20130408

प्रचण्डको एजेण्डामा पछी लागेर एमाले लाई ध्वस्त बनाउँदै, माओवादीकरण गर्दै लगेको आरोप पार्टी भित्रै बाट लागि रहेकै बेला झलनाथको उदघोस

“अब एमाले चाँडै ठूलो पार्टी बन्नेछ, एमालेले सबै वाम विचारधारा राख्नेहरुसँग एकता पहल सुरु गरेको छ, अबको केही घण्टामा चमत्कारी परिवर्तन हुनेछ ।” : झलनाथ खनाल
अध्यक्ष झलनाथ खनालले अब एमाले चाँडै ठूलो पार्टी बन्ने बताए । पार्टी छाडेकालाई घर फर्काइँने र साना वाम दलसँग एकता गरी एमालेलाई ठूलो पार्टी बनाउँने अध्यक्ष खनालको भनाइ छ । सोही कार्यक्रममा अध्यक्ष खनालले एमाले वाम घटक दलहरुसँग औपचारिक रुपमा एकताको पहल भएको बताए । उनले भने “एमालेले सबै वाम विचारधारा राख्नेहरुसँग एकता पहल सुरु गरेको छ, अबको केही घण्टामा चमत्कारी परिवर्तन हुनेछ ।” यसैबीच एमालेले पार्टी छाडेकालाई घर फर्कन सार्वजनिक अपिल गरेको छ । एमालेको पार्टी प्रवेश तथा एकीकरण सम्बन्धी कार्यदलले पार्टी छाडेकालाई घर फर्कन आज सार्वजनिक रुपमा लिखित अपिल गरेको हो । पार्टी कार्यालय बल्खुमा पार्टी अध्यक्ष तथा शीर्ष नेताहरुको उपस्थितिमा पत्रकारसम्मेलन गरी कार्यदका संयोजक महासचिव ईश्वर पोखरेलले उक्त अपिल गरेका हुन ।  एमालले पार्टी छाडेर गएका नेताहरुलाई पार्टीमा फर्किन लिखित पत्र पठाउँने बताएको छ । त्यस्तै वाम विचार राख्ने अन्य दलहरुलाई पनि एकताको लागि लिखित
पत्र पठाइने छ ।  

  अपिलको पूर्णपाठ 
  नेकपा (एमाले)
पार्टी प्रवेश तथा एकीकरण सम्बन्धी कार्यदलको
अपिल
मुलुक अभूतपूर्व राजनीतिक सङ्कटमा फँसिरहेको, आन्दोलनका उपलव्धिहरू धरापमा पर्दै गएको र राष्ट्रियता समेत जोखिममा परिरहेको तथा मुलुक संविधानसभाको नयाँ निर्वाचनतिर उन्मुख भइरहेको वर्तमान सन्दर्भमा राष्ट्रले सही र प्रभावशाली राजनीतिक नेतृत्वको खोजी गरिरहेको छ । सबै खाले हिंसाको विरोध र समाजको शान्तिपूर्ण रूपान्तरणमा विश्वास गर्ने, सबै खाले अधिनायकवादको विरोध र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध, सामाजिक–आर्थिक रूपान्तरण र अग्रगामी परिवर्तनको संवाहक तथा सामाजिक सद्भाव र राष्ट्रिय हितको पक्षमा अविचलित रूपमा उभिन सक्ने राजनीतिक शक्तिले मात्रै यस्तो सङ्कटबाट मुलुकलाई अग्रगामी निकास दिन सक्छ भन्ने कुरा स्पष्ट छ ।
 
हाम्रो पार्टी नेकपा (एमाले) आफ्नो स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादका निम्ति सम्झौताहीन सङ्घर्ष गर्दै आएको तथ्य नेपाली जनतामा स्थापित छ । पार्टीको सहभागिता तथा नेतृत्वमा सञ्चालित सङ्घर्षकै बलमा आज नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यथार्थप्रति हामीलाई गौरववोध छ । पार्टीले अवलम्वन गरेको जनताको बहुदलीय जनवादको सहीपना समकालीन राजनीतिमा स्थापित हुँदै गएको कुराप्रति हामीलाई गर्व छ ।
 
परन्तु, विगत संविधानसभा निर्वाचनबाट प्रतिकूल शक्ति सन्तुलन कायम हुनु र हिंसा, अधिनायकवाद र निषेधको मान्यता बोकेको एकीकृत नेकपा (माओवादी) पहिलो शक्तिको रूपमा अगाडि आउनुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र संविधानसभाबाट संविधान निर्माण गर्ने काम सम्पन्न हुन सकेन । नवउदारवादी मान्यता र यथास्थितिवादी राजनीतिक चरित्र भएका शक्तिबाट परिवर्तनका भावलाई बोक्न र माओवादी अतिवादको सही प्रतिवाद हुनु संभव थिएन । सत्ता केन्द्रित अवसरवाद र भोगबिलासमा डुबेका क्षेत्रीय दलहरूबाट सङ्क्रमणकालको सफल व्यवस्थापनमा रचनात्मक भूमिकाको अपेक्षा नै गर्न सकिंदैनथ्यो । फलतः शान्ति प्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पु¥याएर सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने हाम्रो पार्टीको प्रयासले बाञ्छित सफलता प्राप्त गर्न सकेन ।
 
संविधानसभा विघटन भएर मुलुक चौतर्फी सङ्कटमा धकेलिएको यस घडीमा मुलुक फेरि संविधानसभाको दोस्रो निर्वाचनका सम्मुख उभिएको छ । संविधानसभाको यो निर्वाचन राष्ट्रियता, सामाजिक सद्भाव, मुलुकको बहुलवादी संरचना तथा आन्दोलनका उपलव्धिको संरक्षणका लागि निर्णायक अग्निपरीक्षाका रूपमा रहेको छ ।  शान्तिपूर्ण परिवर्तन, लोकतन्त्र, सामाजिक न्याय  र राष्ट्रिय एकताको संवाहक नेकपा (एमाले) कमजोर हुँदा कसरी हिंसाका पक्षधर, अधिनायकवादका हिमायती, परिवर्तन विरोधी र विखण्डनका शक्तिहरू बलियो हुँदा रहेछन् भन्ने कुरा समयक्रमले स्पष्ट पारिसकेको छ । त्यसैले परिवर्तनलाई संस्थागत गर्न, राष्ट्रिय एकतालाई सुनिश्चित गर्न र स्वाधीनता र समृद्धिको दिशामा मुलुकलाई अगाडि लैजान नेकपा (एमाले) वैचारिक हिसाबले मात्रै होइन, भौतिक र सङ्गठनात्मक हिसाबले पनि राष्ट्रको पहिलो शक्ति बन्नु र राष्ट्रिय राजनीतिको नेतृत्वमा स्थापित हुनु अपरिहार्य छ ।
 
यस सन्दर्भमा, पार्टी केन्द्रीय कमिटीको भावना अनुसार गतः माघ ३, २०६९ मा सम्पन्न स्थायी कमिटीको ९९ औं बैठकले ‘विगतमा पार्टीबाट अलग हुनुभएका नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्काउन तथा अन्य पार्टीका जनता, राष्ट्र, लोकतन्त्र र जनमुखी परिवर्तनका पक्षधर नेता कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउन’ औपचारिक आह्वान गर्ने निर्णय गरिसकेको र यसका लागि महासचिव कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा सचिव कमरेडहरू युवराज ज्ञवाली र शंकर पोखरेल  सदस्य रहनुभएको कार्यदल समेत गठन गरेको जानकारी गराउन चाहन्छौं । यसबीचमा कार्यदलले आफ्नो दायित्व अनुसारका विभिन्न तयारी, छलफल र पूर्वाधारलाई अगाडि बढाएको छ । 
 
इतिहासको यस गंभीर घडीमा, हाम्रो पार्टी विगतमा पार्टीमा सक्रिय भएर महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका तर विभिन्न नीतिगत, व्यवहारिक या परिस्थितिजन्य कारणले बाहिरिएका, निष्क्रिय रहेका या भ्रमवश विभिन्न समूहमा अल्झिन पुग्नुभएका सबै कमरेडहरू र मित्रहरूलाई हार्दिक अपिल गर्दछ– आउनुहोस्, आफ्नै पुरानो घर नेकपा (एमाले) मा फर्कनुहोस् र पार्टीलाई बलियो बनाउँदै राष्ट्र, जनता र परिवर्तनको प्रवाहलाई सुनिश्चित बनाउन सक्रिय भूमिका खेल्नुहोस् । अन्य पार्टीमा आवद्ध साथीहरूलाई पनि पार्टी आग्रह गर्दछ–  नेकपा (एमाले)मा आवद्ध भएर शान्ति, लोकतन्त्र, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियता सम्वद्र्धनको यो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुहोस् । आजसम्म कुनै दलसँग आवद्ध नरहेका तर आफ्नो निष्ठा, विशेषज्ञता र भूमिकाद्वारा समाजमा सकारात्मक योगदान दिइरहनुभएका स्वतन्त्र व्यक्तित्वहरूलाई पनि समाज परिवर्तनका लागि सङ्गठित शक्ति र सामूहिक क्रियाशीलता आवश्यक छ भन्ने यथार्थ वोध गर्दै नेकपा (एमाले)मा आवद्ध हुन हामी आह्वान गर्दछौं । पार्टी यहाँहरूलाई न्यानो स्वागत गर्न र योग्यताअनुसारको जिम्मेवारी दिन तत्पर रहेको व्यहोरा समेत जानकारी गराउँछौं । 
 
यसका साथै शान्ति, लोकतन्त्र र परिवर्तनका पक्षधर वामपन्थी समूहहरूलाई सार्थक वार्ताद्वारा सहकार्य, एकता र पार्टी एकीकरणको प्रक्रियामा सहभागी हुन नेकपा (एमाले) औपचारिकरूपमा आमन्त्रण गर्दछ । आउनुहोस्, मुलुकलाई यस अभूतपूर्व सङ्कटबाट निकास दिन परिवर्तनका पक्षधर शक्तिलाई बलियो बनाऔं र समाजको शान्तिपूर्ण रूपान्तरण, सामाजिक न्यायसहितको लोकतन्त्र, बहुपहिचानसहितको सङ्घीयता र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताका आधारमा संविधानसभाबाट नयाँ संविधान निर्माण गर्दै समृद्ध नेपालको जनआकाङ्क्षालाई साकार पारौं !
 
२०६९ चैत्र २६ 
 ईश्वर पोखरेल
संयोजक

नेकपा एमालेले आफ्ना पूर्वनेता राधाकृष्ण मैनाली र देवीप्रसाद ओझालाई पार्टीमा फिर्ता ल्याउने तयारी थालेको छ । 
radhakrishna-mainali मैनाली र ओझालाई पार्टीमा भित्र्याउन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा टोलीसमेत खटिइसकेको छ । यसबारे अनलाइनखबरले राखेको जिज्ञासामा पूर्वएमाले नेता मैनालीले भन्नुभयो- ‘मैले एमाले छाडेको हैन, एमालेले मलाई लात्तले हानेर निकालेको हो ।’
आफूलाई एमालेमा फर्काउनेबारे आफूले पनि चर्चामात्रै सुनेको तर यसबारे कुनै प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो । ‘मलाई किन एमालेबाट निकालिएको थियो र अहिले कुन मकसदका लागि भित्र्याउन खोजिएको हो ?’ मैनालीले भन्नुभयो-’मलाई कुन भूमिका दिन खोजिएको छ, चिठी आयो भने थाहा होला । अहिले नै केही बताउन थाल्दा एमालेमा पस्न हौसिएजस्तो हुन्छ ।’
‘एमाले राजावादी कि, म राजावादी ?’
शाही शासनकालमा मन्त्रीसमेत भई जनआन्दालनेपछि एकीकृत माओवादकिा केन्द्रीय सल्लाहकार बन्नुभएका मैनालीले आफूभन्दा बढ्ता राजावादी एमाले नै रहेको आरोप लगाउनुभयो । ‘मैले राजा र माओवादकिो वीचमा एमाले पुल बन्नुपर्छ भनेर पत्रिकामा दुईचार वटा लेख लेख्दा मलाई राजावादी भएको आरोप लगाउँदै पार्टीबाट निकालियो । मलाई कारवाही गरेको केही महिनामै प्रतिगमन आधा सच्चियो भन्दै एमाले शाही सरकारमा गयो ।’ उहाँले भन्नुभयो- ‘मैले राजालाई सघाउन गएको थिएँ, उनी राजा बनेका बेला मैले दाम राखेर ढोगिँन ।’
एमाले, राजा वा माओवादी जहाँ रहँदा पनि आफूले इमान्दारितापूर्व काम गरेको मैनालीको दाबी छ । ‘एमालेमा मैले पार्टीको हितमा काम गरें, तर मलाई लात्तले हानिर निकालियो । राजालाई पनि स्वच्छ हृदयले सघाएँ, उनले मेरो कुरा मानेनन् ।’ मैनालीले अनलाइनखबरसँग भन्नुभयो-’माओवादीमा पनि इमान्दार भएरै सल्लाह दिन खोजें, तर उनीहरुले पनि मेरो सल्लाह लिएनन् ।’
‘जातीय राज्य चित्त बुझेन’
एमाओवादीको केन्द्रीय सल्लाहकार भएता पनि हेटौडा महाधिवेशनमा सहभागी नबन्नुभएका मैनालीले यतिबेला एमाओवादी नेताहरुसँग आफ्नो सम्पर्क हुन छाडेको बताउनुभएको छ । ‘पहिले पहिले त सल्लाहको कोसेली पुर्‍याउँथें, त्यो कोसेली खाए खाएनन् थाहा छैन ।’ उहाँले भन्नुभयो- ‘अहिले उनीहरुले पनि खोजिनीति गरेका छैनन्, म पनि लुरुक्क परेर जाने कुरा भएन ।’
एमाओवादीमा लागे पनि उनीहरुले आफूलाई कुनै भूमिका नदिएको मैनालीले गुनासो गर्नुभयो । तर, पार्टीले जातीय राज्यको वकालत गरेपछि आफूलाई त्यस्तो विचार मन नपरेको उहाँको भनाइ छ । ‘जब एमाओवादीले जातीय राज्यको कुरा गर्न थाल्यो, त्यसपछि मलाई पार्टीमा भूमिका चाहियो भन्न पनि मन लागेन ।’ मैनालीको थप भनाइ छ-’म एमाओवादीमा जान्छु भनेर गएको हैन, प्रचण्ड, बाबुराम र वैद्यले हामीसँगै एउटै कमिटीमा बसिदिनुपर्यो भन्दै रामचन्द्र झालाई जस्तै आश्वासन दिएर लगेका हुन् ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक