(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130502

राष्ट्रबादी हुँ भन्ने पुकदाको मुकुन्डो एक हप्ता नहुँदै यसरी उघ्रिदैछ, काङ्रेस एमाले लाई पनि माथ गरेछन कमरेडले त !

भारतलाई यसरी सुम्पिएर पो फर्किएका रहेछन पुकदाले ! 


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी भारतलाई दिने विषयमा सहमति गरेको खुलासा भएको छ । भारत भ्रमणका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय विदेशमन्त्री सलमान खर्सिदसँगको भेटमा विमानस्थल व्यवस्थापनको जिम्मेवारी पनि दिने र “एयर मार्शल” पनि राख्ने सहमति गरेको खुलासा भएको हो । उच्च स्रोतले दिएको जानकारीअनुसार उनले नयाँ रणनीतिसहित विमानस्थलको जिम्मेवारी भारतलाई दिने विषयमा आश्वासन दिएका छन् । विमानस्थलको सुरक्षाका विषयमा भारत पक्षले राखेको चासोपछि एमाओवादी अध्यक्ष प्रचण्डले व्यवस्थापनको जिम्मा भारतलाई दिन सकिने बताएका हुन । भारतले अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय “एयर मार्शल” राख्ने र उनीहरुमार्फत नै चेकजाँच गर्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आएको छ । “भारतीय पक्षबाट त्रिभूवन विमानस्थल असुरक्षित रहेकाले एयर मार्शल राख्नुपर्ने कुरा फेरि उठाएको थियो” स्रोतले भन्यो, “भारतको
प्रस्तावमा प्रचण्डले आफुहरु विमानस्थल व्यवस्थापनको जिम्मा दिन तयार रहेको बताए तर यसअघि पनि विरोध भएको भन्दै नयाँ शैलीमा जानुपर्ने उनको भनाइ थियो ।”

 

प्रचण्डको प्रस्तावअनुसार विमानस्थल सुधार, सुरक्षाको जिम्मा भारतले लिने तर भारतीय सेना विमानस्थलमा राख्नुको सट्टा भारतले ‘ट्रेन’ गरेका नेपाली सेना रहने छन् । भारतले विमानस्थलको सुरक्षाका कारण भारतलाई अप्ठ्यारो परेको भन्दै विमानस्थलमा एयर मार्शल राख्न पहिलेदेखि नै प्रस्ताव गर्दै आएको छ । भारत भ्रमणका क्रममा विमानस्थल व्यवस्थापन र एयर मार्शल राख्ने विषयमा भएको छलफल बारे बुझ्न खोज्दा प्रचण्ड र भ्रमण दलका सदस्य नेता कृष्णबहादुर महरासँग सम्पर्क हुन सकेन ।

 

एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने भारतले प्रस्ताव राख्नु स्वभाविक भएको बताए । “भारतले पहिलेदेखि नै उठाउँदै आएको विषय हो” सापकोटाले भने, “यसपटक पनि उठाएको हुन सक्छ तर अध्यक्ष ज्यूले सहमति गर्नु भयो जस्तो मलाई लाग्दैन र त्यस बारेमा उहाँले जानकारी गराउनु भएको पनि छैन ।” यसअघि भारतीय पक्षबाट आएको प्रस्तावमा एकीकृत माओवादीले नै विरोध गरेको थियो । 

 


International Civil Aviation Organization को नियम अनुसार दुई देशबीच सम्झौता भइ दुवै पक्षको सहमतिमा हातहतियार सुसज्जित, विशेष सुरक्षा खतरा उत्पन्न नभएसम्म हतियार प्रदर्शन नगर्ने गरी, हवाईजहाजको भित्र निश्चित संख्यामा कुनै देशको हवाईजहाजमा सुरक्षा अधिकारी राख्न पाइन्छ ।

 

हवाईजहाज रोकिराखेको अवस्थामा ती सुरक्षा अधिकारी हवाइजहाज भित्रै रहनु पर्छ । बाहिर निसक्नु परेको अवस्थामा हवाईजहाज रोकिराखेको देशको तोकिएको अधिकारीलाई हतियार बुझाएर निष्कनु पर्छ र भित्र जाँदा फेरिसँगै लान पाइन्छ । 

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो चीन र भारत भ्रमण व्यक्तिगत नभएको दाबी गरेका छन्। 
एमाले नेता माधबकुमार नेपालले प्रचण्डको भारत र चीन भ्रमण उनको व्याक्तिगत भएको टिप्पणी गरेपछि आज धरानमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण व्यक्तिगत नभएर सरकारी तयारीबीच औपचारीक र राष्ट्रिय नै भएको दाबी गरे।
पार्टीका कार्यकर्तालाई चुनावी प्रशिक्षण दिन धरानमा आयोजित कार्यक्रममा प्रचण्डले भने 'मेरो चीन र भारत भ्रमणलाई केही नेताले पूर्वाग्रही भएर व्यक्तिगत भने, तर यो भ्रमण दुवै देशको सरकार र नेपाल सरकारबीच चिट्ठी पत्र आदान प्रदान भएर, सम्बन्धित दुताबासले सम्पुर्ण तयारी गरिसकेर भएको हो।’
कार्यक्रममा अध्यक्ष दाहालले छिमेकी मुलुकको सहयोग विना वा एउटाको पक्षमा मात्रै लागेमा नेपाल सम्मृद्ध हुन नसक्ने भन्दै प्रचण्डले अब छिमेकीप्रति पहिलाजस्तो पूर्वाग्रही नबनौ, मनोगत नबनौ, अनावश्यक आरोप पनि नलगाऔं भन्दै आफ्नो भ्रमणले नेपालको आर्थिक प्रगति र राजनैतिक स्थिरताको लागि कोसेढुंगा सावित हुने समेत दाबी गरेका थिए।

प्रचण्डको भ्रमणबाट उब्जिएका ३ प्रश्न

दिल्लीको सुरक्षाको चिन्ता गरियो, नेपालको कसले गर्ने ?

अरुण बराल
एमाओवादी अध्यक्ष प्रचण्डको तीनदिने भारत भ्रमण सकिएको छ । उहाँले पछिल्लो समय सातदिन चीनमा र तीनदिन भारतमा बिताउनुभएको छ । राष्ट्रका तर्फबाट भन्दै गरिएको छिमेकी देशको भ्रमणका क्रममा केही प्रश्नहरु उठेका छन् ।
भ्रमणको सकारात्मक पाटो
सत्तामा नभएको अवस्थामा प्रचण्डले गरेको दुई छिमेकी देशको भ्रमणलाई केही मानिसहरुले नकारात्मक एवं सामान्य अर्थमा मात्रै लिएका छन् । विपक्षीबाट भएको जुनसुकै कार्यको पनि विरोधमात्रै गर्ने र सकारात्मक पक्षलाई अस्वीकार गर्ने प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको यसले पुष्टि गर्छ । प्रचण्डको दिल्ली एवं बेइजिङ भ्रमणका केही सकारात्मक पक्ष अवश्यै छन् ।
१. सरकारमा नभएको दलका नेतालाई चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिएको भेटबाट दुबै देशले एमाओवादीसँग सम्बन्ध सुधार्न खोजेको र प्रचण्डलाई नेपालको प्रभावशाली नेताका रुपमा पत्याएको यसले पुष्टि गरेको छ । अन्य दलका नेताले यसमा जति नै डाहा गरे पनि प्रचण्डले छिमेकीसँगको सम्बन्ध सुधार्न आफ्नो खुबी देखाएकै हुन् भन्ने यो भ्रमणले देखाएको छ ।
२. छिमेकी दुई देशको भ्रमणपछि प्रचण्डले आफ्नो व्यक्तिव्य विकासमा जबर्जस्त प्रभाव बनाएका छन् । यसबाट उनले विपक्षी दल र आफ्नै कार्यकर्तामा समेत आफ्नो उचाइ बढाएका छन् । त्यसैले यो भ्रमण प्रचण्डको नेतृत्व विकासका लागि पार्टीगत र व्यक्तिगतरुपमा समेत उपलब्धीपूर्ण छ ।
३. छिमेकी देश, विशेष गरी भारतलाई एनेकपा माओवादीप्रति बढ्ता शंका थियो । एमाओवादी लोकतन्त्रवादी हैन कि ? उसले सत्ता कब्जा गर्न पो खोजेको छ कि ? या ऊ भारतविरोधी र चीनपरस्त पो हो कि भन्ने भारतीयहरुमा भ्रम थियो । यो भ्रमलाई एक हदसम्म चिर्न र आफ्नो पार्टीप्रति उनीहरुको विश्वास आर्जन गर्न यो भ्रमणले प्रचण्डलाई ठूलो मौका दिएको छ ।
नेपालबारे छिमेकीहरुको बुझाइमा प्रष्टता ल्याउन प्रचण्डले गरेको प्रयासले उनी र उनको दललाई मात्रै होइन, सिंगै देशलाईसमेत सकारात्मक योगदान पुर्याउने अनुमान गर्न सकिन्छ । छिमेकीसँग छुद्र हैन, संयमित व्यवहार गर्नुपर्छ भन्ने शिक्षा एमाओवादी नेताहरुमा देखिनु स्वागतयोग्य विषय हो ।
भ्रमणबाट उब्जिएका तीन प्रश्न
१. प्रचण्डले चीन र भारत दुईवटै मुलुकका अधिकारीहरुसँग आर्थिक विकासका लागि त्रिदेशीय सम्बन्ध, लगानी वा संयन्त्र स्तरकै प्रस्ताव गर्नुभएको छ, जसलाई छिमेकी देशले उतिसाह्रो महत्व दिएको देखिएन । विगतमा दक्षिण एशियास्तरको ‘कम्पोसा’ बनाएर भारतविरुद्ध क्रान्तिको प्रस्ताव राख्ने प्रचण्डले त्यस्तै हतारो गरेर ठूला मुलुकसँग ‘हाइपोथेटिकल’ प्रस्ताव राखेको देखिन्छ, जुन स्वैरकाल्पनिक प्रस्तावलाई बुझ्न भारतीय एवं चिनियाँ अधिकारीहरुले शायद अर्को अन्तरदृष्टिको आवश्यकता महसुस गरेनन् कि ? शायद प्रचण्डले आफ्नो यो प्रस्तावबारे ऐन मौकामा पक्कै नेपाली जनतालाई ठोसरुपमा प्रष्ट पार्नुहुनेछ । प्रचण्डको यो अमूर्त प्रस्तावले उहाँलाई गहकिलो भन्दा पनि हावादारी नेताका रुपमा स्थापित गर्ने खतरा देखिएको छ ।
बेइजिङ र दिल्लीको भ्रमणबाट प्रचण्डको केही उचाइ बढे पनि उनले त्यसलाई बचाउलान् कि नबचाउलान् भन्ने अर्को संशय छ । चाँडै हौसिने र दम्भ गर्ने बानीका कारण विगतमा ठूलो दल भैकन पनि सबैलाई समेट्न नसकेका प्रचण्डले यो भ्रमणबाट हासिल गरेको उचाइलाई जोगाउन निकै मेहनत गर्नुपर्ने हुन्छ ।
२. प्रचण्डले चीन र भारत दुबै देशका अधिकारीलाई भनेको छन् कि नेपाल धनी र सम्वृद्ध नभएसम्म भारत र चीन दुबै देशको सुरक्षा चुनौती हट्ने छैन । नेपाललाई सम्वृद्ध बनाउन भारत र चीन दुबैले आर्थिक सहयोग गर्नुपर्ने र नेपालमा लगानी भित्र्याउनुपर्ने प्रचण्डको माग छ । विशेष गरी लुम्बिनी र ठूला जलविद्युत आयोजनामा सहयोग गर्न उहाँले दुबै देशसँग नधकाइकन हात पसारेका छन् । तर, यसरी भारत र चीनसँग मागिरहँदा प्रचण्डले नेपालको सुरक्षामाथि विशेष गरी भारतीय पक्षबाट पुगिरहेको बाधाका सम्बन्धका स्वाभिमानका साथ अडान राखेको सुनिएको छैन । भारतीयहरुले नेपालको राजधानीमै पसेर गर्ने गरेको हत्या, सीमा क्षेत्रमा नेपालीमाथि गर्दै आएको विभेद र आक्रमण, सीमानामा भइरहेको बलमिच्याइँ, चुरेक्षेत्रमा भइरहेको प्राकृतिक दोहन, बिराटनगरमा नेपाल सरकारको आदेश विपरीत खडा गरिएको कार्यालय र नेपालको हरेक मामिलामा गर्दै आएको थिचोमिचोका बारेमा प्रचण्डले भारतीय पक्षसँग नेपालको राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई ख्याल गरेर अडान राखेको सूचना अहिलेसम्म बाहिर आएको छैन । विगतमा आफैंले भन्दै आएको १९५० सन्धीबारे प्रचण्डले के कुरा गरे ? यो पनि बाहिर आएको छैन । भारतले आफ्नो सुरक्षामा मात्रै चिन्ता गरेको र नेपालमा हुने भारतविरोधी गतिविधि रोक्न प्रचण्डले भारतसँग प्रतिवद्धता जनाएको कुरो बाहिर आएको छ । तर, भारतले नेपाललाई ‘छोटे भाइ’को व्यवहार नगरोस् भनेर प्रचण्डले सुझाव दिएको सुनिएको छैन । बरु उल्टै ‘छोटे भाइ’ बन्ने आत्मस्वीकृति जनाइएको त हैन ? यो पनि प्रचण्डले पक्कै प्रष्ट पानुपर्नेछ ।
नेपालमा भारतीय लगानीको कुरा गरिरहँदा नेपालको राष्ट्रिय स्वार्थमाथि यसले पार्ने प्रभावका विषयमा स्पष्ट खाका बनाउन जरुरी छ । हेटौडा महाधिवेशनमा उत्पादन बढाउन सहकारीको मोडेल ल्याउने अनि व्यवहारमा विदेशीसँग मागेर देशको कायापलट गर्छु भन्ने सोचाइले कसरी नेपालको स्वाधीनता रक्षा हुन्छ ?
३. भ्रमणका क्रममा भारतीय नेताहरुले प्रचण्डको नाडी राम्रोसित छामेका छन् । यिनी भारतीय स्वार्थअनुसार प्रयोग गर्न सकिने गोटी हुन् या नेपालको राष्ट्रिय स्वार्थका पक्षमा उभिने अब्बल दर्जाका राष्ट्रवादी नेता हुन् भन्ने विषयमा सम्भवतः भारतीय अधिकारीहरु प्रष्ट भएका छन् । भारतले प्रचण्डलाई त्यसै निम्तो दिएको हैन, ऊ नेपालमा नयाँ दलालको खोजीमा छ । कांग्रेस र एमाले वा अन्य कमजोर शक्तिबाट काम नचल्ने देखेर भारतीयहरु नयाँ मतियारको खोजीमा छन्, जसले भारतले जे भन्छ, त्यो खुरुखुरु मानोस् । चीनले पनि नयाँ पार्टनरको खोजीकै क्रममा प्रचण्डलाई रातो कार्पेट ओछ्याएको हो ।
विदेशीसँगको सम्बन्धमा ‘डिप्लोम्यासी’ वा चिप्लो कुराको मात्रै महत्व हुँदैन, ‘ड्यासिङ’ को पनि उक्तिकै महत्व हुने गर्छ । नेपाली नेताहरुले अहिलेसम्म भारतसँग नेपालको हितअनुसार कडारुपमा कुरा राख्न नसक्नु नेपालको राष्ट्रिय समस्या बन्ने गरेको छ । दिल्ली पुगेर त्यहाँका नेताहरुसँग वैद्य समूहको खुलेर आलोचना गर्नुका साथै नेपालमा भारतविरोधी गतिविधि हुन नदिने बचनसमेत दिएका छन् । तर, प्रचण्डले नेपालमा किन भारतको आलोचना हुँदैछ र नेपालीका केही जायज गुनासा पनि छन् भनेर भारतीय अधिकारीलाई ‘ड्यासिङ’ दिए कि दिएनन् ? सुस्ता, टनकपुर, कालापानी, महाकाली र कोशी उच्च बाँधलगायतका विषयमा कुरा गरे कि गरेनन् ? यसैमा भर पर्छ प्रचण्ड नेपालका राजनेता हुनेछन् या हुन सक्ने छैनन् ।

special-article 
नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई बराबरी महत्व दिनुपर्छ र दुवैसँग सन्तुलित सम्बन्ध राखिनुपर्छ– यो सैद्धान्तिक पक्ष हो । व्यवहारत: हाम्रो निकटता भारतसँग घनीभूत छ र यो निकटता कटौती गर्न मिल्ने प्रकारको भू–राजनीतिक अवस्था कहिल्यै थिएन र छैन । यही तथ्यबोध नहुँदा जंगबहादुर राणापछिका कुनै पनि नेपाली राजनीतिकर्मीले नेपालको समग्र विकासमा छिमेकीको भरोसापूर्ण साथ–सहयोग प्राप्त गर्न सकेनन् । हामीले हाम्रा विदेश सम्बन्धहरूलाई देशहितमा सदुपयोग गर्न सक्नुपर्छ भन्ने मान्यता सर्वविदित छ, त्यसमाथि पनि छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्नैपर्ने हुन्छ । इतिहासमा कैयनपटक द्विपक्षीय सम्बन्धलाई देशहितमा सदुपयोग गर्ने प्रयास हुँदै आएका पनि हुन् । तर, ०६३ को राजनीतिक परिवर्तनपश्चात् राजनीतिक दल र तिनका नेताहरूको प्रयास भारत र चीनसँगको सम्बन्धलाई आफ्नो निजी हितमा प्रयोग गर्ने कसरतमा मात्र सीमित हुँदै आएको छ । भारत र चीनको विश्वास र सद्भाव आर्जन गरी आफूलाई सत्ताकेन्द्रमा पु¥याउने अभिप्रायबाट प्रेरित व्यवहार नेपाली राजनीतिकर्मीहरूबाट भइरहेको महसुस देशवासीले गरेका छन् । खासगरी एमाओवादीका नेताको सम्पूर्ण प्रयास नेपालको सत्ता राजनीतिमा स्थायित्व प्राप्त गर्ने चाहनाबाट उत्पे्ररित रहेको देखिँदै छ । एमाओवादी अध्यक्ष प्रचण्डबाट हालै चाइना र भारतको भ्रमण हुँदा पनि उनले देशलाई होइन आफैँलाई केन्द्रभागमा राखेर व्यवहार गरे । दुवै छिमेकी मित्रराष्ट्रको सद्भाव र विश्वास आफूलाई रहेको या दुवै छिमेकी मुलुकले पत्याएको मानिस आफूमात्र भएको प्रमाणित गर्ने प्रयत्न प्रचण्डबाट भयो– भइरहेको छ । भारतको विश्वास लिएर चीन भ्रमण गर्ने र चीनको ‘कन्सेन्ट’ लिएर भारतको भ्रमण गर्ने काम जुन प्रचण्डबाट भयो, राष्ट्रहितको गफ दिए पनि हाउभाउ र अभिव्यक्तिले
प्रचण्डका प्रयासहरू राष्ट्रहितमा केन्द्रित रहेको बुझाउँदैन । बरु आफू सत्तामा पुग्नुपर्ने र आफैँ सत्तारुढ भएको अवस्थामा मात्र चीन या भारतको हित हुनसक्छ भनी सम्झाइ–बुझाइ गर्ने या ‘केमोफ्ल्यास’ गर्ने काम प्रचण्डबाट भएको महसुस गरिएको छ । यी तिनै प्रचण्ड हुन् जसले नेपालमा हिंसात्मक युद्ध गर्न आश्रयका लागि भारतभूमि रोजे र भारतसमक्ष लिखित रूपमै आत्मसमर्पण गरे । एसडी मुनिको बहुचर्चित लेखले यस तथ्यको प्रमाण दिइसकेको छ । यी तिनै प्रचण्ड हुन् जसले कथित जनयुद्ध सुरु गर्ने क्रममा सरकारसमक्ष चालीस सूत्रीय माग पेस गर्दा भारत विरोधका नौवटा बुँदा उल्लेख गरेका थिए । प्रचण्ड तिनै व्यक्ति हुन् जसले भारतसँग लडाइँ लड्न भन्दै पश्चिम नेपालको सीमावर्ती क्षेत्रमा सुरुङ खन्ने काम गरेका थिए । यी तिनै व्यक्ति हुन् जो प्रधानमन्त्री भइसकेपछि भारत छोडेर चीनतिर लहस्सिने प्रयासमा थिए । प्रचण्ड तिनै हुन् जसले २०६६ मा सत्ताच्युत हुनेबित्तिकै राष्ट्रियताको आन्दोलन भन्दै भारतविरुद्ध देशव्यापी अभियान चलाएका थिए र अहिले फेरि भारतसँग नजिकिने योजनाबद्ध अभियानमा जुटेका छन् । कूटनीतिको अनिवार्य सर्त विश्वसनीयता हो । विश्वासयोग्य व्यक्तिले मात्र कूटनीतिक चातुर्यको प्रयोगद्वारा राष्ट्रहितमा कसैलाई पनि सहभागी गराउने सामथ्र्य राख्दछ । प्रचण्ड झुट र बेइमानीका पुलिन्दा हुन् भन्ने चीन र भारत दुवैले बुझिसकेको सन्दर्भमा उनीबाट कुनै राष्ट्रिय लाभ पुग्ने आशा गर्न सकिँदैन । भारत र चीन दुवैको विश्वास आर्जन गर्न प्रयत्नशील प्रचण्डको समग्र व्यवहारले उनी दुवै छिमेकी मुलुकको आँखामा सन्देहास्पद र रहस्यमयी पात्र बन्न पुगेका छन् । जसरी विगतमा प्रचण्डले दर्शाएको व्यवहार अहिले परिवर्तन भएको छ, त्यसैगरी अहिले प्रस्तुत भइरहेको व्यवहार पनि भोलि परिवर्तन हुनसक्ने विश्लेषण चीन या भारतका कूटनीतिज्ञहरूले गरेका छन् भने त्यो अस्वाभाविक होइन । त्यसैले प्रचण्डले दुवै छिमेकी मित्रराष्ट्रको विश्वास आर्जन गर्दै होइन दुवैको विश्वास गुमाउँदै छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । भारत जानुअघि प्रचण्डले आफू देशकै प्रतिनिधि बनेर भ्रमण गर्न लागेको घोषणा गरे । देशको प्रतिनिधित्व गर्ने हैसियत तिनलाई मात्र हुन्छ जो राष्ट्रपति या प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका हुन्छन् । सरकारले औपचारिक निर्णय गरी भ्रमणमा पठाएका व्यक्तिलाई समेत देशको प्रतिनिधिका रूपमा बुझ्ने गरिन्छ । सरकारी निर्णयबिना देशकै प्रतिनिधिका हैसियतले विदेश भ्रमण गर्न लागेको घोषणा कसैले गर्छन् भने त्यो अपरिपक्वताको पराकाष्टा हो । प्रचण्डलाई न भारत सरकारले औपचारिक निर्णय गरेर निम्ता दिएको हो न नेपाल सरकारले नै आफ्नो प्रतिनिधिका रूपमा प्रचण्डलाई भारत पठाउने निर्णय गरेको छ । यसरी जसले जतिबेला मन लाग्यो त्यतिबेला विदेश जाने र आफूलाई देशकै प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने परम्परा बस्न दिने हो भने अहिले प्रचण्ड गएकै शैलीमा भोलि महन्थ ठाकुर जालान्, पर्सि विश्वेन्द्र पासवान पुग्लान्, निपर्सि लक्ष्मणसिंह खड्काले त्यसै गर्लान् । त्यसैले राज्यले यसप्रकारको शैलीलाई नियन्त्रण र निषेध गर्न आवश्यक छ । भ्रमणमा गएका प्रचण्डले भारत या चीनमा अर्थ, वाणिज्य, जलविद्युत् आदि विषयमा गफ गरे होलान्, त्यो जसले पनि गर्न सक्छन् । तर, द्विपक्षीय हितलाई व्यवस्थित गर्ने आफ्नै कूटनीतिक प्रक्रिया हुन्छन् र राज्यले त्यसमा अग्रसरता लिनुपर्ने हुन्छ ।
भारत र चीन कुनै झलनाथ खनाल या गिरिजाप्रसाद कोइराला होइनन्, जसलाई आफूले चाहेको समयमा चाहेको तरिकाले उपयोग–प्रयोग गर्न सकियोस् । काङ्गे्रस या एमालेका नेतालाई एकै दिनमा सातपटक झुक्याउन सकेझैं भारत र चाइनालाई पनि झुक्याउन सकिने ठम्याइ जो प्रचण्डको थियो, त्यो एउटा आत्मभ्रम मात्र भएको सिद्ध भइसकेको छ । युद्धकालमा प्रचण्डले विभिन्न पार्टीभित्रका अन्तरविरोधमा खेल्दै कहिले कसलाई त कहिले अर्कोलाई आफ्नो पक्षमा प्रयोग उपयोग गरेका थिए । प्रशासक, प्रहरी र सामाजिक कार्यकर्तालाई पनि उनले आवश्यकताअनुरूप प्रयोग–उपयोग गरेकै हुन् । सुरक्षित सेल्टरका लागि भारतलाई उपयोग गर्ने प्रचण्डले गणतन्त्र घोषणाका लागि गिरिजाप्रसाद कोइरालालाई पनि भरपुर उपयोग गरेकै हुन् । ०६५ सालमा प्रधानमन्त्रीका रूपमा सत्तामा चढिसकेपछि प्रचण्डले गिरिजाप्रसादको मात्र होइन भारतको समेत उपयोगिता सकिएको ठानेका थिए र चाइनासित लपक्क टाँसिएर आजीवन शासन गर्ने सपना उनले देखेका थिए । भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएका नाताले ऊ संसारमा प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियाकै पक्षमा सहानुभूतिशील हुनु स्वाभाविक थियो । एउटा प्रजातान्त्रिक मुलुकको आडमा नौलो जनवादी चरित्रको अधिनायकवादी शासनसत्ता स्थापित गर्न खोज्नु प्रचण्डको एउटा दिवास्वप्न मात्र थियो । तथापि भारतलाई गुमराहमा राख्दै चीनको अकण्टक आशीर्वाद प्राप्त गर्ने यत्न उनीबाट भएको थियो । यही असाध्य प्रयत्न गरेका कारण प्रचण्ड सडकमा पुगे र अझै सडकमै छन् । सडकमा भए पनि देशको संस्थापन पक्ष आफैँ भएको ‘इन्पे्रसन’ दिने जाँगर प्रचण्डले चलाइरहेका छन् । उनको यस्तो प्रयास आफैँमा हास्यास्पद देखिएको छ । जनसङ्ख्याका दृष्टिले विश्वका सबैभन्दा ठूलो मुलुक (जुन विश्वकै ठूलो अर्थतन्त्र भएका मुलुक पनि हुन्) बीच सेतुको काम गर्न आफू सक्षम भएको ध्वाँस प्रचण्डले दिइरहेका छन् । प्रचण्डको यस्तो ध्वाँसलाई चीनले माउथाई र भारतले मिठाइ खुवाएर शिथिल बनाइसकेका छन् । भारत र चीनले पत्याएको नेता आफैँ मात्र भएको भ्रम नेपाली जनतामा सृष्टि गर्दै आगामी निर्वाचनमा भोट बटुल्ने प्रयत्न प्रचण्डले गरेका हुन् भने यसलाई उनको अर्को परिपक्व सोच–व्यवहारका रूपमा बुझ्दा हुन्छ ।
एउटा सत्य के हो भने प्रचण्ड र उनको पार्टी एमाओवादी विश्वमा प्रचलित प्रजातन्त्रमा विश्वास राख्दैन । छिमेकी मित्रराष्ट्र चीनको पनि प्रजातन्त्रसँग साइनो गाँसिएको छैन । नेपालमा गणतन्त्रको घोषणापश्चात् राजदरबार जसलाई चाइनाले आफ्नो स्थिर र स्थायी मित्र ठानेको थियो त्यो विस्थापित भएको छ । राजसंस्थाको विस्थापनसँगै चीन नेपालमा आफ्नो स्थायी र स्थिर मित्रशक्तिको खोजीमा छ । त्यस्तै प्रचण्ड र उनको पार्टीको सफलतामा इसाई सङ्घ–संस्था र पश्चिमी मुलुकहरूको ठूलो योगदान रहेको भए पनि शासनमा रहिरहन पश्चिमाहरूको साथ सहयोग रहनेमा प्रचण्ड विश्वस्त हुन नसक्नु स्वाभाविक छ । त्यसैले प्रचण्ड आफूलाई संरक्षण गर्ने स्थायी अन्तर्राष्ट्रिय शक्तिको खोजीमा थिए । त्यस निम्ति चीनजति भरपर्दो अर्को कुनै अन्तर्राष्ट्रिय शक्ति नहुने ठम्याइ प्रचण्डको थियो या छ भने त्यो स्वाभाविक पनि हो । यसर्थमा प्रचण्ड उर्फ एमाओवादी र चीनबीचको सम्बन्धलाई कलम र बिर्कोजस्तै भएको अर्थमा बुझ्न सकिन्छ । यो सत्यलाई भारतजस्तो परिपक्व प्रजातन्त्र भएको मुलुकले बुझेको छैन भन्ने ठान्नु भनेको आफैँलाई भ्रममा राख्नु मात्र हो । चीनको कुरा लगाएर या पाकिस्तानको विरोध गरेर मात्र भारतको विश्वास आर्जन गर्न सकिन्न र ‘भारतको प्रभावबाट आफू मुक्त हुन चाहेको’ सन्देश दिएकै भरमा चीनको विश्वास प्राप्त गर्न पनि सकिन्न । भारत र चीनको सरोकारका विषयमा प्रस्तुत हुन परिपक्व सोच र व्यवहारले मात्र दुई छिमेकीको विश्वास जित्ने अवसर नेपाली नेतृत्वलाई प्राप्त हुने हो, जुन मौका प्रचण्डले धेरै पहिले नै गुमाइसकेका छन् । यस्तो अवस्थामा प्रचण्डमार्फत भारत र चीनको सहयोग नेपालमा प्राप्त हुने विश्वास गर्न सकिन्न र विश्वास गरिनु पनि हुँदैन । बरु यिनका कारण नेपालले थप कुन सास्ती व्यहोर्नुपर्ने हो चिन्ता थपिएको छ । प्रचण्डका हरेक व्यवहार कृष्णको जस्तो सार्वजनिक हितमुखी नभई शकुनीको जस्तो आत्मकेन्द्रित, कुण्ठाग्रस्त र निजी हित प्रेरित रहने गरेको ठानिन्छ । उनको कूटनीति पनि रामको जस्तो शालीन होइन, बाँदरको जस्तो चकचके भएको महसुस आमनेपाली र अन्तर्राष्ट्रिय समुदायले समेत गरेका छन् । बाँदर कसैको घरमा पस्दैमा ऊ मान्छे हुँदैन, मानिसजस्तै हुन बाँदर आफैँ बदलिनुपर्छ, बदलिने प्रयास न पशुपतिका बाँदरले गरेका छन् न प्रचण्डले । बाँदरले भक्ति नै ग¥यो भने पनि मालिकको गाला काट्छ भन्ने सत्य भारत र चीन दुवैले बुझेका छन्, त्यसैले प्रचण्डको चीन र भारतको भ्रमण नेपाल र नेपालीको हितमा हुनै सक्दैन भन्ने तथ्यबोध सबैलाई भएको छ । विदेशीको आशीर्वाद लिएर स्वदेशमा रजाइँ गर्ने प्रतिस्पर्धामा प्रचण्ड अन्य नेताहरूभन्दा केही अगाडि भएका हुन् कि भन्ने उनका पछिल्ला क्रियाकलापले दर्शाएको छ । आफ्नो निजी महत्वाकाङ्क्षा साकार तुल्याउने नियतबाट हुने विदेश भ्रमणहरूले राष्ट्र हित गर्ने आशा गर्न सकिन्न । प्रचण्डका भ्रमणहरू राष्ट्रहितको गीत गाउँदै सुरु गरिएका भए पनि निजी स्वार्थको दायराभन्दा माथि उनका भ्रमणहरू कदापि उठ्ने छैनन् भन्ने यथार्थ अवगत हुनु वाञ्छनीय छ । देश चुनावमा जान लागेको र सत्ता राजनीतिबाट राजनीतिकर्मी एकप्रकारले पाखा लागेको वर्तमान अवस्थामा बेरोजगारझैं बनेका प्रचण्डले ‘टाइम पास’ गर्न मात्र चीन र भारतको भ्रमण गरेका हुन् । यो ‘भ्याकेसन’ अरू नेताहरूले घर–परिवारसँग बसेर मनाइरहेका भए पनि प्रचण्डले चाहिँ विदेशमा रमाइलोसँग मनाए । नेपाली नयाँ वर्ष आगमनको अवसरमा प्रचण्डले छिमेकी मित्रराष्ट्रहरूको ‘मेजमानी’ पाए, उनलाई यस्तो अवसर फेरि–फेरि पनि प्राप्त हुँदै गरोस्– हाम्रो शुभकामना

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक