(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130718

लौ चिनौँ, सिर्जना चोरीको बात लागेका स्रष्टा - कृष्ण अविरल

चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, दिन प्रतिदिन मौलाइरहेको छ । ‘कवि शिरोमणि’को उपाधि पाएका लेखनाथ पौड्याल, नेपाल साहित्यमा प्रगतिवादी धार भित्र्याउनेमध्येका विजय मल्ल, स्थापित आयमेली कवि ईश्वर बल्लभ, पूर्व प्राज्ञ एवम् प्रगतिशील स्रष्टा रमेश विकल, नेेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति बैरागी काइँला, ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतमसमेत चोरीको बात लागेका नेपाली स्रष्टा हुन् भन्ने सुन्दा पाउँदा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर राणाकालमा कैदी हुनुपर्दाको अनुभूति समेटिएको भनेर बहुचर्चित उनको कृति ‘पिंजडाको सुगा’ भारतका स्थापित कवि मैथलीचरण गुप्तको ‘पिंन्जरके सुगाएँ’ को अनुवाद हो । यो विषयलाई लिएर ०७ सालपछि कवि शिरोमणिको चर्कै आलोचना पनि भएको थियो । तर उनले कुनै प्रतिवाद गरेनन् । २०३२ सालमा चोरीको प्रमाणसहित साहित्यिक पत्रिका रुपरेखामा कुमुदिनीका नाममा लेख छापिएपछि स्वाभिमानमा ठेस पुगेको ठानी शंकर लामिछानेले जस्तो लेखनबाटै सन्यास पनि लिएनन् । जानकारहरु भन्छन्, कुमुदिनीका नाममा शंकरको चोरी पक्रने काम माधव शर्मा पन्थी
नामका सरकारी कर्मचारीले गरेका हुन् । सहसचिवबाट अवकाश प्राप्त पन्थी अहिले पाल्पाको चिदिपानीमा बस्छन् ।
डा.ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ चोरीको बात लागेको सबैभन्दा विवादास्पद कृति हो । २०३८ सालको मदन पुरस्कार प्राप्त अलिखितका बारेमा डा. रामदयाल राकेशले ‘नेपाली साहित्यः विभिन्न आयाम’मा हुबहु अनुच्छेदका अनेक प्रमाण अघि सारेका छन् । डा. राकेशका अनुसार फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, राही मासुम रजाको ‘आधा गाँव’ र श्रीलाल शुक्लको आन्चलिक उपन्यास ‘रागदरवारी’ मिसमास अनुकरण नै ‘अलिखित’ हो । गौतमले पछिल्ला चरणमा हिन्दी टेलिसियिलबाट प्रभावित भएर उपन्यास लेखिरहेको दावी गर्ने डा. राकेशको दावी छ, ‘उनले नचोरी लेख्नै सक्तैनन् । अध्ययन गर्ने हो भने उनका हरेक उपन्यासमा प्रमाण भेट्न सकिन्छ ।’ डा. गौतमको चोरी अभियानका बारेमा ललिजन रावलले समेत लेखेका छन् । तर त्यही उपन्यास बर्षौँदेखि कलेजको पाठ्यक्रममा छ ।
२०२९ सालको मदन पुरस्कार प्राप्त ईश्वर बल्लभको कवितासङ्ग्रह ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ पनि चोरीको बात लागेको कृति हो । बल्लभको सिर्जनात्मक चोरी कला पक्रने स्रष्टाचाहिँ असमी मूलका नेपाली लेखक चन्द्रेश्वर दुवे हुन् । ‘तेस्रो आयामको शवपरीक्षा’ लगायतका तीनवटा कृति लेखेर उनले बल्लभको ‘मौलिक ?’ लेखनको धुस्नो नै काढेका छन् । त्यस्तै प्रगतिवादी धारका प्रभावशाली स्रष्टा विजय मल्लको ‘कुमारीशोभा’ अमृता पि्रतमको ‘पिगलकी चट्टान’को हुबहु अनुकरण मानिन्छ । पूर्व प्राज्ञ तथा प्रगतिशील स्रष्टा रमेश विकलको बहुचर्चित उपन्यास ‘अविरल बग्छ इन्द्रावती’ र उत्तिकै चर्चित कथा ‘लाहुरी भैसी’माथि पनि चोरीको अभियोग छ । हुन पनि रसियन लेखक मिखायल सोलोखोबको हिन्दी अनुदित उपन्यास ‘डोन नदी चूपचाप बहती है’सँग ‘अविरल बग्छ इन्द्रावती’का कतिपय अनुच्छेद हुबहु मिल्छन् । पछिल्लोचोटि प्राज्ञ भएका बेला कलेजको कोर्षमा रहेको अंग्रेजी कथाको हुबहु अनुवाद गरी एकेडमीले प्रकाशित गर्ने ‘समकालीन साहित्य’मा आफ्नो नाममा छपाएपछि विकलको चर्को आलोचना भएको थियो । त्यस्तै हरेक कृति एकसेएक मानिने विश्वेश्वरप्रसाद कोइरालाको ‘बैदारको मृत्यु’ शीर्षकको कथा पनि रसियन कथाकार एन्तोन चेखबको ‘डेथ अफ क्लर्क’सँग निकैहदसम्म दुरुस्त छ ।
वर्तमान कुलपति वैरागी काइला चोरीको बात लागेका अर्का स्रष्टा हुन् । ०३२ सालतिर प्रकाशित बैरागीको एकमात्र बहुचर्चित ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविता भारत पश्चिमबंगालका कवि शक्ति घोषको एउटा कवितासँग हुबहु मिल्छ । अनौठो कुराचाहिँ के हो भने काइलाको उक्त सङ्ग्रहमा भूमिका लेख्ने डा. ईश्वर बरालले नै ०५२ सालमा बसन्त लोहनी सम्पादित परिस्थिति साप्ताहिकमा बंगाली लिपिसहितको अंश छापेर बैरागीको धज्जी उडाएका छन् । अर्को आश्चर्यको कुराचाहिँ के हो भने काइलाको त्यही कविताको शैली अनुकरण गरेर श्रवण मुकारुङले ०६२-०६३ का जनआन्दोलनताका लेखेको ‘बिसे नगर्चीको बयान’ले खुवै चर्चा पायो ।
०४३-०४४ सालतिर सर्वनामको सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ खुबै चर्चित थियो । अशेष मल्ल नाटककार भनिएको उक्त नाटक बंगाली नाटककार बादल सरकारको ‘जुलस’को हुबहु हो भनेर त्यसबेलाको रुपरेखामा प्रताप अधिकारीका नाममा एउटा लेख छापिएपछि मल्लको शाखमै प्रश्न उब्जियो । जानकारहरुका अनुसार प्रताप अधिकारीको नाममा पत्र लेख्नेचाहिँ कवि हरिहर अधिकारी उर्फ श्यामल थिए । त्यस्तै अविनाश श्रेष्ठको ‘ललिता बाहिर रात पर्‍यो’ कथा रसियन कथाबाट चोरिएको हो भनेर पक्राउ गर्ने काम रमेश केसीले गरेका थिए । ०४४ साल ताका त चोरीका बारेमा पोल खोलाखोल गर्ने अभियनै चलेको थियो । त्यहीबेला दिनेश सत्याल सौरभले ‘सरुभक्तबाहेक अरु सबैले चोर्दा रहेछन्’ भनेर लेखै लेखे । लगत्तै सरुभक्तको चोरी कला शिव अधिकारीले पक्रे । अधिकारीको लेखअनुसार एच.जी. वेल्सको ‘इनभिजिवल म्यान’को हुबहु नै सरुभक्तको पहिलो उपन्यास ‘एक अभिनवको अन्त्य’ हो ।
पछिल्ला वर्षमा चर्चामा रहेका युग पाठकको ‘उर्गेनको घोडा’ र बुद्धिसागरको ‘कर्नाली ब्लुज’ माथि पनि शैली चोरेको बात लागेको छ । पाठकको ‘उर्गेनको घोडा’मा पाकिस्तानी लेखक कमलेश्वरको ‘कितने पाकिस्तान’को फर्मूला चोरिएको छ भने बुद्धिसागरको कर्नाली ब्लुजमा अफगानी लेखक ‘खालिदा हसेनी’को बेस्टसेलर उपन्यास ‘द काइट रनर’को शैली हुबहु अनुकरण गरिएको छ । बेग्लै कुरा हो कि ती दुवै कृतिलाई केही संस्थाले उत्कृष्ट ठहर्‍याएर पुरस्कृत गरिसकेका छन् ।
चोरी अभियोगमा पटकपटक पक्राउ पर्ने कविहरुमा पुरु रिसाल, महेश प्रसाई, रामविक्रम सिजापति र इन्द्रकुमार श्रेष्ठ हुन् । मधुपर्कमा छापिएका यी स्रष्टाका कविता हिन्दीका सरिता लगायतका पत्रिकाबाट हुबहु अनुवाद गरिएका प्रमाण फेला परेपछि मधुपर्कले ती कविलाई विरलै स्थान दिने गरेको छ । त्यस्तै दिनेश अधिकारीको ‘हर्के उर्फ हर्कबहादुर’ र विमल कोइरालाको ‘ध्रुवे उर्फ धु्रवबहादुर’ शीर्षकका कवितामा पनि कसले कसको अनुकरण गरेको हो भन्ने कुरामा पनि विवाद छ । बैरागीको कविता ‘जिन्दगी मफलर भैदिए टाँगिदिन्थे किलामा’ र तुलसी दिवसको ‘जिन्दगी कमिज भैदिए टाँगिदिन्थे किलामा’ को पहिलो हो भन्ने टुंगो लागेको छैन ।
हुबहु चोरीसँगै प्रभाव ग्रहण गरेर आफ्नो नाम चर्चामा ल्याउनेहरु पनि प्रशस्तै छन् । पुस्तक समीक्षा मार्फत् अरुलाई अर्ति दिँदै हिँड्ने हरि अधिकारीको कथासङ्ग्रह ‘संसदमा एक दिन’ र ‘रामलालको आकाश’ शीर्षक अनुकरणका अब्बल उदाहारण हुन् । किनकि भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको ‘संसदमे एक दिन’ झन्नै ६० वर्षअघि र दुर्गालाल श्रेष्ठको ‘रामलालको आकाश’ २०२० सालतिर निस्केका देखिन्छन् । त्यसो त आनी छोइङले गाएको दुर्गालालको बहुचर्चित गीत ‘फूलको आँखा फूलै संसार’ पनि भारतीय कवि अन्जानको ‘फूलको आँखोमे फूली संसार’सँग हुबहु मिल्छ । ओशो रजनिशले आफ्ना कयौँ प्रवचनमा यो गीत गाएका उदाहारण अनगन्ती भेटिन्छन् ।
पछिल्लो समयमा शितल कादम्बिनीको नाममा बज्ने गीत ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ र अन्जु पन्तले गाएको विपिन किरणको गीत ‘न बिर्सेँ तिमीलाई’ हरेक गीत हुबहु भाव मिलेको आरोपमा पक्राउ परेका छन् । स्वरुपराज आचार्यले गाएको उनको अर्को गीत ‘बल गरेर त्यो मन यता मोड भन्दिन’मा समेत चोरीको बात लागेपछि विपिन अहिले गीति लेखनबाटै ओझेल परेका छन् । त्यसो त ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौँ’ का सर्जक भनिएका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर कृष्णहरि बरालमाथि पनि चोरीको बात लागेको छ । किनकि उक्त गीत सर्जक फैज अहमद फैजको ‘और भि गम है दुनियाँमे मोहब्बतकी शिवाय’सँग पूरै प्रभावित देखिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक