(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130730

'माओवादीले मेरो भाइ लग्यो, इन्साफ पाइन्छ कि भनेको त सरकारले अब बा आमा पनि लग्ने भयो ।'

आफुलाई "नेपाली हौँ" भन्नेहरु हो, सक्छौ भने पढ यो समाचार र खोल तिम्रा आँखा अनी मुखहरु ! कहाँ छौ मानबाधिकारका नाममा बिदेशी युरो र डलर हजम गर्न माहिरहरु हो ! के यही हो तिमीहरुको मानबाधिकार ?????!!!!!!
'पैसा होइन न्याय चाहियो'

उनीहरूका आँखा लोलाएका छन् । पूरै शरीर शिथिल छ । बोली निक्लन छाडेको छ । हालत हेर्दा लाग्छ, नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया जीवनको अन्तिम सास गनिरहेका छन् । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मी हरेक साँझ बिहान साइरन बजाउँदै नजिकैबाट जान्छन् । नन्दप्रसाद दम्पती उनलाई भेट्न बाटो कुरेर बस्थे । तर, अब कसैलाई नचिन्ने गरी उनीहरूको स्वास्थ्यस्थिति बिगि्रएको छ । खिलराज नै आए भने पनि उनीहरू बौरिन सक्नेछैनन् । पछिल्लो पटक सात दिनदेखि उनीहरू आमरण अनशनमा छन् । उनीहरूको माग छ, छोराको हत्यारालाई कानुनअनुसार कारबाही होस् । यही माग उनीहरूले अघिल्ला प्रधानमन्त्री बाबुराम भट्टराईका अघिल्तिर पनि राखेका थिए । बाबुरामले माग त पूरा गरेनन्, उनीहरूलाई महिनौंसम्म गैरकानुनी थुनामा राखिदिए । यही माग अहिले अध्यक्ष रेग्मीलाई पनि राखिरहेका छन् । रेग्मीले माग सुन्नु त परको कुरा, उनी मातहतका प्रहरीले थुप्रै धरपकडपछि सीधै मानसिक अस्पतालमा लगेर ५ साता थुन्ने काम गर्‍यो । त्यसको सबैतिर आलोचना हुन थालेपछि साउन ७
गते डाक्टरहरूले उनीहरूमा पागलपन छैन भन्दै छाडिदिए । छुट्नेबित्तिकै उनीहरू उही माग लिएर बालुवाटारमा हान्निए र थाले आमरण अनशन । 

'आज सात दिन पुगिसक्यो, उहाँहरूको मुखमा पानी पनि परेको छैन,' उनीहरूका जेठा छोरा नूरप्रसादले भने, 'बोल्न पनि नसक्ने अवस्थामा पुगिसक्नुभो, भरे हो कि भोलि हो, प्राण जाने ठेगान छैन ।' गोरखा फुजेल-७ चमरी गाउँका नन्दप्रसादका कान्छा छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो । भट्टराई पत्नी एवं एमाओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेललगायत माओवादी कार्यकर्ताले हत्या गरेको एक वर्षपछि खुल्यो । अधिकारीले जानुकासहित छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिए । तर प्रहरीले त्यसलाई छुँदै छोएन । पछि पत्नीसहित उनी अनशन बसे । त्यसको पनि सुनुवाइ भएन । उल्टै उनीहरू सबैलाई प्रहरीले थुनिदियो । गाउँबाट एमाओवादी कार्यकर्ताले लखेटे । खान नपाएर खोरका बस्तु खोरमै मरे । 

विस्थापित भई काठमाडौं आएपछि पटक-पटक धरपकड गरियो । पछि त पागल भनेर मानसिक अस्पतालमै भर्ना गरिदियो । त्यहाँबाट छुटेपछि बालुवाटारमा खिलराजको दैलै अगाडि उनीहरू अनशनमा बसेका थिए । प्रहरीले 'यहाँ त हुँदैन' भन्दै उनीहरूलाई अलिक पर एउटा भत्काइँदै गरेको घरमा लगेर राखिदियो । वरिपरि इँटैइँटा असरल्ल पारिएको ठाउँमा उनीहरू पातलो मजेत्रो ओडेर सुतिरहेका छन् । खानपिन नभएकाले शौचालय पनि सातै दिनदेखि जान परेको छैन । 'मानसिक अस्पतालबाट आएपछि बाआमाको स्वास्थ्य झनै खस्किएको छ,' नूरप्रसाद भन्छन्, 'माओवादीले मेरो भाइ लग्यो, इन्साफ पाइन्छ कि भनेको त सरकारले अब बाआमा पनि लग्ने भयो ।'

***********************************************************************
)
काठमाडौं ‍- छोराको हत्यापछि दोषीलाई कारबाही माग्दै अनशन बसेका वृद्ध दम्पती वीर अस्पताल अगाडि विक्षिप्त छन्। हत्याको अनुसन्धान नभएपछि न्याय खोज्दै बालुवाटारमा अनशन बस्न लाग्दा उनीहरुलाई प्रहरीले भ्यानमा कोचेर वीर अस्पतालमा छाडेको हो।
गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया न्याय खोज्दै प्रधान न्यायाधीशसमेत रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी निवास अगाडि बालुवाटारमा अनशन बस्न गएका थिए। 'न्याय पाउन कहाँ जानुपर्ने हो?' वीर अस्पतालअगाडि अलपत्र वृद्ध दम्पतीले दुःखेसो पोखे, 'न्याय नपाएरै ज्यान जालाजस्तो भो।' उनका १८ वर्षे कान्छो छोरा कृष्णप्रसादको २०६१ जेठ १४ गते घरबाटै अपहरण भएको थियो। शव चितवनमा फेला परेको थियो।

छोराका हत्यारालाई कारबाही माग्दै उनीहरु तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सिंहदरबारअगाडि ४८ दिन अनशन बसे। अनुसन्धान जिल्लाबाटै हुन्छ भनेर गोरखा पठाइयो। नभएपछि त्यहाँ पनि प्रहरी कार्यालयअगाडि ६४ दिन अनशन बसे। स्वास्थ्यस्थिति नाजुक भएपछि एम्बुलेन्समा काठमाडौं ल्याइयो। तर मागको सुनुवाइ भएन। न्यायका लागि कहिले सिंहदरबार पुग्छन्, कहिले बालुवाटार। तर, प्रहरीले देख्यो कि भ्यानमा हालेर कहिले शिक्षण अस्पताल महाराजगन्ज पुर्याबउँछ, कहिले वीर अस्पतालअगाडि छोडिदिन्छ।

'म सुँगुरजस्तो जहाँ मन लाग्यो त्यहाँ बस्न आएको होइन,' उनी थप्छन्, 'न्याय माग्दा अपमान र तिरस्कार पाइयो।' काठमाडौंमा जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री कार्यालय र बालुवाटारमा पटक–पटक अनशन बसिसकेका उनीहरु अनसनसमेत बस्न नदिइएको गुनासा गर्छन्। 'कानुनभन्दा माथि कोही छैनन् जस्तो लाग्थ्यो। तर होइन रहेछ,' ५५ वर्षे अधिकारीले भने।

पुत्रहत्याको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ। गाउँबाट विस्थापित हुनुपरेकोमा दुःखेसो छ। २०६४ सालमा माओवादी कार्यकर्ताको धम्कीका कारण घरमा बस्न नसकेर विस्थापित हुनुपरेको उनीहरुले बताए। 'छोराका हत्यारा खुलेआम हिँडिरहेका छन्,' सुस्केरा हाल्दै उनले भने। द्वन्द्वपीडितका रुपमा सरकारले १० लाख रुपैयाँ दिन खोजे पनि अस्वीकार गर्दै न्यायको खोजीमा हिँडेको उनले बताए। 'मलाई राज्यको ढुकुटीबाट पैसा होइन न्याय चाहिएको हो,' नन्दप्रसादले भने।

छोराको अपहरण र हत्यामा जानुका पौडेल, छविलाल पौडेल, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी, रामप्रसाद अधिकारी, शिवप्रसाद अधिकारी लगायत संलग्न रहेको उनको आरोप छ। आरोप लागेकामध्ये जानुका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पिए हुन्।
**********************************************************************************
काठमाडौं, श्रावण ७ - एउटा सानो कोठामा उनीहरुलाई राखिएको छ । (उनीहरुका विचारमा) राखिएको होइन, थुनिएको छ । एकसरो विच्छ्यौना भएका दुई खाट लस्करै छन् । भित्तामा बुद्धको एउटा शान्त तस्वीर छ । झ्यालमा केही बोतल पानी छन् ।
एउटा खाटमा नन्दप्रसाद अधिकारी छन् । अर्कोमा उनकी पत्नी गंगामाया । पाँच सातादेखि मानसिक अस्पताको यही कोठामा छन् अधिकारी दम्पती । अस्पताल प्रशासनको कडा निगरानी उनीहरुमाथि छ । 'माथिको आदेश' विना न कोही उनीहरुसँग कुरा गर्न पाउँछ, न कसैले उनीहरुलाई भेट्न नै ।
सरकारको भनाइमा उनीहरुको यहाँ उपचार भइरहेको छ । अधिकारी दम्पदीको बुझाइमा उनीहरुलाई यहाँ थुनिएको छ । अस्पतालको भनाइमा, अधिकारी दम्पत्तिलाई आनावश्यक यहाँ राख्नु परिरहेको छ ।
अधिकारी दम्पतीको एउटै माग छ, छोराको हत्यारालाई कारबाही होस् । त्यसका लागि उनीहरुले झण्डै एक दशक अथक संघर्ष गरे । तर सरकारले केही पनि सुनेन । अन्ततः न्याय सम्पादनमा ४० वर्ष बिताएका प्रधान न्यायाधीश खिलराज रेग्मीको सरकारले उनलाई न्याय त होइन, पागलको पगरी गुथाएर मानसिक अस्पतालमा भर्ना गरिदियो ।
'हामी दुःखी, गरिब र पीडितले न्याय नपाउने रहेछौं' मानसिक अस्पतालमा जबरजस्ती राखिएका नन्दप्रसादले बडा विरक्त लाग्ने गरी भने,'यस्तो गर्नु भन्दा बरु हामीलाई पनि मारिदेओस् सरकारले ।'
२०६१ जेठ २४ गते र्फकेर आउँदो हो त नन्दप्रसादको लुटिएको हाँसो पनि आउँदो हो । उनका कान्छा छोरा कृष्णप्रसादको १७ वर्षे लक्का जवान पनि आउँदो हो । गोरखा फुजेल-७ चमरी गाउँमा अचेल खण्डहरजस्तो उनको घर फेरि गृहस्थीको आभाले फुल्दो हो ।
तर समय निर्मम निष्ठुरी, र्फकेर त्यो किन आउँदो हो ! समयले निर्ममतापूर्वक उनको खुसी खोसेर लग्यो । त्यही लुटिएको खुसीको सम्झनाले दिनरात ऐठन हुन्छ नन्दप्रसादलाई । अपराधीलाई कारबाही नभएकामा भाउन्न हुन्छ नन्दप्रसादलाई । कृष्णप्रसादको सम्झनाले धरधर्ति रुवाउँछ नन्दप्रसादलाई ।
तिनताक कृष्णप्रसाद १७ वर्षका थिए । एसएसली दिएर रिजल्ट कुर्दै थिए । चितवनको जय मंगलामा नन्दप्रसादका बाआमा बस्थे । बिदाको मौका पारेर कृष्णप्रसाद तिनलाई भेट्न हिँडे जेठ २१ गते ।
'जेठ २४ गते उसलाई माअेवादीले मारेछन् बाबु' गंगामाले मुटुमा भक्कानो पारिन्,'त्यसै रात उसलाई कुटीकुटी मारेछन् ।'
बाबुराम प्रधानमन्त्री हुँदा हिसिला यमीकी पिए जानुका पौडेल, छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले छोरालाई मारेको पत्तो लगाउन नन्दप्रसादलाई एक वर्ष लाग्यो ।
नन्दप्रसादको कानूनी लडाइ खोरखाबाटै सुरु भएको थियो । सुरुमा उनले प्रहरीकोमा किटानी जाहेरी दिए, हत्यारालाई कारबाही होस् ।
तर प्रहरीले उनको कुरो सुन्ने तत्परता पनि देखाएन । हत्यारा पक्राउ गर्नु त परको कुरा ।
पछि उनी अनसन बसे । त्यसको पनि सुनुवाइ भएन । लौ भएन भनेर काठमाडौ धाए । धेरैतिर गुहारे । कसैले सुनेन । केही नलागेपछि बालुवाटारमै अनसन बसे । तर प्रहरीले उनलाई पागल भन्यो । अनि जुरुक्क बोकेर मानसिक अस्पताल लगिदियो । त्यहाँ उनलाई जबरजस्ती खुवाउने र औषधी दिने काम भएको देखिएपछि मावअधिकार अयोगको टोलीले अस्पताल प्रशासनलाई त्यसो नगर्न चेतावनी नै दियो । 'हामीले फोर्स टि्रटमेन्ट नगर्न डाक्टरहरुलाई भन्यौं' आयोगकी मानवअधिकार अधिकृत उमा जोशीले कान्तिपुरसँग भनिन्,'डाक्टरहरुले चाहिँ उनीहरुलाई कुपोषण भएकाले पोषिलो खाना खुवाउनु जरुरी भएको उत्तर दिए ।'
आयोगका कामु सचिव वेदप्रकाश शिवाकोटीका अनुसार हालसम्म आयोगले सबभन्दा बढी मानव संसाधन परिचालन गरेको केस नै नन्दप्रसादको हो । आयोगले २०६५ सालमै सरकारलाई सिफारिस गरेको थियो, कृष्णप्रसादका हत्याराविरुद्ध अनुसन्धान गरी कारबाही गर्नु ।
'आयोगले अधिकारी दम्पतीलाई ३ लाख क्षतिपूर्ति दिन र विस्तापित पारिएकाले पनस्थापित पार्न पनि भनेको थियो' उमा भन्छिन्,'तर सरकारले कुनै पनि सिफारिस पुरा गरिदिएन ।'
उल्टै बाबुरामले सरकार छाड्नुअघि गत फागुनमा कृष्णप्रसादका हत्याको अभियोग लागेकाविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरिदिए । त्यसको जानकारी पाएपछि त अधिकारी दम्पतिको वेदनाको सीमा छैन ।
एक महिना अस्पतालमा राखेपछि छोरा गुमाएको अत्यधिक सुर्ताले नन्दप्रसाद र उनकी पत्नीको व्यक्तीत्वमा परिवर्तन आए पनि उनीहरुमा कुनै मानसिक रोग नभएको अस्पताल प्रशासनले ठहर गरेको छ ।
'उहाँहरुको मानसिक स्वास्थ्य पूर्णतः ठीक छ, यहाँ राख्नु पर्ने कुनै आवश्यकतै छैन' उपचारमा संलग्न मनोचिकित्सक अनन्त अधिकारी भन्छन्,'हामी त डिस्चार्ज गर्न आतुर छौं, तर लिन आउने कोही भएन ।'
अधिकारीका अनुसार नन्दप्रसादका दम्पतीलाई निन्द्रा लाग्ने र आराम हुने गरी 'बेञ्जोडायजेपियन' समुहका तनाव कम गर्ने औषधीहरु दिइएको छ ।
प्रहरीले ल्याइदियो, तर नन्दप्रसादलाई लिन आएन । उनलाई कसरी डिस्चार्ज गर्ने डाक्टरहरु नै अलमलमा छन् । कति दिन उनलाई त्यहाँ बस्न दिने ? मानव अधिकार आयोगसँग उत्तर छैन ।
उनी कहिलेसम्म यहाँ हुन्छन् ? यसको प्रष्ट उत्तर चाहिँ उनै नन्दप्रसादसँग छ, जहिलेसम्म मैले न्याय पाउँदिन । नन्दप्रसादको सत्याग्रह सरकारको कमान सम्हालेर बसेका प्रधान न्यायाधीश रेग्मीले सुनेका छैनन ?
- News source: kantipur, nagarik

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक