20130802

अनलाइनखबर सँगको विशेष कुराकानीका क्रममा पूर्वमन्त्री एवं वीपीपुत्र प्रकाश कोइरालाले भन्नुभयो ‘राजा त यो मुलुकमा आए-आए, अब कसैले रोक्न सक्दैन, हिन्दुस्तानले नचाहेर होइन कि अब राजा हिन्दुस्तानकै लागि बाध्यता भएका छन् ।’

 (अनलाइनखबरबाट साभार) पूर्वराजा ज्ञानेन्द्रबारे विभिन्न क्रिया-प्रतिक्रिया आइरहेका बेला पूर्वमन्त्री एवं वीपीपुत्र प्रकाश कोइरालाले नेपालमा अब राजतन्त्रलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । अब राजतन्त्रलाई भारतले नै फर्काउने कोइरालाको दाबी छ । ‘राजा त यो मुलुकमा आए-आए, अब कसैले रोक्न सक्दैन ।’ विशेष कुराकानीका क्रममा कोइरालाले भन्नुभयो- ‘हिन्दुस्तानले नचाहेर होइन कि अब राजा हिन्दुस्तानकै लागि बाध्यता भएका छन् ।’ गणतन्त्र, संघीयता र धर्म
निरपेक्षता विदेशीको एजेन्डा भएको दाबी गर्दै कोइरालाले भन्नुभयो- ‘जुन तत्वले राजालाई फ्याँक्यो, त्यही तत्व र तिनै विदेशीले अब राजालाई लिएर आउँछन् । मुख्यतः इण्डियाले नै लिएर आउँछ, चीनले ठाडै भनिसकेको छ कि नेपालमा मलाई पनि चासो छ ।’ अहिलेका नेताहरुमा भन्दा ज्ञानेन्द्रमा मुलुकप्रतिको प्रतिवद्धता बढी देखेको बताउँदै कोइरालाले अब राजतन्त्र फर्कने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । आफूलाई नेपाली कांग्रेसले विनाकारण पार्टीबाट हटाए पनि आफू अहिले पनि कांग्रेस नै रहेको कोइरालाको भनाइ छ । एकसाता अघि एमाओवादी नेता डा. बाबुराम भट्टराईले वीपीको राष्ट्रिय मेलमिलापको नीति असफल भएको वीपी बताउनुभएको स्मरण गराउँदा वीपीपुत्र कोइरालाले भट्टराईप्रति असहमति जनाउँदै नेपालमा लोकतन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएकाले यी मध्ये कुनै एउटालाई छुट्यायो भने मुलुक दुर्घटनामा पर्ने बताउनुभयो । ‘वीपी लोकतन्त्रका प्रतीक हुनुहुन्थ्यो, राजा राष्ट्रियताका प्रतीक ।’ उहाँले भन्नुभयो, ‘अहिले लोकतन्त्रलाई मात्रै जोड दिएर राष्ट्रियलाई उपेक्षा गरिएको छ । तर, वीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिकै कारण ०४६ सालमा वीरेन्द्रले लोकतन्त्र दिएका हुन् ।’ अहिले पनि राजा र लोकतन्त्र सँगसँगै अघि बढेमात्रै मुलुकको सार्वभौमिकता जोगिने उहाँको तर्क छ ।
नेपालमा यतिबेला विदेशी हस्तक्षेप बढेको हुनाले परराष्ट्र मन्त्रालयले विदेशी हस्तक्षेप रोक्न विभिन्न दूतावासलाई तत्काल पत्र लेख्नुपर्ने कोइरालाको सुझाव छ । काठमाडौंमा खोलिएको अमेरिकी दूतावास दक्षिण एशियाकै महंगो भएको बताउँदै नेपालमा त्यस्तो शक्तिशाली दूतावास यहाँको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नकै लागि बनाइएको कोइरालाको दाबी छ ।
‘विदेशी हस्तक्षेपलाई रोक्न तत्काल कदम चाल्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयले दूतावासहरुलाई पत्र लेखेर भन्नुपर्छ कि नेपालको आन्तरिक मामिलामा तिमीहरु हस्तक्षेप नगर ।’ कोइरालाले भन्नुभयो, ‘यो कार्य नेताहरुबाट सम्भव छैन, किनभने यिनीहरुलाई खल्ती भर्ने र दललाई पैसा दिने को हो ? तिनै विदेशी हुन् ।’
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठित शाही मन्त्रिमण्डलमा सामेल हुनुभएका पूर्वमन्त्री कोइरालाले त्यसबेला क-कसले प्रधानमन्त्रीका लागि कसरत गरेका थिए भन्ने रहस्यसमेत खोल्नुभएको छ । आफूलाई त्यसबेला तत्कालीन सभामुख तारानाथ रानाभाटले गाडीमा हालेर एमाले नेता केपी ओलीको घरमा पुर्याएको कोइरालाले स्मरण गर्नुभएको छ ।
एकातिर वीपी कोइरालाका सहोदर छोरा भएकाले कांग्रेसलाई राम्रोसँग बुझेका र अर्कातिर ज्ञानेन्द्रको क्याबिनेटमै बसेर कामको अनुभव गरेका पूर्वमन्त्री प्रकाश कोइरालासँग अनलाइनखबरले अन्तरंग कुराकानी गरेको छ । लोकतन्त्रमा सबैखालका विचारहरु मिडियामा आउनु स्वाभाविक मानिन्छ । यतिबेला पूर्वराजा ज्ञानेन्द्रका बारेमा चर्चा बढिरहेका बेला हामीले कोइरालाको विचार बुझ्न खोजेका हौं ।
अन्तरवार्ताका क्रममा कोइरालाले राजतन्त्रलाई भारतले नै फर्काउने दाबीमात्रै गर्नुभएन, माघ १९ को ज्ञानेन्द्रको कदमअघि गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, तारानाथ रानाभाट, रामचन्द्र पौडेल र केपी ओलीले कसरी प्रधानमन्त्री र उपप्रधानमन्त्रीका लागि चलखेल गर्नुभएको थियो भन्ने रहस्य पनि उजागर गर्नुभयो । कोइरालाले भन्नुभयो-’मसँग त्यस्ता डकुमेन्ट छन्, ती सार्वजनिक गर्ने हो भने धेरै नेताहरु नांगिन्छन् ।’
वीपीले राजा र कांग्रेसको घाँटी जोडिएको छ भन्नुभएको थियो, तर नेपाली कांग्रेस गणतन्त्रमा गएपछि वीपीले भनेको त गलत ठहरियो नि हैन र ?
- मैले पहिलेदेखि नै भन्दै आएको छु, वीपीको भनाइ के हो भने नेपालीका काँधमा दुईवटा मूल जिम्मेवारी छन् । एउटा प्रजातन्त्र र अर्को राष्ट्रियता । यी दुईवटै मुद्दाहरु मूल मुद्दा हुन् । एउटामात्रै मुद्दा समातेको खण्डमा भद्रगोल निम्त्याउँछ । एउटामात्रै मुद्दा समातेर हिँड्यो भने हामीलाई त्यसले गन्तव्यमा पुर्याउँदैन । तर, हामीले प्रजातन्त्रको एउटा मुद्दा बोकेको बोक्यै गर्‍यौं, तर, राष्ट्रियताको मुद्दाचाहिँ विस्तारै-विस्तारै गौण हुँदै गयो ।
कांग्रेसमा कहिलेदेखि यस्तो भयो ?
- गिरिजाबाबुले दिल्लीमा गएर हिन्दस्तानसित जुन बाह्रबुँदे सम्झौता गरिदिनुभयो, जसले माओवादीहरुलाई पनि भारतीय इन्ट्रेस्ट अनुसार नेपाली राजनीतिमा समावेश गरिदियो । यो भारतीय इन्ट्रेस्टअनुसार भएको हो । गिरिजा बाबुबाट यो नगर्नुपर्ने काम भएको छ । यो काम माओवादीसित भन्दा पनि हिन्दुस्तानसित मिलेर गरिएको हो । यसले गर्दा नेपाली कांग्रेसको राष्ट्रिय चरित्रमा एउटा ठूलो प्रश्नचिन्ह लागेको छ । प्रश्नचिन्ह पहिलेदेखि नै लागेको थियो, यसबाट प्रमाणितजस्तो नै भयो । आज मुलुकको दुर्दशा यही कारणले गर्दा भएको हो ।
राष्ट्रियताको मुद्दालाई यहाँले गणतन्त्रसित जोड्न खोज्नुभएको हो ?
- गणतन्त्र नेपालीहरुको मुद्दा नै होइन । यो भारतीय मुद्दा हो । यो विकिलिक्सले प्रष्ट पारिसकेको छ । सन् २००२ मा काठमाडौंमा ७ वटा देशका, भारत, बेलायत, अमेरिका र चारवटा स्क्यान्डेभियन मुलुकका राजदूतहरुले तीनवटा मुद्दामा छलफल गरे। उनीहरुले राजतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मुद्दामा छलफल गरे । भारतको जोड थियो, राजतन्त्र जानैपर्छ । बेलायती राजदूतले धर्मनिरपेक्ष हुनुपर्छ, हिन्दुराष्ट्र हुनुपर्छ । स्क्यान्डेभियन मुलुकले संघीयताको कुार गरे । त्यसैले गणतन्त्र, हिन्दूराष्ट्र र संघीयताको छलपल १२ वर्षअघि विदेशीले काठमाडौंमा बसेर बनाएका हुन् । त्यसैले यी तीनवटै मुद्दाहरु विदेशीका हुन् । नेपालीको एजेन्डा त गरिबी, बेरोजगारी र विजुलीको समस्या हो । यसमा गणतन्त्र नेपालको समस्या थिएन । हिन्दु राष्ट्र हटाउनुपर्ने पनि नेपाली जनताको माग थिएन र राजा जाने, नजाने त्यो पनि नेपालीहरुको बुँता नै थिएन । संघीयता पनि नेपालीहरुको मुद्दा थिएन ।
राजाले बेलाबेला टेकओभर गरेकै कारणले यस्तो भएको होइन र ? । वीपीले पनि राजाकै कारण जीवनभर प्रजातन्त्रका लागि संघर्ष गर्नुभएको होइन र ?
- हो, वीपी ८ वर्षसम्म थुनामा पर्नुभएको छ । त्यसपछि ६/७ वर्ष प्रवासमा बस्नुभयो । र, त्यहाँबाट सशस्त्र क्रान्ति पनि गर्नुभएको हो वीपीले । त्यो गरिसकेपछि उहाँ यो निश्कर्षमा पुग्नुभयो कि यी सबै कार्यहरु जो मैले गरें, यो त कहीँ न कहीँ अलिकति गलत रहेछ । त्यसैले उहाँले अब हाम्रो भावी नीति यो हुनुपर्छ भनेर सन् १९७६ मा राष्ट्रिय मेलमिलापको नीति लिनुभएको हो । त्यसपछि राजा राष्ट्रियताको प्रतीक हुन्, हामीचाँहि प्रजातन्त्रका प्रतीक हौं भनेर उहाँ स्वदेश र्फकनुभएको हो । यी दुइवटै तत्वहरु मिलेको खण्डमा नेपाल गन्तव्यमा पुग्छ, यदि यी तत्व नै मिलेनन् भने नेपालमा भद्रगोल हुन्छ, जुन अहिले भद्रगोल छ ।
अघिल्लो साता हामीले सोधेको प्रश्नमा डा. बाबुराम भट्टराईले भन्नुभएको थियो, राजासँग घाँटी जोड्ने वीपीको नीति असफल सावित भैसकेको छ । यही गलत नीतिका कारण वीपीले जीवनभर प्रजातन्त्र पुनस्थापना गर्न सक्नुभएन । तपाईसँग यस आरोपको खण्डन गर्ने आधार के छ ?
- बाबुराम भट्टराईजीलाई यस्तो बोल्नुपर्ने बाध्यता छ । मचाँहि के हेर्छु भने वीपीको राष्ट्रिय मेलमिलापले गरेर नै राजा वीरेन्द्रले १९९० मा बहुदलीय व्यवस्था दिएका हुन् । यसको कारकतत्व वीपी कोइराला नै हो । ०४७ सालको संविधान पनि राष्ट्रिय मेलमिलापकै प्रतिफल हो । बाबुरामजी वामपन्थी हो त्यसैले उहाँहरु माक्र्सवादी धारणाका आधारमा व्उाख्या गर्नुहुन्छ, त्यो व्याख्यासँग सहमत छैन । तर, नेपालमा राष्ट्रियता र प्रजातन्त्र अत्यन्तै गम्भीर कुराहरु हुन् । त्यसैले यसलाई भाँड्ने र बिगार्ने काम विदेशी तत्वहरुले गरे । राजा र वीपी कोइरालामा मतभेद लगाउने काम नै विदेशीहरुले गरेका हुन् । यो त वीपीले आफ्नो आत्मवृतान्तमा पनि लेखेर जानुभएको छ । मैले रोजेको यो बाटोमा एक दिन राजा पनि आउनैपर्छ भनेर वीपीले भन्नुभएको थियो, राजा वीरेन्द्रले उदारता देखाएर प्रजातन्त्र पुनस्थापना सम्भव भयो । यो वीपीकै बाटो थियो । त्यसैले वीपीले राजा र मेरो घाँटी एकैठाउँमा जोडिएको छ भन्नुको अर्थ प्रजातन्त्र र राष्ट्रियताको घाँटी एउटै हो भन्न खोज्नुभएको हो । ०४६ को परिवर्तनको मूलश्रेय वीपी कोइरालाई नै जान्छ । त्यसैले अहिले पनि मानिसहरुले वीपी कोइराला, वीपी कोइराला भनिराखेका हुन् ।
आफ्नै पिताको बिरासतका रुपमा रहेको नेपाली कांग्रेस यहाँले किन छाड्नुभएको ?
- म बहुदलीय व्यवस्थामा विश्वास गर्ने मान्छे । यसैका लागि मैले ३०/४० वर्ष संघर्ष गरें । ०४६ को परिवर्तनपछि म सांसद पनि भएँ, मन्त्री पनि भएँ । तर, त्यसैबेलादेखि सत्ताको द्वन्द्व नेपाली कांग्रेसमा देखा पर्यो । त्यसैबेलादेखि मलाई विचलन भैसकेको थियो । मैले त नेताहरुलाई अढाइ/अढाइ वर्ष आलोपालो गरे प्रधानमन्त्री बन्नोस् भनेर सुझाव पनि दिएँ । तर, नेपाली कांग्रेस यसरी सत्ताको स्वार्थमा होमियो कि उसमा आफ्नो आदर्श बिर्सिएर सत्तामुखी चरित्र देखा पर्न थाल्यो । त्यसबेला मैले टनकपुरको मुद्दामा पनि गिरिजाबाबुलाई यो के गर्नुभएको भनेर प्रश्न गरें । मैले त्यसबेला टनकपुर सम्झौताको पनि बिरोध गरेको हुँ । अन्तरराष्ट्रिय अदालतमा गयो भने आजको दिनमा पनि टनकपुरबाट नेपालले ३० मेघावाट बिजुली पाउनुपर्छ । तर, अहिलेसम्म २ मेघावाटमात्रै पाउँदै आएको छ ।
त्यतिमात्रै नभएर नेपाली कांग्रेस यसरी खेमा-खेमामा विभाजित भयो कि ३६ से, ७४ रे, गणेशमानजीको खेमा, किशनुजीको खेमा, गिरिजाबाबुको खेमाहश्र जन्मिए । तर, मचाँहि मुद्दाका आधारमा बहस हुनुपर्छ भन्ने चाहन्थें । अब क्रान्तिका दिन गए, अब विकासको क्रान्ति हुनुपर्छ भन्ने मेरो सोचाइ थियो । तर, कांग्रेसमा सत्ता मोह यत्ति हुन थाल्यो कि भ्रष्टाचारका इस्युहरु उठ्न थाले, मन्त्रीहरुको घरमाथि घर थपिन थाल्यो । १५/२० वटा गाडी हुन थाले । बैंक ब्यालेन्स बढ्न थाल्यो । यसरी पार्टी आदर्शबाट टाढा-टाढा जान थालेपछि र राष्ट्रिय मुद्दाहरु भुल्न थालेको हुनाले मलाई वितृष्णा जाग्यो । पार्टीलाई पनि के लाग्यो भने म पार्टी लाइन विपरीत जान थालेको छु, त्यसैले एक वर्षका निम्ति मलाई कारवाही भयो । तर, कारवाही गर्दा के कारणले गरिएको थियो पनि भनिएन र स्पष्टीकरण दिने मौका पनि दिइएन । मलाई एकतन्त्रीय शैलीमा एक वर्षका निम्ति कारवाही गर्नुभयो ।
तपाई ज्ञानेन्द्रको मन्त्रीमण्डलमा सहभागी हुनुको कारणचाँहि के हो ?
- त्यसबेला प्रधानमन्त्री कोही पनि थिएनन् । मलाई नेपाली कांग्रेसका पुराना मान्छे झाजीले आएर तपाईलाई गिरिजाबाबुले डाक्नुभएको छ भन्नुभयो । म वहाँलाई भेट्न गएँ । उहाँले मलाई भन्नुभयो । यो मुलुक जलिरहेको छ, यो मुलुक जलिरहेका बेला शेरबहादुर देउवा र माधव नेपालले हाँक्न सक्छन् ? मैले भनें यसमा मलाई टीका टीप्पणी गर्नु छैन । गिरिजाबाबुले किन मलाई त्यसो भन्नुभएको हो कुन्नि ? शेरबहादुर जी या माधव नेपालजी प्रधानमन्त्री बन्ने राजाको संकेत थियो कि ? तँलाई सोधेको खण्डमा यी दुईटाले मुलुक हाँक्न सक्दैनन् भनेर तैंले कुरा राख्नु भन्नुभयो गिरिजाबाबुले । मोटामोटी कुरा बुझ्दा गिरिजाबाबुको संकेत राजातिरै थियो । मैले उहाँलाई भनें, मेरो राजासित त्यस्तो राम्रो सम्पर्क छैन, तर यो सन्देशचाँहि पुर्‍याइदिन्छु ।
अर्को दिन मेरोमा शैलजा आचार्यजी आइपग्नुभयो । मलाई प्रधानमन्त्रीको अफर छ, यसमा तेरो के छ ? मैले शैलजाजीलाई भनें, सबैभन्दा राम्रो हुन्छ । एक त महिला, बहुदलीय व्यवस्था आइसकेपछि सर्वप्रथम भ्रष्टाचारको विरोध गर्ने मान्छे, तपाईँले हाँक्न सक्नुहुन्छ । तर, यो सम्झौताको राजनीतिमा एकपटक गिरिजाबाबुलाई सोध्नोस् भनंे । उहाँ सोध्न जानु पनि भयो, तर गिरिजाबाबुले अनुमति दिनुभएन ।
एकदिन फेरि तत्कालीन सभामुख तारानाथ रानाभाटजी मकहाँ आउनुभयो । उहाँले के भन्नुभयो भने प्रकाशजी, भोलि म प्रधानमन्त्री भएँ भने तपाईलाई आपत्ति छ कि छैन ? मैले भनें, मलाई कुनै पनि कांग्रेसी प्रधानमन्त्री बन्छ भने मलाई केको आपत्ति ? त्यसपछि उसोभए हिँड्नोस् मसित भनेर गाडीमा चढाएर मलाई केपी ओलीजीकोमा लग्नुभयो । रानाभाटजीले ओलीलाई के भन्नुभयो भने अ ओलीजी, म प्रधानमन्त्री हुने भएँ, तपाई पनि डेपुटीमा बसिदिनुपर्यो, कोइरालाजीको पनि हामीलाई समर्थन छ । यति भनेपछि खड्ग ओलीजीले सोध्नुभयो, प्रकाशजीले कुन मन्त्री लिने त ? भन्दाखेरि रानाभाटजीले नै भन्नुभयो, हैन उहाँलाई मन्त्री बन्ने इच्छा छैन । तर, ओलीले भन्नुभयो, हैन तपाई त बस्नैपर्छ, तपाई कुन मन्त्रालय लिने? भन्नोस्, कुन लिने ? मैले भनें, मलाई इच्छा छैन, तपाईहरु नै जिम्मा लिनोस् र मुलुकलाई राम्रोसँग चलाउनोस् । एमाले र कांग्रेसले मिलेर उदाहरणीय काम गरेर देखाउन् ।
मैले तारानाथजीलाई त्यही भनें कि एकचोटि गिरिजाबाबुसित पनि अनुमति लिने कि ? उहाँले त्यो त भैहाल्छ भन्नुभयो । उतातिर रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रभाकर समशेर लागिरहनुभएको थियो । प्रभाकरजीले मलाई फोन गरेर रामचन्द्रजीलाई प्रधानमन्त्री र चक्र बास्तोलालाई उपप्रधामन्त्री बनाउनुपर्यो भनिरहनुभएको थियो । त्यसबेला प्रजातन्त्रमाथि प्रश्न उठिसकेको थियो । भ्रष्टाचारमात्रै होइन, अराजनीतिक ढंगले सत्ताको खेल हुन थालेको देखेपछि मलाई राजनीतिमा विरक्त लागिसकेको थियो । सबैलाई प्रधानमन्त्री हुने इच्छा थियो ।
हाम्रो प्रश्न यो थियो कि तपाई ज्ञानेन्द्रको मन्त्रीमण्डलमा किन र कसरी सहभागी हुनुभयो ?
- राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा म मुम्बईमा थिएँ । कि राजाले भन्नुपथ्र्यो कि हरेक नेपाली जनताले प्रधानमन्त्रीका लागि दरखास्त हाल । मैले प्रधानमन्त्रीका दाबेदारहरुको के स्थिति थियो भन्ने नाम त लिइसकें । त्यहीबेला मलाई अहिलकति मुलुकको माहौल ठीक भएन भन्ने लागेको थियो । त्यसैले मेरी छोरी मुम्बईमा भएको हुनाले म मुम्बई पुगेको थिएँ । म त्यहीँ हुँदा मलाई थाहा भयो, राजाले शासन गर्नुभयो । मुलुक यति बिगि्रसकेको थियो कि राजाले लिएपछि मेरो मनमा के आयो भने अब नेपाल सङ्लिन्छ । त्यसको ३/४ महिनापछि म नेपाल आएँ, मलाई अफर आयो । मलाई के लाग्यो भने राजाँले आँट गरेको हुनाले मैले पनि आँट गरौं न त । राजा त अभिभावक हो मुलुकको ।
कस्तो अनुभव भयो त ज्ञानेन्द्रको क्याबिनेटमा काम गर्दा ?
- अरु कांग्रेस नेताहरुले यसरी राजासँग काम गर्ने अनुभव पाएनन् । म गिरिजाबाबुको क्याबिनेटमा पनि थिएँ, राजाको क्याबिनेटमा पनि बसें । तर, राजामा जति मैले गम्भीरता कुनै नेताहरुमा देखिँन ।
तर, ज्ञानेन्द्रले पनि त आखिर केही गर्न सकेनन् नि ?
- म यो दाबाका साथ भन्छु, राजाले त तीन वर्षमात्रै चलाउन पाऔं, तीन वर्षमा मुलुकलाई एउटा गतिमा पुर्‍याउँछु भनेका थिए । तीन वर्षमात्रै नेताहरुले धैर्य गरेर बसिदिएको भए राजाले मुलुकलाई एउटा गन्तव्यमा पुर्याउँथे । मुलुकप्रति राजाको जति प्रतिवद्धता मैले कुनै नेतामा देखिँन । यहाँ नेताहरुले भ्रम गरिदिएका छन् । तर, यहाँ राजालाई राजनीतिमा अलिकति पनि रुची छैन । ज्ञानेन्द्र सरकारको रुची ‘नेचुरल कन्जरभेसन’ मा छ । अन्नपूर्ण कन्जरभेसनमा राजाको लगानीलाई अन्तरराष्ट्रिय जगतले कदर गरेको छ । नेपालीले त्यहाँ कसले लगानी गरेको छ भनेर हत्पती बुझेनन् । डोरहरुले भन्दछन् कि योर किंग इज वण्डरफूल !
भनेपछि ज्ञानेन्द्रलाई नेताहरुले चिनेनन् हैन ?
- पढेलेखेका राजालाई यिनीहरुले दरिद्र ढंगले नेताहरुले प्रस्तुत गरे । यसबाट नेताहरुको आफ्नो सांस्कृतिक स्तर देखिएको छ । उनीहरुले सत्ता छाड भने, सत्ता छाडिदिए । दरबार छाड भने, राजाले दरबार छाडिदिए । उनीहरुले त यहाँसम्म भने कि मुलुक छाडेर विदेश जानोस् । तर, राजा पनि सामान्य नेपाली भएको हुनाले त्यहाँसम्म राजा गएनन् । यिनीहरुले मौका पाएको भए राजालाई बाहिर पनि धपाउँथे । म राजाको पक्षधर भएको जस्तो लाग्दो हो, तर मलाई भित्रैबाट के लाग्छ भने मुलुकप्रति राजाको जति प्रतिवद्धता छ, त्यो कुनै दल, कुनै नेतामा मैले देखिँन । आज हैन, २० वर्षपछि इतिहासकारले पनि यही लेख्ने छ ।
अझै देशमा राजतन्त्र फर्किन्छ जस्तो लाग्छ तपाईलाई ?
- गिरिजाबाबुले भनेपछि राजाले मरिसकेको प्रतिनिधिसभालाई ब्युँझाउनुभयो । त्यही ब्युँझाएको प्रतिनिधिसभाले राजालाई हटायो । राजाले नब्युँझाएको भए राजतन्त्र सायद हट्दैनथ्यो होला । बितिसकेको प्रतिनिधिसभा ब्युँझाउन मिल्ने भए वीपी कोइरालाका पालाको ब्युँझाउनोस् न तपाई । यो कुन प्रजातान्त्रिक तरिका हो ? त्यसैले यहाँ त जे गरे पनि हुन्छ । सक्रिय प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन कुन संविधानले मिल्छ ? कसले दियो यस्तो अधिकार ? यस्तै हो भने प्रधामन्त्रीको कुर्सीमा प्रधानसेनापतिलाई बसाइदिनोस् । यसलाई म प्रजातान्त्रिक व्यवस्था भन्दै भन्दिँन । यो त एकतन्त्रीय भन्दा पनि गुज्रेको व्यवस्था हो । यो त भद्रगोल व्यवस्था हो । यो भद्रगोलबाट मुलुकलाई बाहिर निकाल्ने उपाय त मैले एउटैमात्र देखेको छु ।
त्यो विकल्प भनेको के हो ?
- संयुक्त राष्ट्रसंघको महत्वपूर्ण दस्ताबेज के हो जसमा १ सय ९० मुलुकले हस्ताक्षर गरेका छन् ? त्यो के भने तपाईले कुनै पनि मुलुकको आन्तरिक मामिलामा तपाईले हस्तक्षेप गर्न पाउनुहुन्न । यहाँ के भइरहेको छ ? यहाँका नेताहरु या दूतावासमा जान्छन्, या दिल्ली गएर आउँछन् । यहाँजति विदेशी हस्तक्षेप अन्य काँही पनि भएको छैन । यसमा किन आवाज उठ्दैन । त्यसैले सबैभन्दा पहिले परराष्ट्र मन्त्रालयले तत्काल स्क्यान्डेभियन मुलुकलाई, हिन्दूस्तानलाई, अमेरिकालाई पत्र लेखेर बन्देज लगाउनुपर्छ । नेताहरुबाट यो सम्भव छैन । यिनीहरुको खल्ती तिनै विदेशीले भरिरहेका छन् ।
अब देशमा के गर्नुपर्ला त ?
- विदेशीका मुद्दा बोकेर हिँड्ने हो भने प्रधानमन्त्री पनि विदेशीलाई नै चलाउन दिए हुन्छ । किन दिल्ली धाइराख्नुपर्यो ? कहिले शेरबहादुर, प्रचण्डजी, कहिले सुशील कोइराला पुग्नुहुन्छ ।
उनीहरुको ‘कन्स्टिचुयन्सी’ (चुनाव क्षेत्र) त हिन्दुस्तान रहेछ । उनीहरुलाई लागेको होला नेपालीहरु गरिब छन्, यिनीहरुलाई फसाउन सकिन्छ । तर, उहाँहरुले जस्तो ठानिरहनुभएको छ, नेपालीहरु त्यस्ता छैनन् । संसारका १ सय ९० राष्ट्रहरु कुनै न कुनै समयमा उपनिवेश र दास भएका बेलामा पनि नेपालीहरु कसैका दास भएनन् । हिन्दुस्तान दुई सय वर्षसम्म बेलायतको गुलाम थियो । चाइना दुईसय वर्षसम्म गुलाम थियो । मलाई देखाइदिनोस्, कुन मुलुक गुलाम थिएन ? नेपालमात्रै त्यस्तो मुलुक हो, जो कहिल्यै पनि गुलाम भएन । यस्तो स्वतन्त्र मुलुकका मानिस आज पो नेताहरुले गर्दा सहेर बसिरहेका छन् । नत्र, कहाँ सहन्छन् ? सहँदैनन् । स्वतन्त्रता त हामी नेपालीहरुको ‘जीन’मा छ ।
उसोभए अब राजा फर्किन्छन् कि गणतन्त्रभित्रैबाट मुलुकले निकास पाउँछ ?
- हेर्नोस् यो मुलुकमा अब राजा आए आए, कसैले रोक्न सक्दैन । हिन्दुस्तानले नचाहेर होइन कि हिन्दुस्तानको बाध्यता भएका छन् राजा अहिले । चीन एकातिर नभइदिएको भए हिन्दुस्तानले के के गर्थ्यो गर्थ्यो ।
हामीले कमल थापालाई राजतन्त्र कसरी फर्काउनुहुन्छ भनेर सोधेका थियौं, थापाको जवाफ पहिलो तरिका राजनीतिक सहमति, दोस्रो संसदबाट र तेस्रो तरिका जनविद्रोहबाट फर्काउने भन्ने थियो । तपाईको विचारमा चाहिँ नेपालमा कसरी राजतन्त्र फर्किन सम्भव होला ?
- दल र विदेशीले राजालाई खेदेका हुन् । प्रजातान्त्रिक तरिका अपनाउने हो भने जनमत संग्रह गरौं । तर, यसो नगर्ने हो भने जुन शक्तिले राजतन्त्र हटायो, त्यसैले लिएर आउँछ । हिन्दुस्तानले नै यहाँ राजतन्त्र फर्काउँछ । चीनले ठाडै भनिसकेको छ कि नेपालमा मेरो पनि चासो छ । चीन सुपरपावरको लिक गइसकेको छ ।

 "राजा नै सर्वोपरि हो भन्दै राष्ट्रिय गान गाएर हुर्कियौं-’अहिले आएर एक्कासी राजतन्त्र छैन, राजा मान्दैनौ भन्ने कन्सेप्टमा जानै चाहान्नौं " : माल्भिका सुब्बा

१७ साउन, काठमाडौं । नेपाल गणतन्त्रात्मक मुलुक भएको पाँच वर्ष भैसकेको छ । तर, कतिपयको मनबाट भने राजा र राजतन्त्र अझै बाहिरिन सकेको छैन । पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यस्तै कोटीमा पर्छिन् । माल्भिकाले आफू राजावादी भएको बताउँदै आफूलाई ‘राजाको गुणगान गाएर हुर्किएकी’ बताएकी छिन् ।
अनलाइखबरसँगको बिशेष कुराकानीमा माल्भिकाले सानैबाट राजाको गुणगान गाएर हुर्केको मानिसले एक्कासी गणतन्त्र आयो भन्दैमा त्यसलाई स्वीकार गर्न नसक्ने बताएकी हुन् । ’निश्चितरुपमा म राजवादी मान्छे हुँ, हामी हुर्किएकै राजाको गुणगान गाएर हो, राजा नै सर्वोपरि हो भन्दै राष्ट्रिय गान गाएर हुर्कियौं- माल्भिका भन्छिन-’अहिले आएर एक्कासी राजतन्त्र छैन, राजा मान्दैनौ भन्ने कन्सेप्टमा जानै चाहान्नौं ।’
malvika1
उनलाई नेपालमा पुनः राजतन्त्र र्फकन्छ भन्ने कुरामा भने विश्वास छैन । तर, उनी राजा आउने या नआउनेभन्दा पनि जनताले आधारभूत आवश्यकता पुरा गर्न पाउनुपर्ने बताउँछिन् । राजतन्त्रको समाप्तिपछि आएको माओवादीबाट धेरैले राम्रो भन्दा पनि नराम्रो कुरा सिकेको उनको तर्क छ । सबैलाई अगाडि बढ्न सक्छु, प्रधानमन्त्री हुन सक्छु भन्ने लाग्यो, कुर्सीको तँछाडमछाड चलिरहेको छ, आफ्नो इगोका लागि लडिरहनुभएको छ, तर त्यो नै देशका लागि हानिकार भयो, माल्भिकाले भनिन् ।
आफूले माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईबाट धेरै आशा गरे पनि सबै निराशामा बदलिएको उनको तर्क छ । उहाँहरुलाई काम नै गर्न दिइएन, यसैले पदबाट राजीनामा दिनुभयो । नेपालमा ५ वर्षसम्म स्थायित्व पाउने र काम गर्न सक्ने सरकार चाहिएको छ, माल्भिकाले भनिन् । बेला बेलामा पूर्व नेपाल सुन्दरीले फेसबुकमा देशको राजनीतिक अवस्थाको बिषयमा पनि आक्रोश व्यक्त गर्दै आएकी छन् ।
‘नेपालमा दैनिकी चलाउन नै गाह्रो हुने अवस्था आइसकेको छ’, माल्भिकाले भनिन्,-अब त झन बढी बिजुली जान थाल्छ, काम गर्न गाह्रो हुन्छ, अब तपाई नै भन्नुहोस् कस्तो छ देशको अवस्था ?
‘मेरो विचारमा देशको समस्या समाधानका लागि ५ वर्ष एउटै व्यक्तिलाई देश चलाउन दिनुपर्छ, जसले राष्ट्रलाई कानुनको दायरामा राखोस्’, माल्भिकाले भनिन् । उनलाई जनमत संग्रह भएको खण्डमा राजा आउने कुरामा खासै चासो छैन । चुनाव भएपछि जनताले फेरि कुन पार्टीलाई चुन्ने भन्ने कुराको फैसला गर्ने भन्दै माल्भिकाले आफू पनि त्यही दिनको प्रतिक्षामा रहेको बताइन् ।
मेरो पनि राजनीति गर्ने योजना थियो
पूर्व मिस नेपाल माल्भिकाले आफ्नो पनि राजनीति गर्ने योजना रहेको खुलासा गरेकी छन् । एउटा महिला समुह खोलेर राजनीति गर्ने र चुनाव लड्ने योजना आफ्नो पनि भएको भन्दै उनले पछि आफू यो क्षेत्रमा आउन नसक्ने सोचेर पछि हटेको उनको तर्क छ । ‘न त मैले राजनीतिशास्त्र नै पढेको छु, न मलाई अन्तरराष्ट्रिय कानुनको बारेमा नै केही थाहा छ, यसैले मैले राजनीतिक यात्रा सुरु गर्नु गलत हो भन्ने लाग्यो र छोडें’ माल्भिकाले भनिन्, मैले युवाहरुका समस्यालाई अगाडि ल्याउन सक्छु, देशको भूमण्डलको बिषयलाई उठाउन सक्छु, तर यसका लागि राजनीति नै गर्नु पर्दैन ।’
नेपालका नेताहरुले देशको र विश्वको कानुनको बिषयमा केही पनि नबुझेकाले यस्तो अवस्था आएको उनको तर्क छ । अशिक्षित नेताहरुले गर्दा देश बिगि्रएको आरोप माल्भिकाले लगाइन् । भारत र अमेरिकामा नै हेर्ने हो भने केन्द्रमा आउनुअघि प्रान्तको चुनाव जित्नुपर्छ तर, नेपालमा जो पनि नेता बन्ने, नपढेकाले पनि पद चलाउने गर्दा देश बिगि्रयो, माल्भिकाले विश्लेषण गर्दै भनिन् । ‘देशकै नीति थाहा नहुनेले कसरी जनताको पीर र मर्का बुझ्छ ?’ माल्भिकाले नेताहरुलाई प्रश्न गरिन् ।


  • बाबुराम जस्ता 'विदेशी गुप्तचर' होइनन् ज्ञानेन्द्र,

      बाबुराम र पुष्पकमल जस्ता चटकेहरुले गरे जस्तो मौसम अनुसार एक दिनमा १० वटा रुप बदल्न हामी जान्दैनौं ।


    - ​भरत दाहाल 
     
    बाबुराम र पुष्पकमल ती व्यक्ति हुन, जसले ‘१२ बुँदे समझदारीमा’ राजतन्त्रको अन्त्यका लागि होइन कि निरंकुश राजतन्त्रको अन्त्यका लागि हस्ताक्षर गरेका थिए । ०६३ साल वैशाख १० गते भारतीय नेता करणसिंह, ज्ञानेन्द्र शाह र गिरिजाप्रसाद कोइरालाका बिचमा संवैधानिक राजतन्त्र राख्ने सर्तमा संसदको पुर्नस्थापना गर्ने भनि भएको अघोषित सहमतिलाई स्वीकार गरेर तात्कालिन माओवादी पुरानो संसदमा सामेल भएको थियो । 
     
    संसदको पुनस्र्थापनापछि ज्ञानेन्द्र शाह कमजोर भएको निष्कर्षको आधारमा दिल्लीले उनलाई ‘सेरेमोनियल किङ’, ‘कल्चरल किङ’ वा ‘बेबी किङ’मध्ये एउटामा सिमित राख्ने नीति बनाए बमोजिम बाबुराम र पुष्पकमलले राजावादीहरुको घरघर चहारेर यसमा ज्ञानेन्द्रलाई मनाई दिनका लागि अनुनय विनय गरेका थिए । दोश्रो शान्ति वार्ताका बेला अन्य दलहरुलाई समाप्त पारेर ज्ञानेन्द्र र आफुहरुले सत्ता चलाउनु पर्छ भनि बाबुरामले राखेको प्रस्तावलाई तात्कालिन सरकारी वार्ता टोलीका नेता कमल थापाले सार्वजनिक गरिसकेका छन् । 
     
    बाबुराम र पुष्पकमल ती व्यक्ति हुन्, जसले दरबार हत्याकाण्डपछि आफ्नो पार्टीसंग दरबारको अघोषित कार्यगत एकता रहेको भन्ने कुरा सार्वजनिक गरेका थिए र ज्ञानेन्द्रलाई वीरेन्द्रको हत्यारा भएको आरोप लगाउँदै आफ्नो सरकार बनेको खण्डमा उनलाई हत्याको अभियोगमा दण्ड दिने घोषणा पनि गरेका थिए तर दुबै जनाले आफ्नो प्रधानमन्त्रीत्वकालमा रायमाझी आयोगद्वारा माओवादी कार्यकर्ता र सर्वसाधारण जनताका हत्यारा भनि किटान गरिएका ज्ञानेन्द्रका सहयोगी सेना, प्रहरी र कर्मचारीहरुलाई छानिछानि बढुवा गरेका थिए । 
     
    अहिले दार्चुलामा राहत वितरणको प्रसंगलाई लिएर बाबुरामले भनेछन्, ‘म प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाई जेल हालिदिन्थे ।’ पुष्पकमलले भनेछन्, ‘ज्ञानेन्द्रले अध्यारो कोठामा चलखेल गर्न खोजीरहेका छन् ।’  
     
    नेपालीहरुले के कुरा विर्सिएका छैनन् भने बाबुरामको प्रधानमन्त्रीत्वकालमा ज्ञानेन्द्र शाहले ‘श्री ५ महाराजधिराज’का रुपमा पूर्वदेखि पश्चिमसम्म धार्मिक यात्रा गरेका थिए । हिन्दु सम्राटका रुपमा मन्दिरहरुको शिलान्यास गरेका थिए । त्यसबेला बाबुरामले ज्ञानेन्द्र शाहलाई जेल हाल्ने सपना पनि देखेनन् । किनकि यस्तो काम उनको मालिकको इच्छामा मात्र निर्भर थियो ।
     
    बाबुराम र पुष्पकमललाई लागेको होला कि देश, उत्पीडित वर्ग र आम जनताप्रति गरेका विश्वासघातहरुबाट कालो भएको आफ्नो अनुहारलाई ज्ञानेन्द्रको विरोधको स्वाङ रचेर टल्काउन सकिन्छ । उनीहरुलाई लागेको होला कि गणतन्त्रको चटके भजन गाएपछि आफ्नो दलालको छवि रातारात राजनेतामा परिणत गर्न सकिन्छ । नेपाल र नेपाली जनताका विरुद्धका षडयन्त्रहरुलाई पर्दाभित्र लुकाएर अघि बढ्नका लागि मानिसहरुको ध्यान अन्यत्र मोड्न दिल्लीले प्रयोग गर्र्दै आएको यो बासी सूत्र अब बेकम्मा भइसकेको छ । 
     
    ज्ञानेन्द्र शाह यतिबेला राजा छैनन् । उनी राजाका रुपमा पुनस्र्थापित हुन सक्छन् वा सक्दैनन् भन्ने कुरा साम्राज्यवाद–विस्तारवाद र तीनका दलालहरुले नेपालमाथि लादेको संकटको चक्रब्यूहका बिरुद्धमा उनी सक्रियतापूर्वक मैदानमा आउँछन वा आउँदैनन् भन्ने कुरामा निर्भर रहने छ तर यतिबेला ज्ञानेन्द्र शाह, बाबुराम र पुष्पकमलका बीचको भिन्नतालाई भने बुझिराख्न आवश्यक छ ।
     
    बाबुराम र पुष्पकमलले झैं ज्ञानेन्द्र शाहले दिल्लीको पक्षमा सबै काम गरिदिन्छु भनि बिन्ती पत्र हालेका छैनन् । बाबुरामले भारतसंगको गरेको विप्पा र बिमानस्थल संझौताको मस्यौदा पठाउँदा ज्ञानेन्द्रले त्यसलाई अस्वीकार गरेका थिए । बाबुराम–पुष्पकमलले झैं उनले भारतको आश्रय, पैसा र सल्लाह लिएर नेपालमाथि युद्ध लादेका छैनन् । ज्ञानेन्द्र शाह सामन्ती राजशाही संस्कार भएका व्यक्ति अवश्य हुन् तर भट्टराई–दाहाल जस्ता विदेशी गुप्तचर होइनन् ।
     
    ज्ञानेन्द्रले आफ्नै घरको अँध्यारो कोठामा बसेर षडयन्त्र गरिरहेका होलान्, तर भट्टराई–दाहालले जस्तो लुकिलुकि भारतीय दुतावासभित्र पसेर राजदुतको अँध्यारो कोठाबाट षडयन्त्र गरेका छैनन् । उनीहरुले जस्तो विदेशीहरुलाई नागरीकता दिएर शासक बन्ने कुआकांक्षा देखाएका थिएनन् । बाबुराम र पुष्पकमलले लोकतान्त्रिक गणतन्त्रको मुकुन्डो भिरेर विदेशीहरुको योजनामा नेपाललाई जुन अवस्थामा पु¥याएका छन, यस्तो अपराध नेपालका कुनैपनि राजाहरुले गरेका छैनन् । 
     
    यसर्थ कसैले पनि यो भन्न हिच्कीचाउनु पर्दैन कि देशभक्तिपूर्ण भूमिका सहितको राजतन्त्र र देशद्रोही गणतन्त्रमध्ये एउटाको पक्ष लिनुपर्ने अवस्था आयो भने हामी साम्राज्यवाद–विस्तारवाद विरोधी राजतन्त्रको पक्षमा उभिने छौं ।
     
    अमेरिकी साम्राज्यवादको टट्टुका रुपमा रहेको लोननोलको सत्ताका विरुद्धमा संघर्षको अगुवाई गर्ने नरोद्दम सिंहानुकलाई कम्पुचियालीहरुले राजाका रुपमा पुनस्र्थापित गरेको इतिहास हामीले पढेका छौं । रुसी जारको साम्राज्यवादी नीतिका विरुद्धमा उभिएको फिनल्याण्डको राजतन्त्रलाई लेनिनले समर्थन गरेको इतिहासमा पनि हाम्रा आँखा परेका छन् । 
     
    विरोध र समर्थनको प्रश्न कुनैपनि शासन प्रणालीको देखावटी रुप कस्तो छ भन्ने कुरामा आधारित नभएर त्यसको सारतत्व कस्तो छ भन्ने कुरामा निर्भर गर्दछ । विरोध र समर्थनको एउटा आधार हुन्छ । हाम्रो देशको अहिलेको सन्दर्भमा जुन–जुन व्यक्ति वा शक्तिहरु नेपालमाथिको विदेशी अत्याचारको विरुद्धमा खुलेर उभिन्छन, हामी ती सबैको समर्थन गर्दछौं । 
     
    हाम्रो समर्थन र बिरोधको आधार देशभक्ति र देशद्रोह हो । भारतीय विस्तारवादको उपनिवेशवादका विरुद्धमा उभिए भने हामी भुटानका राजा जिग्मेलाई पनि समर्थन गर्दछौं । बाबुराम र पुष्पकमल जस्ता चटकेहरुले गरे जस्तो मौसम अनुसार एक दिनमा १० वटा रुप बदल्न हामी जान्दैनौं । - ओएनएस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक