20130423

प्रचण्डका राजनीतिक गुरु एवं नेतासमेत रहनुभएका वैद्य प्रचण्डको मूल्यांकन गर्दै भन्नुहुन्छ- ‘उहाँ दोहोरो भूमिका खेलेर दुनियाँ झुक्याउन माहिर हुनुहुन्छ, उहाँको कामै यही हो र उहाँले सबैलाई यसै गर्नुहुन्छ ।’

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादी अध्यक्ष प्रचण्ड दुनियाँलाई झुक्याउन माहिर व्यक्ति भएको बताउनुभएको छ । एक समय प्रचण्डका राजनीतिक गुरु एवं नेतासमेत रहनुभएका वैद्य एमाओवादी अध्यक्ष प्रचण्डको मूल्यांकन गर्दै भन्नुहुन्छ- ‘उहाँ दोहोरो भूमिका खेलेर दुनियाँ झुक्याउन माहिर हुनुहुन्छ, उहाँको कामै यही हो र उहाँले सबैलाई यसै गर्नुहुन्छ ।’ प्रचण्डको मूल्यांकनबारे अनलाइनखबरले राखेको जिज्ञासामा वैद्यले थप्नुभयो- ‘तर, अब उहाँले झुक्याउन सक्नुहुन्न, उहाँलाई सबैले चिनिसके ।’‘म जेलबाट छुटेर आएपछि पनि केही समय ठिकै होला भनेर विश्वास गरें । त्यसबेला मलाई परिस्थिति बुझ्न अलिकति समय लाग्यो । साथीहरुलाई प्रचण्डले यसरी लडेर नजितिने भो, अब काठमाडौं जाऔं र विद्रोहबाट सत्ता लिनुपर्छ भन्नुभयो । तर, यता आएर विस्तारवादी शासक वर्ग र खासगरी कांग्रेस र एमालेसँग घुँडा टेक्नुभयो ।’ वैद्यको थप विश्लेषण छ – ‘हामी संसदीय व्यवस्थामा आउने भयौं, तपाईहरु विश्वास गर्नोस् भनेर उता ठिकठाक पार्नुभएछ । फेरि हामीतिर आएरचाँहि यही तरिकाले राज्यसत्ता कब्जा गर्ने हो भन्नुभयो ।”प्रचण्डजीले यति ठूलो धोका दिनुहोला भन्ने लागेको थिएन । मैले त यस्तो परिकल्पनै गरेको थिइँन ।’ माओवादी नेता वैद्यको गुनासो छ- ‘अलिअलि कमीकमजोरी त मान्छेमा हुन्छ, तर उहाँ त यसरी
बदलिनुभयो कि उहाँ त जे पनि गर्न सक्नुहुनेरहेछ । वास्तवमा उहाँ यति अविश्वसनीय पात्र हो कि उहाँ जे पनि गर्न सक्नुहुन्छ ।’
आफूले विश्वास गरेको र लगानी गरेको चिजप्रति बढ्ता विश्वास गरिने र अपेक्षा पनि गरिने वैद्यको तर्क छ । प्रचण्डलाई नेता बनाउन आफूले त्यस्तै लगानी गरेकाले विश्वास र अपेक्षा गरेको उहाँले अनलाइनखबरलाई बताउनुभयो । ‘हामी आफैंले उहाँलाई नेता बनाएको हो । त्यसैले हामीले प्रचण्डलाई बढ्ता विश्वास गर्यौं । जसप्रति बढी लगानी भएको छ, त्यहाँ बढी विश्वास गरिन्छ र त्यहाँबाट अलिकति अपेक्षा पनि गरिन्छ । यसअर्थमा हामीले उहाँलाई विश्वास गरेका थियौं ।’- वैद्य भन्नुहुन्छ, ‘प्रचण्ड, म, बादलजी, गौरबजी र देव गुरुङ्गजी हाम्रो लामो टिम हो, हामीले टिममा काम गरेका हौं । बाबुरामजीलाई पार्टीमा ल्याउनुपर्छ भनेर हामीले नै भनेका हौं । त्यसपछि हामीले बाबुरामजीलाई ल्याएका हौं ।’
माओवादी अध्यक्ष वैद्यले अब खिलराज रेग्मीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि नरहेको र कारण पनि नभएको दाबी गर्नुभयो । अब रेग्मीजीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि छैन, कारण पनि छैन । यही भएर उहाँहरु आन्दोलनमा जान्छौं भन्न थालिसक्नुभयो ।’ उहाँले भन्नुभयो । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव दक्षिण (भारत) बाट आएको र यसको सर्जक डा. बाबुराम भट्टराई भएको वैद्यको विश्लेषण छ । ‘हामीले सुनेअनुसार यो प्रस्ताव दक्षिणतिरबाट बाबुरामजीमार्फत आएको हो । प्रचण्डजीले थाहा पाइसकेपछि आफूलाई अझ बढी नजिक देखाउनका लागि उहाँले आफैं मुभ गर्नुभयो ।’ वैद्यको भनाइ छ- ‘पहिले यसबारे कांग्रेस र एमालेलाई पनि थाहा थिएन र शुरुमा उनीहरुले विरोध गरे । तर, पछि दक्षिणबाट आएको थाहा पाएपछि चुप लागे ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक