20130827

एउटी आमाको प्रतिबद्धता: ‘सास रहेसम्म न्यायका लागि लड्ने हो ।’

 शोभा शर्मा काठमाडौ 
वीर अस्पतालको पुरानो आइसियु कक्षमा गंगामाया अधिकारी चल्नै नसक्ने भएर लडिरहेकी छिन् । अनुहार पहेँलो भैसकेको छ । मुटुको चाल घटिरहेको छ । ज्वरो भने बढिरहेको छ । ज्वरो आएको शरीर छाम्दा चिसो थियो, उनी थरर्र कामेकी थिइन् । आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै पतिसँगै आमरण अनसनमा बसेर थला परेकी गंगामायालाई जाँच्ने डाक्टरले भने, ‘यो एकदम क्रिटिकल अवस्था हो, रक्तचाप झरिरहेको छ, ज्वरो बढिरहेको छ, उनले भने, ‘उहाँको अवस्था बिग्रँदै गइरहेको छ ।’  ‘अब यसरी नै मरिने भइयो’ अस्पतालको बेडमा लडिरहेकी गंगामायाले भनिन् । उनको आवाज पनि सुस्त भइसकेको छ । एकदम नजिकबाट मात्र उनलाई सुन्न सकिने । आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही नगरेसम्म त बरु प्राणै जाला, उनी खाना खान मान्दिनन् । ‘आजसम्म त नखाई भयो,’ उनले सासैले भनिन्, ‘न्याय नपाउने भएसी किन बाँच्नुप¥यो !’ उनको निधारमा पसिना आयो । यति भन्दा उनको शरीर
काँपिरहेको थियो ।
उनको हातको नसा सुकेर घाँटीको नसाबाट स्लाइन दिइएको छ । स्लाइनले धानेको छ सास । स्लाइनबाट विस्तारै झर्ने पानीका थोपाको गतिझैँ छ उनको मुटुको धड्कन पनि । त्यही धड्कन रहेसम्म उनी राज्यलाई छोराको हत्यारालाई कारबाही र न्यायका लागि दबाब दिइरहने बताउँछिन् ।
‘सास रहेसम्म न्यायका लागि लड्ने हो ।’
यो एउटी आमाको प्रतिबद्धता हो । आफ्नो नौजवान छोराका हत्यारालाई कानुनी कारबाही गर्नेजस्तो स्वभाविक प्रक्रियाका लागि उनले प्राण दाउमा राख्नुपरेको छ ।
गंगामायाको बेडभन्दा एक मिटरपर उनका पति नन्दप्रसाद अलि ठिकै छन् । धेरै यताउता गर्न त उनी पनि सक्दैनन्, बोल्न भने मज्जैले सक्छन् । उनका आँखामा अझै चमक देखिन्छ । गत माघ २२ गतेदेखि अनसन बसेका नन्दप्रसादले भने, ‘मेरो छोरालाई मार्ने मान्छेलाई हत्कडी नलाएसम्म त हामी केही खाँदैनौं,’ उनले सुनाए । लामो समयसम्म खाना नखाएका उनी एकदम कमजोर देखिन्छन् । स्लाइनको भरमा बाँचेका छन् । थप उपचार गर्न मान्दैनन् ।
‘हामीलाई किन बचाउनु प¥यो ?’ उनले सोझो प्रश्न गरे, ‘यिनीहरू बाँचून् भन्ने लाग्छ भने सरकारले मेरो छोराको हत्यारालाई हत्कडी लगाइदेओस् ।’
उनलाई सरकारले केही गर्ला भन्ने आस त छैन । भन्छन्, ‘हाम्रो पनि परान लिन खोजेका त होलान् नि ।’
लोकतान्त्रिक व्यवस्था भएका मुलुकहरूमा कोही नभए पनि नागरिकको अभिभावक राज्य हुन्छ । नन्दप्रसाद अधिकारी भने अभिभावक मानिएको राज्यलाई भनिरहन्छन्, ‘हामी मरेर राज्यको नाम रहन्छ भने रहोस् तर न्याय मात्रै हाम्रो आखिरी इच्छा हो ।’
उनको सोझो प्रश्न छ, ‘कस्ताकस्ता अपराधी पक्रन सक्ने पुलिसले हाम्रो छोराको हत्यारा पक्रन किन सक्दैन ? चुरोट खानेलाई पक्रेर कारबाही गर्न सक्ने राज्यमा हाम्रो छोराको अपराधीलाई हत्कडी किन लगाइदैन ?’ 
उनीहरुको स्वास्थ्य जाँच गर्न दिनको चारपटक सिनियर डाक्टरहरूको छुट्टाछुट्टै युनिट आउँछ । डाक्टर र नर्सहरू निरन्तर निगरानी गरिरहन्छन् तर नन्दप्रसाद भनिरहन्छन्, ‘हाम्रो सासको ख्याल छ भने उपचार पर्दैन न्याय देउ ।’
‘हामीले यसो भन्दा डक्टरले मान्छन् । तर, उनीहरू (सुरक्षाकर्मीलाई देखाउँदै) उपचार गर्न दबाब दिन्छन्,’नन्दप्रसादले भने ।
आइसियु कक्षमा पनि उनलाई प्रहरीको कडा निगरानी छ । नजिकका आफन्त र एकाध मानवअधिकारवादीबाहेक अरूलाई भेट्न दिइएको छैन । कक्षबाहिर डाक्टरको सल्लाहअनुसार उनीहरुलाई भेट्न नदिएको सूचना टाँसिएको छ ।
उनीहरुको पहरा छलेर भित्र गएका मानवअधिकारकर्मी सुरेश भट्टले उनलाई ‘नखाएर मर्न हुँदैन, न्यायका लागि लड्न पनि बाँच्नुपर्छ’ भनेर सम्झाए ।
‘तपाईंहरूले अनसन तोड्नुपर्छ भन्ने ?’ भट्टले भन्न नपाउँदै नन्दप्रसाद जंगिए, ‘मलाई भोकै बस्ने रहर छ र ?’
उनले भट्टलाई झपारे, ‘तिमीहरूलाई हामीलाई जस्तो परेको छैन र ढुक्कले खान्छौ ।’

...

अधिकारी दम्पतीको माग र अनसनबारे सरकार बेखबर जस्तै बसेपछि मानवअधिकारकर्मीहरूको संस्था जवाफदेहीता निगरानी समितिले आलोचना गरेको छ । सरकारले अधिकारी दम्पतीको माग पूरा गर्नुपर्ने भन्दै समितिले विज्ञप्ति निकालेको छ ।
मानवअधिकारकर्मीहरूले अधिकारी दम्पतीलाई अनसन तोड्न पनि आग्रह गरेका छन् । मानवअधिकारकर्मीहरूको सोही सुझाव लिएर भेट्न पुगेका भट्टलाई नन्दप्रसाद अधिकारीले रूखो गरी सुनाए, ‘तिमीहरूलाई खान मन लाग्छ भने हामीलाई नि लाग्छ, भोकै बस्ने रहर होइन । तर, न्याय नपाए त हामीलाई केही चाहिएन, यत्तिकै मरिन्छ ।’
मानवअधिकारकर्मीहरू भने उनीहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँछन् । मानवअधिकारवादी तथा पत्रकार कनकमणि दीक्षित भन्छन्, ‘उनीहरूका माग पूरा गर्ने जिम्मेवारी सरकार र पाँच दलीय संयन्त्रको हो, उनीहरूको प्राण रक्षाको जिम्मा पनि उनीहरूले नै लिनुपर्छ ।’
अधिकारी दम्पतीले मुखमा पानी पनि नहालेको एक महिना भैसक्यो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारअघि आमरण अनसन बसेका उनीहरू बेहोस भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
आकस्मिक कक्षमा १० दिन राख्दा पनि स्वास्थ्य अवस्था नसुध्रिएपछि क्याबिन हुँदै आइसियु कक्षमा पु¥याइएको छ । तर, उनीहरू भने अनसन तोड्ने पक्षमै छैनन् ।
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई अधिकारी हत्याको छानबिन गर्न पछिल्लोपटक साउन २८ गते पत्र लेखेको थियो । सोही आधारमा अनुसन्धान अघि बढेको समाचार आउँदा पनि अधिकारी दम्पती भने ढुक्क छैनन् । ‘अनुसन्धान गरेको भए, उनीहरू अहिलेसम्म किन पक्राउ परेनन् ? अभियुक्तलाई सबैले चिन्छन्, समात्नु प¥यो नि ।  यत्तिकै भनेर हुन्छ र ?’ नन्दप्रसादले भने, ‘उनीहरूलाई हत्कडी नलाएसम्म हामीलाई कसैको भर छैन ।’
...
२०६१ साल जेठमा स्कुल बिदा भएपछि कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरआमा भेट्न चितवन गएका थिए । उनको जेठ २४ गते हत्या भयो । त्यसपछि अधिकारी दम्पतीले चितवन प्रहरीमा किटानी जाहेरी दिए, ‘मेरो छोरालाई माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेललगायतले मारेका हुन् । पक्राउ गरी कानुन अनुसार कारबाही गरिपाउँ ।’
उनको जाहेरीलाई प्रहरीले वास्ता गरेन ।
२०६५ सालमा मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले पटकपटक सरकारलाई अनुसन्धान गर्न सिफारिस गरिरह्यो ।
सरकारले वास्ता गरेन ।
गत मंसिरमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई दबाब दिन बालुवाटारअघि धर्ना बसे । त्यसपछि सरकार उनीहरूप्रति क्रुर हुन थाल्यो । धर्नामा बसेका अधिकारी दम्पतीलाई उठाएर प्रहरीले कमलपोखरीस्थित प्रहरी प्रभागमा ४९ दिन गैरकानुनी हिरासतमा राख्यो ।
त्यहाँबाट छुटेपछि अधिकारी दम्पतीले फेरि  बालुवाटारको सडकमा अनसन बस्न थाले । प्रहरीले उनीहरूलाई कहिले गोरखा पु¥याएर छाड्थ्यो त, कहिले गोरखा लाने भन्दै थानकोटमा लगेर छाड्दिन्थ्यो ।
गएको जेठ २९ गते प्रधानन्यायाधीश सरकारको प्रहरीले मानसिक बिरामी भएको भन्दै उनीहरूलाई मानसिक अस्पताल पाटन लगेर छोडिदियो ।
डाक्टरहरूले उनीहरू मानसिक रोगी नभएको भन्दा पनि एक महिनासम्म उनीहरू लगनखेल अस्पतालमै अलपत्र परेका थिए ।
आयोगको पत्रको आधारमा सरकारले हत्या अनुसन्धान अघि बढाएको छ । तर, त्यसलाई अदालतमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयले प्रष्ट जवाफ दिन सकेको छैन ।
एक महिनाअघि गृहमन्त्रीले यो द्वन्दकालको घटना भएकाले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगले सुल्झाउनुपर्ने जवाफ आयोगलाई दिएका थिए । तर, आयोगकै पत्रको आधारमा अनुसन्धान त अघि बढेको छ, मुद्दा अभियोजन हुने–नहुने प्रष्ट छैन ।
आफ्नो जवान छोराको हत्यारालाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धताले अधिकारी दम्पतीको ज्यान जोखिममा छ । उनिहरूका लागि अहिले जीवनभन्दा ठूलो ‘न्याय’ हो ।
- setopati
*********************
छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै आमरण अनशनमा उत्रिएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नीको ज्यानै जान लागेको भन्दै उनीहरूको जीवन रक्षाका लागि माग पूरा गरिदिन अधिकारकर्मीहरूले आग्रह गरेका छन् । 'उनीहरू जीवनको अन्तिम क्षणमा पुगेका छन्,' मानव अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षितले भने- 'कदाचित केही भएमा त्यसको जिम्मेवारी यो सरकार र यसलाई चलाउने चार दलका नेताले लिनुपर्नेछ ।'
दीक्षितसहितको मानव अधिकारवादी टोलीले अधिकारी दम्पतीलाई आइतबार साँझ भेटेको थियो । वीर अस्पतालको पुरानो आईसीयूमा राखिएका उनीहरूको स्वास्थ्य जीर्ण बन्दै गएको देखेपछि कुनै पनि बेला केही पनि हुन सक्ने भन्दै बचाउका लागि अधिकारवादीले सोमबार हारगुहार गरेका हुन् । 'अधिकारी दम्पतीलाई मिडियाकर्मीले भेट गर्न नपाउने गरी सुरक्षाकर्मीको निगरानीमा अस्पतालमै हिरासतजस्तो गरी राखेको छ सरकारले,' दीक्षितले भने,'हामीले भेट गरेर अनशन तोड्नुस्, ज्यान भए पो न्याय पाइन्छ त भन्दा कुन आधारमा तोड्ने भनेर सोधे ।'
नन्दप्रसादको शरीर दुब्लाएर हाडछाला मात्रै बाँकी भएको र उनकी पत्नी गंगामायाचाहिँ केही दिनदेखि अर्धअचेत अवस्थामा पुगेको अधिकारकर्मीहरूले बताए । उनीहरूका अनुसार अधिकारी दम्पती दुवैको शरीरको नसा अति पातलो भएकाले स्लाइन पनि दिन नमिल्ने भएको छ । 'घाँटीमा सानो प्वाल पारेर प्रोटिनसहितको खानेकुरा दिनु नै एकमात्र विकल्प जस्तो देखियो,' दीक्षितले भने,'तर त्यसका लागि पनि अधिकारी दम्पती तयार भने छैनन् ।'
अधिकारी दम्पतीले आमरण अनशन गरेको सोमबार तेत्तीस दिन पुगेको छ । ९ दिनसम्म अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारअघि सडकपेटीमै अनशन थालेका उनीहरू अचेत भएपछि सरकारले वीर अस्पताल लगेर भर्ना गरिदिएको थियो ।
अस्पतालमा पनि केही खान नमानेका उनीहरूको चिकित्सकहरूले स्लाइन दिएर प्राण जोगाइरहेका छन् ।
अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वषर्ीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै अनशनमा बसेका उनीहरूको ज्यान 'कुनै पनि बेला जान सक्ने' अधिकारवादीहरूको ठम्याइ छ । बाबुराम प्रधानमन्त्री हुँदा हिसिला यमीकी पीए जानुका पौडेल, छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीलगायत विरुद्ध नन्दप्रसादले किटानी जाहेरी दिएका छन् ।
तर त्यसविरुद्ध केही नभएको भन्दै पटक-पटक आन्दोलनमा उत्रेका उनीहरूलाई सरकारले गत जेठ ३१ गते मानसिक अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । त्यसको तीव्र विरोध भएपछि उनीहरूलाई अस्पतालले कुनै मानसिक रोग नभएको भनेर छाडेपछि अधिकारी दम्पती सीधै बालुवाटरमा गएर आमरण अनशनमा बसेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई साउन २८ गते पत्र लेखी कृष्णप्रसाद हत्याको तुरुन्त अनुसन्धान गर्न भनेको थियो । त्यसको भोलिपल्टै चितवन प्रहरीलाई सरकारले अनुसन्धान गर्न आदेश दिएको थियो । 'तर आदेश दिए पनि काम भने यतिका दिनसम्म केही भएको छैन,' नन्दप्रसादलाई उद्धृत गर्दै दीक्षितले भने,'जहिल्यै हामीलाई झुलाउने काम मात्रै भयो, न्याय नदेखी जाने भयो यो चोला !'
- ekantipur.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक