20130409

आर्थिक वर्ष २०६९/०७० को लागि कूल ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाखको पूर्ण आकारको समायोजित बजेट !



अर्थमन्त्री शंकरप्रसाद कोइरालाले चालू आर्थिक वर्ष २०६९/०७० को लागि कूल ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाखको पूर्ण आकारको समायोजित बजेट प्रस्तुत गरेका छन् । यसअघि दुई पटक प्रस्तुत भएका पूरक बजेटलाई समेत समेटेर अर्थमन्त्री कोइरालले मंगलबार पूर्ण बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये चालुतर्फ २ खर्ब ७९ अर्ब १ करोड १२ लाख अर्थात ६८ दशमलव ९२ प्रतिशत र पुँजिगत खर्चतर्फ ६६ अर्ब १३ करोड ४६ लाख अर्थात १६ दशमलव ३४ प्रतिशत छुट्याइएको अर्थमन्त्री कोइरालाले जानकारी दिए । वित्तिय व्यवस्था अन्तर्गत ५९ अर्ब ६७ करोड ८८ लाख अर्थात १४ दशमलव ७४ प्रतिशत रहेको अर्थमन्त्रीले बताए । कुल बिनियोजन बजेटमध्ये २ खर्ब ८९ अर्ब ६० करोड ५० लाख राजश्वबाट व्यहोरिने उनको भनाइ छ । उनले भने, “साँवा फिर्ताबाट ४ अर्ब ३९ करोड ५० लाख र बैदेशिक अनुदानबाट ४६ अर्ब ९८ करोड ९२ लाख खर्च व्यहोर्दा रु ६३ अर्ब ८३ करोड ५४ लाख ६० हजार न्यून हुने अवस्था छ । यो न्यून पुर्ति गर्न बैदेशिक ऋणबाट २५ अर्ब ८३ करोड ५४ लाख ६० हजार र आन्तरिक ऋणबाट ३८ अर्ब जुटाइनेछ ।” बजेटमा निर्वाचनका लागि ६ अर्ब र निर्वाचन सुरक्षाका लागि ८ अर्ब गरी कुल १४ अर्ब बजेट बिनियोजन गरिएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कोइरालाले भने, “वर्तमान सरकारको प्रमुख उद्देश्य संविधानसभाको स्वतन्त्र, निष्पक्ष र विश्वसनिय निर्वाचन गराउनु नैं रहेकोले निर्वाचनका लागि ६ अर्ब बिनियोजन गरेको छु । साथै निर्वाचनमा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउन रु ८ अर्ब बजेट छुट्याएको छु ।”
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको राष्ट्रिय विकास परिषद्को हलबाट बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कोइरालाले आगामी दुई वर्षभित्र देश सिमेन्टमा आत्मनिर्भर हुने बताए ।
 
उनले भने, “आगामी दुई वर्षभित्रमा मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर रहने हुँदा सिमेन्ट उद्योगका लागि पहुँच मार्ग, विद्युत प्रसारण लाइन सरकारको तर्फबाट निर्माण गर्ने नीतिलाई निरन्तरता दिएको छु ।”


सरकारले एकैदिन आठ अध्यादेश स्वीकृतिका लागि मंगलबार राष्ट्रपति रामवरण यादवसमक्ष पठाएको छ। दुई पटकसम्म बसेको मन्त्रिपरिषद बैठकले पठाएमध्ये बजेटसम्बन्धी विनियोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश मंगलबार साँझै राष्ट्रपति रामवरण यादवले स्वीकृत गरे।
नेपाल नागरिकता ऐन २०६३ मा पहिलो संशोधन अध्यादेश, निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, निजामती सेवा ऐन तेस्रो संशोधन, स्वास्थ्य सेवा ऐन चौथो संशोधन अध्यादेश र रेल्वे सेवा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन्। यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारले पठाएको ९ अध्यादेश पनि राष्ट्रपति कार्यालयमै थन्किएका छन्।
मंगलबार सरकारले पठाएकोमध्ये नागरिकतासम्बन्धी ऐन संशोधन अध्यादेशमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ। निर्वाचनसम्बन्धी अध्यादेशमा मिति, मतदातालगायत केही कानुनी अड्चन हटाइएको छ।
पहिला फिर्ता आएर पुनः पठाइएको निजामती सेवा ऐन अध्यादेशमा ऐनको दफा २४ घ अनुसार स्वतः बढुवा भएकालाई पदोन्नति भएको पदमा काम लगाउने व्यवस्था छ। अहिले स्वतः बढुवा भएका ठूलो संख्याका कर्मचारीलाई तल्लो पदमा काम लगाइएको छ।
मंगलबार पहिलोपटक बसेको बैठकले बजेटसम्बन्धी तीन, नागरिकतासम्बन्धी र नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जनाए।
दोस्रोपटक बसेको बैठकले अघिल्लो सरकारले पठाएर फिर्ता आएका अध्यादेशलाई फेरि पारित गरेको थियो। 'ती अध्यादेश अहिलेको सरकारले पारित गरी जारी गर्न नमिल्ने भएकाले फिर्ता लिइएको हो,' गौतमले भने, 'दोस्रो बैठकले तिनै फिर्ता भएका अध्यादेशलाई पुनः पारित गर्यो ।'
सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएलगत्तै संविधानसभा निर्वाचन मिति घोषणा गर्न केही वातावरण बनेको छ। यी अध्यादेशसँगै सरकारले संविधानसभा निर्वाचनसम्बन्धी ऐन पहिलो संशोधन अध्यादेश भने पठाउन सकेन। 'थ्रेस होल्ड', फौजदारी अभियोग लागेकाले निर्वाचनमा भाग लिन नपाउने, उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण पेस गर्नुपर्ने, धरौटीलगायत विषयमा केही राजनीतिक दलबाट विरोध आएकाले यो अध्यादेश तत्काल नपठाइएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक