(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130604

दरबार हत्याकाण्डलाई फर्केर हेर्दा :

भट्टराईले दरबार हत्याकाण्डको दोष योजनाकर्ताका रुपमा अमेरिका र भारतमाथि, अनि स्थानीय कार्यान्वयनकर्ताका रुपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रमाथि लगाएका थिए
- युवराज घिमिरे दक्षिण कोरियाको बाह्य सहयोग संस्था कोइकाको निमन्त्रणामा सोलमा थिएँ म, उद्योग व्यवसायी विनोदबहादुर श्रेष्ठसँगै । २०५८ जेठ २० गते (जुन २) बिहानै उठेर इन्टरनेट हेर्दा दरबार हत्याकाण्डबारे थाहा भयो । विनोदजी र मेरो प्राथमिकता कसरी तुरुन्तै नेपाल फर्कने बन्न पुग्यो । शनिबार र आइतबार कार्यालयहरु
नखुल्ने हुँदा कागजात मिलाउन नपाएपछि अन्ततः सोमबार हामी फर्क्यौ कार्यक्रम बीचैमा छाडेर । ब्यांककमा १२ घन्टाको ‘ट्रान्जिट’पछि ‘कर्फ्यु लागेको काठमाडौं आइपुग्यौं, जेठ २३ गते दिउँसो । सोलबाट मेरो त्यसबेलाको कार्यालय (कान्तिपुर दैनिक)मा सम्पर्क राख्ने सबै प्रयास असफल भएका थिए । हत्या आफैंमा जीवनलीला समाप्त पार्ने अस्वीकार्य अपराध हो । त्यसमा पनि मुलुकले माया गरेको र उदार व्यक्तित्वका रुपमा स्थापित राजा वीरेन्द्रको वंशनाश भएको थियो । अनि राजसंस्थाका उत्तराधिकारीका रुपमा तालिम हासिल गरिरहेका, यदाकदा सार्वजनिक जानकारीमा देखिने उद्दण्डता पनि मन पराइने युवराज दीपेन्द्रको नाम ‘हत्यारा’का रुपमा आउँदा ‘भीड’ले स्वीकार पनि नगरेको अवस्था थियो ।
कर्फ्युका कारण त्रिभुवन विमानस्थलबाट प्रहरीले नै ‘लिफ्ट’ दियो, तीनकुनेस्थित कान्तिपुर कार्यालयसम्म । त्यसै दिन बाबुराम भट्टराईले ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुँदैन’ भन्ने लेख पठाएका रहेछन्, कान्तिपुरमा प्रकाशनार्थ । नेपालको इतिहासमा यति ठूलो दुर्घटना अनि त्यसबारे एउटा सशक्त भूमिगत आन्दोलनका नेताको लेख कुनै पनि सम्पादकका लागि नछाप्ने निर्णय लिन कठीन थियो ।
भट्टराईले दरबार हत्याकाण्डको दोष योजनाकर्ताका रुपमा अमेरिका र भारतमाथि, अनि स्थानीय कार्यान्वयनकर्ताका रुपमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रमाथि लगाएका थिए । राजा वीरेन्द्रलाई उनले ‘देशभक्त’का रुपमा प्रस्तुत गरेका थिए । अहिलेको परिस्थितिमा भट्टराई भारतको विरोधमा केही बोल्ने साहस राख्दैनन् । कोइराला उनका ‘हिरो’ बनेका छन् । अमेरिकाप्रति निरपेक्ष छन् । हिजो के बोले या गरे, जवाफदेहीतामा विश्वास गर्दैनन् भट्टराई ।
लेख छापियो । सम्पादकसहित प्रबन्ध निर्देशक र निर्देशक ‘राजद्रोह’को अभियोगमा जेल परे, यद्यपि दुई महिनापछि सरकारले त्यसलाई फिर्ता लियो ।
दरबार हत्याकाण्डपछि सानोदेखि सुनेको ‘गुरु’ गोरखनाथको भविष्यवाणी स्मरण हुन थाल्यो । पृथ्वीनारायण शाहपछिका १० औं पुस्ताबाट राजसंस्था (शाहवंश) समाप्त हुने सम्भावना बढ्न थाल्यो । त्योसँगै संकटको बेला मुलुकमा सरकार, दलहरु अनि सबै मिलेर संकट सम्बोधन गर्न तम्सिन्छन् कि भन्ने झिनो आशा पनि पलाएको थियो मनमा, सोलदेखि फर्कने क्रममा, अफिसमा, प्रहरी हिरासतमा र अनि रिहाइपछि पनि । यथार्थ त्यस्तो भएन ।

‘भीडको मनोविज्ञान’मा तर्क हुँदैन । वास्तविकताबाट निर्देशित हुनैपर्छ भन्ने पनि छैन । दीपेन्द्रलाई हत्यारा मान्न भीड तयार भएन । आफ्ना छविका कारण हत्याकाण्डका दिन थुप्रैलाई बचाउन ‘प्रेजेन्स अफ माइन्ड’ देखाएका पारस शंकाकै घेरामा रहिरहे । उता दरबारको संवाद सचिवालयले त्यो संकटमा विवरणसहित सूचना प्रवाह गर्नमा ढिलाइ र कन्जुस्याइँ दुबै गर्‍यो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रकी पत्नी कोमल गोली लागी गम्भीर घाइते भएको समाचार त्यति आएन । षड्यन्त्र ‘थ्योरी’ लाई बल पु्‍र्‍यायो त्यसले ।
सरकार चुक्यो नराम्रोसँग । यत्रो घटना हुँदा पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बोलाएनन् । जनतालाई न्यूनतम जानकारी दिएर छानबिन आयोगको गठन उसले गरेको भए राजदरबारले त्यसको विरोध गर्नसक्ने थिएन । सरकार चुक्यो । छानबिन आयोगको गठन जरुरी थियो । प्रधानमन्त्री कोइरालादेखि प्रतिपक्षका नेता माधवकुमार नेपालसम्म दरबारले नै छानबिन गरोस् भन्ने पक्षमा उभिए ।
अझ, ‘मैले देखेको दरबार’का लेखक विवेक शाहका अनुसार माधव नेपालले त राजासँग विशेष आग्रह नै गरे आयोग बन्दा आफूलाई नछुटाउन । किन पछि उनले अस्वीकार गरे ? अझै रहस्यपूर्ण छ यो । नेपालको दोधारे चरित्रको उदाहरण पनि बनेको छ ।
म पत्रकारितामा प्रवेश गर्नुअघि (१९७९ जुन २३) मा दिल्लीमा संजय गान्धीको निधन भएको थियो, उनले नै उडाएको जहाज दुर्घटनामा पर्दा । त्यहाँका प्रतिपक्षका केही महत्वपूर्ण नेताहरु ‘लुज टक’ मा त्यसको दोष संजयकी आमा इन्दिरा गान्धीलाई लगाउने गर्थे । मानवीय पीडा बोध गर्नु वर्तमान राजनीतिको धर्म बन्न सकेको छैन । त्यसको मानवीय अनुहार धमिलो बन्दै छ, बन्ने क्रमले निरन्तरता पाइरहेको छ ।
त्यसको १२ वर्ष पछि संजयका दाइ राजीव गान्धीको हत्यामा सोनिया गान्धीको नाम त्यसरी नै त्यही अमानवीयतासाथ केही राजनीतिक व्यक्ति र संगठनहरुले लिए । लेखे । यद्यपि आम जनताले त्यसलाई गम्भीरताका साथ लिएन । र, छानबिन आयोगले पनि त्यसलाई गम्भीरताका साथ लिएन । तर, सोनिया गान्धीको पीडा र उनले बुझ्ने गरी आएका त्यत्रा आलोचना उनले अत्यन्तै मर्यादित रुपमा झेलिन् । दुई छोराछोरीको सुरक्षा र सुनिश्चित जीवनका लागि मौनता अपनाइन् । आरोपलाई मौन मर्यादाले शिथिल बनाइन् उनले ।
शायद वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सोनिया गान्धीजसरी नै परिस्थितिलाई झेले । दरबार हत्याकाण्डको करिब तीन महिनाजति पछि मैले पहिलोचोटि राजा ज्ञानेन्द्रलाई भेटेँ ।
यस्ता किसिमका हत्याहरुको दोष अक्सर ‘अप्राकृतिक’ रूपमा फाइदा पाउनेहरूमा जान्छ । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रलाई त्यस अर्थमा गद्दी लाभ भयो । अमेरिकामा राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि स्वाभाविक रूपमा लिन्डन बी जोन्सन (उपराष्ट्रपति)लाई पद लाभ भयो । हत्याको छानबिनका लागि ‘अर्ल वारेन’ कमिसन बन्यो । तर, त्यसले ठोकुवासाथ कसैमाथि जिम्मेवारी सुनिश्चित गर्न सकेन । उता जनमानसमा लिन्डन बी जोन्सनमाथिको शंका रहि नै रह्यो ।
मैले यी विभिन्न वृत्तान्तहका साथ राजासँग कुरा राखेँ, भविष्यमा फिल्म निर्माता, पत्रकार र लेखकहरू सबैले यो घटनाबारे चासो राख्लान् । अनि उनीहरूले गर्ने शंका र प्रश्नलाई सम्बोधन गर्ने गरी लामो अवधिसहितको आयोग गठन गरेको भए शायद बेस हुने थियो कि ? तर, धेरै ढिलो भइसकेको थियो । प्रधान न्यायाधीशको नेतृत्वको छानबीन टोलीले प्रतिवेदन दिइसकेको थियो ।
राजाको पीडा बुझ्न कठिन थिएन । उनले कुनै रूपमा व्यक्त पनि गरे त्यसलाई । हाँसो र आँसु सेयर गर्ने सबै आफन्त गुमाएको र राजा भएर रुन पनि नमिल्ने तितो तथ्यको पीडा थियो उनलाई ।
राजसंस्थालाई समाप्त गर्ने संविधानसभाको निर्णयपछि दरबार छोड्ने बेला उनले चुनौती दिए सत्तालाई । दरबार हत्याकाण्डबारे कुनै पनि छानबिनका लागि आफू तयार भएको सन्देश दिए ज्ञानेन्द्रले । नयाँ आयोग गठन भएन । तर, प्रचण्डलगायतका नेताहरुले त्यो आरोप लगाई नै रहे ।
दरबार हत्याकाण्डलगत्तै सैनिक अस्पतालमा उपचारका लागि लगिएका राजपरिवारका सदस्य तथा नातेदारहरुलाई आफन्तहरु भेट्न गइ नै रहेका थिए । दीपेन्द्र अचेत अवस्थामा रहेकै बेला अस्पताल पुगेकी ‘मुमा बडामहारानी रत्न राज्यलक्ष्मी’ले सबैलाई भेटिन्, तर दीपेन्द्र राखेको बेडमा नपुगी फरक्क फर्किन् । ‘उनको अनुहारमा घृणा देख्न सकिन्थ्यो त्यसबेला पनि’ प्रत्यक्षदर्शीहरुका अनुसार ।
घटनास्थलमा उपस्थितहरुको भनाइ फरक छैन, छानबिन आयोगको निष्कर्षभन्दा । तर, छानबिनमा लगाएको छोटो अवधिले विश्वसनियतामा आँच पुर्‍याउनु अस्वभाविक थिएन ।
विवेक शाहकै किताबअनुसार ज्ञानेन्द्रले सबैको पोस्टमार्टम गर्नुपर्ने सुझाव राख्दा मुमा बडामहारानीले प्रश्न गरिन्, ‘महाराजधिराजको शरीर पनि चिर्ने ?’ कसैले त्यसको प्रतिवाद गर्ने हिम्मत गरेन ।
परम्परा अनुसार त्यो ठिक थियो । तर छानबिनका हिसाबले त्यो सायद सबभन्दा ठूलो गल्ती सावित भयो ।
भावी राजाका रुपमा तालिम पाइरहेका दीपेन्द्रका ‘नराम्रा’ गतिविधि सार्वजनिक नहुँदा र परिवारका ‘मूली’बाट नसिहत नपाउँदा उनको उद्दण्डता बाहिर आउन सकेन । त्यसले उनलाई शायद प्रोत्साहित गरिरह्यो त्यस्ता उद्दण्डताका लागि । उता पारसका सवै गतिविधि सञ्चारमा आउन थालेपछि त्यही अनुपातमा पारस बदनाम भइरहे ।
‘आफ्नो एकजना प्रेयसीलाई दीपेन्द्रले तर्साउन खाल्डोमा आधा  पुरेका या उनलाई सोल्टी होटलबाट गाडीको डिक्कीमा हालेर सहर ल्याएका’ घटनाहरु निकट मित्रहरुको जानकारीमा नभएको हैन । ‘तर, त्यसलाई हामीले दरबारकाण्डसम्म जानसक्ने चरित्र निर्माण हुँदैछ भन्ने रुपमा लिएनौं,’ गफका क्रममा र नाम उल्लेख नगर्ने सर्तमा दीपेन्द्रका एकजना मित्रले भने ।
घटनाको १२ वर्ष बितेको छ । तथ्य र भावनाको द्वन्द्वमा निष्कर्षमाथि छलफल जारी छ । ज्ञानेन्द्रलाई खलनायकका रुपमा प्रस्तुत गर्ने सिलसिला केही माओवादीहरुमा जारी छ।
नेपाली राजनीति र प्रशासनमा अक्सर देखिने गम्भीरताको अभावबाहेक अरु हिसाबले यो घटनालाई शायद अब विश्लेषण गर्न सकिने छैन । सिर्जनशील फिल्म निर्माता या भावी इतिहासकर्मीहरुले यो घटनालाई कसरी ‘पुनर्निर्माण’ (रिकन्स्ट्रक्ट) गर्लान्, त्यो उनीहरुको मानवीय पक्ष तथा गम्भीरता (या तिनीहरुको अभाव) मा भर पर्ने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक