20130815

आर्यघाटमा पनि राजनीति गरे मरेका मरिचमान माथि पनि !

सिकिस्त बिरामी परी अस्पतालमा छटपट्याउँदा हेर्न अस्पताल नगएका, औषधी उपचार खर्च नदिन सरकारलाई सिफारिश गरेका प्रचन्ड, झलनाथ, माकुनेहरु मरेका मरिचमान हेर्न आर्यघाट त पुगे गोहिको आसुँ चुहाउँदै तर आर्यघाट मा पनि राजनीति गरे मरेका मरिचमान माथि पनि । भुतपुर्ब प्रधानमन्त्रीहरुलाई मरेपछी दिइने राजकिय सम्मान नदिन खिलराज रेग्मी लाई आदेश दिए पछी खिलराजले दिएको अपमान को एक तुकडी सलामी परिवारजन र सुभेछुकद्वारा बहिस्कार, आक्रोसित जनसमुदायले घन्काएछन पुरानै राष्ट्रिय गान श्रीमान गम्भीर ...!!!





 

पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई तीन साताअघि दिवंगत भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय नरबहादुर कर्मचार्यसरह अन्तिम सम्मान दिने निर्णय लिएकोमा उनका समर्थकहरूले त्यसको विरोध गरेका छन् । ११ महिनाअघि सरकारले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई पूर्वप्रधानमन्त्रीसरह राष्ट्रिय सम्मान दिएको थियो । मरिचमानका समर्थकहरूले स्वास्थ्य उपचारदेखि अन्तिम संस्कारसम्म पूर्वप्रधानमन्त्री सरहकै सम्मान माग गरे पनि सरकारले नदिएपछि आर्यघाटमा विरोधमा उत्रिएका थिए । मरिचमान समर्थकको विरोधपछि सम्मान नदिई प्रहरी टोली फिर्ता भएको थियो । अन्तिम सम्मानसम्बन्धी व्यवस्थामा २०४७ वैशाख १ गतेपछिका पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्व सभामुख, पूर्वमन्त्री, पूर्व मुख्यसचिव, गृह तथा रक्षासचिवसम्मले पाउने सम्मानबारे उल्लेख गरिएको छ । त्यसअनुसार भूपू प्रधानमन्त्रीहरूले १३ तोपको सलामी पाउँछन् । सरकारले सम्मान दिन उचित ठानेको ती बाहेकका ‘महानुभाव’ हरूको हकमा मन्त्रिपरिषद्ले पटके निर्णय गर्छ । त्यस्तै पटके निर्णय गरेर गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई पूर्वप्रधानमन्त्री सरह नेपाली सेनाले १३ तोपको सलामी दिएको थियो । नेतालाई पूर्वप्रधानमन्त्री सरह तोप सलामीले राष्ट्रिय सम्मान गर्दा पूर्वप्रधानमन्त्रीलाई भने नेतासरह सम्मान दिइएकोमा सिंहका समर्थकले आर्यघाटमा विरोध जनाएर प्रहरीको टुकडीलाई रोकेका थिए । तीन साताअघि दिवगंत भएका कम्युनिष्ट नेता कर्माचार्य सरह पूर्वप्रधानमन्त्री सिंहलाई प्रहरीको एक टुकडीले सम्मान दिने निर्णय मन्त्रिपरिषद्ले बिहीबार गरेको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई एक कम्युनिष्ट नेतासरह दिइएको प्रहरीको टुकडी सम्मानले आक्रोशित भएका समर्थकले चर्को विरोध गरेपछि सम्मानमा खटिएका प्रहरी टोली फर्किएका थिए । भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेको अवस्थामा मन्त्रिपरिषद्ले सिंहलाई दिएको पाँच लाख रुपैयाँको उपचार खर्चसमेत परिवारले लिन अस्वीकार गरेको थियो
***************************
पूर्वप्रधानमन्त्री मरिचमान सिंहका समर्थकहरूले मन्त्रिपरिषद्बाट दिने निर्णय भएको अन्तिम संस्कारका क्रममा प्रहरीको सम्मान नलिने बताउँदै नाराबाजी गरेपछि आर्यघाटबाट प्रहरी फिर्ता भएको छ । राजकीय सम्मान नदिएको विरोधमा उनको मलामीसहित समर्थकहरूले आर्यघाट परिसरमा प्रहरीको सम्मानसमेत फिर्ता गर्न दबाब दिएका थिए । प्रहरी फिर्ता गएपछि बल्ल साढे पाँच बजे उनको चितामा आगो लगाइएको छ । यसअघि सरकारले मरिचमान सिंहको उपचारका लागि दिएको पाँच लाख रुपैयाँसमेत नलिने निर्णय परिवारले गरेको थियो । प्रहरी फर्केपछि मरिचमानका मलामी तथा शुभचिन्तकहरूले पुरानो राष्ट्रगान ‘श्रीमान् गम्भीर नेपाली...’ गाएर उनको अन्तिम बिदाइ गरेका थिए ।
**********************************
पञ्चायती व्यवस्थाविरुद्वको निर्णायक आन्दोलनका बेला प्रधानमन्त्री भएकाले त्यसपछिको दुई दशक मरिचमानसिंह श्रेष्ठको छबि आम जनमानसमा ‘खलनायक’कै रह्यो । नेपाली राजनीतिबारे ज्ञान राख्ने बहुदलवादी उनलाई खलनायक मात्र मान्दैनथे । अनौपचारिक कुराकानीमा ‘इमान्दार’ र ‘राष्ट्रवादी’ पञ्चको उपाधी पनि दिन्थे । दिल्लीको मेदान्तबाट फर्केर बिहिवार बिहान नर्भिक अस्पतालमा प्राण त्याग गरेपछि मरिचमानको पार्थिव शरिर बिहानदेखि धापासीस्थित उनकै निवासमा राखिएको छ । श्रद्वाञ्जली व्यक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराईदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्म पुगिसकेका छन् । संयोगवस भट्टराई र थापा सँगसँगै धापासी पुगे । थापालाई उछिन्दै माओवादी नेताहरुले सिंहको अन्त्येष्टि राजकीय सम्मानसाथ हुनुपर्ने बताए । भट्टराईले ‘यसबारे मन्त्रिपरिषद्का सदस्यहरुबिच छलफल पनि चलिरहेको’ जानकारी परिवारलाई गराए । मन्त्रिपरिषद्को नियमित बैठक ११ बजेदेखि बसिरहेको छ । भट्टराई भन्दा पछि धापासी पुगेका प्रचण्डले पनि मरिचमानलाई ‘राष्ट्रवादी’ नेताको उपमा दिए । आम जनसाधरणको पनि ओहोरदोहोर चलिरहेको छ । त्यसरी आउने भीडले मरिचमानको उपचारमा सरकारले देखाएको अनुदार व्यवहारको आलोचना र उनको इमान्दारीको प्रशंसा गरिरहेका छन् । केहि वर्षदेखि मुलुकको राजनीतिमा चरम विदेशी चलखेल हाबी भएको झोंकले पनि उनको ‘राष्ट्रवादी’ छबि आपसेआप चम्किलो देखिएको अवस्था छ । नेपाल–भारत वाणिज्य तथा पारबहन सन्धीको बेला मरिचमानले लिएको अडानको प्रशंसा हुने गरेको छ । तर त्यो अडानको जस मरिचमानको मात्र नभई तत्कालीन राजालाई दिनुपर्ने भनि पञ्चहरुले धारणा व्यक्त गर्ने गरेका छन् । मरिचमान सरकारका गृहमन्त्री निरञ्जन थापाले भने ‘उहाँले भारतसँग घुँडा टेकेको भए दरबारको रोक्न सक्ने अवस्था रहँदैनथ्यो,’ भन्ने जिकिर गरेका छन् । ‘नेपाललाई भुटान बन्न नदिएर जस्तोसुकै मूल्य चुकाउन’ उहाँ तयार हुनुभएको हो । सल्यानको साधारण परिवारमा जन्मेका मरिचमानले आफू भन्दा अघि सामान्य जनताको छोरो प्रधानमन्त्री नभएको दाबी गरिरहन्थेँ, अनौपचारिक कुराकानीमा । हुनपनि राणा शासनको अन्त्यपछि प्रजातन्त्र र पञ्चायतकालमा १० जान प्रधानमन्त्री भए । तर ती सबै कुनै न कुनै रुपमा राज्यसत्तासँग जोडिएको ‘कूलिन’ वर्गकै थिए । आधुनिक नेपालमा बाहुन-क्षेत्री बाहेक प्रधानमन्त्री भएका पनि उनी मात्र हुन् । मरिचमानका बाबु अमरबहादुर सामान्य खेतिकिसानी गरेर जिबिका चलाउँथे । ‘फलानाकी जहान, आमा, भाउजु, दिदी भनेर बोलाउँदा बोलाउँदै परिचय नै त्यहिँ बनेको उहाँको आमाको नाम के हो भन्ने त कसैबाट पनि थाहाँ पाउन सकिएन ,’ सल्यान जिल्लाबासी राप्रपा नेपालका केन्द्रिय सदस्य मनोज प्रधानले भने, ‘उहाँ साच्चिकै सामान्य परिवारको हुनुहुन्थ्यो भन्ने ज्वलन्त उदाहरण यहि हो ।’ सल्यानको सदरमुकाम खलंगाबाट टेलिफानेमा कुरा गर्दै मनोजले भने, ‘आज यहाँ श्रद्वाञ्जली सभा गर्दैछौं बुबा आमाको नाम चाहिएर उहाँका छरछिमेक सारालाई खोज्दा पनि पत्ता लगाउन सकिएन ।’ खलंगाको त्रिभुवन जनमाध्यामिक विद्यालयमा प्रधानाध्यापक रहँदै उनले युवक संगठनबाट राजनीति थालिसकेका थिए । २०२९ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएपछि उनको ‘करिअर’ असाध्यै द्रूत गतिमा अघि बढ्यो । २०३३ सालमा सहायक मन्त्री भएका उनी राज्य, फूल हुँदै २०३८ मा राष्ट्रिय पञ्चायत अध्यक्ष भइसकेका थिए । पञ्चायतका धेरै हस्तीलाई पछि पार्दै राजाले २०४३ सालमा उनलाई प्रधानमन्त्री बनाए । उनका मन्त्रिपरिषद्का कतिपय सदस्य उनी भन्दा धेरै सिनियर थिए । उनी आफै सहायक मन्त्री रहेको रबिन्द्रनाथ शर्माहरु पनि मन्त्रिपरिषद्मा थिए । यो द्रूत यात्रा कसरी तय भयो ? ‘इमान्दारी र राष्ट्रभक्ति नै हो,’ थापा दाबी गर्छन्, ‘राष्ट्रवादका हकमा भीमसेन थापा र इमान्दारीमा उहाँ कृष्णप्रसाद भट्टराई सरह हुनुहुन्थ्यो ।’ प्रधानमन्त्रीबाट हटेपछि मरिचमानको डेराको बास भएको थियो । झण्डैं साढे दुई दशक आकर्षक ओहोदाहरुमा रहँदा पनि उनको काठमाडौंमा घर बनाउन सकेका थिएनन् । सस्तोकालमै धापासीमा किनेको जग्गामा भुँइतले घर बनाएर २०४८ सालमा उनले डेराको बास टुङाएका थिए । त्यहिँ क्रममा कुखुरापालन, गाइपालन लगायतमा संलग्न भएर जिवीका चलाएको थापा बताउँछन् । त्यो घर पनि दुई दशकजति भुईतला नै रह्यो । पोहोर साउन ५ गतेदेखि काम थालेर तला थपिएको छ । तर माथिल्लो तलामा नसर्दै मरिचमानको परलोक भएको छ । निरंकुश पञ्चायतका कट्टर समर्थक र राजावादी मरिचमान राजनीतिक रुपमा अनुदार पञ्च हुन् । उनी त्यो दर्शनमा कायमै रहे । समयको पदचाप पछ्याउँदै सूर्यबहादुर थापा वा पशुपितसमशेर राणा जस्तो गणतन्त्रवादी बन्न सकेनन् । मरिचमानले पञ्चायतबिरोधी आन्दोलनकारीलाई दबाउन अधिक बलको प्रयोग गरेका थिए । उनको प्रधानमन्त्रीत्वकालमा बिहेबटुल, व्रतवन्ध, पास्नी लगायत सामाजिक कार्यमा फजुल खर्चमा रोक लगाइएको थियो । मितब्यतितताको त्यो सिको अहिले अख्तियार प्रमुख लोकामानसिंहले गर्न खोजेका छन् । अधिराजकुमार धीरेन्द्रका एडिसी कर्नेल भरत गुरुङ्ग, तत्कालिन आइजिपी डिवी लामा लगायतलाई पक्रेर मुद्दा चलाउनुलाई पनि उनको कार्यकालको उल्लेख्य काम मानिन्छ । तर यसमा पनि जस÷अपजस दरवारले पाउनुपर्ने हो वा प्रधानमन्त्रीले भन्ने विवाद कायमै छ । मरिचमान लेखपढ, बौद्विक क्षमता, वाककला र प्रशासनिक क्षमतामा पनि चुस्त मानिन्थेँ । २०४८ को निर्वाचनमा सल्यान २ र २०५१ मा काठमाडौं ४ बाट निर्वाचन लडेपनि उल्लेख्य मत ल्याउन सकेनन् । मरिचमानको 'सेभ द नेशन' अभियान पनि प्रभावकारी उपस्थिती देखाउन नसकि केहि वर्ष अघि नै हराइसकेको थियो । -
*****************************
मरिचमान ‘टप फाइभ’ प्रधानमन्त्री - कमल थापा
छयालीस साल इतिहासकै एउटा कठीन समय हो । अझ पञ्चायतकालीन प्रधानमन्त्रीका रूपमा मरिचमान सिंहका लागि त त्यो महत्वपूर्ण परीक्षाकै घडी थियो । एकातिर भारतले आर्थिक नाकाबन्दी गरिरहेको थियो, अर्कातिर आन्दोलनकारी शक्ति परिवर्तनका लागि लडिरहेको थियो । सिंह त्यस्तो बेला सुझबुझपूर्ण ढंगले दुवै समस्यासँग प्रभावकारी ढंगले जुध्नुभयो । आर्थिक नाकाबन्दीका बेला भारतीय विदेश सचिव एसके सिंह नेपाल आए र नेपाली विदेश सचिव नरेन्द्रबिक्रम शाहसँग भेट गरे । भारतीयहरू नेपालको संकटमा फाइदा उठाउन चाहन्थे । विदेश सचिव सिंहले यस्तो सन्धिको प्रस्ताव ल्याएछन् जसअनुसार नेपालको आर्थिक नीति, जलस्रोत नीतिलगायत सबै महत्वपूर्ण क्षेत्रमा भारतको नियन्त्रण हुन्थ्यो । सन्धिको मूल आशय नेपाललाई भारतीय प्रभाव क्षेत्रमा राख्नु थियो । नेपाली विदेश सचिव शाहले यसबारे प्रधानमन्त्री मरिचमान सिंहलाई ब्रिफ गरे । जवाफमा प्रधानमन्त्री सिंहले एक लाइन भन्नुभयो, ‘यो प्रस्तावमा केही कमेन्ट आवश्यक छैन, तपाईंले भारतीय विदेश सचिव सिंहलाई प्रस्टसँग भन्दिनुस्, यो डकुमेन्टमाथि कुनै छलफल हुन सक्दैन ।’ बहुदलको आन्दोलन चरमोत्कर्षमा पुगेको यस्तो बेलामा पनि सिंह भारतसँग गल्नुभएन । बरु परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा गरेर सरकारलाई असजिलो पार्नुभयो । बहुदलका लागि लडिरहेका आन्दोलनकारीले आर्थिक नाकाबन्दीको फाइदा लिइरहेका थिए भने भारत सरकार संकटका बेला नेपालको कतिपय महत्वपूर्ण क्षेत्रमा आफ्नो हैकम कायम गर्न चाहन्थ्यो । अत्यन्त संकटको बेला थियो त्यो जसलाई सिंहले प्रधानमन्त्रीका रूपमा सहजतापूर्वक व्यवस्थापन गर्नुभयो । उहाँले कहिल्यै राष्ट्रियतामा सम्झौता गर्नुभएन । राजा वीरेन्द्रको राष्ट्रवादी मार्गनिर्देशअनुसार सधैं काम गर्नुभयो । नाकाबन्दीको बेला भारतसँग जुधेको यो घटनाले उहाँलाई राष्ट्रियताको अग्निपरीक्षामा खरो उत्रन मद्दत पुर्‍यायो । सिंहले त्यसबेला प्रधानमन्त्रीका रूपमा जुन ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुभयो, त्यसले उहाँलाई राष्ट्रवादी नेताको ठूलो परिचय दिलायो । सिंह सुरुदेखि नै मेधावी हुनुहुन्थ्यो । इमान्दार, कर्तव्यनिष्ठ र निष्ठावान् । स्नातक सकेर सल्यानकै विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । सुरुमा प्रगतिशील विचारधाराबाट प्रभावित भए पनि पछि पञ्चायती राजनीतिमा क्रियाशील हुनुभएको थियो । राष्ट्रिय पञ्चायतको अध्यक्ष, मन्त्री, पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष बन्दै २०४३ सालमा उहाँ प्रधानमन्त्री बन्नुभयो । जीवनकालभरि उहाँ बेदाग रहनुभयो । राजनीतिक विचार आफ्नो ठाउँमा छ, उनको चरित्रमा कसैले कहिल्यै प्रश्न उठाउन सकेन। राष्ट्रियता, प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति सदैव प्रतिबद्ध निष्ठावान व्यक्तिका रूपमा उहाँको सम्झना हुनेछ । उहाँको क्याबिनेटमा म २०४४ सालमा सञ्चारमन्त्री बनेँ । त्यतिखेर मेरो उमेर ३२ वर्ष थियो । त्यसअघि उहाँ पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष छँदा मैले सदस्यका रूपमा नजिक रहेर काम गर्ने मौका पाएँ । त्यसअघि उहाँ शिक्षामन्त्री छँदा म राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष थिएँ । उहाँ मलाई माया गर्नुहुन्थ्यो, विश्वास गर्नुहुन्थ्यो, आफूसँग काम गर्ने सबैलाई आदर र सम्मान गर्ने उहाँको बानी थियो । उहाँसँग मेरो निकट सम्बन्ध थियो । उहाँले मलाई अगाडि बढाउने चाहना राख्नुभएको थियो । उहाँले नै मलाई पहिलोपटक मन्त्री बनाउनुभएको हो । उहाँको प्रधानमन्त्रित्वकाल चार वर्षको रह्यो तर सधैं परीक्षाको घडी बनिरह्यो । पञ्चायती व्यवस्थाको अन्त्यकाल थियो । बहुदलवादीको निशाना बनिरहन्थ्यो सधैं सरकार । आर्थिक नाकाबन्दी भएपछि त उहाँ एकसाथ बहुलीय प्रजातन्त्रवादी आन्दोलनकारी र भारतसँग जुध्नुभयो । पेट्रोलियम पदार्थको हाहाकार र कालोबजारीका बेला उहाँले योजनासाथ काम गर्नुभयो । राजा वीरेन्द्रबाट उहाँलाई सधैं सहयोग भइरहन्थ्यो । आर्थिक नाकाबन्दीका कारण नेपाली जनतालाई व्यवहारिक समस्या नहोस् र स्वाभिमानमा ठेस नलागोस् भन्नेमा सिंह सदैव सचेत हुनुहुन्थ्यो । हवाईजहाजमा भए पनि तेल ल्याउने व्यवस्था गर्नुभयो । राजाको चाहनाअनुसार उहाँले जनतालाई असुविधा नहोस् भनेर निकै मेहनत गर्नुभयो । राष्ट्रिय पञ्चायतको अध्यक्ष होस् वा प्रधानमन्त्री छँदा, उहाँले जहिल्यै निष्कलंक र स्वच्छ छविका नेताका रूपमा आफूलाई बचाएर राख्नुभयो । उहाँले कहिल्यै सम्पत्ति आर्जन गर्नुभएन । धापासीको जग्गा थोरै पैसामा किन्नुभएको हो । त्यो घर पनि धेरै वर्ष लगाएर बनाउनुभएको हो । अहिलेसम्म त्यो घर पूरै बनिसकेको छैन । पञ्चायतका राजनेताहरूमा डा. तुलसी गिरीको कसैसँग तुलना हुन सक्दैन । उहाँ विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँको विद्धता, विश्लेषण क्षमता र बहुआयामिक व्यक्तित्व लोभलाग्दो थियो । सम्भवतः नेपालका प्रधानमन्त्रीमा बिपी कोइरालापछि सबैभन्दा क्षमतावान् डा. गिरी नै हो । उहाँहरूबाहेक सूर्यबहादुर थापा र कीर्तिनिधि बिष्ट कुशल प्रशासक हुन् । त्यसपछि मरिचमान सिंहकै नाम आउँछ । नेपालका ‘टप फाइभ’ प्रधानमन्त्रीमा पर्नुहुन्छ सिंह । मैले कुनै आग्रह–पूवाग्रह राखेको होइन, २०४६ सालपछिको राजनीतिमा यी पाँचजना जति प्रभावशाली प्रधानमन्त्री कोही छैनन् । मरिचमान सिंहपछि राष्ट्रवादी नेताको नेपालमा सधैं अभाव छ । उहाँको प्रधानमन्त्रित्वकालमा भारतले सरकारविरुद्ध अनर्गल मिडियाबाजी गथ्र्यो । सिंह जहिल्यै यसबिरुद्ध जुध्नुभयो । २०४६ चैत २३ गते आन्दोलन चरम उत्कर्षमा थियो । त्यो दिन क्याबिनेट बैठकमा म र डा. मोहम्मद मोहसिनले सिंहलाई भन्यौं, ‘तपाईंले राजालाई भन्नुपर्‍यो, सुधारको आश्वासन आन्दोलनकारीलाई दिनैपर्छ, तपाईंले राजालाई यो सल्लाह दिनुपर्‍यो।’ सिंहले रिसाउँदै हामीलाई भन्नुभयो, ‘राजालाई यो सब थाहा छैन होला ? मुलुकको अस्तित्वसँग गाँसिएको विषय भएकाले यो आन्दोलनमा राजाले केही गर्न मिल्दैन ।’ क्याबिनेट सकेर हामी घर फर्कियौं । साँझ फेरि प्रधानमन्त्रीले बोलाउनुभयो । उहाँले बडा रिल्याक्स्ड मुडमा हुनुहुन्थ्यो । दिउँसोको तनाव थिएन । उहाँले हामीलाई भन्नुभयो, ‘मैले राजीनामा गरेँ, सरकारले आफैं लिइबक्सने कुरा गरिबक्सेको छ ।’ मेरो विचारमा त्यतिखेर राजाले सत्ता आफैं लिएर आन्दोलनकारी दलहरूसँग वार्ता गर्ने तयारी थियो । तर, रातारात के भयो, भोलिपल्ट चैत २४ गते लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभयो । दुई दिनमा परिस्थिति झनै जटिल बन्यो । राजा चैत २६ गते आफैं बहुदल घोषणा गर्न बाध्य भए । राजाले गणेशमान, कृष्णप्रसाद, गिरिजा, सहाना र राधाकृष्ण मैनालीलाई बोलाएर बहुदल दिने निर्णय सुनाइदिए । गणेशमान र कृष्णप्रसाद पनि नेपालका सच्चा नेता हुन् जो जीवनभर निरन्तर प्रजातन्त्र र राष्ट्रियताका लागि लडिरहे । निष्ठाको राजनीतिमा मरिचमान र उहाँहरूलाई एउटै कोटिमा राख्न सकिन्छ । यीबाहेक मदन भण्डारी पनि करिस्म्याटिक थिए तर अल्पायुमै निधन भएकाले उनको वास्तविक परीक्षण हुन पाएन । अहिले त नेपालमा यस्ता नेता कहाँ छन् ? राजनीतिक संस्कार इतिहासमै सबैभन्दा न्यून भएको छ । नेपालमा राजनीतिक संस्कारको अभाव बहुदलको स्थापनापछि नै सुरु भएको हो । पञ्चलाई छुवाछुत,घृणा र पानी बाराबार गर्ने संस्कृति सुरु भयो । छयालीस सालअघिका पदाधिकारीलाई मान्यता नै नदिने प्रचलन आयो । छयालीस सालअघिका पदाधिकारीलाई सुरक्षा, सुविधा, मर्यादा केही पनि छैन । समारोहमा बोलाउँदा पनि भेदभाव गरिन्छ । बहुदलपछिका प्रधानमन्त्रीहरू जंगबहादुर राणाकै लहरमा, डा. तुलसी गिरी, मरिचमान सिंहकै लहरमा आफ्नो तस्बिर झुन्ड्याएर गर्व गर्छन् तर ती पुराना प्रधानमन्त्रीहरूलाई कुनै सम्मान गर्दैनन् । मैले अहिलेका नेताहरूमा पुराना नेताहरूप्रति प्रतिशोध, संकीर्णता र कुण्ठाको भावना पाएको छु । मरिचमान सिंह बिरामी भएर भारतको अस्पतालमा थला पर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, परराष्ट्रमन्त्री सलमान खुर्सिदले फूलका गुच्छा पठाएर स्वास्थ्य कामना गरे तर आज बिहान उहाँको निधन अघिसम्म कोही पनि सरकारी ओहोदाका व्यक्तिले भेटेर उहाँलाई स्वास्थ्यलाभको कामना गरेको मलाई थाहा छैन । यही हो राजनीतिक संस्कार ? चार वर्ष देशको प्रधानमन्त्री भएको व्यक्ति ट्याक्सी चढेर हिँड्नुहुन्थ्यो । उहाँलाई सरकारले सुरक्षाको कुनै प्रत्याभूति दिन सकेको थिएन । डा. तुलसी गिरी, कीर्तिनिधि बिष्टलाई पनि सरकारले सुरक्षा दिनु पर्दैन ? उहाँको गुणस्तरीय उपचार पनि हुन पाएन । सरकारले उहाँको उपचारमा कुनै भूमिका देखाएन । मृत्यु अवश्यम्भावी छ, एक दिन सबैले मर्नुपर्छ, तर सायद गुणस्तरीय उपचार पाएको भए उहाँको जीवन अझै केही वर्ष लम्बिन्थ्यो कि ! इतिहासमै राष्ट्रियता सबैभन्दा कमजोर भएका बेला राष्ट्रवादी नेताको एउटा विम्ब नेपाली राजनीतिले सधैंका लागि गुमाएको छ । मरिचमान सिंहलाई हार्दिक श्रद्धाञ्जली ! (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापासँग मनोज दाहालले गरेको कुराकानीमा आधारित) 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक