20130214

फेरी प्रचण्डको थाङ्नामा सुते काङ्रेस एमाले र अन्य दलहरु

आखिर राजनीतिक खलनायक प्रचण्डले फेरी पनि बाजी मारे, सन्यास लिए हुन्छ काङ्रेस, एमाले रा.प्र.पा र अन्य दलका नेताहरुले !  
केही दिनको चर्को विवादपछि अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मी नेपालको कार्यकारी प्रमुख बन्ने पक्कापक्की    
केही दिनको चर्को विवादपछि अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मी नेपालको कार्यकारी प्रमुख बन्ने पक्कापक्की भएको छ । यद्यपि एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो केन्द्रीय कमिटीबाट औपचापरिक निर्णय गराउन भोलि बिहानसम्मको समय मागेपछि शुक्रबार दिउँसो मात्रै यसबारे दलहरु औपचारिक सहमतिमा पुग्ने भएका छन् ।बिहीबार राष्ट्रपति कार्यालय शीतनिवासमा भएको प्रमुख दलहरुको बैठकमा नेपाली कांग्रेसका नेताहरुले प्रधान्यायाधीशको राजीनामा विषयलाई गौण बताउँदै माओवादी प्रस्तावमा सहमति जनाएपछि रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ने पक्कापक्की भएको हो । आफ्नो पार्टीबाट
औपचारिक निर्णय गराउन बाँकी रहे पनि एमाले अध्यक्ष झलनाथ खनालसमेत रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिनेबारे सहमत भएको र यसबारे औपचारिक सहमति गर्न मात्रै बाँकी रहेको स्रोतले बतायो । ‘एमाले नेताले पनि रेग्मीलाई मान्ने बताइसकेका छन् । कांग्रेस नेताले सहमति जनाएका छन् । सत्तारुढ दलहरुले आफैं प्रस्ताव अघि सारेकाले रेग्मी कार्यकारी प्रमुख बन्ने पक्का भएको छ ।’-शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो । विपक्षी कांग्रेसका एक नेताले पनि रेग्मीको नेतृत्पमा चुनावमा जान कांग्रेस सहमति भएको बताए । नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने-’हाम्रोतर्फबाट रेग्मीको नाममा सहमति छ, उहाँले प्रधान्यायाधीशबाट राजीनामादिने कि नदिने भन्ने ठूलो विषय होइन ।’ उनले एमालेले समय मागेका
कारण बिहीबार कुनै निर्णयमा नपुगिएको भन्दै एमालेबाट कुनै अवरोध नआए सरकारबारे भोलि सहमति जुट्ने बताए ।
रेग्मी सरकारको स्वरुपबारे टुंगो लगाउन बाँकी
रेग्मीबारे सहमतिमा पुगेका नेताहरुले उहाँलाई प्रधानमन्त्री नभई कार्यकारी अधिकारसहतिको चुनावी परिषद् प्रमुख बनाउने तयारी गरेका छन् । तर, चुनावी सरकारको स्वरुपबारे टुंगो लागिनसकेको नेताहरुले बताएका छन् ।
चारदलको बैठकपछि बिराटनगर पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रेग्मीको नेतृत्वमा चुनावमा जाने पक्का भैसकेको भन्दै सरकारको संयन्त्र कस्तो बनाउने र रेग्मीलाई के कति अधिकार दिने र सरकारमा को-को सहभागी हुने भन्ने प्राविधिक विषयहरुमात्रै टुंगो लाग्न बाँकी रहेको बताउनुभयो । 
चुनाव गर्नासाथ बर्थ डे !
वि.सं २००६ सालमा पाल्पामा ब्राह्मण परिवारमा जन्मनुभएका रेग्मीले ०७० जेठ १५ भित्र निर्वाचन गराउने जिम्मेवारी पाउनुहुनेछ । आफ्नो कार्यकाल सकिएको ३ दिनपछि नै अर्थात् ०७० साल जेठ १८ गते उहाँको ६५औं बर्थ डे परेको छ ।
शान्ता रेग्मीसँग विवाह गर्नुभएका रेग्मीका ३ सन्तान छन् । उहाँको स्थायी घर पाल्पा पोखराथोक गाविस वडा नं ६ हो । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा एमए र कानूनमा बीएल गर्नुभएको छ । रेग्मीको आइए प्रमाणपत्र चाँहि यूपी बोर्ड, भारतको हो ।


प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन मिल्छ कि मिल्दैन भन्नेबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको बैठकमा प्रदीप गिरीले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई विदेशी दलालले मिलाएको बताउँदा बैठकमा केहीबेर हाँसो छायो ।
‘कहिल्यै नमिल्ने शेरबहादुरजी र रामचन्द्रजी कसरी मिल्नुभयो ? विदेशीले अघि सारेको एजेन्डामा तपाईहरुवीच अचम्मैको ध्रुवीरकण पो देखियो त ।’ गिरीले कांग्रेस बैठकमा भन्नुभयो-’तपाईहरुलाई विदेशी दलालले मिलाएजस्तो छ ।’
प्रधान न्यायाधीशको नेतृत्वमा भए पनि बाबुराम सरकारलाई हटाएर चुनावमा जानुपर्ने मतमा देउवा र पौडेलमा एकमत देखिएपछि नेता गिरीले सो एकताप्रति आश्चार्य व्यक्त गर्नुभएको हो ।
वैठकमा उपसभापति पौडेलले निकै लामो मन्तव्य दिँदै आफूले भने जसरी संविधानसभा पुनःस्थापना गरेको भए अहिलेको जस्तो टेक्ने र समाउने अवस्थामा कांग्रेस नपुग्ने बताउनुभएको थियो । देउवाले पनि संविधानसभा पुनःस्थापना गरेको भए ‘टेक्ने न समाउने’ अवस्था नआउने बताउनुभएको थियो । बैठकमा एकैठाउँ बस्नुभएका पौडेल र देउवाको विचार एउटै देखिएपछि गिरीलगायत धेरै सदस्यहरुले अचम्म मानेका थिए ।
कांग्रेसमा नयाँ समीकरणको संकेत
कांग्रेसको पछिल्लो दुईदिने बैठकमा पुरानो समीकरण भत्किने संकेत देखिएको छ । सुशील कोइरालाको निकट रहेका कृष्णप्रसाद सिटौला र डा. मीनेन्द्र रिजालहरुको टिम आलोचित र कमजोर बनेको छ भने बैठकपछि शेखर कोइराला, नरहरी आचार्य, प्रदीप गिरी, गगन थापा, महेश आचार्य, सुजाता कोइराला लगायतका नेताहरु ‘अफेन्सिभ’ देखिएका छन् ।
अहिलेसम्म सुशीललाई सल्लाह दिने नेताहरुले पार्टीलाई एकपछि अर्को असफलतामा पुर्‍याएको आरोप थापा, आचार्य, गिरी, शेरख र सुजाताले लगाएका छन् । कांग्रेसभित्रको यो टिमले सिटौला र मिनेन्द्र रिजालमाथि बढ्ता प्रहार केन्दि्रत गरेको देखिएको छ । स्रोत भन्छ,-’सुशीललाई प्रधानमन्त्री बनाउने जिम्मा लिएर माओवादीसँग वार्तामा खटिएको सिटौलाको टिम माओवादीसँग नतमस्त बनेकाले सभापतिको साख गिरेको निश्कर्ष धेरै नेताहरुले लगाएका छन् । र, यसको दोष सिटौला र रिजालमाथि खन्याइएको छ ।’
दुईदिने बैठकको पछिल्लो दिन शेखर कोइरालाले नेपाली कांग्रेसले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावमा जाने माओवादी प्रस्तावलाई मान्नै नहुने कडा अडान राखेका थिए । शेखरले जस्तै सुजाताले पनि सभापतिलाई बेइज्यत गर्नेहरुले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी दिएकी छन् । स्रोतको विश्लेषण अनुसार गिरी, नरहरी आचार्य, महेस आचार्य र गगन थापा लगायतका नेताहरु कांग्रेसमा जवर्जस्त हाबी हुने संकेत यसपालिको बैठकले देखामा देखिएको छ ।
कोइराला परिवार आक्रामक
कांग्रेसको नेतृत्व यतिबेला सुशील कोइरालाको हातमा भए पनि नेपालगञ्जका सुशील थरलेमात्रै कोइराला हुन् । वीपी र गिरिजाका बंशज एवं नातेदारहरु भने यतिबेला पार्टीमा केही कमजोर भूमिकामा छन् । सुशीलले नोना पुत्र शेखर कोइरालालाई भन्दा कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाललाई बढी सक्रिय गराएका छन् । बाह्रबुँले सम्झोताका बेला गिरिजासँग मिलेर महत्वपूर्ण भूमिका खेलेका शेखरको यसपालि बैठकको प्रस्तुती हेर्दा अब उनी हस्तक्षेपकारी भूमिकामा अगाडि आउन खाजेको देखिन्छ । कांग्रेसमा सबैभन्दा पहिले गणतन्त्रको आवाज उठाउने गगन थापा र शेखर कोइराला यसपालिको बैठकबाट एक मत देखिएका छन् । बैठकको निर्णयको ड्राफ्ट पनि कोइराला र थापा दुबैले मिलेर बनाएका थिए । थापाले अघि सारेको ‘प्रभावशाली नेता को हो’ भन्ने प्रश्न शेखरले पनि उठाएका थिए । कोइराला परिवारका भाञ्जा महेश आचार्यले पनि शेखर र गगनकै भाषा बालेका थिए ।
कांग्रेसको पहलकदमी कोइराला परिवारले आफ्नो हातमा लिनका लागि कमसेकम सुजाता र शेखरवीच एकता जरुरी देखिन्छ । सुजाताको साहस र शेखरको प्राविधिक क्षमताको संयोजन भएमा र गगन थापा लगायतका युवा पुस्ता एवं महेश आचार्यजस्ता अनुभवीहरुको साथ लिएको अवस्थामा कांग्रेसभित्र रामचन्द्र, शेरबहादुर, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत एवं मीनेन्द्र रिजालहरुलाई पछाडि पार्न सकिने विश्लेषण कोइराला निकटस्थहरुले गर्न थालेका छन् ।
तर, शेखर र सुजातावीचको चिसिएको सम्बन्धका कारण कोइराला परिवार तत्काल कांग्रेसमा हावी भैहाल्ने सम्भावना कम रहेको स्रोतको विश्लेषण छ ।
नयाँ टिमको सम्भावना
कोइराला परिवारकै उदय भएन भने पनि कांग्रेसभित्रका राम्रो सम्भावना बोकेका नरहरी आचार्य, प्रदीप गिरी, गगन थापा, महेश आचार्य, शेखर कोइरालालगायतका नेताहरुको टीम अगाडि आयो भने अहिले असफल भैसकेको पुरानो टिमलाई यसले निकै ठूलो चुनौती दिनेमा भने शंका छैन भन्ने कुरो यसपालिको दुईदिने बैठकले राम्रैसित देखाएको केही कांग्रेस नेताहरु विश्लेषण छ । यो वैचारिक टिमले सुजाता र शेखरलाई पनि एक बनाई साथमा लिएर अघि बढ्यो भने अझ सबल हुने उनीहरुको दाबी छ ।

चुनावी सरकारको नेतृत्वबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेको उक्त बैठकमा केही नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउने भएका छन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्व चुनावी सरकार बनाउनेबारे नेतृत्वबीच चर्को विवाद भएपछि स्थायी समितिको बिहीबार बसेको बैठकले शुक्रबार विहान ८ बजे केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । ‘राजनीतिक विषयमा छलफल र आवश्यक निर्णय गर्न भोलि स्थायी समितिको बैठक बोलाइएको छ’-स्थायी समिति सदस्य अमृतकुमार बोहोराले अनलाइनखबरसँग भन्नुभयो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
केन्द्रीय समितिको बैठकमा युवा नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गर्ने तयारी गरेका छन् । ‘दलहरुकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो जोड छ’ केन्द्रीय सदस्य योगेश भट्टराईले अनलाइनखबरसँग भन्नुभयो-’माओवादीले अरुको नेतृत्व मानेन, अब प्रचण्डकै नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव हामी भोलि पेश गर्दैछौं ।’
प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा सचिव शंकर पोखरेल, नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु छन् । आचार संहिताका विषयमा प्याकेजमा सहमति गरेर जेठमा चुनाव गर्ने गर्ने गरी प्रचण्डलाई सरकारको नेतृत्व दिने उनीहरुको प्रस्ताव छ ।
खिलराजलाई रोक्न को-को सक्रिय ?
एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु वर्तमान प्रधानमन्यायाधीश खिलराज रेग्मीकै नेतृत्वमा भए पनि चुनावमा जान तयार छन् । जसमा उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, नेता रघुजी पन्तसहितका नेताहरुले पनि साथ दिएका छन् ।
तर, महासचिव इश्वर पोखरेल र नेता केपी शर्मा ओली कुनै हालतमा खिलराजलाई सरकारको नेतृत्व दिन हुन्न भन्ने अडानमा छन् । ओली र पोखरेललाई खनाल र नेपालका पक्षमा रहेका युवा नेताहरुले समेत साथ दिएका छन् । अध्यक्षसहितका केही नेता खिलराजको नेतृत्वमा भए पनि सहमति गरेर जाउँ भन्ने पक्षमा छन्’ एक नेताले भने-’हाम्रो बहुमत सदस्य खीलराजलाई नेतृत्व दिन हुन्न भन्ने पक्षमा छ ।’
मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा खनालले रेग्मीलाई स्वीकार गर्ने प्रस्ताव राखे पनि नेताहरुले ठाडै अस्वीकार गरेका थिए । उनीहरुले खिलराज समक्षम, पत्रु, लोभी र संविधानसभाको हत्यारा भन्दै सत्तोसराप गरेका थिए । - online khabar



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक