20130608

उच्चस्तरिय राजनीतिक समितिको बैठक फेरी बिना निष्कर्ष टुंगियो, रेग्मीले आफुले सहमति जुटाउनको लागि दिएको समयावधिभित्र सहमति नभएको भन्दै असन्तुष्टि व्यक्त !

  उच्चस्तरिय राजनीतिक समितिको बैठक फेरी बिना निष्कर्ष टुंगिएको छ । नयाँ बानेश्वर स्थित समितिको कार्यलयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आइतबार साँझ सम्मका लागि स्थगित भएको छ ।  बैठक पछि समितिका संयोजक झलनाथ खनालले दलहरु आ–आफ्नो अडानमा कायममै रहेकोले सहमति नभएको बताए । यसअघि प्रमुख दलले बिहान मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीसँग छलफल गरेका थिए । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफुले भनेको समयमा सहमति नजुटाएको प्रति उच्चस्तरीय राजनीतिक समिति समक्ष असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार आफ्नै निवास बालुवाटारमा राजनीतिक समितिसँग भएको छलफलमा रेग्मीले आफुले सहमति जुटाउनको लागि दिएको समयावधिभित्र सहमति नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार रेग्मीले दलहरुको व्यवहारप्रति असन्तुष्टिसहित जतिसक्दो छिटो सहमति गर्न दवाव दिएका थिए । स्रोतका अनुसार रेग्मीले बैठकमा सहमतिको लागि धेरै दिन पर्खिन नसक्ने भन्दै सहमति नजुटे सरकार आफ्नो तरिकाले अगाडि बढ्ने बताएका छन् ।  यसअघिको बैठकमा रेग्मीले दलहरुलाई २४ गतेभित्र विवाद टुङ्गयाउन समयसीमा दिएका थिए । 
बैठकमा राजनीतिक समितिमा सम्मिलित दलका नेताहरुले भने छलफल चलिरहेकोले केही समय पर्खिन रेग्मीसँग आग्रह गरेका छन् । दलहरुबीच भइरहेका छलफल सकारात्मक रहेकोले केही दिनसभत्र सहमति हुने नेताहरुले
बताएका थिए । बैठकमा समिति संयोजक झलनाथ खनालले एकदुई दिनभित्र सहमति जुट्ने भएकोले केही दिन पर्खिन आग्रह गरेका थिए । 
मोर्चाका संयोजक विजयकुमार गच्छदारले अध्यक्ष रेग्मीले आइतबारसम्ममा दलहरू निर्णयमा पुगून् भन्ने चाहना राख्नुभएको जानकारी दिँदै उच्चस्तरीय समितिमा छलफल गरेर सहमति पुगिने बताए । गच्छदारले समानुपातिकका विषयमा दलहरू करिब करिब सहमतिमा पुगेको तर मूल रूपमा विवादको चुरो रहेको थ्रेसहोल्डमा रहेको जनाए । 
थ्रेसहोल्ड नराख्दा चुनावको वातावरण बन्ने र साना दललाई पनि सहज हुने मोर्चा र एमाओवादीको धारणा रहेको तर कांग्रेस र एमाले थ्रेसहोल्डका पक्षमा रहेको भए पनि यसको मिलनविन्दु खोजिने बताउँदै मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरूसँग पनि यसबारेमा छलफल भएको संयोजक गच्छदारले जानकारी दिए ।
निर्वाचन ऐनको विषयमा सहमति जुट्न नसकेपछि समितिका नेताहरुले सरकारसँग छलफल गरि निष्कर्षमा पुग्ने जनाएका छन् । ‘थ्रेस होल्ड’, उमेद्वारको योग्यता, उम्मेद्वार बन्ननुअघि सम्पत्ति सार्वजनिक लगायतका विषयमा सरकारलाई निर्णय गर्न दिने वा सहमति गर्ने दोधारमा रहेका दलहरुले शनिबार रेग्मीसँग छलफल गरेका हुन् । 
छलफलका लागि समितिका संयोजक तथा नेकपा एमालेका नेता झलनाथ खनाल, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति सुशील कोइराला र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार बालुवाटार  पुगेका थिए । शुक्रबार बसेको बैठकले यसअघि भएको ११ बुँदे र २५ बुँदे सहमतिलाई लिखित रुप दिएको थियो । 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादबीच भेटबार्ता भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा आज (शनिबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र अन्य विविध विषयमा कुराकानी भएको बुझिएको छ । राजदूत जयन्तले सहमति गरेर निर्वाचन गर्न सुझाव दिएका थिए ।
दलहरुका बीच निर्वाचन र ऐनलाई लिएर मतमतान्तर भईरहेका बेला अध्यक्ष दाहालसँग भारतीय राजदूत जयन्तले भेट गरेका हुन् ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले असन्तुष्ट राजनीतिक दलहरुलाई सहमतिमा नल्याई एकलौटी निर्वाचन गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
काभ्रेमा आज (शनिबार) आयोजित नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय यूवा भेला तथा प्रशिक्षण कार्यक्रममा थापालो जबर्जस्त निर्वाचन गरे सशक्त प्रतिकारमा उत्रिन पार्टी निकट यूवाहरुलाई निर्देशन दिए ।
‘चुनाव गराउनु भनेको नेपाललाई सिक्किमिकरण गर्नु हो,’ उनले भने, ‘सिक्किमिकरणबाट रोक्नपनि निर्वाचन गर्नुहुन्न ।’
खिलराज रेग्मी नेतृत्वको सरकारले राजीनामा दिए सहमतिको वातावरण बन्ने उनको भनाई छ । महासचिव थापाले राजनीतिक सहमतिमा नयाँ दलीय सरकार गठन गर्नुपर्ने बताए ।
‘चार दलका नाममा पेलेरै निर्वाचन हुन सक्ने भए आजसम्म निर्वाचनको मिति घोषणा भैसक्ने थियो,’ थापाको टिप्पणी गरे, ‘निर्वाचनको मिति घोषणा गर्नै धौ–धौ भएको सरकारले निर्वाचन गराउँनै सक्दैन ।’

पटक-पटक बैठक बस्दा पनि सहमतिमा पुग्न नसकेका चारदलका शीर्षनेतालाई शनिबार बिहान बालुवाटारमा एकजना मन्त्रीले दह्रोसँग थर्काएका छन् । निर्वाचनसम्बन्धी कानूनमा सहमति जुटाउन नसकी समय माग्न बालुवाटार पुगेका दलका नेतालाई थर्काउने मन्त्री हुन्- विद्याधर मन्त्री ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री मल्लिकले दलहरुले चुनावको वातावरण नबनाएको भन्दै आक्रोश पोख्नुभयो । ‘हामी पेन्सन पकाएर घरमा बसेको मान्छेलाई चुनाव गरिदिनोस् भन्नुभयो, हामी पनि चुप लागेर बस्न हुन्न, देशका लागि केही गर्नुपर्छ भनेर आएका हौं ।’ मल्लिकले बैठकमा नेताहरुलाई भन्नुभयो, ‘तपाईहरुले चुनावको वातावण नबनाउने भए हामीले कसरी गर्ने ? चुनाव हामीलाई हैन, तपाईहरुलाई नै चाहिएको हो ।’
स्रोतका अनुसार मन्त्री मल्लिकले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालतिर लक्षित गर्दै प्रश्न गर्नुभयो- ‘तपाईहरुलाई थ्रेसहोल्ड किन चाहियो ? यो थ्रेसहोल्डले के गर्छ ? पुरानै कानूनअनुसार निर्वाचनमा जाँदा के हुन्छ ?’
बैठकमा दलका नेताहरुप्रति मन्त्रिपरिषदका अध्यक्ष रेग्मीसमेत निकै आक्रोशित देखिनुभएको थियो । चारदलको आग्रह अनुसार बालुवाटारमा आयोजित छलफलमा अध्यक्ष रेग्मीका साथै मन्त्रीहरुको पनि सहभागिता थियो ।
शनिबार बिहानको सो बैठकमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले दलका नेतालाई छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गर्नुभएको अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखरलाई बताउनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/80048/#sthash.8IhZ7WJD.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक