20130608

बीएन घर्ती बीएन घर्ती किष्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत

शनिवार बिहानैदेखि चलिरहेको किष्ट बैंक सञ्चालक समितिको बैठकले प्रवन्ध सञ्चालक कमल ज्ञवालीको राजिनामा स्वीकृत गरेको छ । सिद्धार्थ विकास बैंकबाट कर्जा अपचलन गरेको आरोपमा ज्ञवालीपत्नी गौरी ज्ञवाली पक्राउ परेपछि उनी विवादित बनेका थिए । बोर्डले ज्ञवालीको राजिनामा स्वीकृत गरी बीएन घर्तीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । घर्ती किष्टमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यारत थिए । कमल ज्ञवाली किष्ट फाइनान्स स्थापनादेखि नै प्रवन्ध सञ्चालकको जिम्मोवारीमा थिए, उनी किष्ट र भिवोर विकास बैंक मर्जपछि ‘ग्रेसफुल एक्जिट’को तयारीमा थिए । तर गत बुधवार श्रीमती ज्ञवालीलाई प्रहरीको केन्द्रिय अन्वेषण व्युरोले पक्राउ गरेपछि कमलमाथि राजिनामाको दवाव थियो । ज्ञवालीलाई सञ्चालक समिति र केन्द्रीय बैंकबाट पनि राजिनामाका
लागि दवाव परेको थियो । ज्ञवालीपत्नी पक्राउ परेपछि किष्ट बैंकमा बिहिवारदेखि बोर्ड बैठक चलिरहेका छन् । कमलले शुक्रवार साँझ आफ्नो राजिनामा सञ्चालक समितिमा पठाएका थिए ।
ज्ञवालीले सन् २००३ मा आफ्नै पहलमा किष्ट फाइनान्सको सुरुवात गरेका थिए, उनले छ वर्षसम्म फाइनान्स सञ्चालन गरेपछि सन् २००९ मा समूह ‘ग’को वित्त कम्पनीबाट किष्टलाई समूह ‘क’को वाणिज्य बैंकमा स्तरोन्नती गरेका हुन् । घरजग्गामा ठूलो कर्जा प्रवाह गरेपछि किष्टको वित्तीय स्वास्थ्यमा केही समय समस्या देखिएको थियो । तर जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेपछि किष्टको वित्तीय स्वास्थ्य अहिले मजबुत बनिसकेको छ । दुई महिना अघि किष्ट बैंक र भिवोर विकास बैंकवीच मर्जको सम्झौता भएको छ । दुवै बैंकले ड्यु डिलिजेन्स अडिट (डिडिए) गरिरहेका छन् । आगामी महिना डिडिएको प्रतिवेदन आएपछि दुवै बैंकको सेयर स्वाप रेसियो तयार हुनेछ ।
भिवोरसँग मर्ज भएपछि कमलले किष्ट बैंकबाट ‘ग्रेसफुल एक्जिट’को तयारी गरिरहेका थिए, किष्टमा घरजग्गा व्यवसायी राजेन्द्र शाक्य (दिजेन्द्र)सँग भएको  सेयर खरिद गरिसकेको ज्योति समूह मर्जपछि ठूलो साझेदारका रुपमा प्रकट हुँदै छ । ज्योती बैंकमा आएपछि किष्टको कमाण्ड व्यवसायिक व्याक्तिलाई सुम्पेर कमल सञ्चालक मात्र बन्ने तयारीमा थिए । तर अचानक भएको घट्नाक्रमले कमललाई राजिनामा दिन वाध्य पारेको हो ।
को हुन् बीएन

शनिवार कमलको राजिनामा स्वीकृत गरी बीएनलाई जिम्मेवारी दिने किष्ट सञ्चालक समितिले निर्णय गरेको हो । फाइनान्सबाट बैंक बन्ने प्रक्रियापछि बीएन चार वर्ष अघि किष्टमा आएका हुन्, त्यसअघि उनी दश वर्षदेखि एनआईसी बैंकमा कार्यरत थिए, बीएन एनआईसीमा छिट्टो प्रगती गरी विभागीय जिम्मेवारी पाउने मध्ये एक हुन् । बीएनसँग बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनसम्वन्धी क्षमता छ । उनी अहिले यही बिषयलाई लिएर नेपाल बैंकिङ्ग ट्रेनिङ्ग इन्ष्ट्च्यिुट(एनबीटीआई)मा पनि बैंकरहरुलाई तालिम दिन्छन् । १६ वर्ष पहिले बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुअघि उनी नौ वर्षसम्म विभिन्न सरकारी, सामाजिक र निजी प्रतिष्ठानमा कार्यरत थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक