20130408

नेकपा–माओवादीसहितका ३३ दलले सरकारका विरुद्ध पुनः आन्दोलनका कार्यक्रम घोषणा, राप्रपा नेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदलाई नपुंशक र कठपुतलीको संज्ञा दिए

नेकपा–माओवादीसहितका ३३ दलले सरकारका विरुद्ध पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आज बसेको ३३ दलको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले वर्तमान सरकारको खारेजी र दलीय सरकारको माग समेत गरेका छन् । प्रमुख चार राजनीतिक शक्तिबीच भएको ११ बु“दे सहमति तथा २५ बु“दे बाधा अड्काउ फुकाउ आदेशको विरोध गर्दै आएका उनीहरुले आइतबार नेपाल बन्द आह्वान समेत गरेका थिए । चैत–३० गते विभिन्न पक्षसग अन्र्तक्रिया गर्ने, वैशाख–४ गते देशका प्रमुख शहरमा विरोध सभा गर्नेलगायतका कार्यक्रम रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । उनले यथाअवस्थामा चार शक्ति र सरकारसंग वार्ता नगर्ने पुरानो अडान पुनः दोहराईन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदलाई नपुंशक र कठपुतलीको संज्ञा दिएका छन् । उनले रेग्मी नेतृत्वमा सरकार गठन हुनु आफूहरुको चाहना अनुरुप भए पनि चारदलको सिफरिसमा मन्त्री नियुक्त गरिएकाले नपुंशक र कठपुतली भन्दा अरु केही हुन नसकेको बताए । सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्नका लागि दवाव दिन सुरु गरिएको हस्ताक्षर कार्यक्रमको आज पोखरामा सुरुवात गर्दै उनले वर्तमान सरकारले चुनाव गर्न नसक्ने वताए । निर्वाचन प्रयोजनका लागि कार्य गर्न खटिएका कर्मचारीले लिएका ल्याप्टपको सुरक्षा गर्न नसक्ने सरकारले चुनाव गर्ला भनेर आफूले
सोच्न समेत नसक्ने थापाले बताए । ‘असारमा निर्वाचन नहुने त निश्चित भयो,’ उनले, ‘मंसिरमा पनि यो सरकारले चुनाव गर्ला जस्तो छैन ।’
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले २०७० साल मंसिर भित्र संविधानसभाको अर्को निर्वाचन गर्ने दायित्व दिएको बताएका छन् ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १ सय ५८ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेशलाई देखाउँदै रेग्मीले चैत १ गते दलहरु बीच मंसिर भित्र निर्वाचन गर्ने सहमति भएको उल्लेख गरेका छन् ।
काठमाडौंमा आज ‘मदन भण्डारी फाउण्डेशन’ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘संवैधानिक प्रावधानले मूलतः वर्तमान अवस्थामा प्राथमिकताका साथ सम्वत् २०७० साल मंसिरभित्र अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व वर्तमान सरकारमाथि राखेको छ ।’ असार पहिलो साता निर्वाचन गर्ने भनाई आईरहेका बेला अध्यक्ष रेग्मीले मंसिर भित्र निर्वाचन गर्ने बताएका हुन् ।
उनले यथासम्भव उक्त अवधिभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकार भरमग्दुर प्रयत्नशील र कटिबद्ध रहेको बताए । ‘यो सरकार गठनको मूल उद्देश्य पनि त्यही नै हो,’ उनले भने, ‘बिना तयारी निर्वाचन हुने होइन ।’
नागरिकता वितरणदेखि मतदाता नामावली संकलनको कार्य सम्पन्न गर्नुपर्ने र कानूनी व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे ।
‘विधि, प्रक्रिया, र अन्य व्यवस्थापकीय कार्य सुनिश्चित नगरी त्यसै हुन्छ भन्दैमा निर्वाचनको काम हुने होइन,’ अध्यक्ष रेग्मीले भनेका छन्, ‘तसर्थ यसका लागि कार्य सम्पन्न हुने गरी नै तिथि मिति तोकिनु बाञ्छनीय हुन्छ भने मलाई लाग्दछ ।’ उनले विगतको तितो अनुभवले पनि यही कुरालाई ईङ्गित गरेको बताए ।
रेग्मीले दलहरुको सक्रिय र इमान्दारीपूर्ण सहयोगबिना सरकारले मात्र चाहेर निर्वाचन सुनिश्चित हुने नहुने बताए । उनले चुनावका लागि उचित वातावरण बनाउन दलहरुबीच संवाद र छलफललाई सक्रियतापूर्वक अघि बढाई छिटोभन्दा छिटो निर्वाचन प्रक्रियालाई गति दिन दलहरुलाई आव्हान गरे ।
‘निर्वाचन सरकारको एकमात्र उद्देश्य हो र सोही दिशामा सरकारका सबै प्रयासहरु केन्द्रित भएका पनि छन्’ उनले भने, ‘सरकारलाई निर्वाचनको मिति घोषणा गरियोस् भन्दै समयसापेक्ष माग र आवाजहरु आइरहेका छन् ।’
उनले निर्वाचनको कार्यक्रमप्रति कुनैपनि राजनीतिक दल, संघ, सङ्गठन, समुदायले विरोध गर्न नहुँने बताए । उनले मतदाता नामावली संकलनमा सम्पूर्ण राजनीतिक दललगायतलाई सहयोगात्मक वातावरणका लागि आव्हान गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक