20130410

सुबिधाभोगी काङ्रेसीहरुको त्रिबेणीमा बिजोग, महा समिती बैठक हो कि विवाह मेला हो छुट्याउन सकिएन भन्छन काङ्रेसकै नेता कार्यकर्ता !

नवलपरासी । मधेसको हपहपी गर्मीमा खान, बस्न, सुत्न र दिशा-पिसाब गर्नसमेत असहज भएपछि आधाभन्दा बढी कांग्रेस प्रतिनिधिहरु महासमिति बैठक छाडेर घर फर्केका छन् । यसरी बैठक बहिस्कार गर्नेहरुमा कार्यकर्तादेखि केन्द्रीय सदस्यसम्म छन् । बैठकमा बुधबार दिउँसोसम्म बचेका प्रतिनिधिहरुले पनि
बैठकको व्यवस्थापन फिलतो एवं अव्यवस्थित भएको आरोप लगाएका छन् । महासमिति बैठकको तयारीका लागि मात्रै २० लाखभन्दा बढी खर्च गरिएको बताइए पनि खान र बस्ने प्रवन्ध राम्रो नभएको गुनासो महासमिति सदस्यहरुले गरेका छन् । १२ औँ महाधिवेशन भएको साढे दुई वर्षपछि पहिलोपटक बसेको महासमिति बैठकको व्यवस्थापन असाध्यै साह्रै झूर भएको गुनासो गरेका छन् । महासमिति बैठकको तयारी एवं खाना र बस्नको व्यवस्थापन राम्रो नगरिएको भन्दै महासमिति बैठकमा सहभागी हुन आएका ६० प्रतिशत सदस्यहरु वीचैमा घर फर्किएका हुन् । बन्दसत्रमा सहभागीमध्ये बुधवारसम्म ६० प्रतिशत महासमिति सदस्यहरु घर फर्केका छन् । सप्तरीका जीतबहादुर श्रेष्ठले भन्नुभयो- ‘हरेक वर्ष एकचोटि बस्नुपर्ने महासमिति बैठक झण्डै तीन बितेपछि बसेको छ । त्यो पनि धार्मिकस्थलमा । न राम्रो सुत्ने व्यवस्था छ न खाने नै ।’ श्रेष्ठले भन्नुभयो-’महासमिति बैठक किन धार्मिकस्थलमा गरेको हो, त्यो मैले बुझ्न
सकेको छैन ।’
प्रतिनिधिहरु सुत्ने ठाउँ पनि अव्यवस्थित रहेको र भेडाबाख्रा जसरी राखिएको भन्दै उहाँले थप्नुभयो- ‘एउटै टेन्टभित्र थुप्रै मान्छे राखिएको छ । न नुहाउन पाइएको छ, न दिसापिसाब गर्ने राम्रो ठाउँ नै छ ।
काँग्रेस काठमाण्डौ सचिव प्रचण्डदेव मानन्धरले पनि व्यवस्थापन फितलो भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, बैठकस्थलचाहिँ ठीक छ, तर व्यवस्थापन भने राम्रोसँग गरिएको छैन । ठूला नेता त राम्रो खाना खान र बस्न राम्रा सुविधासम्पन्न होटलमा बस्ने तर कार्यकर्ताको मर्का पनि त बुझ्नु पर्यो नि ?’ उहाँले यातायातको व्यवस्था पनि राम्रो नभएको ठाउँमा बैठकस्थल राखिएकाले पनि कार्यकर्तालाई कठिनाइ भएको बताउनुभयो ।
गोरखा क्षेत्र नम्बर १ का महासमिति सदस्य चिनकाजी श्रेष्ठको पनि यस्तै गुनासो छ । उहाँ भन्नुहुन्छ- ‘एक हप्ताको तयारी हो भन्ने सुनेको हुँ । व्यवस्थापन झुर रहेछ ।’ खाने र बस्ने व्यवस्था अलावा वन्दसत्र हलको व्यवस्थापन पनि राम्रो र व्यवस्थित नभएको गुनासो उहाँको छ ।
विवाह समारोहजस्तो बन्दसत्र !
प्रायःजसो बन्दसत्रमा गोप्य छलफल गरिन्छ । हलभित्र उठेका विषय बाहिरसम्म नजानेखालको व्यवस्था मिलाइएको हुन्छ । तर, काँग्रेसको गजेन्द्रमोक्ष धाममा जारी बन्दसत्र भने एउटा टेन्टले मात्रै बेरेर बनाइएको छ । बन्दसत्रको हलमा चलेका वादविवाद एवं त्यहाँ महासमिति सदस्यले राखेका कुराहरु बाहिर प्रष्टै सुन्न सकिन्छ । हलको व्यवस्थापन हेर्ने हो भने कुनै विवाह समारोह चलिरहेको जस्तो अनुभूति हुन्छ ।
सहधागी १३ सय ८० महासमिति सदस्यहरु सबै एकैचोटि हलमा बस्दा नअटाउने र बस्नका लागि कुर्सी समेत नपुगेको गुनासो महासमिति सदस्यले लगाएका छन् ।
पत्रकारको प्रश्न- कांग्रेसको सञ्चार नीति के हो ?
यस्तै बैठकको समाचार संकलनका लागि बैठक कक्ष र मिडिया सेन्टरको व्यवस्था अव्यवस्थित भए्रको गुनासो पत्रकारहरुले गरेका छन् । मिडिया सेन्टरका लागि ४ लाख रुपैयाँ छुट्टाइएको भनिए पनि दुइवटा फोल्डिङ खाटबाहेक अरु कुनै राखिएको छैन । यस्तै इन्टरनेटको वाइफाइ सुविधा दिइएको भए पनि इन्टरनेट नचलेको आरोप पत्रकारहरुले लगाएका छन् । ४ लाख रुपैयाँ मिडिया सेन्टरका लागि खर्च गरिएको भनिए पनि १० हजार रुपैयाँ पनि मिडिया सेन्टर तथा पत्रकारका लागि सो रकम खर्च नगरिएको गुनासो सबैजसो पत्रकारको छ ।
रेडियो कान्तिपुरका समाचार सम्पादक पवन आचार्यले नेपाली काँग्रेसको सञ्चार नीति नै कमजोर भएकाले सञ्चार सेन्टर व्यवस्थित नभएको बताउनुभयो । आर्चायले भन्नुभयो-’ काँग्रेसको प्रेसलाई हेर्ने दृष्टिकोण नै प्रष्ट छैन । यसबारे काँग्रेसले आफ्नो धारणा बाहिर ल्याउनु पर्छ ।’
यस्तै रिपब्लिका दैनिकका पत्रकार कोषराज कोइरालाले मिडिया सेन्टरको व्यवस्थापन सबैभन्दा झुर भएको बताउनुभयो । उहाँले भन्नुभयो, मिडिया सेन्टर भनेको बैठकको रिपोटिंग गर्ने कक्ष हो । तर, यहाँ प्रेसका लागि कुनै व्यवस्थापन गरिएको छैन । प्रेस-पास पनि धेरै पत्रकारले पाएका छैनन् । उहाँले ४ लाख रुपैयाँ मिडिया सेन्टरका लागि छुट्टाइएको भनिए पनि खाने, बस्ने र समाचार संकलन कक्षसमेत व्यवस्था नगरिएको बताउनुभयो । पत्रकारका लागि उचित व्यवस्थापन नगरिँदा पत्रकाहरु भुइँमा बसेर समाचार तयार पार्न बाध्य भएका छन् ।
चुनावी एजेण्डा बनाउन नवलपरासीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रको शुरुमै जोगीलाई अतिथि बनाएर भाषणसमेत दिन लगाएपछि हंगामा भएको छ ।
मंगलबार बिहान करिब साढे १० बजेतिर बन्दसत्रका लागि महासमिति सदस्यहरु हलमा प्रवेश गर्ने क्रम सुरु भयो । शीर्ष नेताहरुकै लहरमा जोगीलाई देखेपछि प्रतिनिधिहरु आश्चर्यमा परे । नपरुन् पनि किन ? । सभापति सुशील कोइरालाकै दाँयातर्फ बरिष्ठ नेताजसरी बसेका थिए पण्डित कमल नयनाचार्य ।
राजनीतिक शक्तिसँग नजिक रहन चाहने पण्डित कमल नयनाचार्यले प्रवचनसमेत दिएपछि नेता र कार्यकर्ताहरु रीसले आगो भएका थिए । ‘बन्दसत्रको सुरुमा नै पण्डित कमल नयनाचार्यलाई बोलाइएको रहेछ, हामी पनि आश्चर्यमा पर्‍यौं ।’ एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई भने- ‘हामीले किन बोलाएको भनेर सोध्यौं ।’
केन्द्रीय सदस्यका अनुसार बन्दसत्रमा नयनाचार्यको आगमन आकस्मिक थिएन । महासमिति बैठकस्थलमै रहेको नयनाचार्यको आश्रम प्रयोग गरेको भन्दै उनलाई बन्दसत्रमा प्रवचनको सुविधा दिइएको हो ।
पण्डित कमल नयनाचार्य शक्ति केन्द्रका नजिक रहन चाहने जोगी हुन् । राजतन्त्र रहँदासम्म राजाको नजिक रहेका उनी पछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजिक पुगेका थिए । उनले प्रचण्डलाई ल्वाङको मालासमेत लगाइदिएका थिए । उनीसँगको भेटपछि प्रचण्डले अध्यात्मवाद र भौतिकवादलाई जोड्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
बाग्लुङ घर भएका ४७ वर्षीय कमल नयनाचार्यले गत वर्षको यसै महिना देवघाट, मुक्तिनाथलगायतका स्थानमा गाईको दूध चढाउन रातो हेलीकोप्टर प्रयोग गरेका थिए । उनी मुक्तिनाथ पीठाधीशसमेत हुन् ।
मधेसमा रहेका केही मधेसी दल र मधेसीहरुले एक मधेस स्वायत्त प्रदेशको माग गरिरहेका बेला नेपाली काँग्रेसका मधेसी कार्यकर्ताहरुले जातीयताका आधारमा राज्यको पुनसंरचना गरिए राज्य टुक्रने बताएका छन् । नवलपरासीमा जारी काँग्रेसको महासमिति बैठकमा सहभागी मधेसका महासमिति सदस्यहरुले जातीयताका आधारमा नभई पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनसंरचना हुनुपर्ने बताएका हुन् ।
जातीयका आधारमा राज्यको पुनसंरचना गरिए मुलुकमा झन द्वन्द्व फैलिने कांग्रेस कार्यकर्ताहरु बताउँछन् । जातीय आधारमा मधेसमा राज्यको पुनसंरचना गरिए अस्वीकार गर्ने मधेसी नेताहरुको भनाइ छ । मधेसमा कुनै एक जातिका मान्छेमात्रै नबस्ने भएकाले सबै जातजातिको मन बुझाउने गरी राज्यको नामाकरण र राज्यको पुनसंरचना गरिनु पर्ने उनीहरु बताउँछन् ।
संघीयता कस्तोखालको हुनुपर्छ भन्नेबारे मधेसी कार्यकर्तासँग अनलाइनखबरले गरेको कुराकानी :
जातीय राज्य बनाए स्वीकार्दैनौँ
shyam-mandalश्याम मण्डल धानुक, महासमिति सदस्य/महोत्तरी
राज्यको पुनसंरचना गर्दा मधेसमा पहिचान र सामथ्र्यका आधारमा राज्य निर्माण गर्नुपर्छ । त्यो नभए जनसंख्याका आधारमा राज्य निर्माण गर्नुपर्छ । काँग्रेस ऐतिहासिक पार्टी तथा मधेसको पहिलो पार्टी पनि भएकाले पार्टीले गर्ने निर्णयमा हामीले स्वीकाछौर्ं र स्वीकार गर्नुपर्छ । तर, जातीय आधार र एक मधेस एक प्रदेश भए हामी स्वीकार्दैनौं ।
जातीय राज्य बनाउँदा जातजातीवीच विभेद हुन्छ
arun-kumarअरुणकुमार सिंह, महासमिति सदस्य/सिरहा
एकीकृत माओवादीले भनेजस्तो जातीयताका आधारमा राज्यको पुनसंरचना गर्नुहुँदैन । जातीय राज्य बनाउँदा मुलुकमा जात जातीवीच विभेद हुन्छ । त्यसैले पहिचान र सामथ्र्यका आधारमा राज्य पुनंसंरचना गर्नुपर्छ । मधेसमा ३ देखि ५ प्रदेश बनाउँदा राम्रो हुन्छ काँग्रेसले ७ प्रदेश बनाउने गरेको प्रस्ताव एकदमै ठीक छ । काँग्रेस जातीय विरोध होइन । तर, सबै जातजातीवीच एकता कायम राख्न जातीय नभई पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनसंरचना गर्ने प्रस्ताव ठीक छ ।
भारतकोजस्तो राज्य पुनःसंरचना ठीक
nagendra-ray-yadavनगेन्द्रकुमार राय यादव, महासमिति सदस्य/सर्लाही
छिमेकी राज्य भारतको जस्तै गरी नेपालमा पनि राज्यको पुर्नसंरचना गर्नुपर्छ । जातीयताका आधारमा राज्यको पुनःसंरचना गर्नुहुँदैन । त्यो सम्भव पनि छैन । नेपालको सन्दर्भमा ७ प्रदेश नै ठीक हुन्छ । तराईमा ३ देखि ५ प्रदेश बनाउनुपर्छ । तर, त्यो भौगोलिक तथा जनसंख्याको आधारमा हुनुपर्छ । जातीय राज्य बनाउने माओवादीहरुको प्रस्ताव देशलाई विखण्डन गर्ने षडयन्त्रमात्रै हो, त्यसलाई सफल हुन दिनुहुँदैन । राज्य पुनसंरचना गर्दा सबै वर्ग, जातजाति, राज्यको आयस्रोत र सुविधालाई आधार बनाउनुपर्छ । मधेसी केही दलले भनेजस्तो एक मधेस स्वायत्त प्रदेश हुनुहुँदैन ।
जातीय राज्य बनाउनु हुँदैन
maithaillalमैथिलीलाल कर्ण, महासमिति सदस्य/ धनुषा
७ प्रदेश बनाउने काँग्रेसको प्रस्ताव ठीक छ । त्यही अनुसार नै राज्यको पुनसंरचना गर्नुपर्छ । मधेसमा ३ वा ४ राज्य बनाउँदा उपयुक्त हुन्छ । जातीय आधारमा राज्य पुनसंरचना गर्नु हुँदैन । भौगोलिक बनोटका आधारमा राज्यको पुनसंरचना गर्दा उपयुक्त हुन्छ । बढी प्रदेश बनाउँदा राज्य कमजोर हुन सक्छ । राज्यलाई बलियो बनाउन र विकास गर्न पनि सकेसम्म थोरै राज्य निर्माण गर्नुपर्छ । मधेसमा एउटामात्रै राज्य बनाए देश टुक्रिन्छ ।
मधेसमा ३ वा ५ प्रदेश ठीक
ram-yekbalराम एकवाल राय यादव, महासमिति सदस्य/रौटहट
मधेसमा ३ देखि ५ प्रदेश बनाउनु पर्छ । पूर्व-पश्चिम नक्शांकन गरेर मधेसमा राज्य निर्माण गर्नुपर्छ । जातीय आधारमा राज्य निर्माण स्वीकार गर्दैनौं । सबै जातजाति, धर्म, वर्ग, संस्कृति सबैका लागि स्वीकार्य हुने गरी राज्यको पुनसंरचना गर्नुपर्छ । जातीय राज्यले मुलुकमा जातीय दंगा ल्याउँछ । पार्टीले यसबारे सोचेर ७ प्रदेश बनाउने प्रस्ताव ल्याएको छ, यो नै उपयुक्त हुन्छ ।
नेपाली काँग्रेसको त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा जारी बन्दसत्रमा महासमिति सदस्यहरुले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउनुपर्ने जोडदारका साथ उठाएका छन् । बैठकमा कायैकर्ताले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको समेत खोइरो खनेका छन् ।

कार्यपालिकाको प्रमुख र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुँदा शक्तिपृथक्कीरण विपरीत हुने भन्दै रेग्मीलाई प्रधानन्याधीशबाट गराउनुपर्ने प्रतिनिधिहरुले नेतृत्वलाई दबाव दिएका छन् । बैठकमा महासमिति सदस्यहरुले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने तयारी गरेको भन्दै त्यस्तो तयारीप्रति चर्को विरोध गरेका छन् । कार्कीलाई अख्तियार प्रमुख बनाउन चारदलीय बैठकमा कांग्रेस नेतृत्वले सहमति जनाएकोमा कार्यकर्ताले आपत्ति जनाएका हुन् । - अनलाइनखबर



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक