20130321

अध्यक्ष दाहालले विज्ञप्ती जारी गर्दै तत्कालिन राज्यले फसाउनका लागि झुटा मुद्धा तयार गरि यातना दिएको भन्दै ढुंगेलको बचाउ गरे

एमाले पोलिट्व्यूरो सदस्य रामचन्द्र झाले पार्टी परित्याग, लोकमानसिंह कार्कीको नियुक्तिबारे नेकपा एमालेमा नेताहरुबीच चर्काचर्की

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा बालकृष्ण ढुंगेलको संलग्नता नरहेको बताएका छन् । अध्यक्ष दाहालले विज्ञप्ती जारी गर्दै तत्कालिन राज्यले फसाउनका लागि झुटा मुद्धा तयार गरि यातना दिएको भन्दै ढुंगेलको बचाउ गरेका छन् । ढुंगेल दुई दशक
भन्दालामो समय देखि आफ्नो पार्टीको जुझारु यूवा नेता रहेको दाहालले उल्लेख गरेका छन । उनले पछिल्ला केहि दिन देखि नागरि कारवाही गर्ने भन्दै मानवअधिकारवादी र नागरिक आन्दोलनका नाममा शान्तिविरोधी गतिविधि बढेको आरोप लगाएका छन् । ‘द्धन्दकालमा घटेका घटनाहरुको छानविनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने निर्णय र मुद्धा सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा ढुंगेललाई नागरिक कारवाही गर्ने भन्ने सडक नाटक अदालतको भावना विपरीत छ,’ विज्ञप्तीमा भनिएको छ ‘यो सिंगो शान्तिविरोधी प्रक्रिया पनि हो ।’

नेकपा एमालेका पोलिट्व्यूरो सदस्य रामचन्द्र झाले पार्टी परित्याग गरेका छन् । आज बिहान १० बजे जनकपुरबाट फ्याक्समार्फत पार्टी कार्यालयमा राजीनामापत्र पठाएर झाले एमाले परित्याग गरेका हुन् । लामो समय कम्युनिष्ट आन्दोलनमा बितेकाले एमाले परित्याग गरेपनि कम्प्युनिष्ट विचारभन्दा बाहिर भने आफु नरहने झाले स्पष्ट पारेका छन् । राज्यको पुनर्सरचना र संघीयताका बिषयमा संसदीय समितिले गरेको निर्णय विपरीत पार्टी गएको, संविधान सभा पुनस्र्थापनामार्फत विगतमा गरेको त्रुटी सच्याउनुका साटो फेरी अर्काे निर्वाचनको बाटो रोजेको भन्दै झाले पार्टीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । पार्टी कार्यालयमा पठाएको राजीनामा पत्रमा उनले भनेका छन्, ‘मेरो संयोकत्वमा रहेको समितिले संघीयताका बारेमा गरेको निर्णय विपरीत पार्टी अगाडि बढेकाले मेरो अगाडि राजनीतिक नैतिकताका प्रश्न उठेको छ । पार्टीले अस्वीकार गरेपनि समितिले गरेको निर्णयप्रति मेरो स्वामित्व रहेकाले म पछाडि हट्न सक्दैन ।’ पार्टी राजनीतिक र संगठनात्मक रुपमा कमजोर बन्दै गएको र पार्टीभित्र ठेकेदार, दलाल र आर्थिक चलखेलमा संलग्नहरुलाई महत्व दिन थालिएको आरोप झाको छ । पार्टीभित्र ईमान्दार र असल कार्यकर्तालाई पन्छाएर आफुलाई मनपर्ने कार्यकर्तालाई जिम्मेवारी दिने नेतृत्वको व्यबहारले सधैं संगै जान सकिने अवस्था नरहेकाले कठोर निर्णय लिन बाध्य भएको झाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिबारे नेकपा एमालेमा नेताहरुबीच चर्काचर्की भएको छ । बिहीबार स्थायी समितिको बैठकको सुरुमा नै नेताहरुबीच भनाभन भएपछि बैठक बस्दै नबसी स्थगित भएको छ ।
 
वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली लगायतका नेताहरुले कार्कीलाई अख्तियार प्रमुख बनाउने सिफारिस नसच्याएसम्म बैठकअघि बढ्न नसक्ने बताएपछि अध्यक्ष खनालले बोल्न नपाउँदै उपाध्यक्ष वामदेव गौतमले प्रतिवाद गरेका थिए ।
 
अध्यक्ष झलनाथ खनालले पनि कार्कीलाई अख्तियार प्रमुख बनाउने विषयमा सहमति भइसकेकाले फिर्ता नहुने बताए । “दलहरुबीच सहमति भइसकेको छ, अब विरोध गर्नुको अर्थ छैन” खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने, “कार्कीलाई अख्तियार प्रमुखमा स्वीकार गरौं अब बाँकी विषयमा हाम्रो रणनीति बनाऔं ।” खनालकोको भनाइ वरिष्ठ नेता नेपालले तत्काल प्रतिवाद गरे ।
 
“पार्टीलाई व्यक्तिगत ढंगले सञ्चालन गर्न पाइन्न” नेपालले खनालको जवाफमा भने “नीति विधि र मूल्य मान्यता विपरीत जाने हो भने व्यक्तिले होइन अब पार्टीले निर्णय गर्छ ।” उपाध्यक्ष वामदेव गौतमले अनुशान आयोगका अध्यक्ष अमृतकुमार बोहराले निकालेको वक्तव्य व्यक्तिगत भएको भन्दै पार्टीले प्रष्ट पार्नुपर्ने बताएपछि झन विवाद चर्किएको थियो ।
 
अनुशासन आयोगका अध्यक्ष बोहराले उपाध्यक्ष वामदेव गौतमका कारण बिहीबारको बैठक बस्न नसकेको र त्यसको मुख्य जिम्मेवार अध्यक्ष झलनाथ खनाल भएको आरोप लगाए । बिहानै रामचन्द्र झाको राजीनामाले सबैलाई दुःखित बनाइरहेको थियो, ओएनएससँग नेता बोहराले भने “वामदेव जीले आफुले गरेको सहमति पार्टीले मैले निकालेको विज्ञप्ति व्यक्तिगत भन्न थालेपछि वातावरण असामान्य भयो ।”
 
स्रोतका अनुसार गौतमले अनुशासन आयोगको विज्ञप्ति बोहराको व्यक्तिगत भनेपछि बोहराले त्यसो भए अनुशासन आयोग पनि मेरो निजी कम्पनी हो ? भनेर प्रश्न गरेका थिए ।
 
अध्यक्ष खनालले आफुसँग किन छलफल नगरेको त भन्दै गौतमको बचाऊ गरेपछि ओलीले बोहराको पक्ष लिएका थिए । अध्यक्ष खनाल र उपाध्यक्ष गौतम माओवादीका पछि लागेको भन्दै नेपाल ओली लगायतका नेताहरुले कडा आलोचना गरेका थिए । नेताहरुबीच करिव ३ घण्टासम्म कार्कीका विषयमा नै चर्काचर्की भएको थियो ।
 
आजको बैठकमा चुनावमा केन्द्रित भएर हिजो तय गरेको एजेण्डामा छलफल हुने भनिएको थियो । हिजोको स्थायी समितिले संविधानसभाको दोस्रो चुनावलाई केन्द्रित गरेर १४ वटा एजेण्डा तय गरेको छ । बैठक अब सोमबार बस्ने भनिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक