20130624

देशका लागि अर्को दु:खद समाचार : एमाले र काङ्रेस लाई अझ कमजोर बनाउँदै वास्तविक रुपमा बर्सौँ सम्म देश कब्जा गर्ने रणनितीका साथ दुई माओवादीको एकता हुँदै, कुनै पनि बेला एकिकरण भएको समाचार आए आश्चर्य नमाने हुन्छ !


पार्टी एकता गरी कार्यवहाक अध्यक्ष बन्न वैद्यलाई प्रचण्डको प्रस्ताव !


काठमाडौं, १० असार : एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी नेतारुको भेटवार्ता बाक्लिदै गएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा– माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’बीच पार्टी एकिकरण र चुनावी
सहकार्यका विषयमा गोप्य भेटवार्ता भएको खुलेको छ  ।शनिवार काठमाडौंको एउटा घरमा भएको गोप्य भेटमा संविधानसभा चुनाव अघि सहकार्य र त्यस लगत्तै पार्टी एकता हुनेगरी प्रचण्डले औपचारिक प्रस्ताव गरेको उच्च स्रोतले जानकारी दिएको छ । प्रचण्डले यसअघि एकताका लागि राखेको सात बुँदे प्रस्तावलाई थप संसोधन गरेर सहकार्य र एकताका दुईवटै विकल्प खुला राखेर प्रस्ताव गरेको ती नेताले बताए ।  
 
छलफलमा प्रचण्डले किरणलाई पार्टी एकता गरी पार्टीको कार्यवहाक अध्यक्ष बन्न समेत प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर वैद्यले विगतका गल्ती सच्चाएर आए पार्टी एकतामा समस्या नभएको बताएका थिए । उनले चुनावकै लागि पार्टी एकता नगरिने बताएका छन् ।
 
एकीकृत नेकपा माओवादी नेता देवेन्द्र पौडेलले पनि एकता र सहकार्य विषयमा पहल भइरहेको बताए ।  “आन्तरिक रुपमा अध्यक्षले पार्टी एकताका विषयमा छलफल गरिरहनु भएको छ” पौडेलले भने “किरणजीहरु पनि यसमा सकारात्मक नै हुनुहुन्छ, चुनाव अघि नै एकता हुने सम्भावना पनि उत्तिकै छ ।” उनले शनिबार दुई नेताबीच लामो समय एकल वार्ता भएको पनि खुलाए । 
 
नेकपा–माओवादीले भने एकताका विषयमा प्रचण्डबाट नयाँ प्रस्ताव आएको अस्वीकार गरेको छ । माओवादी सचिव देवप्रसाद गुरुङले प्रचण्डको आग्रहमा छलफल भएपनि औपचारिक कुनै नयाँ प्रस्ताव आएको  कुरा बताए । “वार्ता छलफल हुनु सामान्य हो” उनले भने “एकता र सहकार्यका लागि नै भनेर औपचारिक प्रस्ताव पठाएको बारेमा मलाई कुनै जानकारी छैन ।” 
 
एमाओवादी नेता पौडेलले भने चरण–चरणमा छलफल भइरहेको बताए । “पार्टी एकीकरणबारे नेकपा–माओवादी र हामीबीच छलफल भइरहेको छ, विभिन्न चरण छलफल गरिसकेका छौं” ओएनएससँग उनले भने, “एकता कसरी र कुन बिन्दुमा फर्कैर गर्ने भन्नेमा केही प्राविधिक विषय छन् ती मिलेपछि उहाँहरु पनि आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” 
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफुहरुलाई बेवास्ता गरी चुनावमा गए सडकबाट जनताको संविधान घोषणा गर्ने बताएका छन् । उनले आफुहरुलाई निषेध नगर्न चेतावनी दिएका छन् ।
 
राजधानीमा सोमबार एक पुस्तकको विमोचन गर्दै अध्यक्ष वैद्यले आन्दोलनरत दलहरुले आफ्नो आन्दोलनलाई शसक्त पार्दै लैजाने बताए । “हामीहरुलाई निषेध गरेर चुनाव भए हामी पनि सडकबाट जनताको संविधान घोषणा गर्छौ” उनले भने ।
 
चैत १ गतेको कदम सच्चाएर सहमतिको सरकार गठन गरे चुनावमा भाग लिन सकिने बताए । “हामीले चुनाव बहिस्कार गर्ने भनेका छैनौ” उनले भने “चैत १ गतेको कदम सच्चाएर आए हामी थप निर्णय गर्छौ ।”
 

अन्तर्वार्ता

प्रचण्ड प्रधानमन्त्री हुने षड्यन्त्रमा छन् : मोहनविक्रम सिंह

प्रचण्ड प्रधानमन्त्री बन्न षणयन्त्र गरिरहेका छन्, बाबुरामलाई हटाउने कुनै बाटो नपाएपछि उनले प्रधानन्यायाधिशलाई सरकार प्रमुख बनाउने भारतको प्रस्ताव स्वीकार गरे । बाबुराम बलियो हुँदै गएका थिए । जसका कारण प्रचण्डको महत्वकांक्षालाई बाधा पुर्याएको थियो । वैद्य सँग चुनाव हुन नदिने शक्ति छ । दुवै माओवादी अवसरवादी भएकोले फेरी पार्टी एकता गर्नसक्छन् ।
मोहनविक्रम सिंह नेपालका पुराना कम्युनिष्ट नेता हुन् । समकालिन नेपालका धेरै कम्युनिष्ट नेताहरुका गुरु पनि मानिन्छन् सिंह । एकता केन्द्र मसालका महामन्त्री सिंहले अबको संविधानसभाबाट पनि नयाँ संविधान बन्ने छाँड देख्दैनन् । भने चुनाव घोषित मितिमै सम्पन्न हुनेमा पनि उनको आशंका छ । खास गरी राजनीतिको केन्द्रमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डबाटै चुनावलाई खतरा रहेको उनको बुझाई छ । प्रस्तुत छ, समसामयिक राजनीतिबारे नेता सिंह सँग ओएनएसले गरेको कुराकानी  :
 
चुनावको मिति घोषणा भएको छ, यसलाई यहाँले कसरी लिनुभएको छ ?
 
चुनावको मिति घोषणा हुनु सकारात्मक हो । हामीले यसलाई स्वागत पनि गरेका छौ । तर घोषणा भएर पनि चुनाव हुनेमा अझै पनि अनिश्चितता छ । त्यसकारण हामीले अहिलेको स्थितिलाई अझैपनि अनिश्चयको अवस्थाको रुपमा लिएका छौ ।
 
चुनाव हुनेमा किन के कारणले अनिश्चितता भयो ?
 
अहिलेको सरकार जसलाई चुनाव गर्ने जिम्मेवारी दिएको छ, त्यो नै अत्यन्त कमजोर प्रकारको छ । अनि सरकारलाई सहयोग गर्नुपर्ने मुख्य चार दलको भुमिका पनि त्यति सन्तोषजनक छैन । जस्तो निर्वाचन कानुनका सम्बन्धमा उनीहरु सहमतिमा पुग्न सकेनन् । त्यस्तै अहिलेको सरकारलाई राजनीतिक दलको सहमति बिना केहि गर्ने आँट छैन । अर्को तिर एमाओवादीको प्रचण्ड पक्षधरको जोड चुनावका लागि भन्दा पनि चुनाव नगर्नका लागि बढि देखिन्छ । मोहन वैद्यहरु पनि चुनाव हुन नदिने भनेका छन् । उनीहरुको सरकार विरुद्धको कुरा त ठिक छ तर चुनावनै गराउन दिदैनौ भन्ने कुरा चाँही देशलाई अराजकतामा लैजाने खालको छ, त्यसलाई मैले राम्रो मानेको छैन । यि विभिन्न कारणले मैले चुनाव हुने सम्भावना अत्यन्त थोरै मात्र देखेको छु ।
 
प्रचण्ड चुनाव नगराउन बढि सक्रिय छन् भन्नुभो त्यो कसरी हुन सक्छ ?
 
एमाओवादीका दुईओटा कुराहरु बाहिर आएका छन् । एउटा चाँही यो सरकारले चुनाव गराउन सक्दैन भन्ने कुरा पनि गरेका छन् । प्रचण्डले पनि बारम्बार यो सरकारले मंसिर सम्म चुनाव गराउन सकेन भने यो सरकारको औचित्य समाप्त हुन्छ भनेका छन् ।
 
यसको मतलव हो उनीहरुको कामना के मा छ भने यो सरकार चुनाव गराउन नसकोस भन्नेमा छ । जसको कारण भोलि उनीहरुलाई सरकारमा आउन सफल हुन् । उनले गोप्य छलफलमा भन्ने पनि गरेका छन्, यो सरकारले चुनाव गराउन सकेन भने आखिरमा सरकार बन्ने हाम्रो नै हो । त्यसकारण उनीहरु यस सरकारलाई सफल बनाउने भन्दा पनि चुनाव हुन नदिएर आफ्नै सरकार बनाउने तर्फ देखिन्छ ।
 
तर यो सरकार गठनको प्रस्तावक त प्रचण्डनै हुन, अनि कसरी यो कुरा पत्याउने ?
 
हो यो सरकार गठनको प्रस्ताव प्रचण्डले नै ल्याएका हुन् । तर त्यसको पछाडी के देखिन्छ भने, वास्तवमा प्रचण्ड बावुरामलाई प्रधानमन्त्रीबाट हटाउन चाहन्थे । बावुरामलाई प्रचण्डले हट्न प्रस्ताव पनि राखेका थिए तर बावुरामले मानेका थिएनन् ।
 
तर प्रचण्डलाई बावुरामको सरकार कुनैपनि हालतमा हटाउनु थियो । अरु कुनै माध्यमबाट बावुराम सरकारबाट हट्न सम्भव थिएन । त्यसपछि उनले प्रधानन्यायाधीशको षणयन्त्र रचेर उनले बावुरामलाई हटाएका हुन् । 
 
उनको पहिलो उद्देश्य बाबुरामलाई सरकारबाट हटाउने उद्देश्य पूरा भयो । तर उनको दोस्रो उद्देश्य सरकारमा जाने अझै पूरा भएको छैन । त्यसकारण उनले प्रधानन्यायाधीशको सरकार गठन गर्नुमा स्वयम सरकारमा जाने षणयन्त्रले काम गरेको देखिन्छ ।
 
त्यसो भए प्रचण्ड प्रधानमन्त्री हुन चाहान्छन् ?
 
हो । वास्तवमा उनको त्यो महत्वकांक्षा चरम प्रकारको छ । त्यसका लागि उनले विगतमा पनि धेरै प्रकारका षड्यन्त्र गर्दै आएका छन् । जसको पछिल्लो अंक यो सरकार हो । अब उनले यसलाई असफल पार्ने, अनि राजीनामा गर्न बाध्य पार्ने अनि आफै प्रधानमन्त्री हुने षणयन्त्र गर्छन ।
 
तर कतिपयले यो सरकार गठन हुनुमा भारतको भूमिका मुख्य छ भन्छन् ?
 
हामीले पनि त्यो भन्छौ । सरकार गठन गर्न देखि लोकमान सिंह कार्कीको प्रकरण सम्म सबभन्दा जोड भारतको नै रह्यो । खास गरी एमाओवादी र मधेसी दलको यसमा परिश्रम बढि थियो । मधेसी दलको जोड जेमा हुन्छ त्यस पछि बुझ्नु पर्छ भारतको जोड पनि त्यसैमा छ । त्यसमा प्रचण्ड पनि लागे । त्यसका पछाडी उनको एउटै उद्देश्य बाबुरामलाई सरकारबाट हटाएर त्यसको ठाउँमा आफुलाई लैजाने थियो । किनभने बाबुरामलाई हटाउन कसैसँग पनि वैधानिक बाटो थिएन । बाबुराम बलियो हुँदै गएका थिए । जसका कारण प्रचण्डको महत्वकांक्षालाई बाधा पुर्याएको थियो । त्यसबीचमा भारतको प्रस्ताव आयो जसलाई उनले सहर्ष स्वीकार गरे ।
 
अनि चुनाव हुन नदिन मोहन वैद्यहरुको भूमिका कत्तिको प्रभावकारी होला ?
 
एमाओवादी फुटेको भएर पनि कमजोर छ । मेरो विचारमा वैद्य सँग पनि कार्यकर्ता छन् । उनका पछाडी अरु पनि दल छन् । त्यसकारण उनको भूमिका पनि दमदार छ । उनले चाहे भने चुनाव हुन नदिन पनि सक्छन् । मैले बारम्बार भन्ने गरेको छु । उनीहरुको धारणा ठिक छैन । वैद्य आफ्नो स्पष्ट नीतिमा छैनन् । चुनाव असफल पारे पछि के गर्ने भन्ने उनमा कुनै उत्तर छैन । यसले आन्दोलनको उपलब्धीनै गुम्ने खतरा छ । उनीहरुको कारणले प्रचण्डलाई नै सहयोग पुर्याउछ ।
 
यहि स्थितिमा चुनाव भयो भने कुन पार्टी सबभन्दा ठूलो होला ?
 
यो अनुमान गर्न गाह्रो छ । एमाओवादीको लोकप्रियता घटेको छ । सँगै अन्य दलको पनि जनतामा विश्वास छैन । त्यसकारण भोलि चुनाव भएपनि कुनै पार्टीले पनि बहुमत ल्याउन सक्दैनन् । त्यसकारण फेरी पनि संविधानसभाले संविधान बनाउने सम्भावना कम छ । अनि हिजो जुनकारण संविधान बनेन त्यो विवाद अझैपनि कायम रहेकोले पनि संविधान बन्ने सम्भावना झन कम छ । खास गरी संघियताका सम्बन्धमा फेरी पनि विवाद हुने पक्का छ ।
 
चुनावमा जानभन्दा अगाडि फुटेको माओवादी एक हुने सम्भावना छ ?
 
त्यस्तो सम्भावना छ । किनभने यिनिहरु दुवैको चरित्र अवसरवादी खालको छ । प्रचण्ड त यसमा बद्नाम छन् । उनलाई व्यक्तिगत आधारमा के फाइदा हुन्छ त्यहि गर्ने गरेका छन् ।
 
तर वैद्यपक्षहरु सैद्धान्तिक र रणनीतिक विषयमा प्रचण्डभन्दा केहि बढी अडान लिएको पाइन्छ । तर वैद्यमा पनि लामो समय सम्म अडानमा टिक्ने क्षमता छैन । अहिले पनि उनका पार्टीका केहि मान्छेहरु प्रचण्डहरु सँग एकता हुनसक्छ भनिरहेका छन् ।
 
अनि वैद्यको अर्को कमजोरी भनेको आफ्नो नीतिमा उनको आँट अत्यन्त कमजोर छ । त्यसका कारण यिनीहरु फेरी एक हुन सक्छन् । अनि प्रचण्डलाई पनि एकता गरेर चुनावमा जान पाए हुन्थ्यो भन्ने छ ।
 
अन्त्यमा चुनाव भएर पनि संविधान नबन्ने भए अहिले चुनाव गर्नुको फाइदा के त ?
 
जनमत बुझ्नको लागि भएपनि चुनाव हुनुपर्छ । निराश भएर नकारात्मक कुरामात्र पनि मैले गरेको होइन । प्रतिगमनको खतरा अहिले देशमा देखिएको छ, यसलाई चिर्न पनि चुनाव हुनुपर्छ । - ओएनएस
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक