20130622

बिपीको लाइन कांग्रेसले छोड्यो, कमल थापाले समाते !

-विपिन कोइराला, कांग्रेस नेता
 नेपालको राजनीति देख्दा मलाई असाध्य पीडाबोध हुन्छ कहिलेकाहीँ । म आफैंले कांग्रेसमा प्रवेश गराएका व्यक्ति मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री अनि सभामुखसम्म भए .....!
Bipin-Koiralaहुन त म पनि राजनीतिज्ञ नै हुँ । तर, नेपालको राजनीति देख्दा मलाई असाध्य पीडाबोध हुन्छ कहिलेकाहीँ । म आफैंले कांग्रेसमा प्रवेश गराएका व्यक्ति मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री अनि सभामुखसम्म भए । सँगैका दौँतरी पदीय हिसाबले उच्चस्थानमा पुगे । म भने पदलाई गौण मानेर सधैं आस्था र निष्ठाको राजनीतिमा लागिरहेँ । तर अहिलेको राजनीतिक जन्जाल यति कुरूप बनिसकेछ कि पदप्राप्तिको योग्यता वैचारिक निष्ठा र आस्था मात्र होइन रहेछ । यसो भन्दैमा सम्झौताको राजनीति मबाट कदापि हुनेछैन । न पहिले कहिल्यै भयो
। चाहे त्यसका लागि जेसुकै गुमाउनुपरोस्, पद त के हो र ?
राष्ट्रियता र समुचित राजनीतिक अडानका सबालमा कसैका अगाडि झुक्दिनँ । नेपालका नेता सबैलाई आफ्नो गुलामी गर्ने र होमा हो मिलाउने ‘एस मेन’ व्यक्ति मात्र चाहिएको देख्छु । मुलुकबाहिरको सम्बन्धका सबालमा पनि त्यही हो । म मुलुकभित्र र बाहिर दुवैका लागि ‘एस मेन’ हुन सकिनँ । जे मनमा लाग्छ, नेताहरूका अगाडि सीधै भन्ने बानी छ । यो स्वभाव मैले बिपीबाट सिकेको हुँ । बिपी सधैँ सही तर्क गर्ने र राय दिने व्यक्ति मात्र रोज्थे । अरूका कुरा सुनेर प्रतिक्रिया नजनाई धुमधुम्ती बस्ने व्यक्तिलाई मन पराउँदैनथे । उनका विचारमा त्यो नेतामा हुने गुण थिएन ।
नेपाली कांग्रेसको आफ्नै इतिहास छ । पछिल्लो कालखण्डको राजनीतिमा गिरिजा माओवादीसँग आवश्यकताभन्दा बढी लचिलो भए । बाह्रबुँदेको नत्थी लगाएर माओवादीलाई शान्तिप्रक्रियामा ल्याए । म कांग्रेसका तर्फबाट वार्ताकार हुन्थेँ त आधा घण्टा पनि टिक्न सक्दैनथेँ । वार्तै भताभुंग हुन्थ्यो होला । किनकि म लिँडेढिपी गर्नेहरूका अगाडि लत्रिएर बस्नुपर्छ भन्ने मान्यता राख्दिनँ । जेजस्तो परे पनि सहन सक्ने मान्छे चाहिन्छ भनेर नै शालीन नेताहरूलाई पठाइएको होला ।
नेपालको राजनीतिमा बाह्य शक्तिको चलखेल छ, सुनिराखिएकै छ । अहिले मात्र होइन, पहिल्यैदेखि । बिपी सात सालमा किन लामो समय गृहमन्त्रीका रूपमा टिक्न सकेनन् ? पन्ध्र सालमा प्रधानमन्त्री हुँदा पनि उनलाई किन त्यसै गरियो ? उत्तर उही हो, बाहिरी चलखेल । बाह्य शक्तिको प्रस्तावमा स्वीकृतिसूचक टाउको हल्लाएर बसेका भए पक्कै उनको पद टिक्थ्यो होला । तर, बिपी राष्ट्रको भविष्य दाउमा राखेर बाह्य शक्तिसँग सम्झौता गर्न कदापि तयार भएनन् । राणाहरू सधैँ ब्रिटिस र भारत सरकारलाई खुसी पारेर टिकेका थिए । जंगबहादुर १८५७ मा बेलायतीको चाकडीका लागि गदर विद्रोह दमनमा सघाउन सत्र हजारको नेपाली पल्टन लिएर लखनउ गए । भारतीय स्वतन्त्रता संग्राम दबाउन बेलायती पक्षमा लागे । तर, त्यसमा राष्ट्रिय स्वार्थ थियो । १८१६ को सुगौली सन्धिमा गुमेका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याए । अहिलेका नेताहरूमा त त्यो पनि छैन ।
नेताहरू आपसमा झगडा गर्न थालेपछि बाहिरी शक्तिले चलखेल गर्ने ठाउँ पाउँछ । ०६२/०६३ को आन्दोलनताका भारतीय दूत नेपाल आएको दुई दिनमै राजाले प्रजातन्त्र दिने घोषणा गरे । सात दलले अडान लिएकै कारण ११ गते पुन: घोषणा गरे । एकता भयो भने अरूको दबाब खेप्नुपर्दैन भन्ने सिक्नुपर्छ अहिलेका नेताले । राष्ट्रियता र विकासका कुरामा एकमत हुने हो भने बाहिरी शक्तिले प्रभावित गर्नै सक्दैन । नेपालको राजनीति विचार, सिद्धान्त र योग्यताभन्दा चाकडी र चाप्लुसीले चलेको छ ।
म बिपी, सुवर्णशमशेर, गणेशमानजस्ता नेताको आदर्शले कांग्रेस भएको हुँ । अनि सधैं उनीहरूले सिकाएको आदर्शपथमा अडिग छु । कांग्रेसमा दुई चरणको पुस्ताले धेरै चुनौतीसँग जुधेको छ । सात सालअघि कांग्रेस हुने र सत्र सालमा कांग्रेस हुनेले ठूलो जोखिम मोलेका हुन् । राणाविरुद्ध आन्दोलन गर्नु अनि राजा महेन्द्रले प्रजातन्त्र खोसेर गरेको ‘कु’ विरुद्ध राजनीति गर्नु ठूलै जोखिम थियो ।
०६४ मंसिर ६ का लागि सरकारले संविधानसभा निर्वाचन घोषणा गरेको थियो । देशैभरि वाईसीएलको सन्त्रास थियो । माओवादी सरकार छोड्ने धम्की र घुर्की देखाउँदै थियो । मैले कात्तिक ३० गते पच्चिस–तीस जना समकालीन साथीलाई घर बोलाएँ । सल्लाह गरेँ– ‘मुलुक सकिन लाग्यो । अहिले गिरिजाबाबुको विकल्पमा अर्को कोही देखिँदैन तर उनी माओवादीसँग बढी नै लचिलो हुँदै छन् । यसले कांग्रेस समाप्त हुँदै छ । वैचारिक धार धराशयी हुँदै छ । कांग्रेस सधैँ मध्यमार्गी पार्टी हो । बिपीले भनेका थिए– जुन दिन नेपाली कांग्रेसले नेपालको राजनीतिमा मध्यमार्गी धार छोड्छ, त्यो दिन कांग्रेस त सकिन्छ नै मुलुक पनि बाँकी रहँदैन ।’ नभन्दै अहिले त्यस्तै देखिँदै छ ।
०३ सालमा बिपीले भनेका थिए– ‘राजासहितको प्रजातन्त्र चाहिन्छ ।’ तर, दुर्भाग्य † आज बिपीको लाइन कमल थापाले बोकेका छन्, कांग्रेसले होइन । हामी त बिपीको सम्झना र उनले स्थापित गरेको आदर्शात्मक लगानीको ब्याज मात्रै खाइरहेछौं । कतिपय नीतिगत कुरामा म रातारात परिवर्तन हुन सक्दिनँ । बिपी भन्थे– ‘राष्ट्रियताका विषयमा राजासँग विचार मिल्छ, प्रजातन्त्रको विषयमा मात्र उनीसँग लड्नुपर्छ ।’ बिपीको निधनपछि ०४३ सालको सत्याग्रहमा गिरिजाले भने– ‘बहुदल–निर्दलको निर्वाचनमा जनताले दिएको मतको सम्मान गर्न निर्वाचनमा जानुपर्छ, वातावरण बनाऊँ ।’ तर, निर्वाचनमा होमिइसकेपछि पार्टीले बहिष्कारको निर्णय गरिदियो । मलगायत केही साथीले भने निर्वाचनमा भाग लियौं । पञ्चायती व्यवस्थामा चुनाव लडेको आरोप लाग्यो हामीलाई । त्यही आरोपमा ०४८ सालको निर्वाचनमा टिकट दिइएन । सूर्यबहादुर थापाको मन्त्रिमण्डलमा बसेका पञ्चायतको जाँचबुझ समितिका ठेकेदारहरूले टिकट पाए बरु । यसले देखाउँछ, नेपालका नेताहरूमा स्वविवेकी निर्णय गर्ने क्षमता शिथिल हुँदै छ ।
समाजमा भ्रम छ– सत्ता, पद, र प्रतिष्ठा भएको मान्छेलाई नै ठूलो देख्ने । सबैले उसैलाई खोज्छ । मिडियाले पनि पदस्थलाई नै खोज्दै हिँड्छ । टिभीमा अनुहार उसैको आउँछ, पत्रिकामा फोटो छापिन्छ । यति बेला मसँग ती सबै कुरा छैनन् । म त्यसका लागि केही दिन सक्दिनँ, त्यसैले होला । अहिले हरेक ठाउँमा गुटको राजनीति हुन्छ, गुटभित्र नछिरी केही पाइँदैन । निष्ठाको राजनीति ओझेल पर्दै छ । पार्टीभित्रकै प्रतिस्पर्धा अलोकतान्त्रिक तामझामपूर्ण हँुदै छ । हुन त समयअनुसार चल्न नसक्नु मेरो पनि आफ्नै कमजोरी होला ।
नेपाली कांग्रेसमा कोइराला परिवार हाबी भएको अरोप छ । तर, यो आरोप लगाउनुअघि कांग्रेस जन्माउनमा कोइरालाहरूका त्याग कति छ भन्न बिर्सन मिल्दैन । ०४ सालको सत्याग्रहमा बिपी कोइरालाको घरबाट आमा, दिदी, आफन्तलगाएत दर्जनौँ गिरफ्तार भए । ०१५ सालको निर्वाचनमा कोइरालापरिवारबाट बिपी मात्र लडे । गिरिजा रहँदासम्म यो आरोप लागू हुन्थ्यो । अहिले त त्यो अवस्था पनि छैन । कोइरालाका नाममा चुनाव लड्ने, मन्त्री हुने अवसर हात पार्ने केटाकेटीहरू पुरस्कृत हुँदै छन् । यो नेपालको मात्र हैन, दक्षिण एसियाकै राजनीतिको प्रभावले होला । म भने आफ्नै बलबुताले यहाँसम्म आएको हुँ, कसैको कारणले हैन । अहिले कांग्रेसभित्र बोल्ड्ली निर्णय गर्ने क्षमतामा ह्रास आएको छ । अरूको कुरा बेठिक, आफ्नो मात्र ठीक भन्ने संस्कार देखिएको छ । थोरै संख्यालाई खुसी पार्न धेरैलाई चिढ्याउन तँछाडमछाड गर्दै छन् नेताहरू ।
०४८ को निर्वाचनपछि एक दिन शशांकको घरमा पारिवारिक जमघट थियो । शैलजा, नोनालगायत कोइराला परिवारका सबै थिए । मलाई प्रस्ताव गरियो– ‘विपिनको कलम र मुख दुवै राम्रो चल्छ, गिरिजाको राजनीतीक सल्लाहकार बनाउन पर्‍यो ।’ मैले भनेँ– ‘मलाई टिकट दिइएन । यदि दिने हो भने उपल्लो सदनमा प्रतिनिधित्व गर्ने गरी संवैधानिक निकाएमा लैजानू, त्यसै पनि सल्लाहकार भइहाल्छु । तर पदीय हैसियतबिना सल्लाहकार भएर कलम र मुख मात्र चलाउन जान्नँ ।’ मलाई जो पायो त्यसैको पछि लाग्न मन लागेन, त्यसैले सल्लाहकार बनिनँ ।
नेताले कि पार्टीलाई डोहोर्‍याउन सक्नु पर्छ कि त आफू पार्टीको आदर्शसँग डोहोरिन सक्नुपर्छ । तर, अहिलेको राजनीति विचार र आदर्शले भन्दा प्रेसरले चल्न थालेको छ । ०६२/०६३ को आन्दोलनको जगमा मुलुक चलेको छ । न बाह्रबुँदे सहमतिअनुसार काम भएको छ न त आन्दोलनमा उठाइएका नाराअनुसार । त्यति बेला संघीयताको कुरै थिएन, गणतन्त्रपछि आएको हो । लोकतन्त्र स्थापना गर्ने, माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने मुद्दा मुख्य थिए । तर, नेताहरू जसले जे माग्यो, तथास्तु भन्दै तमसुक गर्दै हिँडे । परिणाम– आज मुलुक यो अवस्था भोग्दै छ, रुमलोमा फसेको छ ।
संविधानसभा भंग हुनुपहिला एउटा सार्वजनिक कार्यक्रममा मैले भनेँ– ‘यो मुलुक बाँच्न लेखेको रहेछ भने जेठ १४ मा संविधान आउनु हुँदैन ।’ त्यति बेला यो प्रतिगामी बिचार लाग्न सक्थ्यो । तर, मैले यस अर्थमा भनेको थिए कि त्यति बेला संविधान आएको भए मुलुक कित्ताकाट भएर आउँथ्यो । धन्न, अहिले कमसेकम मान्छेले सोचबिचार गर्ने अवसर त पाएको छ । प्रचण्ड, बाबुराम, सुशील, शेरबहादुर, झलनाथ, माधव नेपालहरूले मुलुक जोगाउन आँट गर्नुपर्छ । पहिला मुलुक नै ठूलो कुरा हो । मुलुक रहे मात्र आफ्नो बिचार र सिद्धान्तको खेती गर्न पाइन्छ, नत्र केही पाइँदैन ।
मलाई त लाग्छ, अहिले नेपालमा राजनेता कोही छैन । राजनेताले त सय वर्षमा मुलुकलाई उन्नतिको चुलीमा पुर्‍याउने योजना बनाउँछ, आफ्नो स्वार्थमा काम गर्दैन । हाम्रा नेता त देश विकास गर्नेभन्दा पनि सत्ता हातमा ल्याउने सोचमा हुन्छन्, जतिखेरै । फलानो नेता भएको भए देश बन्थ्यो भनेर विगततिर फर्कनै पर्दैन, ती नेताको आदर्श पूरा गरे आफंै बन्छ । यो वा त्यो वादको नाम मात्र जपेर हुँदैन, उनीहरूका आदर्शको पछि लाग्नु पर्छ । बिपीले भनेका थिए– ‘काम गर्दा कतै कुनै दुबिधा भए माटो समातेर निर्णय गर्नू । सधैँ जनताको हितमा काम गर्नु ।’ तर आज बिपीको आदर्शलाई पछ्याउने होइन, उनको नाम भजाएर व्यक्तिगत स्वार्थ पूरा गराउने तँछाडमछाड चलिरहेछ ।
प्रस्तुति : चमिना भट्टराई

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक