20130618

चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि कर्णाली अन्चलको विकट जिल्ला कालिकोटमा १५ जना पुरिएर बेपत्ता

मध्य र सुदूरपश्चिममा आएको बाढी–पहिरोले दुई दर्जनभन्दा बढीको ज्यान लिएको छ । सयौँ परिवारका हजारौँ विस्थापित !
गत चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि कर्णाली अन्चलको विकट जिल्ला कालिकोटमा १५ जना पुरिएर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय कालिकोटले दिएको जानकारी अनुसार अविरल बर्षाका कारण कालिकोटको शिपखाना र मेहलमुडीमा सोमवार राती बाढी तथा पहिरो आएको थियो । पहिरोमा परि ती स्थानका २० वटा घर समेत बगेका छन् । सोही पहिरोका कारण कालिकोटमा बिद्युत आपूर्ति गर्दै आएको जल बिद्युत परियोजना पनि डुबानमा परेर बिद्युत सप्लाई बन्द भएको छ । यस्तै पहिरोका कारण त्यहाँ रहेको झोलुङ्गे पुल समेत पुरिएर बगेको छ । सो कार्यालयका अनुसार बाढी पहिरोमा परी पुरिएर बेपत्ता हुनेमा ११ जना शिपखाना गाविसका बासिन्दा रहेका छन् भने ४ जना मेहलमुडीका बासिन्दा रहेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले बाढी पहिरो आएको स्थानमा पुग्न सदरमुकामबाट १ दिन लाग्ने भएकोले खोजी र उद्धारमा समस्या भैरहेको बताउनु भयो । पहिरोमा पुरिएर बेपत्ता हुनेमा शिपखाना चोक्टे बगरका सत्ते शाही, उनकी श्रीमति, एक छोरा र एक छोरी, चन्चला शाही, कला थापा, सरिता शाही उनका छोरा भूपे शाही र कसेरा शाही, हिमचुली शाही तथा शीपखाना–९ का दल शार्की रहेको
प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।
उहाले यसैगरी उक्त पहिरोमा परि मेहलमुडी दमदिले बगरका मेडिकल संचालक मन बहादुर शाही, जिल्ला विकास समितिका कर्मचारी कृष्ण न्यौपाने, टक्क बम रहेको जनाउनु भयो । पहिरोमा परि घाइते भएका बिर्ख शाहीको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
अविरल वर्षाका कारण मध्य र सुदूरपश्चिममा आएको बाढी–पहिरोले दुई दर्जनभन्दा बढीको ज्यान लिएको छ । सयौँ परिवारका हजारौँ विस्थापित भएका छन् । महाकाली नदीकिनारमा रहेको दार्चुला सदरमुकाम खलंगा आधाभन्दा बढी बगेको छ । अविरल वर्षासँगै आएको पहिरोले कालिकोटमा १२, दैलेखमा एकै परिवारका सात, बैतडीमा पाँच र अछाममा दुई जनाको मृत्यु भएको छ । करोडौँको धनजन क्षति भएको छ ।
तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको पहिरोले मंगलबार बिहान कालिकोटको मुम्रा गाविसमा १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोबाट मृत्यु हुनेमा मुम्रा–१ की ३५ वर्षीया कला थापा, सिप्खाना–२ की २३ कमरा शाही, नाम नखुलेका निजकी पाँच वर्षीया छोरी, तीन वर्षीया छोरा, सिप्खाना–२ का सत्य शाही, निजकी पत्नी सरिता शाही, नाम नखुलेका उनका पाँच वर्षीया छोरा र तीन वर्षीया छोरी, मेहलमुडी–४ डङखुलेका बजारका मनबहादुर शाही रहेका छन् ।
त्यस्तै, फुकोट–७ का ओभरसियर कृष्ण न्यौपाने, थिर्पु घर भएका अर्का ओभरसियर टक्कबहादुर बम, सिप्खाना–२ की चञ्चला शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक रमेशकुमार पोखरेलले बताए ।
उनका अनुसार पहिरोमा परी सिप्खाना–२ का सुरज शाही र मेहलमुडी–४ का वृषबहादुर शाही घाइते भएका छन् । आठ जनाको शव भेटिएको छ भने अरू बेपत्ता रहेको उनले बताए । उनीहरूलाई जीवितै भेटिने सम्भावना क्षीण रहेको स्थानीय बासिन्दाले बताए । घटनास्थलमा स्थानीयवासी नेपाल प्रहरीलगायतले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक पोखरेलले अझै बेपत्ताको विवरण आउन बाँकी रहेको बताए । घटनास्थलमा जिल्लाबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए ।
वर्षाका कारण मेहलमुडीमा १० वटा घरसहित लाखौँको मालसामान क्षति भएको छ भने सिप्खाना–२ चाटेबगर बजारमा सातवटा घरमा क्षति भएको छ । मेहलमुडी सिप्खाना आवत–जावत गर्ने एक काठेपुल र एक झोलुंगे पुलसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, पहिरोले पोतमारास्थित विद्युत् गृहको इन्टेक, ट्रान्सफर मेसिन, १० वटा पोलसहित डेलिभेरी मेसिनसमेत बगाएको छ । वर्षाले सबैभन्दा बढी कर्णाली नदीको आसपासका क्षेत्रको स्थानीय जितेगडा र लालिघाट बजार डुबानमा परेको छ । जितेगडा बजारमा एक खुद्रा पसल बगाएको छ भने मान्म बजारमा तीनवटा घर भत्किएका छन् ।
पहिरोमा परी दैलेखमा सोमबार राति एकै परिवारको सात जनाको ज्यान गएको छ । मालिका गाविसमा मोहन कुमालको घर भत्किँदा परिवारका सबै जनाको मृत्यु भएको हो । बाढीले रामागाड र तल्लो डुंगेश्वरका ३५ घर बगाएको छ । थुपै्र घर डुबानबाट प्रभावित छन् ।
पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीय मोहन कुमाल, उनकी श्रीमती २७ वर्षीया तुलसा, छोरा ११ वर्षीय गणेश, ७ वर्षीय खगेन्द्र, ६ वर्षीय नगेन्द्र तथा छोरी ३ वर्षीया कृष्णा र २ वर्षीया सुन्तली कुमाल रहेका छन् । तल्लो डुंगेश्वर र माथिल्लो डुंगेश्वर चौकीबाट खटिएको प्रहरीले मृतकको उद्धार गरेको छ ।
प्रहरीका अनुसार तीन दिनयताको भारी वर्षाले नदीनाला बढेपछि आसपासका थुपै्र बस्तीलाई प्रभावित पारेको छ । कर्णाली र रामागाड खोलाको दोभानमा रहेका मंगलबार बिहान बगाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् । त्यहाँ ३० घर अझै डुबानमा छन् । माथिल्लो कर्णालीको सुरक्षार्थ रक्तकाली गणका सशस्त्र प्रहरीले पीडितको उद्धार गरिरहेका छन् । कर्णाली राजमार्गमा पर्ने सात्तला गाविसको रामागाड व्यापारिक क्षेत्र हो । यहाँ ०४० सालपछि भएको यो ठूलो क्षति हो ।
त्यस्तै, बैतडी सिद्धेश्वर गाविस–९ मा पहिरो जाँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । चार दिनदेखि परिरहेको अविरल वर्षापछि आएको पहिरोले रामसिंह ऐरको परिवारका ५ जनालाई बगाएको हो ।
पहिरोमा परी मृत्यु हुनेमा ३४ वर्षीया कलावती ऐर, २६ वर्षीया सीता ऐर, उनका १ वर्षीय छोरा अर्जुन, ३ वर्षीया छोरी विन्देश्वरी र १२ वर्षीय परमेश्वर रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाको खोड्पे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले उद्धारकार्य जारी राखेको छ । ४ जनाको लास पहिरोमा पुरिएको अवस्थाबाट निकालिएको भए पनि परमेश्वर ऐरको शव अझै नभेटिएको इन्स्पेक्टर मनोज शाहीले बताए ।
त्यस्तै, अविरल वर्षाले डडेलधुरा जिल्ला शीर्ष गाविस–९ परिगाउँका १८ परिवार र जोगबुडा गाविस–३ तातोपानीका २५ परिवार विस्थापित भएका छन् । विस्थापित आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसार्इंले बताए ।
अछाम कुन्तिबन्डाली­३ मा पहिरो जाँदा सोही स्थान बस्ने ३५ वर्षीय मीनबहादुर बोगटीकी श्रीमती ३२ वर्षीया अनिता र छोरी सबिनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे पाँच बजे गोठमा सुतिरहेका अवस्थामा पहिरो आउंँदा उनीहरूको मृत्यु भएको हो । मीनबहादुर र उनका छोरा मुकेश र रोहित सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
२५ दिनकी सुत्केरी घरको छतमा
यस्तै, कर्णाली नदीमा आएको बाढीका कारण बर्दियाको दौलतपुर मुर्गौवाका एकै परिवारका ४ जनाको उद्धारमा कठिनाइ परेको छ । मुर्गौवा गाउँमा चारैतिर बाढीले घेरेपछि सुरक्षित स्थानतिर जान नसकेर मुर्गौवाका जयबहादुर खत्री, उनकी पत्नी, २५ दिनकी सुत्केरी बुहारी र नवजात शिशु घरको छतमा बसिरहेको र उद्धारका लागि अनुरोध गरिरहेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको पछिल्लो जानकारीअनुसार राजापुर क्षेत्रमा रहेका ११ गाविसका झन्डै दुई हजार बढी घर डुबानमा परेका छन् । पाताभार गाविसको राजीपुर, सन्कट्टी र बनकट्टी, दौलतपुर गाविसको मुर्गौवा, सोनपुर, खैरीचन्दनपुर गाविसको मझेरा र राजापुर गाविसको छेदियालगायत गाउँका सबै घर पूर्णरूपमा क्षति भएको छ ।
जाजरकोटमा यातायात ठप्प
लगातारको वर्षाले दुई दिनदेखि जाजरकोटको यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्डको सुर्खेत राकमदेखि जाजरकोट खलंगासम्म मात्र चल्ने गरेको यातायात पनि वर्षातका कारण अवरुद्ध भएको हो ।
वर्षाले सवारीसाधन नचलेपछि यात्रु सल्यानको सल्लीबजारसम्म एक दिनको पैदल हिँड्न बाध्य छन् भने बिरामी तथा बालबालिकाको बिचल्ली भएको छ । सुर्खेत, नेपालगन्जबाट सिधा यातायात चल्ने गरेकामा गत जेठ दोस्रो सातादेखि सुर्खेतको राकमबाट मात्र यातायात सञ्चालनमा थियो ।
नदीमा पानीको सतह बढेपछि सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्ने भेरी नदीमा रहेको फेरी बन्द भएपछि सवारीसाधन राकमसम्म मात्र पुग्ने गरेका छन् । वर्षातले सडकको ठाउँ– ठाउँमा खाल्टाखुल्टी तथा हिलाम्य बनेपछि सवारी आवागमन ठप्प भएको भेरी गंगा यातायात व्यवयासायी समितिका इन्चार्ज महेश चौधरीले बताए ।
त्यस्तै, रुकुमको चौरजहारीदेखि सल्यान सल्लीबजारसम्मको सडक पनि वर्षातका कारण अवरुद्ध छ । कच्ची र साँघुरो बाटोले गर्दा वर्षातको समयमा बर्सेनि यात्रुले सास्ती खेप्दै आएका छन् ।
भैरहवा डुबानमा
अविरल वर्षाका कारण भैरहवा डुबानमा परेको छ । डुबानका कारण यहाँका अधिकांश सरकारी कार्यालयको काम प्रभावित भएको छ । सिद्धार्थनगर नगरपालिकाको विभिन्न वडा र केही सरकारी कार्यालय डुबानमा परेका छन् । डुबानका कारण नगरपलिकाका पक्लिहवा, झण्डी बजार, दरखसवा, गल्लामण्डी, हाटबजार, ज्योति पथ, श्रद्धापथ, देवकोटा चोक, सिद्धार्थ बसपार्क, बेलहिया, जनतापथ, नयाँ सडक, सिद्धार्थ रंगशालालगायत विभिन्न क्षेत्र पोखरीजस्तै देखिएका छन् ।
मुख्य सडक डुबानमा परेपछि भैरहवाबाट छुट्ने अधिकांश सवारीसाधन छुट्न सकेका छैनन् भने भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन ।
पर्सामा सोमबार एकाबिहानै चट्याङ लागेर चार जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय पोखरिया पर्साका अनुसार जिल्लाको बैरियाबिर्ता गाविसमा बिहान करिब ८ बजेतिर चट्याङ खस्दा दुई जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ल्याउँदै गर्दा ज्यान गएको हो।

बिहान खेतमा काम गरिरहेको अवस्थामा पानी परेपछि खेतनजिकैको छाप्रोमा ओत लागेर बसेका बेला अकस्मात् चट्याङ खसेको थियो। उक्त चट्याङका कारण बैरियाबिर्ता–६ का मनिफ मियाँ र ८ का गया मुखिया बिनको घटनास्थलमा नै ज्यान गएको पोखरियाका स्थानीयबासी धर्मेन्द्र चौरसियाले जानकारी दिनुभएको छ।

उक्त क्रममा गम्भीर घाइते भएका झौवागुठी–१ का रामबावु राउत र बैरियाबिर्ता–७ का शम्भु राउत कुर्मीको भने उपचारका लागि नारायणी अस्पताल वीरगन्ज ल्याउँदै गर्दा ज्यान गएको नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्षले जानकारी दिएको छ। गम्भीर घाइते दुर्गा साह कानुको वीरगन्जमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

रोपाइँको तयारी गर्नका लागि खेत खन्न खेतमा भेला भएका बेला एकैचोटि ठूलो आवाज आएपछि आफूले केही थाहा नपाएको नारायणी अस्पतालमा उपचाररत घाइते दुर्गाले नेपाल समाचारपत्रसँग भने। उनीसहित चार जना गाउँले पानी परेको मौका छोपी खेतमा आली खन्नका लागि पुगेका थिए।

एकबिहानै कल्पना नै नगरेको घटनाबाट स्थानीयहरूले ज्यान गुमाउन पुगेपछि सोमबार बिहानैबाट सो गाउँ शोकमा डुबेको छ। लगभग एउटै गाउँ र छिमेकी गाउँसँग जोडिएको झौवागुठीका चार जनाको चट्याङले ज्यान लिएपछि स्थानीय पीडितहरूको घरमा रुवाबासी चलेको स्थानीयबासीले जानकारी दिएका छन्। स्थानीयहरूका अनुसार चट्याङबाट ज्यान गुमाउने सबै सामान्य कृषकहरू नै हुन्। शुरूकै असारमा उनीहरूको ज्यान चट्याङले लिएपछि परिवारको समेत बिजोग भएको गाउँलेहरूले जानकारी दिएका छन्।
 पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिममा बाढी–पहिरोले गरेको धनजन र मानवीय क्षतिले आफूलाई पोलिरहेको बताएका छन् । त्यहाँका जनताका लागि आफूले भगवान्सित प्रार्थना गरिरहेको उनले बताए । ‘सूदूरपश्चिममा आएको प्राकृतिक प्रकोपले म दु:खी बनेको छु, मैले गरेका पूजामा सूदूरका जनताका लागि भगवान्सँग प्रार्थना गरेको छु,’ पूर्वीजिल्ला भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले पत्रकारसित भने । पश्चिमलाई पीडाले पोलेको भन्दै उनले त्यहाँका जनतालाई तत्काल राहत आवश्यक भएको बताए ।
पूर्वराजा ज्ञानेन्द्रले मंगलबार रौतहटको मध्यबजार गरुडामा भगवती मन्दिर र गौर–१ स्थित शिवालय मन्दिरमा पूजाअर्चना गरेका छन् । पूजाअर्चनापछि केहीबेर विश्राम गर्न होटल पुगेका उनले पत्रकारसित कुराकानी गरेका हुन् । मंगलबार दिउँसो आइपुगेका पूर्वराजाको स्वागतका लागि गाउँ–गाउँबाट स्थानीय बासिन्दा सदरमुकाम आएका थिए । समर्थकहरूको विशाल भिडका बीच उनले झन्डै २० मिनेट उनले मन्दिरमा पूजा गरेका थिए ।
सरकारले घोषणा गरेको संविधानसभाको चुनाव निष्पक्ष, धाँधलीरहित तथा जनताले खोजेजस्तो हुनुपर्ने पूर्वराजा ज्ञानेन्द्रले बताए । ‘चुनावको प्रतिफल जनताले पाउने गरी मात्र चुनाव हुनुपर्छ,’ उनले भने । पहिलो संविधानसभा असफल भएकाले अब गठन हुने संविधानसभाले जनताको आकांक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
भ्रमणका क्रममा देखिएको जनसहभागिताले राजसंस्थाप्रति जनताको आस्था अझै रहेको आफूले बुझेको पूर्वराजा ज्ञानेन्द्रले बताए । ‘जनताको इच्छा बुझेको छु तर अहिले नै केही भनिहाल्ने समय छैन, उचित समय आएपछि भनौँला,’ उनले भने । अहिलेको राजनीतिक अवस्थाबारे आफूभन्दा नेताहरूले बताउने उनले भने । ‘यस्ता प्रश्न नेताहरूलाई सोध्नोस्,’ उनले भने । नेताहरूले देशबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो । पूर्वराजा मंगलबारै सिमरा फर्किएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक