20130909

नेपाली गीत संगीत आकाशका धुर्बतारा, बरिस्ठ गायक फत्तेमानको निधन

नेपाली गीत संगीत आकाशका धुर्बतारा, बरिस्ठ गायक फत्तेमानको आज बिहान १ बजे निधन भएको खबरले हामी स्तब्ध भएकाछौं । जिबन भर गीत, संगीतका लागि खटेर नेपाल र नेपालीलाई सयौँ अजम्बरी गीत, संगीत दिनु भएका आदरणीय दाई फत्तेमान प्रती उच्च आदरभाब, सम्मान र श्रद्धा ब्यक्त गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।

- रामप्रसाद खनाल
  अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच 
 सम्पादक - नेपालमदर डट कम 
 समस्त परिवार   
वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । उहाँको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सोको समस्याबाट ग्रसित फत्तेमानलाई क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर भएको निकैसमय पछिमात्र पहिचान भएको र क्यान्सरको तेस्रो अवस्थामा पुगेपछिमात्र उपचार गर्न सुरु भएको थियो । किमोथेरापीमा रहनुभएका उहाँलाई चिकित्सकहरुले राति मृत
घोषणा गरेका थिए । उपचारमा संलग्न चिकित्सकहरुले केही दिन अघिमात्र क्यान्सरको अवस्था थाहा भएको र दश दिनसम्मको किमोथेरापीबाट औषधि दिन सकेको भए केही समय आयु बढाउन सकिने सम्भावन रहेको बताएका थिए । वि.सं १९९३ मंसिर १३ मा जन्मनुभएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न …, यस्तो पनि हुँदो रहेछ …., सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…’ जस्ता Åदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् । राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

फत्तेमान राज भण्डारी दाइका केही गीतहरु तल सुन्नुस् हेर्नुस



अब रहेनन् फत्तेमान, मात्र रह्यो उनको स्वर......
·         ज्ञानेन्द्र गदाल
कोलोराडो, अमेरिका |
     
अन्ततः भौतिक शरीरलाई यहि धर्तीमा नै छाडेर अनन्त यात्रामा अब कहिल्यै नफर्किने गरि गएछन सुमधुर गलाका धनी नेपाली मात्रका अत्यन्तै लोकप्रिय गायक फत्तेमान राजभण्डारी | आफ्ना असंख्य श्रोताहरुको मनै धमिलो बनाएर, नेपाली संगीत क्षेत्रको फराकिलो मैदान नै शुन्य पारेर |  
७८ बर्षको आयु लिएर आएका रहेछन उनि यो धर्तीमा यौटा गायकको भूमिका निर्वाह गर्न | सम्झौं, आफ्नो कार्यकाल सफल तरिकाले पूरा गरे यहाँबाट बिदा भए | करिव दशक लामो समय सम्म निरन्तर  नेपाली गीत-संगीतको सेवामा समर्पित रहेर असंख्य मीठा-मीठा कर्णप्रिय गीतहरु गाइदिए हाम्रा लागि, भविष्यका हाम्रा संगीत पारखी अरु नयाँ पुस्ताका लागि | नेपाली संगीतको फूलबारीमा अनेकौं सुन्दर फूलहरु रोपे, गोडे फुलाए | बगैंचा नै झिलिमिली पारे | त्यसैले, फत्तेमान राजभण्डारी राष्ट्रका एक अमूल्य सम्पत्ति हुन् |
जिन्दगीको यति बुढ्यौली उमेरमा पनि अत्यन्तै सशक्त किसिमले मीठो भाकामा गीत गाउन सक्ने खुवी भएका क्रियाशील गायक सम्भवतः आजसम्म फत्तेमान राजभण्डारी नै एकमात्र हुन् भन्ने यथार्थ चर्चा पाए उनले सर्बत्र | एकल कार्यक्रम मा होस् या सामुहिक प्रश्तुतीमा होस् थकानको कुनै आभाष सम्म नदेखाई हांसी-हांसी, ठट्टा गरि-गरि गाइरहे, युवा बृद्ध सबै खाले श्रोताहरुको वाह-वाह तालि पाइरहे | उनको यहि अद्भुत खुवी प्रतिभा प्रति लालायित भएर नै अमेरिकामा उनको एकल सांगीतिक प्रश्तुतिको बन्दोवस्त हुँदै थियो, दुर्भाग्यवस यो यात्राले पनि वहाँको जीवनसंगै बिश्राम लियो |
सधैं सबैसंग हँसिलो मिजासले बोल्ने ठट्यौला पाराका गायक कहलिन्थे उनलाई बुझ्नेहरु सबैका माझ उनि | शौभाग्य नै भन्छु , गत दुइ बर्ष अघि नेपाल गएको बेला उनीसंग प्रत्यक्ष भेट्ने अवसर पाएँ, उनका बारेमा सुनेअनुसारकै  भद्र मिजाशिलो व्यवहार पाएँ मैले पनि, गायन प्रतिभाको कुरै भएन | संगीतकार मेरा मित्र मिलन मोक्तानले  जुराइदिएको त्यसैबेलाको हाम्रो भेटघाटमा मेरो शव्द   मिलनजीकै संगीतमा यौटा गीत गाउने बचन दिए फत्तेमान दाइले | मेरो शव्द रचनाको "बाँच्नलाई बाँचेकै छु एक्लो यात्रा आँटन सकिन, तिमीबिना जिन्दगीमा मीठो हाँसो हाँस्न सकिन" भन्ने वोलको गीत आजभन्दा करिव तिन महिना अघि काठमाडौँमा सम्पन्न  उनको एकल सांगीतिक साँझमा गाएर आफ्नो उक्त बचन पुरा गरेछन् उनले |
यस अर्थमा, फत्तेमान दाइसंग मेरो सुखद दुखद दुवै खाले अनुभूतिहरु रहे | सुखद यस मानेमा कि यस्ता अनुपम प्रतिभाशाली विशिष्ठ गायकको स्वरमा मेरो शब्द रचनाको यौटा गीत रेकर्ड गराउन पाएँ, जुन वहांको पनि अन्तिम गीत कायम भएको | दुखद अनुभूति चाहिं वहांको सांगीतिक कार्यक्रम अमेरिकामा गराउने बारे मिलन मोक्तान (Nepal), राजा घले(Atlanta), निर्मला श्रेष्ठ (CO), शरद आचार्य(CO), सुरेशचन्द्र प्रधान (CO), वाशु श्रेष्ठ (VA) आदि साथीहरुसंगको सहयोग एवं सरसल्लाह अनुसार सक्रिय भएर लागिरहेको उक्त कार्यक्रमको प्रक्रिया करिव अन्तिम अवस्थामा पुगिसकेको बेला अचानक वहाँ बिरामी पर्नु भएको खबर बिरामी परेको एक हप्तामै हुन गएको वहांको स्वर्गारोहणले यो हाम्रो अभियान अधुरो नै रह्यो |

यो संसारै यौटा रंगमंच रहेछ, यहाँ जन्म लिने हरेक मान्छेले नाटकको कुनै कुनै भूमिका निर्वाह गर्नु पर्ने | नाटकमा जब आफ्नो भाग समाप्त हुन्छ, रंगमंचबाट सबैले बिदा लिनै पर्छ | मैले माथिनै भनेको छु फत्तेमान दाईले पनि यो संसारिक रंगमंचमा यौटा गायकको भूमिका निभाउनुभो, वहांको अभिनयको समय सकिएछ वस जानुभो.....|   अनन्तकाल सम्म वहांको सुमधुर स्वर यस धर्तीमा गुञ्जि नै रहनेछ | गायकको भूमिका लिएर आएको यौटा मनुष्यरुपी प्राणीले छाडेर जाने कुरा पनि यस संसारमा यहि नै हो | वहांको आत्माले चीर शान्ति प्राप्त गरोस्, हार्दिक श्रद्धान्जली |
**************

चुपचाप कतै कहानी भएँ

- गिरीश गिरी काठमाडौं 


अस्पतालमै करिब पौने घण्टा कुराकानी गरेर बाहिरिँदै गर्दा मृत्यु उनको यति नजिक छ भन्ने कल्पनामा पनि थिएन। बरु सँधै रंगिन मुडमा कुरा गर्ने मान्छेले पहिलोपटक बारंबार आँसु बगाएको देख्दा हामी बिथोलिएका थियौं।
त्यस दिन अर्थात् शुक्रबार (चार दिनअघि) उनको बारेमा जानकारी पाउनेबित्तिकै म र अर्का गायक एवं संगीतकार आभास चावहिलस्थित ओम अस्पताल पुगेका थियौं।
सुरुमा बिरामी भेट्ने पास नभएकाले माथि जानै दिइएन। अरु कुनै उपाय नदेखेपछि जे पर्लापर्ला भनेर बिरामीकै मोबाइलमा फोन गरियो। फोन फत्तेमानले नै उठाएर कुरा मात्र गरेनन्, एकजना महिलालाई पास दिएर पठाए पनि। क्याबिन नम्बर २५१।
भित्र पस्नेबित्तिकै फत्तेमान दम्पत्ति भेटिए। झुलुक्क देख्नेबित्तिकै नरमाइलो लाग्यो। ओहो अनुहार कस्तरी सुन्निएको! के भयो यस्तो?
फत्तेमान बेडबाट उठ्दै आमनेसामने हुने हिसाबले पलेँटी मारेर बसे। केही समययता छातीले दुःख दिन थालेको उनको कथन थियो।
'अस्ति नै पनि चारचोटि अस्पताल बसिसकेँ,' उनी भनिरहेका थिए, 'फेरि गाह्रो भएपछि आइतबार भर्ना भएको हुँ।'
डाक्टरले के भनेको छ?
हामीले यो प्रश्न गर्नेबित्तिकै उनले छाती खोलेर देखाए। त्यहाँ एउटा पाइप झुण्डिरहेको थियो। त्यो पाइप र छातीलाई जोड्ने हिसाबले सेतो टेपहरु टाँसिएको पनि देखिन्थे। पाइप जोडिएकै स्थानतिर देखाउँदै उनले छातीमा कुनै नशा अवरुद्ध भएको जानकारी दिए।
'त्यही नशा थुनिएर समस्या भएको रे,' उनी भनिरहेका थिए, 'अब खुलिसक्यो। ठीक हुन्छ भनेका छन्।'
उनी क्यान्सरको सिकार भइसकेको संकेत पाइसकेर पनि उनका सामुन्ने जिज्ञासु बनिरहन हामी बाध्य थियौं। किनभने कुरा गराइका क्रममा फत्तेमान र उनका श्रीमती दुवै यो कुराबाट अनभिज्ञ रहेको देखिन्थ्यो।
'अरु जाँच पनि चलिरहेको छ भनेर यहाँका डाक्टर विश्वनाथ कोइरालाले सुनाइरहेका छन्,' उनले थपे, 'भरेसम्म रिपोर्ट दिन्छौं भनेका छन्।'
कुराकानी गर्दागर्दै फत्तेमानले टाउको हल्लाए। अचानक असहज जस्तो देखियो। भयग्रस्त उनका देब्रे आँखामा तत्कालै आँसु रसायो। त्यो आँसु डिलमा थुप्रिरहेकै बेला दाहिने आँखा भरिएर तरर चुहिन थाल्यो।
'उमेर पुगिसकेको छ, मलाई मृत्युसँग डर छैन,' उनी एक्कासी खस्न थालेका आँसु कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि अलमलिएजस्तै देखिए र बोलिरहे, 'थला परेर लामो समय बाँच्नु नपरोस्, बस् त्यति इच्छा छ।'
अचानक आइपरेको यो परिस्थिति सम्हाल्न हामीसँग अरु कुनै उपाय थिएन। कुरालाई सांगीतिक गतिविधितर्फ मोड्यौं। उनी पुराना दिन सम्झन थाले। फेरि कताबाट घुमेर केही वर्षअघि कार्यक्रम लिएर लण्डन गएका घटनाहरु सुनाउन थाले। कताकता उनी हराएको आभास मिल्न थाल्यो। एक किसिमले बहकिएका कुराहरु निस्कन थाले। उमेरले पाको भए पनि चेतनाका हिसाबले फत्तेमान उनका समकालीनहरुका तुलनामा टाठो देखिन्थे। त्यस दिन भने उनी लण्डनका घटनाहरु सम्झँदासम्झँदै अपत्यारिला कुराहरु गर्न थाले। यो एउटा संकेत थियो।
हामी स्तब्ध भयौं। त्यसैबेला फत्तेमान फेरि एकाएक रुन थाले। 'मेरो एकजना आफन्त डेढ दुई वर्षसम्म थला परेर बाँचेको देख्या छु,' उनी आँसु पुछ्दै सुनाउन थाले, 'त्यस्तो कष्ट मलाइ नपरोस् भनेर असाध्यै अत्यास लागिरहेको छ।'
हामीले उनलाई केही भएको छैन भन्दै ढाडस दिने कोशिस गर्‍यौं। 'स्वास्थ्य विज्ञानको धेरै विकास भइसकेको छ,' मैले उनलाई भने, 'पहिले कसकसले दुःख पाए भन्दै चिन्ता लिनु बेकार छ।' हामीले फेरि आगामी कार्यक्रम र योजनाहरुतर्फ उनलाई मोड्न खोज्यौं। उनी फेरि कताबाट के सम्झँदै रुन थाले।
त्यसपछि उनलाई केही नहुने र हामी फेरि भेट्न आउने बताउँदै बाहिर निस्क्यौं।
एकैपटक आइतबार उनलाई आइसियुमा भर्ना गरिएको जानकारी पाइयो। यसबीच उनलाई किमोथेरापी दिन सुरु गरिएको रहेछ। दस दिनसम्म लगातार किमोथेरापी उनको शरीरले थेगिदिएको भए फत्तेमान केही समय अझै हामीमाझ रहने थिए। तर, उनको शरिरले थेग्न सकेन। अचेत अवस्थामा आइसियुमा लगिएपछि चिकित्सकले उनलाई किमो दिन बन्द गरेका रहेछन्। त्यसपछि चिकित्सकको भनाइ थियो, 'अब कुनै पनि बेला उहाँको अन्त्य हुनसक्छ।'
फत्तेमानले मंगलवारको सूर्योदय पनि देख्न पाएनन्।
एक हिसाबले हेर्दा उनले नपत्याउँदो तरिकाबाट श्रोता एवं आफन्तसँग विदा लिए। सबैलाई अचानक स्तब्ध पारेर गए। अर्को हिसाबले हेर्दा उनले आफ्नै छनौटको मृत्युवरण गरे। भेट्न आउनेसँग कुराकानी गरिरहेको क्षण र उनको मृत्युको दुरी एकाध दिनको मात्र बनिदियो। उनले नचाहेको परिस्थिति अर्थात् थला परेनन्। भजन गायनको आधारबाटै आफूलाई यति माथि उठाएका फत्तेमानको अन्तिम इच्छालाई सायद भगवानले पनि पूरा गरिदिए।
...
चार दसकपहिले रेकर्ड भएका गीतहरु रेडियोमा बजिरहे पनि फत्तेमान एक हिसाबले निष्त्रि्कय भइसकेका थिए। सन् २००२ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित उनको एकल साँझले भने यी ओझेल पर्दै गएका लोकप्रिय गायकको पुनर्जन्म गराइदियो। स्वर्णिम सन्ध्याले नारायणगोपाललाई फेरि एकपटक चर्चामा ल्याएजस्तो।
यसरी एकपटक महत्वपूर्ण मञ्च पाएका फत्तेमान लगातार ११ वर्षसम्मै सक्रिय रहे। उमेरले गलाउँदै लगे पनि आवाजमा उत्तिकै माधुर्य कायम राख्नसक्ने एकाध गायकमा पर्थे फत्तेमान। उनले गत वर्ष मात्र पलेँटी उत्सवमा झण्डै सात सय दर्शकका सामुन्ने गाएका थिए।
गायनमात्र होइन, नयाँ सिर्जनाका हिसाबले पनि यो पुनरागमन फत्तेमानका निम्ति महत्वपूर्ण रह्यो। त्यसभन्दा पहिले यादव खरेल (यस्तो पनि हुँदो रैछ), तीर्थरत्न तुलाधर (मर्न बरु गाह्रो हुन्न), कालीप्रसाद रिजाल (वनै खायो डँडेलोले) र सहदेव राणा (सान्नानीको गालैमा) जस्ता गीतकार र नातिकाजी जस्ता संगीतकार (वनै खायो डढेेलोले नारायणगोपाल) को साथ पाएका फत्तेमानले दोस्रो 'इनिङ'मा भने एकदमै बेग्लै गीतकार र संगीतकारसँग सामिप्य पाए।
दुवै ठूला हलको कन्सर्टदेखि लिएर पटकपटक पलेँटी आयोजना गर्ने नेपालयले नै प्रस्तुत गरेको 'गायक फत्तेमान ७० मा' उनको पछिल्लो अल्बम हो। यसमा उनले बानिरा गिरि, तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, मन्जुलजस्ता गीतकारहरु भेटेका थिए भने संगीतमा आभास।
आभाससँगको साथबाहेक उनको पछिल्लो चरणमा आएको अर्को गीत भर्खरै रेकर्ड भएको कालीप्रसाद बाँस्कोटाको संगीत हो। सुरुमा गाउन अनिच्छा देखाएका फत्तेमानले पछि युवाकवि बुद्धिसागरको शब्द 'म चुपचाप कतै कहानी भएँ, धमिलो धमिलो बिहानी भएँ' सुनेपछि गाउन तयार भएका थिए। भर्खरै सुरु भएको हरिवंश आचार्यको टेलिभिजन कार्यक्रमका निम्ति यो गीत तयार पारिएको हो।
यसरी फत्तेमानलाई दोस्रो 'इनिङ'ले स्वरमात्र होइन, संगत र सिर्जनाका हिसाबले पनि नयाँ पुस्तासँग जोडिदियो।
...
मधेसतिर एउटा विशेष हेराइलाई 'कनखी नजर' भनिन्छ। एउटा आँखा थोरै सानो पारेर स्वादले हेर्नु। प्रायः रमाइलो मुडमा रहने फत्तेमान त्यसैगरी कनखी नजरले हेर्थे।
एघार वर्षअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कन्सर्ट तयारीमै रहेका बेला पहिलोपटक उनलाई प्रत्यक्ष भेटेको थिएँ।
बाल्यकालभरि प्रभाव पारेका रोमान्टिक गीतहरूको  गायकलाई त्यतिबेला मेरो मूल प्रश्न तन्नेरी वयका रोमान्सबारे थियो। म अनेक तवरबाट घुमाएर सोध्थेँ, उनी पन्छिरहन्थे। हुँदाहुँदा उनलाई दिक्क लागेछ।
'हाम्रा बेलामा त्यस्ता कुरै हुँदैन थिए भनेर बताउन मैले अब के गरुँ?' उनी भनिरहेका थिए, 'तपाईंलाई कसरी लगेर त्यो टाइम देखाउँ?'
म एकछिनसम्मै शान्त बसेपछि खै किन हो गायक फत्तेमानले एउटा अनौठो मुस्कान निकालेर हेरे। पछिल्लो समयसम्म पनि चाहे बाटोमा होस् वा कार्यक्रममा, फत्तेमानले त्यहि हार्दिकता र मुस्कान मिसिएको आँखाले मात्र हेरे।
एकदिन पशुपति दर्शन गर्न गएको बेला थियो। कुनाकाप्चा घुमिरहेकै बेला अचानक एउटा कुनामा ठूलै सिलौटामा चन्दन घोटिरहेको मान्छे देखिए। एउटा सेण्डो गन्जी र सेतै धोती मात्र लगाएर खुब मच्चिरहेका। गायक फत्तेमानजस्ता पो देखिन्छन्!
नजिकै गएर हेर्दा त नभन्दै फत्तेमान।
के गर्नुभएको यो?
'म पशुपतिको भण्डारी खलक हुँ भन्ने थाहा छैन र?' उनले यो प्रतिप्रश्न गर्दै थपे, 'पुर्ख्यौली पेशा अब मेरो जिम्मामा आएको हो।'
त्यो चकित खाएको घटनालाई मैले उतिबेला कार्यरत कान्तिपुरको कोसेलीमार्फत् सार्वजनिक गरिदिएँ–'फत्तेमान भए भण्डारी।' त्यसपछि उनी अझ नजिकिन थालेका थिए।
पशुपतिको भजन मण्डलीहरुबाटै गायकीको विकास गरेका फत्तेमान प्रायः त्यसैको सेरोफेरोमा घुमिरहेका भेटिन्थे। देख्नेबित्तिकै सबैभन्दा पहिले उनी मुखबाट आवाज निकाल्थे, 'के छ?' त्यसपछि टाउको मास्तिर हल्लाउँदै आँखीभौं मात्रको भाषामा फेरि सोध्थे, 'के छ?'
यसरी मुठ्ठी कसेर चुरोट च्याप्ने र कनखी नजरले मुस्काउने गायक सबैका मामलामा उत्तिकै उदार भने थिएनन्। मन नपरेको कुरा छ भने उनी ठाउँको ठाउँ हकार्न बेर लाउँथेनन्। एकपटक त्यस्तै भयो।
नातिकाजीको अन्त्येष्टि चलिरहेको थियो। एकजना तन्नेरी फत्तेमानको छेउ आए र अभिवादन गरे। उनले पनि अभिवादन फर्काउँदै गहिरिएर हेरे। ती तन्नेरी आफुलाई गायकका रुपमा चिनाइरहेका थिए।
'तपाइँका गीतहरु मलाई असाध्यै मनपर्छन्,' उनी भनिरहेका थिए, 'त्यसमध्येको एकदुईवटा गीत म नयाँ किसिमले गाउन चाहन्छु। मिल्छ होला?'
हेर्दाहेर्दै फत्तेमानको अनुहार निलो भयो।
'कसैले तपाईंको श्रीमती मलाई असाध्यै मनपर्छ, म नयाँ किसिमले उसलाई माया गर्छु भन्यो भने तपाईं दिनुहुन्छ?' उनी आक्रोशका साथ बोलिरहेका थिए, 'हो, त्यसैगरी म पनि कसैलाई मेरो गीत दिन्न।'
पोहोर सालकै कुरा हो, उनी धेरै दिनपछि कुनै कार्यक्रममा देखिएका थिए। जिज्ञासा राख्दा उनले आफू सडक दुर्घटनामा परेर केही दिन थलिएको बताए।
ओहो! कहाँ? कसरी?
'सडकमा हिँड्दै गर्दा एउटा मोटरसाइकल कतातिरबाट आयो,' उनले थपे, 'म सम्हालिन पनि पाइँन, झ्याम्मै हिर्काइदियो।'
अनि?
'मेरो पालो मैले पनि बजाइ दिएँ,' उनी मुड्की देखाउँदै भनिरहेका थिए, 'सडकमा हिँड्नेलाई मान्छे नै गन्दैनन्।'
यस्ता पनि थिए फत्तेमान।
नातिकाजीको त्यो अन्त्येष्टिकै बेलामा उनले अर्को याद रहने कुरा पनि गरेका थिए।
दागबत्ती दिइसकेपछि उनी अचानक भन्न थाले, 'यी यही हो, त्यो एउटा गीत छ नि...एक दिन बिक जाएगा माटीके मोल...।'
अहिले आएर समय ठीक त्यही घडीमा उभिएको सम्झना भइरहेको छ। आर्यघाटको त्यही चक्रमा, जहाँ गायक फत्तेमान पनि त्यही शब्दमा रुपान्तरित भइरहेका छन्–
'दूजेके होंठोको देकर अपनी गीत,
कोहि निशानी छोड फिर दुनियाँसे डोल'
फत्तेमान रहेनन्। तर, कम्पनमा बज्ने त्यो मिठो अनि दुर्लभ स्वर जसलाई आफ्नै कुनै गीतका निम्ति नारायणगोपालले समेत स्वयंभन्दा योग्य ठहर गरेका थिए, बाँचिरहनेछ।

  • एउटा धोको थियो,पुरा हुनै पाएन


    • - आचार्य प्रमोद
       
      साहित्यकार कालीप्रसाद रिजाल दुई महिना पहिले एकाविहानै मर्निङ्ग वाकमा पशुपति क्षेत्रमा निस्केको बेला फत्तेमान राजभण्डारीले घरको झ्यालबाट बोलाए ‘रिजाल भाई कता ?’
       
      रिजालले आफूभन्दा सिनियर फत्तेमानलाई नमस्कार टक्र्याए । भने ‘मर्निङ्ग वाकमा ।’ 
       
      अरु दिन रिजाल आफैँले बोलाउँथे तर त्यो दिन उनको घरतिर हेर्ने बिर्सिएछन् । तर फत्तेमानले बोलाएन भनेर चुप बसेनन्, बरु आँफै बोलाए । 
       
      अरु दिन निक्कै फुर्तिला र जोशिला देखिने अनि जिन्दगीमा अब केही गर्नुपर्छ भन्ने फत्तेमानले त्यस दिन निराशालाग्दो कुरा गरे । भने ‘खै अब म केहो केहो, सांगीतिक जीवन अगाडि बढ्छ जस्तो लागेको छैन । तर केही सृजनाहरु संगीतबद्ध गरेको छु, बाहिर निकाल्ने मन छ ।’
       
      रिजालले उनको निराशालाई थमथमाउनकै लागि पनि भन्नै पर्ने थियो र भने पनि ‘भै हाल्छ नि, पहिले स्वस्थ्थ हुनुस् न, के को चिन्ता ।’
       
      फत्तेमानले टाउको हल्लाए । ल दाई स्वस्थ्य हुने वित्तिकै तपाईको रचनाको काम सिध्यानुपर्छ भन्दै फेरि भेट्ने बाचासहित  रिजाल मर्निङ्ग वाकमा हिँडे, फत्तेमान घरभित्र पसे ।
      त्यसपछि रिजाल फत्तेमानसँग बोल्नै पाएनन् । न त उनका सृजनाको काम सिध्याउन न नै । 
      ..........
       
      ‘फत्तेमानले आफ्नो भविष्य देखिसकेका रहेछन् र पो मलाई त्यसो भनेका रहेछन्’ फत्तेमानसँग लामो संगत गरेका कालीप्रसाद रिजालले भने ‘मलाई जिन्दगीभर निक्कै दुःखको कुरा त्यही हुने भयो, मैले उहाँको सृजना जिवितै रहेको बेला बाहिर ल्याउन सकिन ।’ 
       
      विहानविहानै फत्तेमान र कालीप्रसादको भेट पशुपतिमै हुन्थ्यो धेरै जसो । 
       
      फत्तेमानको पार्थिव शरिरमा पुष्प चढाएर आँखाका परेली भिजाउँदै छेउ लागेका रिजालले भने ‘आज संगीत आकाशको एउटा ज्वजल्यमान तारा झरेर गयो ।’ संगीतको एउटा युगको प्रतिनिधित्व गर्ने व्यक्ति फत्तेमान भएको ठान्ने रिजालले मुर्धन्य कलाकारले संसार छोड्नु देशकै लागि दुःखको कुरा भन्दै गर्दा आँशु थाम्न सकेनन् । 
       
      अल्ली पर रहेका संगीतकार शम्भुजित बास्कोटा रिजाललाई हेरिरहेका थिए । रिजालले रुमाल निकालेर मुख छोप्दै गर्दा बास्कोटा नजिकै आए । ‘जे हुनु भैगो दाई, अजम्बरी त को नै छ र ?’ वास्कोटाले मृत्यु नै संसारको सत्य हो भन्ने यथार्थलाई आत्मसाथ गर्नुको विकल्प हुँदैन भन्ने अर्थमा भने ।
       
      फत्तेमानको सुमधुर स्वरले जीवन्त बनाएको ‘बनै खायो डढेलोले.....’ भन्ने गीत रिजालले नै लेखेका थिए । जसमा स्वर सम्राट नारायण गोपालले संगीत भरे ।  
       
      ‘म उहाँका गीतहरुबाट प्रभावित थिएँ । उहाँको फुर्सद हुनेवित्तिकै घर पुगिहाल्थेँ सुरुसुरुमा । गायनको बेला दिउँसै ढोका लगाएर बस्थ्यौँ । एकान्त चाहिन्थ्यो ।’ फत्तेमानलाई आर्दश व्यक्ति मान्ने रिजालको अनुभव ।
       
      २०३३ सालमा चिनजानी भएयता संगीतकार शम्भुजित बास्कोटाले पनि फत्तेमानसँग काम गरे ।
       
      फत्तेमान अहिलेका कलाकारहरुमा साधनाको कमी देख्थे । भन्ने गर्थे ‘अहिलेका गायकहरु केही पपुलर भएपछि मात्छन्, साधनामा खास ध्यान दिँदैनन् ।’
       
      कद सानो, स्वभाव मुडी खालको थियो फत्तेमानको । नारायण गोपाल र उनको संगत पनि लामै रह्यो । नारायण गोपाल र उनी एक अर्कासँग ठट्ठा गर्थे । ‘महाराज’ भन्थे फत्तेमानलाई गोपालले । 
       
       
       
       
      फत्तेमानले केही समय व्यापार पनि गरे । व्यापारकै शिलशिलामा उनी भारतको मुम्बईसम्म पुग्थे । हात्ती समेत किनबेच गरे उनले । संगीतकार बास्कोटा भन्छन् ‘अनौठो अनौठो व्यापार गर्नुहुन्थ्यो, एकताका हात्ती नै बेच्न थाल्नुभयो, निक्कै दुःख पाएपछि पछि छाड्नुभएको हो ।’ 
       
      बास्कोटाले पहिलोपटक फत्तेमानसँग ‘प्रेमपिण्ड’ चलचित्रको ‘रिडी काली भेट हुने दोभानैमा’ भन्ने गीतमा काम गरे । यादव खरेलको शब्दमा रहेको गीत फत्तेमानले गाए, शम्भुजित बास्कोटाले संगीत संयोजन मिलाए । 
       
      फत्तेमानका केही गीत भारतमा पनि नक्कल गरेर रेकर्ड गरिएका छन् । ‘अँध्यारो रेखा यो छातीभित्र किन धेरै चल्छन् .....’ बोलको गीत त्यसको उदारहण हो । 
       
      फत्तेमानसँग गायक सत्यराज आचार्यको चिनजान आफ्नै बाबुको कारण भयो । भक्तराज आचार्यका मिल्ने साथी थिए, फत्तेमान । पछि सत्यराजसँग पनि एउटै कार्यक्रमहरुमा गाए । ‘गीत गाउने बेला कसैले डिस्टर्ब गर्नु हुँदैनथ्यो, बिचमा कसैले डिस्टर्ब गर्यो भने कानमा गोली लाग्यो भन्नुहुन्थ्यो ।’ पछिल्लोपटक हेटौंडामा भएको कार्यक्रम सम्झिए सत्यराजले । 
       
      कलाकार भएपछि पार्टी विशेषको हुनु हुँदैन भन्ने मान्यता थियो फत्तेमानको । राजनीतिज्ञले पुस्कार दिनेभए लिँदै लिन्न भनेपछि एक पटक त कार्यक्रममा राजनीतिज्ञ बोलाउन लागिएको भएपनि रोक्नु पर्यो । संगीतशीला प्रतिष्ठानका प्रमुख बद्रीप्रसाद प्रसाई भन्छन् ‘ २०६६ सालमा फत्तेमान सांगीतिक साँझ प्रज्ञा प्रतिष्ठानमा गरियो । त्यसबेला उहाँलाई अभिनन्दन गर्ने निधो गर्यौँ । अभिनन्दनको लागि कोही नेतालाई बोलाउने भन्ने भइरहेको थियो तर उहाँले राजनीतिज्ञको हातबाट पुरस्कार लिन्न बरु राष्ट्रकवि माधव घिमिरेलाई निम्त्याइदिनु भनेपछि हामीले उहाँलाई नै बोलायौँ ।’ 
       
      संगीत क्षेत्रमा लाग्न चाहने नयाँ नयाँ संगीत पारखीहरुलाई उनी घरमै बोलाएर सिकाउँथे । राम्रा मध्येकालाई ‘यो ठिक छ’ भनेर अरु संगीतकर्मीहरुलाई सिफारिस गर्थे । भजन गाउन प्रर्खर फत्तेमानलाई आधुनिक संगीतमा भने नातिकाजीले ल्याएका हुन् । 
       
      राम्रो प्रतिभा देखेर फत्तेमानको निक्कै माया पाएका एक हुन् नारायण ओली । फत्तेमानले ओलीको भजन गाउने शैली र गितार बजाएको मन परेरै चेलोबाट साथी बनाए । सँगसँगै कार्यक्रममा लैजान पनि थाले । 
       
      आफ्नो पेशा नै कलाकारिता भएपछि सम्मानित भएर जिउनुपर्छ भन्ने उनको सोच थियो । कलाकारलाई अपमान गरेको पटक्कै रुचाउँदैनथे उनी । आत्मसम्मानमा चोट पुग्ने वित्तिकै प्रतिकार गरिहाल्थे । 
       
      दरबार हत्याकाण्ड हुनु अगावै एक समारोहमै फत्तेमानले पत्रकार इन्द्र लोहनीको कपाल नै भुत्ल्याइदिए । कार्यक्रम थियो, सहदेव शम्शेर राणाको छाउनीस्थित दरबारमा । बरिष्ठ कलाकारहरुको उपस्थिति थियो । नातीकाजी, शिवशंकर, फत्तेमान लगायत थिए, त्यत्तिबेलाको ‘जयन्ती सरकार’लाई सुनाउन । इन्द्र लोहोनी सहदेव शम्शेरको निजी वकिल थिए । मेहेफिल जमिरहेको थियो । फत्तेमानले गीत गाइरहेका थिए । पिउनेहरुले पिइरहेका पनि थिए । लोहोनीले पनि पिएकै थिए । त्यत्तिकैमा लोहोनीले ‘खै दाई म गाउँछु’ भनेर माइक्रोफोन फत्तेमानको हातबाट खोसे । फत्तेमानले लोहनीको कपाल समाएर रिँगाए ‘कलाकारलाई सम्मान गर्न जान्दैनस्’ भन्दै । 
       
      फत्तेमानसँग नारायण ओलीको पछिल्लो भेट कालिकास्थानस्थित थियटर भिलेजमा भएको थियो । ‘उकालो हिँड् सक्दिन क्यारे, श्वास बढ्छ भन्नुभएको थियो त्यतिबेला अनि मैले डोहोर्याएर लगेको थिएँ ।’ ओलीले स्मरण गरे । 
       
      जीवनसँग ठ्याक्ले मिल्ले खालका कालजयी गीत गाएका फत्तेमानलाई आफ्नो काम फत्ते गर्नै पथ्र्यो । ‘काम बाँकीरहे के बिराएँ के बिराएँ जस्तो हुन्छ भन्नुहुन्थ्यो’
      ओलीले भने ‘हामी हामी कुरा गर्दै नाम जस्तो स्वभाव पनि उस्तै भन्थ्यौँ ।’
       
       
      ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कै ले कै ले
      कसैलाई माया गर्नु एउटा भूल गरें मै ले ।’ 
       
      नातिकाजीको संगीत र यादव खरेलको शब्दमा रहेको गीतमा स्वर दिएका फत्तेमानका आफन्त र शुभचिन्तकले आज भनिरहेका थिए ‘यस्तो पनि हुँदो रै’छ, के गर्ने ?’ 
       
      उमेर छँदा गाएका थिए ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ.....’ । सयौँ गीत गाएका, संगीत भरेका फत्तेमानलाई क्यान्सरले लग्यो । तर गीतमा भनेझैँ सहज भएन फत्तेमानलाई मर्न । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक