20130730

बाबुराम भट्टराईले भने "२०४७ सालको संविधान ब्युँताएर नेपालमा राजतन्त्र स्थापना गर्ने खतरा बढेर गएको छ"

कमल थापाले भने 'नेताहरुले कस्तो कमजोर जग भएको गणतन्त्र ल्याएछन् ! पूर्व राजा मन्दिर जाँदा हल्लिन्छ, राहत बाड्न सूदूरपश्चिम पुग्दा त झन ढले जस्तै हुन्छ'
 माओवादी नेता डाक्टर बाबुराम भट्टराईले अब नेपालका लागि राजतन्त्र विष भएको बताएका छन्। मंसिर ४ गते हुने संविधानसभाको चुनाव भाँड्न राजतन्त्र लागि परेको भन्दै उनले भने, 'झट्ट हेर्दा राजतन्त्र बलियो छैन, तर तपाइँहरुले बिखलाई कहिल्यै कमजोर देख्न हुँदैन, थोरै भएपनि बिख धेरै खतरनाक हुन्छ, ज्यानै लिइदिन्छ।' नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको श्रद्धान्ञ्जली सभामा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। केही समय यता विभिन्न धर्मकर्मको नाममा पूर्व राजा ज्ञानेन्द्रले फेरी
आफूलाई संगठित गर्दै पुराना सामन्तवादी शक्तिलाई बलियो बनाउन लागि परेको भट्टराईले आरोप लगाए। 'हाम्रा केही क्रान्तिकारी भनिने साथीहरुलाई उक्साएर चुनाव भाँड्ने र २०४७ सालको संविधान ब्युँताएर नेपालमा राजतन्त्र स्थापना गर्ने खतरा बढेर गएको छ,' उनले भने। राजावादी शक्तिलाई खबरदारी गर्दा धेरै तर्सिरहेको बताउँदै भट्टराईले ज्ञानेन्द्र शाहालाई स्थापित गर्न चलखेल भइरहेको र पूर्व राजाले अन्तर्राष्ट्रिय शक्ति गुहारिरहेको बताए। 'अहिले हामीले ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कसलाई दुखिरहेको देख्नुभएको छ?,' कार्यकर्ता प्रति लक्षित गर्दै उनले भने 'अलिकति चिमोट्दा त को–को मान्छे ऐया, आत्थु गरिरहेका छन्, त्यसैले म तपाइँहरुलाई सर्तक गराउन आएको हुँ।' मसानघाटमा पुगेको राजतन्त्र ब्युँतने खतरा बढेकाले अगामी निर्वाचनलाई कुनै पनि बहनामा भाँड्न दिन नहुने भट्टराईले बताए। गोरखाबाट नै बनेको राष्ट्रिय स्वरुपको राजतन्त्र ब्युँतने खतरा रहेकाले खबरदारी गर्न गृहजिल्ला आएको उनले बताए। अब पनि राजालाई नजिक नदेख्न कांग्रेसलाई आग्रह गर्दै उनले भने, 'राष्ट्रियताको प्रश्नमा राजा कहिल्यै बलियो थिएनन, राजा महाराजाहरु लोकतन्त्रको पक्षधर हुँदैनन।' नेपालमा निरङ्कुश राजतन्त्रको लामो इतिहास रहेको ठाउँमा राजतन्त्र अन्तर्गत कुनै पनि लोकतन्त्र सुरक्षित हुन नसक्ने भट्टराईले बताए। 'कांग्रेस र कम्युनिष्ट दुवै कित्ताका लोकतन्त्रवादी शक्ति एकजुट भएर राजतन्त्रवादी शक्तिलाई खबरदारी गर्नुपर्छ, यी दुई शक्ति नमिल्दा अघिल्लो संविधानसभाबाट संविधान बन्न नसकेको हो,' उनले भने।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रप्रति प्रहार गरेका छन्। रौतहटको गौरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने- 'नेताहरुले कस्तो कमजोर जग भएको गणतन्त्र ल्याएछन् पूर्व राजा मन्दिर जाँदा हल्लिन्छ, राहत बाड्न सूदूरपश्चिम पुग्दा त झन ढले जस्तै हुन्छ', थापाले ब्यंग्य गर्दै भने- 'कमजोर धरातलमा जबरजस्ती छलपूर्वक थोपरिएको गणतन्त्र कमजोर वास्तवमै कमजोर छ।' थापाले चार दलिय सिण्डीकेटका कारण कतिपय राजनीतिक दलहरु असन्तुस्ट भइ चुनाव बहिस्कार गरी सडक संघर्षमा पुगेको बताएका छन्। रौतहटको सदरमुकाम गौरमा संबिधान सभा निर्वाचनको तयारी प्रशिक्षण कार्यक्रमका लागि आएका अध्यक्ष थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै चारदलको सिन्डिकेट प्रथाले अन्य राजनितिक दलहरुलाइ निषेधको आरोप लगाए। चार दलले सर्वसतावाद लादेको बताउँदै उनले मंसिर ४ गते हुने संबिधासभाको चुनाव सफल बनाउन समान्नीय राष्टपति र अन्तरिम मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मिले सर्वदलीय बैठक वा गोलमेच सम्मेलनमार्फत समस्याको समाधान गर्न आग्रह गरे। पूर्व राजाले हिमानी ट्रष्ट मार्फत जनतालाई राहत बाडन सुदुरपश्चिम जाँदा कठपुतली सरकारले प्रतिबन्ध लगाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताउदै अध्यक्ष थापाले ठूला भनाउँदा नेताहरुले घोषणा गरेको गणतन्त्रको जग निकै कमजोर रहेको उल्लेख गरे।

 भट्टराई–थापा वाकयुद्ध !

ज्ञानेन्द्र शाहलाई राजा राखिरहन डा. बाबुराम भट्टराईले सबै भन्दा पहिले प्रस्ताव गरेको भनी राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएको अभिव्यक्तिपछि त्यसको खण्डन स्वरुप भट्टराईले फेसबुकमा आफ्नो कुरा लेखे । त्यसपछि फेरी कमल थापाले फेसबुकमार्फत नै जवाफ फर्काए । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले फेसबुकमार्फत राप्रपा नेपालका अध्यक्ष कमल थापाले लगाएको आरोपको फेसबुकमार्फत गरेको खण्डनपछि थापाले फेसबुकमार्फत दिएको जवाफ : पूर्ण असत्यभन्दा अर्ध सत्य बढी भ्रमपूर्ण र खतरनाक हुन्छ भन्ने डा। बाबुरामको भनाइप्रति म शतप्रतिशत सहमत छु । तर, दुर्भाग्यवश उहाँ स्वयंबाट आज फेसबुकमार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्नसक्ने भ्रम र नकारात्मक प्रभावको निराकरणका लागि केही स्पष्ट पार्नु आवश्यक ठानेको छु । डा। धवलशमशेर राणाको नेपालगन्जस्थित निवासमा उहाँसँग भएको मेरो एकान्त वार्ताका क्रममा उहाँले मसँग एकपटक होइन, बारम्वार राजासँग सहकार्यको आग्रह गर्नुभएको हो । राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हुन्न, राजालाई सम्झाइदिनु पर्‍यो भनी उहाँले गर्नुभएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा आइडोलोजी फ्री इन्स्टिच्युसन भएकाले राजालाई तपाईहरुसँग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर आन्दोलनकारी दलहरुसँग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उहाँलाई जानकारी गराएँ । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईंहरुलाई सत्ता सुम्पनसक्ने अवस्था नभएको हुँदा चुनावमा भाग लिनुहोस् र जितेर आएपछि तपाईंहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनी मैले भन्दा उहाँले मुसुक्क हाँसेर राजा र हामी मिलेपछि दलहरुको चिन्ता गर्नु पर्दैन, ती आफैं ठेगान लाग्छन् भन्नुभएको सत्यलाई स्मरण गर्न म बाबुरामजीलाई आग्रह गर्दछु । सत्तामा नपुगी चुनावमा भाग लिँदा विद्रोहीले नराम्रो पराजय भोग्नुपरेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उहाँले दिएको उदाहरण पनि म सम्झिरहेको छु । नेपालगन्ज वार्तामा उहाँ र म दुईजना मात्र भएकाले त्यसबेला भएको कुराकानीको साक्षी हाम्रो आत्मा र विवेकमात्र हो । त्यसलाई इमान्दारीले मात्र पुष्टि गर्छ । तर, हापुरे वार्ताका क्रममा बाबुरामजीले लामो व्याख्यासहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिनेबारेमा गर्नुको आग्रहका साक्षी डा। प्रकाशचन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, कृष्णबहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनुहुन्छ । निश्चय नै बाबुरामजीले हाम्रो परिभाषा अनुरुपको संवैधानिक राजसंस्थाको कुरा गर्नुभएको होइन । त्यो वार्ता राजा वा राजसंस्थाबारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादीकै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाबारे कुरा गर्दा उहाँले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आवश्यक पर्छ भने राजाकै पदवीमा पनि कायम राख्न सकिने, राजालाई दिइने भत्ताबारे कुनै विवाद नगर्ने र नारायणहिटीमै बस्नसक्ने जस्ता धारणा समेत राख्नुभएको थियो । जँहासम्म धार्मिक सांस्कृतिक अधिकारसहितको सांस्कृतिक राजतन्त्रको कुरा छ, त्यो अवधारणा मैले पहिलोपटक संविधानसभाको चुनावअगाडि बाबुरामजीकै मुखबाट सुनेको हुँ । त्यसभन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारी समेत थिएन । यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि सँगै हुनुहुन्थ्यो । यसबारे बाबुरामजीले पछि सार्वजनिक रुपमा समेत चर्चा गर्नुभएको छ । राजासँग सहकार्यको कुरा उठ्दा चिन्तित र आतंकित हुनुको कुनै औचित्य छैन । देशका सबै राजनैतिक शक्तिहरुबिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासँग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन । प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौं भनी सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ । राजा वीरेन्द्रसँग अघोषित सहकार्य गरेको, २०६२ माघसम्म राजा ज्ञानेन्द्रसँग भेटको प्रतीक्षा गरेको तथा नोकर होइन मालिक सँगै कुरा गर्छौ भनी माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणा नेपाली जनताले सुनेकै छन् । अमृत साईन्स कलेजका मेरा सहपाठी बाबुरामजीसँग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौं भन्ने मेरो आग्रह छ । प्राविधिक रुपमै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हाँसो र उज्यालो ल्याउन सक्यो भने बाबुरामजीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दाबी हो । त्यस अवस्थामा राजासहितको प्रजातन्त्रबाहेक देश जोगाउने अर्को विकल्प रहँदैन । यो तितो सत्य स्विकार्न बाबुरामजी पनि तयार हुनुपर्दछ । यसअघि डा. भट्टराईले फेसबुकमा यस्तो लेखेका थिए : पूर्ण असत्य भन्दा अर्ध९सत्य बढ़ी भ्रमपूर्ण र ख़तरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध९सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ । २०५९९६० मा भएको दोश्रो सरकार - माओवादी वार्तामा मेरो नेत्रित्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टी हुन्छ । मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्रम थिए भने वार्ताकारका हर्ता़कर्ता नारायण सिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिक्रित मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसंग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाण्डौमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं । त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्र म बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दांगको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं । सत्यतथ्य यत्ति हो । त्यसपछिको १२ वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले बेबी किंगु वा सांस्कृतिक राजा वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक