फेरि
सर्वसत्ताको भुत सवार भइराख्यो भने बगाएर लैजान्छ ।’ ‘हामीले २०६२/०६३ को आन्दोलन गर्दा कसैले विश्वास गरेका थिएनन् । गद्दाफीले पनि बन्दुकले समाप्त गरिदिन्छु भनेका थिए । सिरियाका ससादले पनि त्यही सोचिरोखेका छन्, हात हतियारले समाप्त पार्छु भनेर ।’ कांग्रेस सभापति कोइरालाले भन्नुभयो, ‘जसले जनताका हक अधिकार र प्रजातन्त्रसँग खेलबाड गरे, ती आफैं समाप्त भएर गए । अब यो सरकारको पनि ‘काउन्ट डाउन’ सुरु भएको छ ।’ खुलामञ्चको सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष झलनाथ खनालले आफूहरु अहिले पनि सहमतिको पक्षमा रहेको भन्दै माओवादी सहमतिमा नआए आन्दोलनकै बलबाट हटाउने चेतावनी दिनुभयो । ‘हामी अहिले पनि सहमतिकै पक्षमा छौं । हामी अहिले पनि माओवादीलाई आहृवान गछौं, सहमति गरौं, ताजा जनादेशमा जाऔं’ उहाँले भन्नुभयो । खनालले अघि थप्नुभयो-’अछि्यूँ खाएँ, बछि्यूँ खाएँ, झुसे बारुला भन्ने नेपाली उखान नै छ । अहिले बाबुरामको तानशाह देखिएको छ, यो झुसे बारुलोबाहेक केही होइन । यसलाई समाप्त पार्न हामीलाई केहीबेर लाग्दैन । हेटौंडाबाट फर्किएर सबैलाई मान्य हुने सहमतिमा आओस्, हैन भने यो झुसे बारुलालाई खान हामी आन्दोलनको आँधीबेहरी लिएर आउँछौं ।’
सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले सजिलै सत्ता नछाड्ने भन्दै अब दोस्रो चरणको आन्दोलनले माओवादी सर्वसत्तावाद पाखा लगाउने बताउनुभयो । विरोधसभालाई सम्बोधन गर्दै एमाले नेता केपी शर्मा ओलीले माओवादीका सामू सहमतिमा आउने वा समाप्त हुने दुई विकल्प मात्र रहेको बताउनुभयो । ‘माओवादीसामू दुईबाहेक अर्को विकल्प छैन । या त सपि्रनु पर्छ, साँचै शान्तिपूर्ण बाटोमा आउनुपर्छ’ उहाँले भन्नुभयो-’धोका दिन खोज्छौ भने विनासबाहेक अर्को विकल्प छैन । धर्तीको कुनै पनि शक्तिले माओवादीको विनास रोक्न सक्दैन ।’
विरोध सभामा कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष खनाल र नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रचण्डको नयाँ प्रस्तावबारे केही बोल्नुभएन । अन्य नेताहरुले भने स्वीकार्य नभएको बताए ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानन्यायाधीशको प्रस्ताव ल्याएर माओवादीले न्यायालयमा खेल्न खोजेको आरोप लगाउनु भयो । ‘प्रधानन्यायाधीश योग्य हुनुहुुन्छ, त्यसमा कुनै शंका छैन । तर, एउटा पार्टीले उहाँलाई उम्मेदवारका रुपमा सार्न पाइन्छ ?’ उहाँले भन्नुभयो-’उनीहरुको नियत न्यायालयमा हस्तक्षेप गर्ने हो ।’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले स्वतन्त्र व्यक्ति, प्रधानन्यायाधीश माओवादीको पासो मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो-’कहिले स्वतन्त्र व्यक्ति त कहिले प्रधानन्यायाधीशको प्रस्ताव ल्याएर माओवादीले अनेक पासा फाल्ने प्रपन्च मात्र गरेको छ । मुलुकलाई अघि बढ्न रोकिराखेको छ ।’
एमाले महासचिव ईश्वर पोखरेलले प्रचण्डको नयाँ प्रस्तावलाई नौटंकीको संज्ञा दिनुभयो । ‘प्रधानन्यायाधीशको प्रस्ताव नौटंकी मात्र हो । सर्वोच्च निश्पक्ष संस्था हो । तर, माओवादी कुन पार्टी हो, जसले आफ्नो उम्मेदवार जस्तो गरेर प्रधानमन्त्रीको प्रस्ताव गरेको छ ? यो हामी मान्ने पक्षमा छैनौं ।’
विपक्षी दलका नेताहरुले द्वन्द्वकालका घटनामा आममाफी दिन नसक्ने बताएका छन् । सभामा बोल्ने सबै नेताहरुले गम्भीर मानव अधिकार उल्लंघनको घाटनामा दोषीहरुलाई कारवाही गर्नुपर्ने बताए ।
कांग्रेस सभापति कोइरालाले भन्नुभयो-द्वन्द्वकालका घटनामा तपाईहरु आममाफीको कुरा गर्नुहुन्छ, त्यो सम्भव छैन ।’ यस्तै एमाले अध्यक्ष खनालले भन्नुभयो-’द्वन्द्वकालमा घटेको घटना भन्दैमा गम्भीर अपराधमा छुट दिन मिल्दैन । त्यस्ता व्यक्तिलाई दण्डित गर्नुपर्छ ।’ सरकारले अपराधीहरुलाई बालुवाटार र सिंहदरवारमा सेल्टर दिएको भन्दै उहाँले भन्नुभयो-’दैलेखको घटनामा सत्य के हो त्यसलाई निरुपण गर्न बाँकी छैन । हत्यारा जत्थाले पत्रकारलाई जिउँदै गाडेर मारेका हुन् । स्वयंम अभियुक्तले स्वीकार गरिसकेका छन् । अब उनीहरुलाई दण्डित गर्नुपर्छ । बालुवाटारमा लगेर लुकाएर लुक्दैन ।’ एमाले नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि युद्धका नाममा भएका अपराधलाई छुट दिन नमिल्ने बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक