20130304

"रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ला भन्ने मलाई विश्वास छैन ।" : कांग्रेस सभापति सुशील कोइराला

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरे आन्दोलनको आँधीबेहरी ल्याउने माओवादीचेतावनी
 शीर्ष बैठक चटक्कै छाडेर सुदुर पूर्वी नेपालको पहाड चढ्नुभएका कांग्रेसका सभापति सुशील कोइरालाले सोमबार पाँचथर पुगेर भन्नुभयो-’रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ला भन्ने मलाई विश्वास छैन ।’ मंगलबार ताप्लेजुङको फुङलिङमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाने क्रममा सभापति कोइरालाले आज पाँचथर सदरमुकाम फिदिममा पार्टी कार्यकर्ताहरुसँग केहीबेर कुराकानी गर्नुभयो । दुई दिनदेखि झापामा रहनुभएका कोइराला गाडीको बाटो भएर आज इलाम र पाँचथर हुँदै ताप्लेजुङतिर लाग्नुभएको हो । फिदिमस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्तासँगको जमघटमा सभापति कोइरालाले रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव एमाओवादीले न्यायपालिकालाई कमजोर बनाउने उद्देश्यले ल्याएको बताउनुभयो । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउँदा न्यायापालिका प्रभावित हुने उहाँले बताउनुभयो । प्रधानन्यायधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनेबारे प्रमुख चार राजनीतिक दलहरु घनिभूत छलफलमा जुटे पनि फागुन २४ अगावै सरकार बनाउने या २४ पछि बनोउने भन्नेमा विवाद देखिएको छ । तर, २४ पछिमात्रै सरकार गठन गर्नुपर्छ भन्ने मतमा नेपाली कांग्रेस एक्लो भएको छ । स्रोतका अनुसार एमाले
नेताहरुसमेत २४ गते अगावै रेग्मी नेतृत्वको सरकार बनाउनुपर्छ भन्ने लाइनमा आएका छन् ।
‘मेरो विचारमा एमालेको वार्ता टोलीमा आवद्ध नेताहरु फागुन २४ अगावै रेग्मी नेतृत्वको सरकार गठन होस् भन्नेमा हुनुहुन्छ, ताकि २४ गते अदालतले आदेश दिनासाथ रेग्मीले प्रधानन्यायाधीश पदबाट राजनिामा गर्नुपरोस् ।’- नेकपा एमालेका एक नेताले  भने-’प्रधानन्यायाधीशले राजीनामा दिएरमात्रै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने एमालेको अडान रहेकाले २४ अगावै सरकार गठन भए अदालतको फैसलापछि उनले राजीनामा गर्नुपर्ने हुन्छ र उनको नेतृत्वमा चुनावी सरकार पनि बन्छ ।’
प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री नबनाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता भरत जंगलमले हालेको रिटमाथि फागुन २४ गते विशेष इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । उक्त इजलासले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न नदिने एमाले नेताले ठोकुवासमेत गरेका छन् । ‘रेग्मीको पक्षमा फैसला आउने सम्भावना छैन । यो अन्तरिम संविधान रहेसम्म त्यस्तो फैसला आउँदैन ।’- एमाले नेताको दाबी छ ।
एमाओवादीले बाधा अड्काऊ फुकाएर बाबुराम नेतृत्वको सरकार लम्ब्याउने दाऊ खोजिरहेको आरोप लगाउँदै एमाले नेताहरुले भट्टराईले सरकार छाडेपछि र नायँ सरकार बन्ने सुनिश्चित भएपछि मात्रै बाधा अड्काऊ फुकाउने अडान राखेका छन् ।
नेपाल किांग्रेसका सभापति सुशील कोइराला सर्वोच्चको फैसला नआई रेग्मीको नेतृत्वमा सरकार बनाउन नहुने अडानमा उभिँदा २४ अगावै शीर्ष तहमा ठोस सहमति हुने सम्भावना नदेखिएको कांग्रेस स्रोतको दाबी छ । केन्द्रीय कार्यसमितिको बैठक वीचैमा रोकेर झापामा दलित संगठनको अधिवेशन उद्घाटन गर्न पुग्नुभएका कांग्रेस सभापति कोइराला राजधानी र्फकनुको साटो सोमबार ताप्लेजुङ जाने कार्यक्रम रहेको छ ।
स्रोत अनुसार कार्यदलको छलफलमा एमालेको अडानका कारण ढिलाइ भएको थियो भने अहिले शीर्ष तहमाछलफल हुँदा एमाले नेताहरु फागुन २४ अघि सरकार बनाउन सहमत भए पनि नेपाली कांग्रेसका सभापति राजधानी बाहिर गइदिनाले समस्या परेको हो । आइतबार बालुवाटारमा आयोजित छलफलमा नेपाली कांग्रेसका सभापतिको अनुपस्थितिका कारण उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल लगायतको मात्र सहभागिता थियो ।
नेपाली कांग्रेसले जस्तै राष्ट्रपतिले पनि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्णय गरिहाल्नुभन्दा २४ गते पछि मात्रै प्रक्रिया अगाडि बढाउनु संविधानसम्मत् हुने तर्क गरिरहेको स्रोत बताउँछ ।
नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द बिप्लवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनुभएको छ । उहाँले अन्य दललाई बाइपास गरी प्रमुख चार दलले एकलौटी निर्णय गरेर प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाए मुलुकमा भयाबह स्थिति उत्पन्न हुने वताउनुभयो । क्रान्तिकारी पत्रकार महासंघले रुपन्देहीको बुटवलमा सोमवार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बिप्लवले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन भए आन्दोलनको आधिवेहरी सुरु हुने वताउनुभयो । उहाँले मुलुकमा जारी संकट समाधानका लागि भन्दै गैरराजनीतिक व्यक्तिलाई सरकार प्रमुख बनाउने काम विदेशीको इशारामा भइरहेको आरोप लगाउनु भयो । बिप्लवले आफ्नो पार्टी दलहरुभित्रैवाट चुनावी सरकार गठन गर्नु पर्नेमा पक्षमा रहेको वताउनुभयो ।
उहाँले नेपाली काँग्रेसले राजनीतिक सहमतिका लागि पहल कदमी लिन नसकेको वताउनुभयो । बिप्लवले प्रजातान्त्रिक शक्तिहरुको नेतृत्व गर्ने काँग्रेसले क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरेर अघि बढ्नका लागि कुनै भिजन ल्याउन नसकेको टिप्पणी गर्नु भयो । उहाँले एमाओवादीले काँग्रेसलाई भुलभुलैयामा पारिसकेको वताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक