20130808

‘मैले हरेक व्यक्तिलाई कसरी रिझाउन सकें, राजालाई कसरी रिझाउन सकें, त्यसपछि गिरिजालाई कसरी रिझाउन सकें, प्रचण्डलाई कसरी रिझाउन सकें भन्नुहुन्छ भने अब नेगेटिभ पार्टमा भन्नुहुन्छ भने यसलाई चाकरी होला, तर पोजेटिभ पार्टमा भन्नुहुन्छ भने मेरो योग्यता पनि त होला नि ।’ : लोकमान सिंह कार्की

lokmansingh-karki
विद्युत ट्रान्सफरमर खरिद प्रकरणबारे त तपाईले छानविन गर्नुभयो, तर पूर्व माओवादी लडाकूहरुको शिविरमा भएको भनिएको र देशकै ठूलो ठानिएको आर्थिक हिनामिनाबारे चाहिँ कहिले छानविन गर्नुहुन्छ ?
म आउनुभन्दा अगाडि नै यसको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेको छ, यसको अनुसन्धानको कार्य शुभारम्भ भैसकेको छ । मैले हामी आउनुभन्दा अगाडि जो व्यक्ति अनुसन्धान अधिकारी तोकिएको थियो, वहाँसँग सोध्दाखेरि अनुसन्धानको हामी करिब करिब अन्तिम चरणमा छौं भन्ने जानकारी पाएको छु । त्यसले गर्दा छिटै नै यसको
अनुसन्धान प्रक्रिया कुन स्टेजमा पुगेको छ भन्ने कुारको म जानकारी गराउन सक्छु ।
पक्का छानविनचाँहि हुन्छ ?
यतिचाहिँ म तपाईलाई विश्वस्त गराउन चाहन्छु कि यसको अनुसन्धानमा कुनै पनि प्रकारको कसर बाँकी राखिने छैन ।
 तर त्यो अनुसन्धान गर्ने क्रममा त माओवादी अध्यक्ष प्रचण्ड पनि तानिएलान् ?
 म तपाईलाई विश्वास दिलाउँछु, अनुसन्धानको क्रममा देखिएको व्यक्ति चाहे त्यो सानो होस् चाहे ठूलो होस, त्यो व्यक्ति आयोगको दायराभित्र पर्नेछ त्यसमा यदि सबैभन्दा उच्च्स्तरका व्यक्ति पनि सहभागी हुनुहुन्छ र त्यो कुरा प्रमाणबाट देखिन आएको खण्डमा कारवाही गर्न आयोग पछि पर्दैन ।
तर, तपाईले त्यसो त भन्नुभयो, तर प्रचण्डलाई नसोधिकन, कतिपयले के पनि भन्छन् भने अर्को एउटा शक्तिकेन्द्र पनि छ, त्यसलाई नसोधिकन हत्पति तपाई केही काम गर्नुहुँदैन भन्छन्…..
हेर्नोस् है, यो त बडा कोरा नारा हो । जस्तै मेरो नियुक्ति भन्दा अगाडि मलाई विवादित छविको व्यक्ति भनेर जुन प्रकारले एउटा कपोलकल्पित र सुनियोजितरुपमा षडयन्त्रपूर्ण ढंगले आरोप लगाउने प्रयास गरियो ।
तर, प्रमाणित नभए पनि तपाई विवादित त हो नि ?
कसरी भन्नुहुन्छ विवादित ? ल भन्नोस् त एकछिनलाई, विवादित भनेको के हो ?
सुनकाण्डमा पनि तपाईको नाम तानिएकै हो । अरु केही विषयमा पनि तपाईको नाम तानिएकै हो । अहिले तपाईको नियुक्तिमा पनि सिंगो राष्ट्र विभाजित भएकै हो । भनेपछि त्यो त विवादितै भयो नि ?
मैले तपाईजस्तो उच्चस्तरको पत्रकारबाट यस्तोखालको प्रश्नको अपेक्षा गरेको थिइँन । किनभने नि, तपाईले मलाई जुन सुनकाण्डको मुद्दा भन्नुभो, के हो सुन काण्ड ? तपाईले बुझ्नुभएको छ सुनकाण्डको मुद्दा के हो भन्ने कुरा ? सुनकाण्डको मद्दा के हो भन्ने कुरा सुन्नोस् मेरो मुखबाट । वास्तवमा सुनकाण्डको अभियोग मलाई धेरै लगाइएको हुनाले मैले आम नेपाली दाजुभाइ, दिदी बहिनीका अगाडि मैले आज यस फोरमबाट सफाइ दिने मौका पाउनुपर्छ ।
म भन्सारको महानिर्देशक थिएँ, त्योबेला झिटीगुन्टा व्यवस्था अन्तर्गत कुनै पनि एक महिनाभन्दा बढी विदेशमा बसेर उसँग कमाउने स्रोत भएका आधारमा १० किलो सुन ल्याउन पाउँथ्यो । त्योबेला लामो फर्म भर्ने प्रचलन थियो । कुनै व्यक्तिले आएर लामो फर्म भर्‍यो तर उसको टिकटमा, मेरो नामको टिकटमा अर्को व्यक्ति उडेको हुनाले इमिग्रेसन, इमिग्रेसनको छाप नलागेको हुनाले उसको सुनलाई पास गर्ने नगर्ने भन्ने कुरा विवादको विषय भयो । त्यसबेलाको प्रमुख भन्सार अधिकृतले त्यो सुनलाई डिपोजिट राखेर त्यो अवस्था त्यो व्यीक्तको सुन डिपोजिट भएको कारणले गर्दाखेरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख र त्यहाँका सम्पूर्ण कर्मचारीहरुले यो नयाँ प्रकारको केस हो र कुनै पनि ऐनले यसलाई जफत गर्न मिल्दैन भन्ने कुरा भनेपछि योचाहिँ डीजीको लेबलमा मलाई जब फाइल पेश भयो, मैले कानूनशाखादेखि लिएर महसुल शाखासम्म सम्पूर्ण मान्छेको राय सल्लाह लिएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखको रायलाई सदरमात्रै गरेको हुँ । मैले त्योबेलाको पाटन पुनरावेदन अदालतबाट पनि सफाइ पाइसकेको छु । त्यसपछि मैले सर्वोच्च अदालतबाट पनि फैसला पाइसकेको छु । त्यसपछि पुनरावलोकन नगर्ने पनि सर्वोच्च अदालतले निर्णय गरिसकेको छ । यो कपोलकल्पितरुपमा केही अखबारले फ्रेमिङ गरेको न्युज हो जसमा कुनै सत्यता छैन । यो दुर्भाग्य र पीत पत्रकारिताको चरम कुरा हो जस्तो मलाई लाग्छ ।
त्यही भएरै तपाईलाई सोधेको । तपाईले भन्नुभयो नि, कुनै पनि ठूलो व्यक्तिलाई छोडिँदैन भन्नुभयो, भर्खरै भर्खरै मैले के सुनें भने केही व्यापारीलाई अख्तियारले पत्र काट्न नै तयार भैसकेको थियो तर त्यो कामचाहिँ रोकियो । काहीँबाट दबाव आयो भनेर सुनियो । त्यो हो कि हैन ?
जहाँसम्म भ्याट छलेको प्रकरण छ, म त्यहाँको प्रमुख आयुक्त भएर आइसकेपछि सबभन्दा पहिले आन्तरिक राजस्व विभागका सम्पूर्ण पदाधिकारीहरुलाई अख्तियारमा बोलाएर सबभन्दा पहिले छलफल गर्ने व्यक्ति म नै हुँ । अहिले भ्याट छलीको प्रकरणमा भएको प्रगतिको नियमितरुपमा हामी अनुगमन गरिरहेका छौं । अहिले हालसालमात्रै हामी र आन्तरिक राजस्व विभागको समन्वयको आधारमा करिब १६ सय देखि २ हजार व्यक्तिको भ्याट छलीको प्रक्रिया थालिएको जानकारी मलाई आएको छ ।
यसमा अलि प्रगति भएको कहिले देखिन्छ त ?
१५ दिन अगाडि आन्तरिक राजस्व विभागले दिएको जानकारीका आधारमा १६ सय ५० जना नयाँ भ्याट छलिएका व्यक्तिहरुलाई प्रारम्भिक अनुसन्धानका आधारमा भ्याट छली गरेको भन्ने उनीहरुको निश्कर्षका साथ उनीहरुले कारवाही प्रक्रिया अगाडि बढाइसकेका छन् । मलाई लाग्छ, यो नियमित प्रक्रिया हो । यी १६ सय ५० नै अन्त्य होइन । यो प्रक्रियालाई अझ सशक्त र प्रभावकारी ढंगमा अगाडि बढाउने प्रद्धिवद्धता म व्यक्त गर्न चाहन्छु ।
भ्रष्टाचार भनेको कोही नेतालाई ललाइ फकाइ गर्नु, कोही नेतालाई चाकरी गर्नु पनि भ्रष्टाचार हो कि होइन ?
यदि मेरो प्रवृत्ति चाकरी नै भएको भए म देशको मुख्य सचिव भैसकेको व्यक्ति विभिन्न ७/८ वटा मन्त्रालयको सचिव भएको व्यक्ति चाकडी प्रवृत्तिमा अगाडि बढ्ने भएको भए साढे छ वर्ष म घर बस्नुपर्ने थिएन ।
तर, हेर्नोस् न । पहिला तपाई हुकुम प्रमाङ्गीबाट सेवा प्रवेश गर्नु भो । त्यसपछि गिरिजाप्रसाद कोइरालासँग नजिक हुनु भो । त्यसपछि प्रचण्डसँग नजिक हुनु भो । यसलाई के भन्ने ? चाकरी भन्ने कि नभन्ने ?
यो पनि तपाईले असाध्यै राम्रो प्रश्न उठाइदिनुभो । निश्चितरुपमा म ०४१ सालमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गीबाट उपसचिवमा नियुक्त भएको व्यक्ति हुँ । त्यसपछि मैले लोकसेवाको परीक्षा दिएर, परीक्षा पास गरेर, इन्टरभ्यु दिएर, इन्टरभ्युमा हाइएस्ट मार्क लिएर आएर मेरो सेवा परिवर्तन भएको हो । राजाको हुकुम प्रमाङ्गीबाट नियुक्ति भएको म पहिलो व्यक्ति हुँ, जसले हुकुम प्रमाङ्गीका साथसाथै लोकसेवाको पनि फेस गरेको छ । यो कुरा अहिलेसम्म पब्लिकमा आएको थिएन ।
जहाँसम्म तपाईले भन्नु भो, मैले हरेक व्यक्तिलाई कसरी रिझाउन सकें, राजालाई कसरी रिझाउन सकें, त्यसपछि गिरिजालाई कसरी रिझाउन सकें, प्रचण्डलाई कसरी रिझाउन सकें भन्नुहुन्छ भने अब नेगेटिभ पार्टमा भन्नुहुन्छ भने यसलाई चाकरी होला, तर पोजेटिभ पार्टमा भन्नुहुन्छ भने मेरो योग्यता पनि त होला नि । र, तपाईलाई म एउटा कुरा निश्चितरुपमा भन्न चाहन्छु, जोजो व्यक्तिले मलाई जुन-जुनरुपमा उपयोग गरे, मैले कसैलाई जीवनमा ‘लेक डाउन’ गरेको छैन । कामबाट, चाकरीबाट हैन ।
अब प्रचण्डलाई ‘लेट डाउन’ हुने सम्भावना रहन्छ कि रहँदैन यति लडाकू हिनामिनाको छानविन भयो भने ?
वास्तवमा मैले प्रचण्डजीसँग व्यक्तिगतरुपमा काम गर्ने मौका कहिल्यै पनि पाइँन । जुनबेलामा प्रचण्डजी प्रधानमन्त्री हुनुभो, त्यो बेलामा करिब डेढ वर्ष म भारतमा थिएँ । एउटा आध्यात्मिक गुरु पाइलट बाबा हुनुहुन्छ, वहाँको आश्रममा डेढ वर्षसम्म म र मेरो श्रीमती आध्यात्मिक बाटोको खोजीमा र आफूलाई चिन्ने खोजीमा डेढ वर्षसम्म हामी इण्डियामा थियौं । वहाँहरुले नै हो नेपालमा सबैभन्दा पहिले मेरो घरमा चारैतिरबाट लेखेर लोकमानलाई फाँसी दे, लोकमान देशद्रोही हो देखि दुनियाँभरिको कुरा लेखिने मान्छे पनि मै हुँ । तर, जब उहाँले मलाई भेट्नु भो, त्योबेला प्रचण्डजी र बाबुारमजी नयाँ बजारमा सँगै बस्नुहुन्थ्यो, करिब साढे ३ घण्टाको मेरो भेटघाटमा मेरो कुराकानीबाट उहाँ प्रभावित हुनुभो होला । किनभने म स्पष्टरुपमा बोल्छु । मेरो मनमा पाप छैन । म हिपोक्र्याटिक नेचरको मान्छे होइन ।
तपाईले मेरो मनमा पाप छैन भन्नुभयो, आध्यात्मिक मान्छे, ईश्वरका नाममा कसम खान सक्नुहुन्छ मैले जिन्दगीमा भ्रष्टाचार गरेको छैन भनेर ?
ईश्वरको नाममा म कसम खान सक्छु कि मैले कुनै व्यक्तिलाई दुख दिएको छैन । कुनै व्यक्तिको मैले आँशु चुहाउने काम गरेको छैन । कुनै व्यक्तिलाई मैले आफ्नो स्वार्थका लागि अपराधको काम गरेको छैन । यो तपाईसँग म ईश्वरका नाममा सफथ खान सक्छु ।
सरकारको स्रोत हिनामिना गरेको छैन भन्न सक्नुहुन्छ ?
म भन्न सक्छु । हेर्नोस् म हात उठाएर ईश्रका नाममा भन्न सक्छु कि मैले सरकारको कुनै पनि स्रोत मेरो निजी स्वार्थका लागि कहिल्यै हिनामिना गरेको छैन ।
हेर्नोस् है, म विगत दुई वर्षदेखि ओशो सन्यासी हुँ, उहाँले देखाएको बाटोमा म हिँडिरहेको छु । र, यो सबै आध्यात्मिक बाटोले पनि मेरो यो जीवनको कोर्सलाई नयाँ बदलाव दिएको छ । आजमात्रै मैले गीताको १८ अध्यायको ओशोको प्रवचन सकें । भगवान कृष्णले गीतामा जुन उपदेश अर्जुनलाई दिनुभएकाृे छ, अल्टिमेट्ली जे हुन्छ, ईश्वरको इच्छाले हुन्छ, व्यक्तिगत अहंकार र म भन्ने भावलाई हटाएर यदि जे भइरहेको छ, ईश्वरको इच्छाले राम्रो भइरहेको छ भनेर ईश्वरमा समर्पित भावले अघि बढ्न सक्यो भने त्यो व्यक्तिले आफ्नो व्यक्तिगत महत्कांक्षाको कहिल्यै पनि चासो राख्दैन । र, म त्यही मार्गमा छु, म तपाईलाई विश्वास दिलाउँछु, यो सबै आध्यात्मिक बाटो, जसले म आन्तरिक खोजको बाटोमा हिँडिरहेको छु, त्यसले मलाई थप उर्जा दिएको छ, त्यसकारण तपाईले भनेको कुरालाई म अत्यन्तै गम्भीरता र इमान्दारिताका साथ भन्न सक्छु ।
मैले भ्रष्टाचार गरेको छैन…।
 छैन ।
यत्रो तपाईले गर्नुभएको भए किन तपाईको छवि आलोचित भएको ?
यहाँ कस्तो व्यक्तिका बारेमा टीकाटिप्पणी हुँदैन भने जो व्यक्तिले निर्णय गर्दैन । अहिले सुशासनको प्रत्याभूति भगवानले गर्ने हो र ? त्यो त कुनै न कुनै राजनीतिक व्यीक्तले गर्छ । तपाई अमेरिका हेर्नोस्, अमेरिकाको राष्ट्रपतिले एएटा न्यायधीश नियुक्त गर्छ । हामीले संविधान दिन सकेको छैन, रुल अफ ल छैन हेर्नोस् । राजनीतिकरण ब्यूरोक्रेसीमा यति हदसम्म बढेको छ, प्रत्येक व्यक्तिले राजनीतिक संगठनको छातामुनि बसेन भने ऊ सर्भाइभ गर्न नसक्ने अवस्थामा पुग्छ ।
र, ऊ अख्तियारको प्रमुख पनि हुन सक्दैन , राजनीतिक छातामुनि नभइदिएको भए त तपाई अख्तियार प्रमुख नै हुनुहुन्थेन नि ?
सुन्नोस् न एउटा कुरा, संसारको कुन ठाउँमा कुनै पनि संवैधानिक निकायको नियुक्ति कसले गर्छ ? भगवानले गर्ने हो र ? त्यो त कुनै न कुनै राजनीतिक व्यक्तिले गर्छ । अमेरिकाको राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्छ, संवैधानिक पदहरुमा नियुक्त गर्छ । तर त्यो संवैधानिक पोजिसनमा उसको दायित्व र बफादारिता देशप्रति हुन्छ । यो संवैधानिक पद भएको हुनाले मेरो नियुक्तिपछिको जिम्मेवारी चाहिँ राजनीतिक दलप्रति नभएर देशप्रति हुन्छ ।
अब अख्तियारले के-के गर्छ ?
हाम्रो मान्यता के छ भने नेपाल सरकार सम्वद्ध निकायहरु जसले जनताको सेवाका लागि जिम्मेवारी लिएका छन्, त्यही निकायले ती कामहरु गर्नुपर्छ । जस्तो सेवा दिने निकायहरु जुनसुकै निकाय होस्, चाहे त्यो जिल्ला प्रशासन कार्यालय होस्, चाहे त्यो भूमि प्रशासन कार्यालय होस्, चाहे त्यो यातायता कार्यालय होस्, स्थानीय विकास वा जुनसुकै निकाय होस्, त्यो निकायले नै त्यो काम गर्नुपर्दछ । त्यसको जिम्मेवारी त्यही निकायलाई बनाउनुपर्छ भन्ने उद्देश्यले मेरो नियुक्ति भएपछि हामीले १५ दिनसम्म खालि अन्तरक्रिया मात्रै गर्‍यौं । तपाईहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएन भने अख्तियारले तपाईहरुमाथि निगरानी गर्छ भन्ने ‘स्ट्रोङ्ग म्यासेज’ दियौं ।
त्यसपछिको अर्को हाम्रो प्राथमिकता के थियो भन्दाखेरि यहाँ व्यक्तिले तजविजी अधिकारको प्रयोग गरेर नीतिग व्यवस्थाहरुको अत्यन्तै कमी छ । नीति छैन भने निर्देशिका बनाइदिएर त्यो अनुसार काम गर्नुभयो भने अख्तियारले त्यसमा सहयोग पुर्याउँछ । अर्को फोकस के भयो भने हरेक मन्त्रालयका फोकल पर्सनलाई बोलाएर हरेक १५ दिनमा हामी अख्तियारमा छलफल गर्छौ ।
यो नीतिगत कुरा गर्नुभयो, तर कार्यगत रुपमै तपाईले भर्खरै गरेको काम चाहिँ ट्रान्सर्फमरको हो । जुन, गुणस्तरहीन रुपले ट्रान्सर्फमरहरु ल्याइएको रहेछ केही व्यक्तिहरु थुनामा पनि छन् । त्यस्तै किसिमका अन्य कुराहरु के गर्दै हुनुहुन्छ ?
मैले अनुसन्धानका कतिपय कुराहरु अहिले तपाईलाई खोल्न मिल्दैन । अनुसन्धानमा गोप्यताको पनि प्रश्न आउँछन् । एउटा त हामीले नियमित रुपमा ‘डेमोष्ट्रेटिफ अफोर्ट’ देखाउनका लागि करिब २ सय ५० जना व्यक्तिहरुको सम्पत्तिको छानविन पनि गर्दैछौं । यो सम्पत्तिको स्रोत छानविन गर्दै पहिले पहिले कुनै एउटा निश्चित क्षेत्रमा फोकस गरेको थियो भने यो पटक हामी बहुलक्षेत्रमा भ्रष्टाचार हुन सक्ने क्ष्त्रेमा काम गरेका व्यक्तिहरुको छानविन गर्दैछौं ।
यसमा राजनीतिक व्यक्तिहरु पनि पर्छन् ?
राजनीतिक व्यीक्तहरु पनि निश्चितरुपमा पर्छन् । अख्तियारको परिधीभित्र पर्ने, कानूनले दिएको मापदण्डभित्र जोसुकै व्यक्ति पनि पर्न सक्छ । राजनीतिक भ्रष्टाचारलाई पनि अख्तियारले कुनै पनि रुपमा छाड्नेछैन ।
त्यो माओवादी नै किन नहोस्, अरु ठूला दल नै किन नहुन् ?
जोसुकै । तपाईले मलाई बारम्बार माओवादीलाई ‘ड्रयाक’ गर्दै हुनुहुन्छ, म तपाईलाई एएटा कुरा भन्छु कि म माओवादी पार्टीको कार्यकर्ता पनि होइन । म कुनै राजनीतिक दलको कार्यकर्ता पनि होइन । संवैधानिक पदमा मेरो नियुक्ति भैसकेपछि मेरो लागि सबैभन्दा ठूलो करा भनेको देश हो । नेपाली जनताको भविश्य, नेपाली जनताको अनुहारमा खुशी नै मेरो सबैभन्दा ठूलो उद्देश्य हो । मैले राजनीतिक भाषा बोलेको हैन हेर्नोस् । मैले मेरो मनको अन्तःस्करणको भाषा बोलेको हुँ ।
तपाईको बोली र व्यवहारमा समानता भएको पछि सर्वसाधारणले देख्न पाउँछन् छिट्टै ?
तम तपाईलाई प्रमिश गर्छु, आजको छ महिनापछि एकपटक फेरि बोलाउनोस् तपाईको स्टुडियोमा । तयो बेला तपाईले स्वयं भन्नुहुनेछ कि लोकमानजी मपाईसँग मैले अपेक्षा गरेको कसौटीमा तपाईचाहिँ धेरै कुराहरुमा पास हुनुभयो, अझ तपाईले हेर्नुपर्ने एरिया यो छ भनेर तपाईले नै भन्नुहुनेछ । म तपाईलाई यो कुरा दाबा गर्न चाहन्छु । - बीबीसी नेपाली सेवाका लागि रविन्द्र मिश्रसँग अन्तरवार्ता दिँदै प्रमुख आयुक्त कार्की/बीबीसीमा प्रसारित अन्तरवार्ता

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक