(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130910

पटकपटक गल्ती गर्ने र अर्को महागल्ती गर्नका निम्ति मात्र गल्ती स्वीकार गर्ने क्रान्तिकारी नौटङ्की नरचौँ प्रचण्ड, यसले मानव सभ्यताको चरम बेइज्जती मात्र गर्नेछ, गरिरहेको छ !


special-article
राजा छन् बेलायतमा, कम्युनिस्ट दृष्टिमा राजतन्त्र सामन्तवादको अवशेष हो, तर भनिन्छ बेलायतका राजा कहिल्यै गल्ती गर्दैनन् । अर्थात् कहिल्यै गल्ती गर्न नसक्ने संस्थाका रूपमा राजतन्त्रलाई बेलायतीहरूले स्थापित गरेका छन् । राजाले गल्ती गर्नै नमिल्ने या नपाउने राजनीतिक पद्धतिको विकास जुन ब्रिटेनमा भयो, त्यसलाई विश्वका अनेकौँ मुलुकले अनुकरण पनि गरेका छन् । तर, आफूलाई जनताको सच्चा हिमायती दाबी गर्ने कम्युनिस्ट पार्टी नामक संस्था (यदि संस्था हो भने) ले चाहिँ सधैँ गल्ती मात्र गरिरहँदो रहेछ भन्ने सन्देश नेपाली कम्युनिस्ट आन्दोलनमा हालसम्मकै सर्वशक्तिमान नेता बन्न सफल प्रचण्डले दिएका छन् । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई गद्दार र सही भन्ने क्रम–उपक्रम त कम्युनिस्ट आन्दोलनभित्र चलिआएकै हो, एकपटक निर्णय लिने र अर्कोपटक सोही निर्णयलाई ‘गल्ती थियो’ भन्ने परम्परालाई कम्युनिस्ट आन्दोलनले संस्थागत गरिसकेको छ । राजा महेन्द्रबाट २०१७ साल पुस एक गते चालिएको संसदीय प्रजातन्त्रविरुद्धको कदमलाई कम्युनिस्ट पार्टीका तात्कालिक नेतृत्वले स्वागत गरेकै हो । आधिकारिक कम्युनिस्ट पार्टीको विधिवत् निर्वाचित महामन्त्रीद्वारा वक्तव्यमार्फत शाही कदमको स्वागत गर्नुलाई सिङ्गै कम्युनिस्ट पार्टीको नभनी कुनै व्यक्तिविशेषको मान्न राजनीतिक, कानुनी र नैतिक दृष्टिले उपयुक्त हुन सक्दैन । यदि ०१७ सालमा राजाको कदमलाई स्वागत गरिएको घटनाको स्वामित्व लिन कम्युनिस्ट पार्टी अस्वीकार गर्छ भने त्यसलाई सरासर गैरजिम्मेवार तथा बेइमानीपूर्ण सोचको उपजका रूपमा बुझ्नुपर्ने हुन्छ । अनि अहिले विभिन्न रङका कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका प्रचण्ड र झलनाथ खनालहरूको निर्णय तथा सार्वजनिक अभिव्यक्तिलाई पनि पार्टीको नभई नितान्त व्यक्तिगत ‘पर्फर्मेन्स’का रूपमा लिनुपर्ने हुन्छ । कम्युनिस्ट विचार–दर्शनको उदय एउटा नकारात्मक भूधरातलमा भएको हो र यसमा सिर्जनात्मक शून्यता र ध्वंसात्मक प्रवृत्ति पूर्णतः हाबी रहन्छ भन्ने यथार्थलाई विश्व समुदायले बुझिसकेको
छ । अभिव्यक्ति र व्यवहारमा आकाश–पातालको अन्तर कायम गर्ने, सार्वजनिक हितको बयानबाजी गर्दै वैयक्तिक महत्वाकाङ्क्षा पूरा गर्ने, अन्तर्राष्ट्रवादको सिङ जडेर राष्ट्रवादको मुखौटा लगाउने, अनि राष्ट्रवादको चक्मा दिँदै राष्ट्रियता र सार्वभौमिक स्वतन्त्रतालाई जगैदेखि ध्वंस गर्ने सोच एवम् चरित्र कम्युनिस्टहरूको एकलौटी पहिचान बनेको छ । प्रचण्डको उदयपश्चात् कम्युनिस्टका नाममा जे–जस्ता उत्पात भए त्यसले साँच्चैका देशभक्त एवम् लोकतन्त्र र जनता पक्षधर मानिसलाई कम्युनिस्ट भन्न लज्जित तुल्याइदिएको छ । छविलाल या पुष्पकमल दाहालका रूपमा उनले कहाँ के–के गरे त्यसबारे यहाँ उल्लेख गरिरहन वाञ्छनीय ठानिएको छैन । तर, प्रचण्ड नाम धारण गरेर एउटा कम्युनिस्ट नेताका रूपमा उनले प्रस्तुत गरेको व्यवहारले मान्छे भनिने प्राणी विवेकशील हुन्छन् भन्ने मान्यतालाई गम्भीर चुनौती दिइरहेको र कम्युनिस्ट हुनुमा गौरव गर्नेहरूलाई मज्जैले गिज्याइरहेको पनि छ । मौसमी कुरा गर्नेमा प्रचण्ड ‘अब्बल’ ठहरिएकै छन्, बिहान, मध्याह्न, सन्ध्याकाल र मध्यरात्रिमा प्रचण्डले दिने अभिव्यक्ति पृथक हुन्छन्– हुँदै आएको छ । ऋतुपिच्छे प्रचण्डको रङ बदलिने गरेको महसुस देशवासीहरूले गर्दै आएका हुन् । सर्वहारा र गरिबका नाममा ‘राजनीति’ गरेर उच्च विलासी जीवन बिताउने कम्युनिस्ट नेताका रूपमा प्रचण्डले माओ त्से तुङसमेतलाई उछिनेको जानकारी धेरैलाई भइसकेको छ । विलासिता र मस्तीमा प्रचण्डले जुन ढङ्गले छलाङ मारेका छन्, त्यस्तो छलाङ अमेरिका र कोलम्बियाका ‘ड्रग डिलर’हरूले पनि सायदै लगाउन सकेका छन् । प्रचण्डको जीवनशैलीले शाहवंशीय राजा–महाराजहरूको खिल्ली उडाएको महसुस गरिँदै छ, बु्रनाईका सुल्तान र साउदी अरेबियाका राजाहरूको जीवन बाँच्ने काइदाबारे प्रचण्डलाई जानकारी हुने हो भने उनी सुल्तानलाई पनि माथ गर्ने जीवनशैली अपनाउनसमेत प्रत्यनशील हुनसक्छन् भन्ने विश्वास आमजनतामा छ । पछिल्लो समयमा प्रचण्डले आफूबाट विगतमा भएका कामकारबाही र निर्णयहरू गलत भएको भन्दै सार्वजनिक रूपमा पश्चात्ताप गर्ने क्रमारम्भ गरेका छन् । हालसम्म उनले आफ्ना आधा दर्जनभन्दा बढी कदम गलत भएको बताएका छन् । २०६५ सालमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति चयन नगरेर आफूले गम्भीर गल्ती गरेको बताउने प्रचण्डले त्यसबेला कोइराला नेतृत्वको सहमतीय सरकार विस्थापित गरेर आफ्नो नेतृत्वमा बहुमतीय सरकार निर्माण गर्नुलाई उनले गम्भीर भूल भनेका छन् । त्यसैगरी आफू प्रधानमन्त्री रहँदा नेपाली सेनालाई जिस्क्याउनु र रुक्मांगद कटवाललाई प्रधानसेनापति पदबाट हटाउनुलाई पनि प्रचण्डले आफ्नो गल्तीका रूपमा स्वीकार गरेका छन् । कुनै बेला छिमेकी मित्रराष्ट्र भारतसँग सुरुङ युद्धलाई आवश्यक ठान्ने प्रचण्डले सुरुङ निर्माण सम्पन्न भइनसक्दै नयाँदिल्लीमा अवतरण भएर भारतका तात्कालिक प्रधानमन्त्री अटलबिहारी बाजपेयीसमक्ष भूल स्वीकारसहित आत्मसमर्पण गरेको तथ्य पनि एसडीमुनीले विश्वव्यापी बनाइदिएका छन् । पहिले गल्ती गर्ने र पछि स्वीकार गर्ने कम्युनिस्ट परम्परामा प्रचण्डले बेजोड गति दिएर जुन क्रमारम्भ गरेका छन् यसले गल्ती स्वीकार गर्दै जाने उनको यात्रा अविचलित ढङ्गले अघि बढ्ने सङ्केत दिएको छ । प्रचण्डले प्रधानमन्त्री पद प्राप्तिका लागि विगतमा जे–जस्ता हर्कत गरे त्यो ठीक थिएन मात्र होइन गम्भीर गल्ती नै थियो । प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनलाई क्षति पु-याउने काम मात्र उनीबाट भएको होइन, देश, जनता र स्वयम् कम्युनिस्ट आन्दोलनलाई समेत गम्भीर नोक्सानी पुग्ने कार्य हुँदै छ भनेर प्रचण्डहरूलाई समयमै सचेत गराइएको हो । हुँदैन भन्दाभन्दै पानीको गहिरो दहमा हामफाल्नेहरू दलबाट बाँचेर फर्कन सफल भएछन् भने तिनले महसुस गर्ने भनेको आफ्नो भूल नै हो, जुन प्रचण्डले सुरु गरेका छन् । यो क्रम यहीँनेर अवरुद्ध नहोस् भन्ने आमनेपालीको चाहना छ । प्रधानमन्त्री पदलाई सबभन्दा ठूलो ठान्नु प्रचण्डको गल्ती थियो, सो पद प्राप्तिका लागि कथित जनयुद्धका नाममा निहत्था एवम् निर्दोष मानिसको गला रेट्ने दानवी शैली अपनाउनु झन् महागल्ती थियो । स्यालका लागि कुखुरा, भ्यागुताका निम्ति भुसुना र गिद्धका लागि सिनो जति ठूलो गन्तव्य हो, रित्ता मानिसका लागि पद त्यति नै महत्वपूर्ण हुनजान्छ । प्रचण्डले पद प्राप्तिका लागि जनयुद्धका नाममा गरेको ध्वंश र बर्बादीबराबरको अर्को कुनै गल्ती उनीबाट भएको छैन । त्यसैले ०५२ सालमा सुरु गरिएको हिंसात्मक युद्ध नै आफ्नो जीवनको र नेपाली इतिहासको सबभन्दा ठूलो गल्ती भएको यथार्थलाई प्रचण्डले स्वीकार गर्न सक्नुपर्छ । कुनै यामबहादुरलाई नेपाली सेनाको कर्णेल बनाउन या विभिन्न आकार–प्रकारका कम्युनिस्टहरूलाई पालैपालो प्रधानमन्त्री पदमा पु-याउन या देशको शान्ति, स्थिरता र विकासका आधारहरू ध्वंश गर्न या आफू सत्ताको केन्द्रबिन्दुमा पुग्नकै लागि मात्र हिंसात्मक सङ्घर्ष सुरु गरिएको थियो भने त्योभन्दा ठूलो अर्को गल्ती पनि त्यही कथित जनयुद्ध मात्र हो भन्नुपर्ने हुन्छ । यो प्रलयकारी गल्तीका निम्ति प्रायश्चित्त गर्दै प्रचण्डले जनतासँग माफी नमागेसम्म अन्य झिनामसिना गल्ती स्वीकारको कुनै मूल्य रहन्न । हालका दिनमा प्रचण्डले सुरु गरेको प्रायश्चित्तको शृङ्खला कम्तीमा ०५२ फागुनको एक गतेसम्म पुग्नुपर्छ भन्ने सभ्य समाजको चाहना हो । प्रजातान्त्रिक अभ्यासको अवसर उपलब्ध हुँदाहुँदै हिंसात्मक सङ्घर्ष गरिनुलाई अकाट्य गल्तीका रूपमा स्वीकार गर्नु भनेको एउटा डाँकुको वाल्मीकि ऋषि बन्नेतर्फको यात्रा सुरु हुनुजत्तिकै हो । होइन भने अर्को भयानक गल्ती गर्नका लागि प्रायश्चितको यो नाटक मञ्च गरिँदै छ भनेर बुझ्नुपर्ने हुन्छ । एउटै गल्ती बारम्बार दोहो-याउनु भनेको सय गल्तीबराबरको अपराध गर्नु हो, जुन कार्य प्रचण्डले गरिरहेका छैनन् भन्ने मान्न कोही तयार छैनन् । प्रचण्ड बुद्ध होइनन्, बुद्ध बन्न सक्दैनन्, बुद्ध बन्ने सामथ्र्य र क्षमता पनि उनमा छैन भन्ने आमधारणा छ । उनी बुद्ध, साधु, सन्त या योगी बनुन् भन्ने चाहना पनि कसैको नहोला । विगतमा भएको गम्भीर अपराधलाई स्वीकार गर्न सके भने यिनी सामान्य मानव जुनीमा फर्कन सक्छन्, जसको लाभ मुलुकलाई हुने निश्चित छ । सामन्त र सामन्ती प्रथाका अवशेष भनिने राजा–महाराजाहरूले त गल्ती गर्न नसक्ने/नपाउने सभ्यताको विकास भइसकेको यो आधुनिक संसारमा पटकपटक गल्ती गर्ने र अर्को महागल्ती गर्नका निम्ति मात्र गल्ती स्वीकार गर्ने क्रान्तिकारी नौटङ्की नरचौँ प्रचण्ड, यसले मानव सभ्यताको चरम बेइज्जती मात्र गर्नेछ, गरिरहेको छ
************


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक