(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130827

एक पाना इतिहासको अन्त्य - मन्जु निरौला, मेरिल्याण्ड, अमेरिका

      नेपालको राजनीतिक इतिहासमा एउटा कर्तव्यनिष्ट, राष्ट्रबादी, स्वाभिमानी, इमान्दार, देशभक्त, सरल एवं नेवार समुदायबाट नेपालको पहिलो प्रधानमन्त्री हुनपुगेका मरिचमान सिंह श्रेष्ठको ७२ बर्षको  उमेरमा फोक्सोको क्यान्सरले देहावसान भएको समाचार सुनेपछि नेपाली इतिहासको एउटा पानाको अन्त्य भएको अनुभूति गरें| व्यक्तिगत रुपमा आफू कुनै राजनीतिक संघ-संस्था संग आबद्ध नभए तापनि एक स्वतन्त्र नेपाली नागरिकको हैसियतले उनीसंग सम्बन्धित केही अविष्मरणीय कुराहरु लेख्ने जमर्को गरेकी छु| मरिचमान सिंहको देहावसानपछि कतिले उनलाई खलनायक वा खलपात्र भने भने कतिले मरणोपरान्त कुनै पनि प्रभावशाली व्यक्तित्वलाई झुटो प्रशंसा गर्न अतिरन्जित विशेषणका माला लगाइदिने हाम्रो पुर्ख्यौली परम्परालाई कायम राख्न प्रयत्न गरे| एउटा साधारण परिवारमा जन्मिएर जीवनका प्रत्येक पाइलामा संघर्षका खुड्किला चढेर अनि प्रधान अध्यापकबाट प्रधानमन्त्री सम्म बन्न पुगेका मरिचमान सिंहको जीवन-पद्धति नेपाली समाजमा
खुला किताब जस्तै थियो| यस परिप्रेक्ष्यमा वरिष्ट प्राध्यापक डा. श्री लोकराज बरालको कथन “राजाको शासनकाल भए पनि एउटा सोझो, सरल,  भ्रष्टाचारमुक्त छवि सिंहको थियो सान्दर्भिक हुन आउँछ| त्यस्तै राजनीतिज्ञ सूर्य बहादुर थापाले पनि पूर्व प्रधानमन्त्रीले मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मैले उहाँ बाहेक अरु कोही देखेको छैन भनेर उनको सरलता र  बडप्पन नदेखाउने चरित्रको उदाहरण दिनुभएको छ|

      फोक्सोको क्यान्सर भएपछि मरिचमानलाई दिल्लीको मेदंत अस्पतालमा भर्ना गरियो| अत्यन्त महँगो उपचार थेग्न जिन्दगीमा कहिल्यै घूस नखाएका मरिचमान र उनका परिवार सदस्यहरुलाई बडो गाहारो भयो| नेपाल सरकारले केवल पाँच लाख रुपियाँ दिन खोजेर झारा टार्ने काम गर्दा उनका ज्येस्ठ पुत्र अनिल श्रेष्ठले सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय जगतमा बसेका नेपाली समुदायहरुसमक्ष सहयोगको लागि अनुरोध गरे| त्यसै क्रममा अमेरिकाको कोलोराडो राज्यमा बस्ने हाम्रा एक मित्र ज्ञानेन्द्र गदालले फोन गरी हामीलाई पनि सहयोग गरिदिन आह्वान गरे| नाताले मरिचमान सिंह मेरा श्रीमानको भाइका ससुरा पर्दछन| तर हामी दुबैले नाताको हैसियतले भन्दा पनि एउटा सच्चा नेपाली सपूत एवं एक कट्टर राष्ट्रबादी प्रधानमन्त्रीको रुपमा उनलाई लिई उनको उपचारको लागि धेरै-थोरै जति हुनसक्थ्यो मरिचमान सिंह उपचार कोषमा पठायौं| चुरोट अति नै पिउने भएकाले फोक्सोको क्यान्सरबाट बच्न कठिन देखिने भए तापनि सास रहेसम्म आश भन्ने कथनलाई हृदयंगम गर्दै विश्वभरि छरिएर रहेका नेपालीहरुले आफ्नो गच्छे अनुसारले मौद्रिक सहयोग गरेर उनीप्रतिको आफ्नो आदर र सद्भाव देखाएकै मान्नुपर्छ| साढे दुइ दशकसम्म नेपाली राजनीति चटक्कै छोडेका मरिचमानप्रति सबैले सद्भाव राखे, निष्ठा राखेर नै सहयोग जुटाउन कम्मर कसे| तर विधिको विधानले त्यो कुरा बुझिदिएन| कति नै उपचार गर्दा पनि उनको बाच्ने सम्भावना कम हुँदै गयो| उनको राष्ट्रबादी भावनाकै कारण उनले आफ्नो प्राण विदेशमा होइन स्वदेशमै बिसर्जन गर्ने इच्छा व्यक्त गरे| उनलाई नेपाल ल्याएको भोलिपल्टै उनले प्राण त्याग गरे|

            नेपालको राजनीतिक पृष्ठभूमिलाई हेर्ने हो भने पंचायत कालदेखि अहिलेसम्म पनि राजनीतिक नेता वा सरकारी निकायका व्यक्तिहरुलाई सिटामोल खाएर निको हुने रोगका लागि बिभिन्न बहाना अन्तर्गत राज्यको ढुकुटी स्वाहा पारी भारत, सिंगापुर, बैंकक, जापान, यूरोप वा अमेरिका पु-याइएको इतिहास पाइन्छ| इन्डोस्कोपी, कोलोनोस्कोपीको उपचार एकै दिनमा नेपालमैं पनि राम्ररी हुनेभए तापनि राष्ट्रपति रामवरण यादवले १० जनाको डफ्फा तयार गरी जापानमा गएर ४०/५० लाख रुपियाँ स्वाहा पारेको खबर पढेकै हो| बिमान अपहरण गरी कुख्याति कमाएका चक्र बाँस्तोलाको उपचारको लागि तत्कालीन सरकारले सक्दो खर्च जुटाएकै हो| सुशील कोइराला क्यान्सरको उपचारार्थ बर्षेनी अमेरिका धाउने गरेको सर्बबिदितै छ| एउटा आँखा कानो भएका मन्त्रीलाई राष्ट्रको ढुकुटीबाट उपचार गराएको सबैलाई सर्बबिदित छ| प्रचण्ड पुत्र प्रकाशले सगरमाथाको नाममा एक करोड रुपियाँ पनि सरकारबाट पाएकै हो| गिरिजापुत्री सुजाताले बाबुको उपचारको नाउँमा पाँचतारे होटेलमा बसी जनताले तिरेको करको रकमले लूटको धन फुपुको श्राद्ध गरेकै हो| यस्तो सदाबहार उदारताको माहौलमा भिजेको बर्तमान सरकारले स्व. मरिचमान सिंहलाई मात्र किन सौतेनी छोराको जस्तो ब्यबहार गरेको हो बुझिनसक्नु छ| मरिचे चोर देश छोड का नारा सुनेको भए तापनि मर्ने बेलामा म आफ्नै देशमा मर्न चाहन्छु भन्नु के राष्ट्र्बादिता होइन? के उनी देशभक्त होइनन्? उनले जे गरे आफ्नो इच्छाले गरेनन| निरंकुश राज्य ब्यबस्था अन्तर्गत राजाका हुकुम-प्रमांगी पुरा गरे| उनको ठाउँमा अहिले मन्त्रिपरिषद्का अधक्ष्य खिलराज रेग्मी भएका भए उनले पनि ठीक त्यही गर्ने थिए| त्यसबेलाको समयमा राजाको आदेशको बर्खिलाफ जाने कसको हिम्मत?

            मरिचमानको जीवनकालमा न त देशले उनको कदर ग-यो न त जनताले नै| २०४६ सालमा सत्ताबाट बाहिरिएपछि न त उनीसंग आजका नेता झैं पजेरो गाडी थियो न  त अकूत सम्पतिको भण्डार नै थियो| साधारण नेपाली नागरिक सरह पन्ध्र-बीस बर्षसम्म सत्तामा रहेका उनी काठमाडौंको धापासी गा.वि.स. स्थित आफ्नो एकतले घरमा स्यानो-तिनो खेतीपाती गरी कुखुरा पालन गर्दै एक गुमनाम जिन्दगी जिउंदै रहे| अहिले दसौं हजार सोझा-साझा नेपालीहरुलाई सोत्तर पारेर सत्तामा आएकाहरुको भव्य बंगला, भव्य सवारी साधन र भव्य जीवनशैलीके छैन? मरिचमानले अहिलेका नेताहरु झैं भारतको कठपुतली भएर दिल्ली धाउने काम गरेनन्| बरु स्यानो राष्ट्र भए तापनि भारतीय नाकाबन्दीको दौरान शिर झुकाउनु भन्दा बढी मूल्य तिरेर विदेशबाट पेट्रोल आयात गरी देशमा उद्योग र परिवहन चालु नै राखे| उनले जे गरे त्यो तात्कालीन राजाको र आफ्नो स्वविवेकले गरे| साँच्चै भन्ने हो भने अहिलेका भ्रष्ट परम् ब्यक्तिबादी नेताहरुको तुलनामा मरिचमान धेरै नै स्वच्छ छवि भएका प्रधानमन्त्री थिए|

      मेरा स्व. ससुरा झापामा स्ट्रोक भै शरीरको एक पाटो पक्षाघात हुँदा राजधानी ल्याउनु पर्ने भयो| डाक्टरहरुले विमानबाट लैजाने सल्लाह दिएनन् | आफूसंग गाडी नभएकोले लाचार भएर बालुवाटारमा म प्रधानमन्त्री मरिचमानकहाँ दुख पुकारा गर्न पुगें| उनले चाहेको भए सम्धीको हालत अनुसार हेलिकप्टर नै पठाउन सक्थे होलान तर त्यसो नगरेर उनले पेट्रोल हामीले नै हाल्नु पर्ने शर्तमा एउटा ठूलो खालको गाडी बन्दोबस्त गरिदिए| गाडी दिनसक्ने प्रधानमन्त्रीले मरणासन्न सम्धीलाई उपचारको लागि राजधानी ल्याउन पेट्रोल पनि दिन के गाहारो थियो र| तर उनले लोकलाजको सम्मान राखे र केही मात्रामा भए पनि जनताको करको पैसा नाताबादमा खर्च गरेनन्|


      मरिचमान सिंह सुदामा जस्तो भएर बाँचे| उनको राष्ट्रप्रतिको जिम्मेवारी, बफादारी र इमान्दार चरित्र कसैबाट लुकेको छैन| यस्ता सच्चरित्र अनि गरीब परिवारबाट आएका पूर्व प्रधानमन्त्रीको देहावसान हुँदा नेपालको इतिहासमा एउटा फेरि अर्को भीमसेन थापा जस्तै राष्ट्रबादी पुरुषको अन्त्य भएको मैले अनुभव गरेकी छु |

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक