(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130322

BBC Nepali Service का प्रमुख एबम यथार्थबादी हकी पत्रकार रबीन्द्र मिश्रको यो लेख एक चोटि पढ्नुभएन भने तपाईंले धेरै मिस गर्नुहुनेछ : नेपाल मदर डट कम

( गिरीजाप्रसाद कोइरालाको चौथो बार्षिकीकका अवसरमा मैले उनको मृत्युको लगत्तै उनको राजनीतिका बारे गरेको टिप्पणी। मलाई थाहा छ यसमा सहमति र विमतिहरु हुनेछन् तर सदा झैं भद्र विमतिको सम्मान गर्ने नै छु। : रबीन्द्र मिश्र )
गिरिजाप्रसाद कोइराला २०४६ सालपछिको नेपाली राजनीतिका प्रमूख खलनायक हुन्। २०४८ सालको निर्वाचनपछि कोइराला नेपाली राजनीतिमा हावि भएयता नेपाल राष्ट्र र नेपाली काँग्रेस दुबैले जे जस्तो दुर्दशाको सामाना गर्नुपर्यो त्यसका आधारमा भन्नुपर्दा उनी एकजना पूर्णत: विफल नेता हुन्।

- १८ चैत, २०६६, नागरिक दैनिक
वितेका झण्डै तीन हप्तामा गिरिजाप्रसाद कोइराला र उनीसँग सम्वन्धित विषयहरुका बारे पत्रपत्रिकाहरुमा जेजति लेखियो, त्यसबाट यो स्तंभकार एउटा अनौठौ अन्यौलमा परेको छ। पूर्वाग्रह पटक्कै होइन, बरू दृष्टीभ्रम चाहिँ हुनसक्छ – साराका साराले सिधा देखेको रूखलाई म बाँगो देखिरहेको छु। तर सच्चा लोकतन्त्रवादीहरू विमतिलाई सहजताका साथ ग्रहण गर्छन् र भद्रताका साथ असहमति जनाउँछन् भन्ने विश्वास लिएर यो स्तंभ लेखिरहेको छु।
कोइरालाको मृत्युपश्चात उनी ईश्वर नै थिए भन्न बाँकी राखेर संभव भएसम्मका सबै विशेषण उनका लागि प्रयोग गरिसकिएका छन्। उनी नेपालका महानायक, राजनेता, अभिभावक सबै कहलिए। ज-जसले त्यस्ता विशेषणहरु प्रयोग गरे ती सबैको तर्क के रह्यो भने कोइरालाका कमजोरीहरु नभएका होइनन् तर कुनै पनि ब्यक्तिको उपलब्धिलाई समग्रतामा हेर्नुपर्छ र समग्रतामा हेर्दा कोइराला वास्तमैं महान नेता थिए। जसरी अरुहरूले कोइरालालाई समग्रतामा हेरेर मूल्यांकन गरे, त्यसैगरी मैले पनि उनलाई समग्रतामैं हेरेर मुल्याँकन गर्ने प्रयास गरिरहेको छु। तर म भने उनको भिन्न तस्विर देखिरहेको छु। मेरा लागि गिरिजाप्रसाद कोइराला २०४६ सालपछिको नेपाली राजनीतिका तीन प्रधान खलनायकमध्येका प्रमूख खलनायक हुन्। दोस्रो खलनायक माओवादी अध्यक्ष प्रचण्ड हुन्, जसले नेपाली समाजमा धेरै लामो समयसम्म श्रापका रूपमा रहिरहने गरी हिँसाको संस्कृतिलाई स्थापित गरिदिए। र, तेस्रो खलनायक पूर्वराजा ज्ञानेन्द्र हुन्, जसले लोकतन्त्रलाई सुधृढ तुल्याउन सहयोग गर्नु सट्टा मौका यही हो भनेर त्यसलाई पूर्ण हठका साथ कुल्चने प्रयास गरे। कोइराला वितेर गैइहाले, प्रचण्डलाई पाप पखाल्ने मौका अझै बाँकि छ। पूर्वराजा ज्ञानेन्द्रले भने आध्यात्मिक शुद्दीकरणको बाटो रोजे भने उनको भलो हुनेछ। प्रचण्ड र पूर्वराजाबारे कुनै बेला छुट्टै चर्चा गर्ने समय आउने नै छ, तर अहिलेलाई कोइरालाकै प्रशंगमा फर्कौं।

समग्र मुल्याँकनको आधार, समग्र उपल्ब्धि हुनुपर्दछ। नेताका लागि उपलब्धि भनेको उसको नेतृत्वकालमा उसले नेतृत्व गरेको दल र देशले कुन उचाई चुम्यो भन्ने हो। बाँकि सबै राजनीतिक यात्राका उतार-चढाउ मात्र हुन्। ती उतार-चढाउका क्रममा आएका सैद्दान्तिक परिवर्तनहरु आफैंमा उपलब्धि नहुन सक्छन्। त्यसैले, कोइरालाको सबभन्दा ठूलो देनका रूपमा हेरिएका सैद्धान्तिक परिवर्तनहरू, संविधानसभा र गणतन्त्रलाई अहिले नै उपलब्धी भन्न मिल्दैमिल्दैन। ती अहिलसम्मका लागि नेपालको लामो र दुखद राजनीतिक यात्राका थप दुईवटा घुम्तिमात्र हुन्। दुर्भाग्य भन्नुपर्छ, गत साठी बर्षदेखि नेपाल निरन्तर राजनीतिक संक्रमणमा रहेको छ, जुन क्रममा शासन व्यबस्था, संविधान र सरकारहरु परिवर्तन भए तर देशको मुहारचाहीँ परिवर्तन भएन। ती परिस्थितिले राजनीतिक विश्लेषणका लागि खुराक प्रदान गरे, पुस्तकका पाना भरे, एक-एकवटा कालखण्डमा कसैलाई महान र कसैलाई बेइमान बनाए तर त्यसबाट भोको पेट भरिएन, देशमा शान्ति छाएन, आर्थिक समृद्धी आएन। माओवादीहरूलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि कोइरालालाई ठूलै श्रेय दिइन्छ। पहिलो कुरा, माओवादीहरू राजनीतिक मूलधारमा आए या आएनन् त्यो नै प्रष्ट भएको छैन। दोस्रो कुरा, माओवादीहरूलाई मूलधारमा ल्याउने कुरा त कोइरालाले आफ्नै असफल नेतृत्वका कारण खन्न सघाएको खाल्डो पुर्ने प्रयास गरेका मात्र हुन्। त्यसमा पनि त्यो माओवादीहरूको बदलिएको रणनीति, राजाको हठ, भारतको डिजाइन र अझ बढी राजाप्रति कोइरालाको प्रतिशोधको भावना र देशको प्रथम राष्ट्रपति हुने उनको सपनाको परिणामा थियो। त्यो क्रममा नेपालले मधेशदेखि हिमालसम्म के, के गुमायो, राष्ट्रको आत्मामा कति घात पुग्यो र त्यसको दूरगामि असर के, के हुन्छ भन्ने कुरा बर्तमान नेताहरू पनि कोइराला जत्तिकै स्वार्थि, शक्तिका भोका र विफल भए भने स्वत: प्रष्ट हुनेछ। बर्तमानका नेताहरूले विग्रिएको विगतलाई बनाए भने त्यो भिन्दै कुरा हो, नत्र नेपालको भावि यात्रा अत्यन्त कष्टपूर्ण हुने देखिन्छ, जसको दोष २०४६ सालपछि सबभन्दा बढी शक्तिमा हावी हुने कोइरालालाई दिनुपर्ने हुन्छ। अनिमात्र प्रचण्ड र पूर्वराजा दोषका भागेदार मानिने छन्। त्यसैगरी कोइराला नभैदिएको भए नेपालको गणतान्त्रीक संक्रमण शान्तिपूर्ण हुँदैनथ्यो भन्ने पनि धेरैको भनाइ छ। तर वास्तविकता के हो भने २०६२-६३ को जनआन्दोलन अगाडिको कोइरालाका प्रधानमन्त्रीत्वकालहरू र नेतृत्व सफल भैदिएको भए बर्तमान स्थिति आउँदै आउँदैन थियो, बरू नेपाल शान्ति र विकासको बाटोमा लम्किरहेको हुन्थ्यो। कतिपयले कोइराला नहुँदा शान्ति प्रकृया विग्रिन सक्ने अनुमान पनि गरिहेका छन्। तर वास्तविकता के हो भने, कोइरालाको नेतृत्वमा शान्ति प्रकृया यति असंगत र अवैधानिक ढँगबाट निर्माण भयो कि त्यो विग्रियो भने त्यसको दोष कोइरालाको अनुपस्थितिलाई होइन, उनले त्यसको निर्माणमा जेजति नेतृत्व प्रदान गरे त्यसलाई दिनुपर्ने हुन्छ। शान्ति प्रकृया सफल भयो भने चाहिँ, त्यसको श्रेय बर्तमान नेताहरूलाई दिनुपर्नेछ, जसले असंगत र अबैधानिक विगतका बाबजुद सो प्रकृयालाई सफल तुल्याएको ठहरिने छ।

२०४८ सालपछि गिरिजाप्रसाद कोइराला कयौं पटक देशको प्रधानमन्त्री भए र अधिकाँश समय उनैले नेतृत्व गरेको नेपाली काँग्रेसले या त सत्ताको नेतृत्व गर्यो या त्यो सत्ता साझेदार रह्यो। कोइराला देश र आफ्नो दल दुबैको नेतृत्वमा सदा छाइरहे। त्यसबीचमा राजनीतिमा आएको ब्यापक भ्रष्टता र विफलता, अनि ठूलो हदसम्म त्यसैका कारण तिब्र गतिमा फैलिएको माओवादी हिँसाको दोष अरूलाईभन्दा धेरै बढी कोइरालालाई जानुपर्ने हो। तर धेरैले त्यसको दोष माओवादीलाई मात्र दिनेगरेका छन्। २०४८ सालपछिको प्रजातान्त्रीक राजनीति पथभ्रष्ट नभैदिएको भए माओवादी हिँसाले त्यति सहज मलजल प्राप्त गर्ने नै थिएन। देशको मात्र होइन, कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको हविगत पनि धेरै विग्रियो। २०४८ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको दलको चुनावि नतिजा त्यसपछिका वर्षहरूमा क्रमश: विग्रिँदै गयो, गणेशमान सिँह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको मानमर्दन गरियो, दल नै फुट्यो र हुँदा, हुँदा संविधानसभाको निर्वाचनमा माओवादीहरुबाट नेपाली कांग्रेस त्यति नराम्रोसँग पराजित हुनुपर्यो। माओवादीलाई उचालेर कोइरालाले नेपाली कांग्रेसको प्रमूख प्रतिद्वनद्वी ठानेका एमालेलाई थचार्न खोजेका थिए तर माओवादीबाट आफैँपनि त्यसरी थचारिनु पर्ला भनेर उनले सोचेकै थिएनन्। लोकतन्त्रको पर्यायवाची बनेको दलभित्र बलियोरूपमा स्थापित अलोकतान्त्रीक चरित्रका संरक्षक कोइराला नै थिए। उनले आफ्नो दल बाहिर प्रजान्तन्त्रको राजनीति गरे होलान् तर त्यो राजनीति सधैं व्यक्तिगत महत्वाकांक्षा, प्रतिशोध र ईर्ष्याबाट प्रेरित रह्यो। उनले आदर्शको राजनीति कहिले गरेनन्, जसले गर्दा सिँगो राजनीतिप्रति नै योग्य र इमान्दार मानिसहरुमा वितृष्णा बढ्यो। यदि गत २० वर्षमा नेपाल र नेपाली काँग्रेस दुबैको भलो भैदिएको भए, कोइरालाका सबै दुर्गुणहरु तपशिलका विषय बन्ने थिए र उनका उपलब्धीहरू प्रधान हुनेथिए। त्यसो नभैदिएका कारण, यस स्तंभकारको आँखामा उनको उपल्ब्धि न्युन र कमजोरी प्रधान देखिनगयो।

एकजना राजनीतिज्ञका रूपमा २०४६ सालअगाडि गिरिजाप्रसाद कोइरालाले पंचायतविरुद्ध गरेको निरन्तरको संघर्ष उनको ठूलो योगदान हो। राजतन्त्रबाट गणतन्त्रको जटील संक्रमणलाई शान्तिपूर्ण बनाउनमा उनले दिएको नेतृत्व, उनको ठूलो योगदान हो। तर सो संक्रमणलाई शान्तिपूर्ण बनाउनकै लागि भनेर नेताका रूपमा कोइरालाले अनेक पक्षहरूसँग भटाभट जेजस्ता सम्झौताहरु गर्दै गए तिनका दूरगामी नकारात्मक असरहरुबाट नेपालले धेरै लामो समयसम्म दुख पाइरहने छ। त्यसैले, समग्र मुल्यांकन भनेको घटना विशेषको मुल्यांकन होइन। त्यो सांगोपाँगो परिस्थितिको मुल्याँकन हो। २०४८ सालको निर्वाचनपछि कोइराला नेपाली राजनीतिमा हावि भएयता नेपाल राष्ट्र र नेपाली काँग्रेस दुबैले जेजस्तो दुर्दशाको सामाना गर्नुपर्यो त्यसका आधारमा भन्नुपर्दा कोइराला एकजना पूर्णत विफल नेता हुन्। आफ्नो दल र देश दुबैको शान, सम्मान, शान्ति, प्रगति र अखण्डतामा गहीरो चोट पुर्याएर कोहीपनि नेता महानायक, राजनेता र अभिभावक कहलिनु नपर्ने हो। तर कहलिए, किनभने सबैले सतहमा जे बहेको छ त्यहीमात्र हेरे। किन हेरे? त्यसको उत्तर, तात्कालिक क्षणलाई हेरेर बहने भावनाको भेललाई समयले साम्य पारेपछि स्वत: स्पष्ट हुँदै जानेछ। समग्रतामा फेरी एकपल्ट भनौं, कोइरालाको लम्बे नेतृत्वकालमा यो देश र उनको दल दुबैले दूरगामी क्षति ब्योहोरेको छ। त्यसलाई पुनर्स्थापित गर्न नेपाली कांग्रेस र अन्य दलका नेताहरूले लामो समयसम्म इमान्दार र कठीन परिश्रम गर्नुपर्नेछ। मेरा आँखामा समग्र मुल्यांकन यही हो। विमति राख्‍नेहरूलाई सम्मान गर्ने नै छु।
( मित्र रबीन्द्र मिश्रजी तपाईंको यो लेख वास्तविक यथार्थ हो, यो कसैलाई मन पर्ला या नपर्ला तर ईतिहासमा सुनौला अक्षरले सजिएर रहनेनै छ । तपाईंको यो लेख प्रति नेपाल मदर डट कमको शत प्रतिशत सहमति छ र हामी हाम्रा संसार भरी छरिएर रहेका पाठक का बिच फेरी एक पटक पुन प्रकाशन गरी पुर्याउने जमर्को गर्दैछौं ।: सम्पादक )        

3 comments:

  1. gp and prachand le des lai bigare aba prachand lai heg ma puryanu par6

    ReplyDelete
  2. My best view reflected by this article, I'm indebted to Ramprasad n Rabindraji.
    Pitambar Acharya
    Surkhet campus

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक