20130611

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी पत्नी ल्युडमिलाले झन्डै ३० वर्ष लामो दाम्पत्य जीवन तोड्ने भए

Putin-&-his-wife-Lyudmilaमस्को/ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी पत्नी ल्युडमिलाले झन्डै ३० वर्ष लामो दाम्पत्य जीवन तोड्ने भएका छन् । पुटिन दम्पतीले सम्बन्ध–विच्छेदको प्रसंग राज्य–नियन्त्रित टेलिभिजन ‘रसिया २४’लाई दिएको संयुक्त अन्तर्वार्तामार्फत सार्वजनिक गरेका हुन् । ‘यो हाम्रो संयुक्त निर्णय हो । हाम्रो विवाहित जीवन समाप्त भएको छ,’ पत्नीसँगै उभिएका पुटिनले ‘रसिया २४’ टिभीलाई भने । बिहीबार राति प्रसारित उक्त
अन्तर्वार्तामा पुटिनले भने, ‘हामीले अब एकअर्कालाई देख्ने–हेर्ने छैनौँ । हाम्रो जीवन नितान्त पृथक् छ ।’
ल्युडमिला पुटिनले उनीहरूका दुई वयस्क छोरीका लागि दुवैमा समान स्नेह रहेको बताउँदै सार्वजनिक जीवनले गर्दा अप्ठ्यारो पर्ने गरेको तथ्य औँल्याइन् । उनले भनिन्, ‘मलाई सार्वजनिक जीवन मन पर्दैन । अझ विमानयात्रा त झन् गाह्रो लाग्छ तर हामी छोरीहरूलाई भने माया गर्छौँ । हामीलाई उनीहरूप्रति गर्व छ । हामी उनीहरूको हेरविचार गरिरहेका हुन्छौँ ।’
उनले आफूलाई प्राप्त सहयोग र मायाका लागि पतिप्रति आभारी रहेको उल्लेख गर्दै दुईबीचको सम्बन्ध–विच्छेदलाई ‘सभ्य पारपाचुके’ को संज्ञा दिइन् ।
सरकारी समाचार संस्था रिया नोभोस्तीले जनाएअनुसार राष्ट्रपतिका एक प्रवक्ताले सम्बन्ध–विच्छेदको खबर सार्वजनिक भए पनि त्यससम्बन्धी कागजपत्र भने तयार हुन बाँकी रहेको बताएका छन् ।
सम्बन्ध–विच्छेदको यो घोषणा उनीहरूबीचको वैवाहिक सम्बन्धबारे पछिल्लो लामो समयदेखि चल्दै आइरहेको चर्चा र अनुमानपछि आएको हो । पुटिनले ल्युडमिलासित जुलाई सन् १९८३ मा विवाह गरेका थिए । उनीहरूका छोरी मारिया सन् १९८५ र येकातेरिना १९८६ मा जन्मेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक