20130617

महाकाली नदीमा आएको बाढीले कार्यालयसहित नदी छेउछाउका ५० भन्दा बढी घरहरु बगाएको छ, एक महिला पनि नदीमा बगेकी छिन् । सयौँ घर जोखिममा परे !

महाकाली नदीमा आएको भीषण बाढीले नेपाल र भारत दुबै तर्फ गम्भीर क्षति ! हेर्नुस् भिडियो र फोटो सहित समाचार विवरण

भारतको बाँधले नदीको धार नेपालतिर : भारतले आफ्नो क्षेत्र सुरक्षित पार्न महाकाली नदी छेउ किनारामा पक्की तटबन्ध निर्माण गरेपछि बाढी नेपाल पसेको हो
इन्द्र साउ/ दार्चुला, असार ३ : महाकाली नदीमा आएको बाढीले कार्यालयसहित नदी छेउछाउका ५० भन्दा बढी घरहरु बगाएको छ । सयौँ घर जोखिममा परेका छन् । बाढीले बाङ्गबडाका केही घर तथा जिल्ला वन कार्यालय, भू संरक्षण कार्यालय, जिल्ला अस्पतालको भवन पनि बगाएको  छ ।
यस्तै व्रह्मदेव गाविसको कालागाड जलविद्युत परियोजनाको पावर हाउस पनि बाढीले बगाएको छ । दुर सञ्चार कार्यालय र जिल्ला प्रहरी कार्यालय पनि जोखिममा परेका छन्  । 
एक महिला पनि नदीमा बगेकी छिन् । स्थानीय धाप गाविसकी झण्डै ४० वर्षीया  सरस्वती रैखोला नदीमा बगेकी हुन् । महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलङगाका ३० वटा घर बगाइसकेको छ । बाढी निक्कै ठूलो आएकोले सडक पनि बगाएको छ । जोलजिवीको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । 
लगातारको भीषण वर्षाले गर्दा बस्तीमा बाढी पसेपछि खलङ्गाका स्थानीयहरु त्रसित बनेका छन् । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ । अहिले महाकाली नदीको बहाव ४ लाख ४० हजार ७ सय १६ क्युसेक छ ।  
बाढीले सदरमुकाम खलंगामा र सीमावर्ती धार्चुलामा सवारी साधन समेत ठप्प रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको छ ।
भारतले आफ्नो क्षेत्र सुरक्षित पार्न महाकाली नदी छेउ किनारामा पक्की तटबन्ध निर्माण गरेपछि बाढी नेपाल पसेको हो । भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेको छ । अहिले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । 
यसैबिच कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित गएराति बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरु नदीमा आएको बाढीका कारण पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा थुनिएका थिए । उनीहरुको स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले ट्युबको मद्दतले उद्धार गरिएको हो  ।
यस्तै अविरल वर्षाका कारण कञ्चनपुरको रौटेला खोलामा बाढी आउँदा भीमदत्त नगरपालिकाको बाराकुण्डा बस्ती डुबानमा परेको छ । बाढीबाट ३२ घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेको स्थानीय पूर्णबहादुर कुँवर बताएका छन् । 
तस्बिर : सौजन्य (पत्रकार कमलराज जोशी र नेपाली सेना) 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक