20130323

मुस्ताङ गाडीमा पाइला राख्दा अनिल कपुर देखिएका डा. बाबुराम भट्टराईको अनुहार बालुवाटार छाड्दा अमरीश पुरीसँग मिल्दोजुल्दो देखियो !

- पुष्करलाल श्रेष्ठ 
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई सम्भवतः नेपालको इतिहासमै आमनेपाली जनता, आफ्नै पार्टीका कार्यकर्ता र प्रतिपक्षी दलले समेत ठूलो अपेक्षा राखेका प्रधानमन्त्री थिए। धेरै पढेलेखेको विद्वान्, विगतमा अर्थमन्त्री हुँदा गरेका केही सकारात्मक काम र पार्टीभित्रका अन्य प्रमुख नेतामध्ये बढी लचक र लोकतान्त्रिक देखिएकाले पनि उनीमाथि यति धेरै विश्वास राख्नुलाई अस्वाभाविक मान्ने अवस्था थिएन। डा. भट्टराई १८ महिना १८ दिन प्रधानमन्त्री बनेर सत्ताबाट बिदा भएको पनि आज ९ दिन बितिसकेको छ। सबैतिरबाट धेरै अपेक्षा राखेका प्रधानमन्त्री भट्टराईले आफ्नो डेढवर्षे शासनकाल अत्यन्त सफल रहेको स्वमूल्यांकन प्रधानमन्त्रीबाट हटेकै दिन पत्रकार सम्मेलनमार्फत
सार्वजनिक गरिसकेका छन्। त्यसो त आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने संकेत प्राप्त हुनेबित्तिकै आफूले गरेका १२ वटा राम्रा कामको फेहरिस्त ट्वीटरमार्फत सार्वजनिक नगरेका होइनन्। यसबाहेक गर्न नसकेका सबै कामको दोष उनले राष्ट्रपति डा. रामवरण यादव र सर्वाेच्च अदालतमाथि थोपरिदिएका छन्। किन हो कुन्नि पछि आफैंलाई धेरै काम गरेको सूची पेस गर्न सकिन्न भन्ने लागेर हो कि फेरि केही दिनभित्रै आफ्ना सहयोगी विश्वदीप पाण्डेमार्फत १२ वटा आफूमा कु–प्रचार भएको सूची पनि सार्वजनिक गर्न भ्याए। संयोग मात्र परेको पनि हुन सक्छ, तर डा. भट्टराईको यो दुई प्रकारको १२ बुँुदे प्रचार र कु–प्रचारको सूचीलाई धेरैले भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको ह्याङओभर अंक भनी व्यङ्ग्य गर्न पनि नभ्याएका
होइनन्।

एउटा रमाइलो र अनौठो संयोग नै मान्नुपर्छ डा. भट्टराई पहिले अर्थमन्त्री र पछि प्रधानमन्त्री हुँदा उनले गरेका र गर्ने प्रयास गरेका सबै कार्यशैलीहरू ‘नायक’ नामको हिन्दी चलचित्रका शिवाजी रावको भूमिकामा मुख्यमन्त्रीको अभिनय गर्ने अभिनेता अनिल कपुरको कार्यशैलीसँग काटीकुटी मिलेको देखिन्छ। त्यसो त हाम्रै देशका नेताहरूका कारण नेपालको राजनीति अब शतप्रतिशत भारत र अन्य विदेशीको हातमा पुगिसकेको कुरा स्वयम् नेपालका नेताहरूले सत्ता र प्रतिपक्षमा हुँदा व्यक्त गर्दै आएका छन्। उनीहरूको बोली, वचन र व्यवहारबाटै यो टिप्पणी पुष्टि हुने गरेको छ। भारतमै विद्यावारिधि गरेको र भारतमा भएको १२ बुँदे सम्झौताको पृष्ठभूमिबाट प्रधानमन्त्री बनेकाले पनि हुन सक्छ, उनमा भारतीय ‘फ्लेभर’ देखिएको ¦ देशको साँचो नै विदेशीको हातमा छ भन्ने उदेकलाग्दो अभिव्यक्ति दिने डा. भट्टराई हिन्दी सिनेमाहरूबाट प्रभावित नहुने त झन् कुरै भएन।

हिन्दी चलचित्र ‘नायक’ सन् २००१ मा बलिउड सिने उद्योगले दिएको त्यस वर्षको एउटा सुपर हिट फिचर फिल्म हो। हिन्दी सिने जगत्का सुपरस्टारहरू अनिल कपुर, रानी मुखर्जी, अमरीश पुरी आदि कलाकारहरू अभिनीत शंकरको कथा, पटकथा र निर्देशनमा श्री सूर्य मुभिजद्वारा निर्मित यो चलचित्र धेरै नेपाली दर्शकले पनि हेरेकै हुनुपर्छ। गणतन्त्रको नाममा जसरी नेपालमा अहिले गुण्डाराज चलिरहेको छ, ठीक त्यसकै आभास हुने गरी महाराष्ट्रमा चलिरहेको गुण्डाराजको अन्त्य गर्ने नायकको वरिपरि घुमेको कथावस्तुमा आधारित यो चलचित्रले भारतमा वाहवाही लुटेको डा. भट्टराईले पनि देखेकै हुन्। चलचित्र ‘नायक’ का नायक शिवाजी रावजस्तै पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका डा. भट्टराईले प्रधानमन्त्री हुनेबित्तिकै थालेको कार्यशैली हेर्दा उनले यसबाट प्रेरणा लिएको प्रस्ट हुन्छ।

डा. भट्टराई प्रधानमन्त्री बनेलगत्तै जनताका गुनासा सुन्न र सम्बोधन गर्न ‘हल्लो सरकार’, जनतासँग प्रधानमन्त्री र जनताका घरमा प्रधानमन्त्री, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष रूपमा जनतासँग संवाद गरी उनीहरूको दुःख–समस्याहरू सुन्न थालेपछि यस पंक्तिकारजस्तै अरूलाई पनि नेपालमा अनिल कपुर अर्थात शिवाजी राव जन्मिएको अनुभूति भएको थियो। ‘नायक’ चलचित्रमा महाराष्ट्र प्रदेशका मुख्यमन्त्री शिवाजी राव बनेका अनिल कपुरले जसरी त्यहाँ गुण्डाराजको अन्त्य गरे त्यसरी नै आमनेपालीले पनि डा. भट्टराईले नेपालको विकृति–विसंगति हटाउने सुन्दर भविष्यको सपना देख्न थालिसकेका थिए। हुन पनि अहिले हाम्रो देशमा भइरहेको राजनीति र नेताहरूको क्रियाकलापसँग शतप्रतिशत मिल्दोजुल्दो घटनामा आधारित चलचित्र नायकका मुख्यमन्त्री शिवाजी रावको भूमिकामा अभिनेता अनिल कपुरले राजनीतिको आडमा गुण्डागर्दी शैलीमा महाराष्ट्र प्रदेशमा शासन गरिरहेका मुख्यमन्त्रीको भूमिका निभाएका अमरीश पुरीको पत्तासाफ गर्न विशेष परिस्थितिमा २४ घण्टाका लागि मुख्यमन्त्री बनेका थिए, त्यही अवस्था यहाँ थियो। डा. भट्टराई पनि विशेष परिस्थितिमा प्रधामन्त्री भएकोमा कसैलाई शंका छ जस्तो लाग्दैन।

चलचित्र नायकका नायक अनिल कपुर मुख्यमन्त्रीको पदभार ग्रहण गर्न शपथ लिन जाँदा अलिसान गाडी छोडेर अटोरिक्सामा चढी राज्य भवन पुगेका थिए। सम्भवतः यसैबाट सिकेर नै होला, हाम्रा प्रधानमन्त्री डा. भट्टराई पनि आफू प्रधानमन्त्री भइसकेपछि विद्युत् प्राधिकरणबाट प्राडो गाडी मगाउनुको सट्टा स्वदेशमै बनेको मुस्ताङ गाडी चढेर राष्ट्रपति भवनमा शपथ लिन पुगेका थिए। उता शिवाजी रावले शपथ लिएलगत्तै मुम्बईको अव्यवस्थित सुकुम्बासी बस्ती खाली गराउन पहल गरे, यता हाम्रा डा. भट्टराई प्रधानमन्त्री बनेको केही समयभित्रै पूर्वमेयर केशव स्थापितलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त बनाएर उनीमार्फत काठमाडौंस्थित बागमती किनारको अव्यवस्थित सुकुम्बासी बस्तीलाई हटाएर चोभारस्थित हिमाल सिमेन्ट कारखानामा सार्ने पहल गरे। उता, चलचित्र नायकका नायक अनिल कपुरले मुख्यमन्त्री बनेपछि एकै दिनमा २ हजार ५ सय करोड राजस्व उठाएर देखाएजस्तै यता डा. भट्टराईले अर्थमन्त्री भएकै बेला भीडीआईएस कर नीति ल्याई अर्बाैं राजस्व उठाएर देखाइसकेकै छन्।

उता, नायक अनिल कपुरले टेलिफोनमार्फत जनतासँग प्रत्यक्ष कुराकानी गरी नागरिकका समस्यालाई तत्कालै सम्बोधन गरे, यता डा. भट्टराईले पनि जनतासँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी उनीहरूको गुनासो र समस्या सुन्न ‘हल्लो सरकार’ चलाए। सानो फरक कति मात्र भने, उता फोनबाट गुनासो सुनेअनुसार काम भयो, यता खासै हुन पाएन– चलचित्र र यथार्थ जीवनको फरकले पो हो कि ¦

उता, अनिल कपुरले टेलिफोनमा जनतासँग प्रत्यक्ष संवाद गरेकै भरमा महाराष्ट्रका गुण्डाहरूलाई सखाप बनाए, डनहरू निर्मूल पारे, जुवाका अखडाहरू नष्ट गरे, २४ घण्टाभित्र ४५,५१८ जना भ्रष्ट कर्मचारीहरूलाई कारबाही गरेर बर्खास्त गरी महाराष्ट्र प्रदेशकै नायक बने, यता डा. भट्टराई भने भीरमा अड्केको चिचिण्डो बन्न पुगे। मुस्ताङ गाडीमा पाइला राख्दा अनिल कपुर देखिएका डा. भट्टराईको अनुहार बालुवाटार छाड्दा अमरीश पुरीसँग मिल्दोजुल्दो देखियो। तीन करोड नेपालीका नायक बन्ने अपेक्षा गरिएका उनलाई हिसिला यमीसमेतको सीमित जमातले मात्र नायक मान्यो। डा. भट्टराई भ्रष्टहरूलाई कारबाही गर्नु त परै जाओस्, उल्टो सर्वाेच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइसकेका तत्कालीन माओवादी सभासद् बालकृष्ण ढुंगेलको सुरक्षा कवच बन्दै हिँडे। ढुंगेललाई माफी गराउन आफ्नो मन्त्रिपरिषद्बाट निर्णय गराई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने काम पनि उनैले गरे। हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्या प्रकरणका अभियुक्त भूमिसुधारमन्त्री प्रभु साहको मुद्दा दर्ता रोक्न आफ्ना कानुनी सल्लाहकारमार्फत दबाब दिन लगाई पूरै देशबासीको आलोचित पात्र बन्ने नियति उनको थाप्लोमा आइलाग्यो।

केही बचेखुचेको साख पनि आफ्नै अगुवाइमा १०९ मुद्दाका १ हजार ७ सय १५ जना जघन्य अपराधका अभियुक्तहरूलाई उन्मुक्ति दिलाउन मुद्दा फित्र्ता लिने मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि समाप्त भयो। डा. भट्टराई प्रधानमन्त्री बनेपछि उनीसँगै कुचो–कोदालो लिएर बागमती किनार र काठमाडौं शहर सफा गर्न हिँडेकी प्रधानमन्त्री पत्नी हिसिला यमी देखेपछि उनलाई पनि चलचित्र नायककै अभिनेत्री छिपकलीको भूमिका निभाउने नायिका रानी मुखर्जीमा रूपान्तरित गर्न चाहने नेपाली अन्त्यसम्म आइपुग्दा नराम्रोसँग झुक्किए। काठमाडौं उपत्यकाको ७ नम्बर क्षेत्रबाट अत्यधिक बहुमतमा चुनाव जितेकी हिसिलाबाट उपत्यकाबासीले धेरै अपेक्षा राख्नु स्वाभाविक पनि थियो। उनी चलचित्र नायककी छिपकलीजस्ती अनपढ र गवार पनि होइनन्। तर छिपकलीको भूमिकामा रानी मुखर्जीले जस्तो सहनशीलताको भूमिका निर्वाह गर्न नसक्दा नाम हिसिला भए पनि उनी अन्त्यसम्ममा आइपुग्दा चञ्चलीको रूपमा पनि बाबुरामसँगै बालुवाटारबाट बिदा भइन्।

शान्तिप्रक्रिया, संविधान निर्माण र नयाँ निर्वाचनको मुद्दा बोकेर प्रधानमन्त्रीको कुर्सी सम्हालेका हाम्रा असफल नायकले नयाँ संविधान दिलाउन र निर्वाचन गराउन नसके तापनि उनले आफ्नो १२ बुँदेमा सफलताको सूची मजैले तन्काएका छन्। यद्यपि उनले तन्काएको सूचीमा जनताले पनि सहमतिको चिह्न लगाउने केही बुँदाहरू नभएका चाहिँ होइनन्– माओवादी सेनाका लडाकूहरूको नेपाली सेनामा समायोजन, हतियार व्यवस्थापन, शान्तिप्रक्रियाका लागि गरेका कामहरू, ३५ वर्षदेखि कार्यान्वयन हुन नसकिरहेको सडक विस्तार आदि केही महत्त्वपूर्ण उनका कामहरूलाई भने नजरअन्दाज गर्न सकिँदैन। डा. भट्टराईको प्रारम्भिक अवस्था हेर्दा उनले इमानदारीका साथ शिवाजी राव बन्न प्रयास गरेका भए विहारका मुख्यमन्त्री नितिश कुमारले झैं जनताको वाहवाह लुट्न सक्थे। विहारका मुख्यमन्त्री नितिश कुमारको कार्यशैली हेर्दा उनी पनि ‘नायक’ कै नायक शिवाजी रावसँग धेरै प्रभावित भएका देखिन्छन्। तर यहाँ भने सायद, परिस्थिति उनका चाहनाअनुसार अघि बढेन। नायकमा जस्तै डा. भट्टराईले पनि जनताको अपेक्षाअनुसार अडान लिएर हिम्मतका साथ आफ्नो जिम्मेवारी निभाउन सकेका भए उनको अनुहारमा कसैले पनि अमरीशको आकृति देख्ने थिएन। यद्यपि, उनीबाट अधिक अपेक्षा गरिएका कारण पनि जनता बढी निराश भएका हुन्, तर उनले जे–जति काम गरे त्यो पनि मरुभूमिमा अण्डीको वृक्ष सावित भएको छ। असारतिर हुने भनिएको निर्वाचनमा जनताले उनलाई त्यही वृक्ष हेरेर त्यसकै आकारमा मतदान गरे भनेचाहिँ कसैले आश्चर्य नमाने हुन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक