20130915

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह अनुसार नै नेकपा माओवादीले चुनाव चैतमा सार्ने प्रस्ताव राखेको खुलासा !

- भूवन क्षेत्री
 काठमाडौं, २९ भदौ: एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह अनुसार नै नेकपा माओवादीले चुनाव चैतमा सार्ने प्रस्ताव राखेको खुलासा भएको छ । यसअघि लाजिम्पाटमा भएको छलफलमा एमाओवादी अध्यक्ष प्रचण्डले चुनाव सार्ने विषयमा आफु सकारात्मक रहेको भन्दै चैतमा चुनाव सार्ने प्रस्ताव गर्न सल्लाह दिएको उच्च स्रोतले जानकारी दिएको छ । संविधानसभाको चुनावअघि कार्यगत एकता वा पार्टी एकताका लागि तयार भए चुनाव सार्न आफैले पहल गर्ने पनि प्रचण्डले बैठकमा बताएका थिए । नेकपा माओवादीका एक नेताले माओवादीले सर्वदलीय बैठकमा गरेको प्रस्ताव अघि प्रचण्डसँग छलफल भइसकेको बताए । ‘शुक्रबार राष्ट्रपतिले आह्वान गरेको बैठकमा राखेको प्रस्ताव बारे प्रचण्डलाई पहिला नै जानकारी थियो’ ती नेताले भने ‘चैतममा चुनाव सार्ने विषयमा उनी सकारात्मक छन् ।’ शुक्रबारको बैठकपछि पनि एमाओवादीले चुनावी लाइन अनुसारकै प्रस्ताव आएको भन्दै सकारात्क प्रतिक्रिया दिएको छ । नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले पनि प्रचण्डबाट पार्टी एकता वा कार्यगत एकताका विषयमा पटक पटक प्रस्ताव आइरहेको बताए । प्रचण्डको सल्लाह अनुसार नै चुनाव सार्ने प्रस्ताव गरिएको हो ? भन्ने ओएनएसको जिज्ञासामा गुरुङले भने, ‘कसैको सल्लाह अनुसार हामीले चुनाव सार्ने प्रस्ताव गरेका होइनौँ तर प्रचण्ड चुनाव सार्ने कुरामा सकारात्मक छन् ।’ उनका अनुसार माओवादी कार्यकर्ता र समर्थकको मतदाता छुटेको, चुनावी तयारी गर्न नपाएको कुरामा प्रचण्ड सहितका अरु नेता पनि सहमत छन् । स्रोतका अनुसार सम्भव भए पार्टी एकता र नभए चुनावमा कार्यगत एकताको वातावरणका लागि प्रचण्डले शालिकराम जमकट्टेललाई आफ्नो दुतका रुपमा पटक पटक मोहन वैद्य र नेत्रविक्रम चन्दकहाँ पठाउने गरेका छन् । एमाओवादी नेता दवेन्द्र पौडेलले पनि चुनावमा कार्यगत एकताका वा चुनाव अघि पार्टी एकताका विषयमा छलफल भइरहेको बताए । पार्टी एकता चुनावअघि सम्भव नभए चुनावमा सिट संख्यामा तालमेल गरेर जाने प्रचण्डको प्रस्ताव छ । एमाओवादी अध्यक्ष प्रचण्डले बिहीबार ललितपुरको खन्ना गार्मेन्टमा आयोजित पार्टीको कार्यक्रममा माओवादी निर्वाचनमा आउने प्रतिबद्धता जनाए चुनाव सार्न सकिने बताएका थिए । बुधबार मात्रै दुई दलका शीर्ष नेताहरुबीच गोप्य छलफल भएको थियो । राष्ट्रपति डाक्टर रामवरण यादवले आह्वान गरेको सर्वदलीय  बैठकमा नेकपा माओवादीले राखेको प्रस्तावमा छलफल भइरहेको बैठकको बिचबाटै एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने भारतीय सचिव सुजाथा सिंहलाई भेट गर्न बाहिरिएका थिए । प्रचण्ड निवास लाजिमपाटमा भएको भेटमा उनले छलफलका विषयमा पनि जानकारी गराएका थिए । नेकपा एमालेका नेता
केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । युवा संघको कार्यक्रममा सहभागी भएर राजधानी फर्किने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेकपा–माओवादीलाई निर्वाचन विरोधीको बिल्ला भिराएर एमाओवादी निर्वाचन हुन नदिने खेलमा लागेको आरोप लगाए । ओलीले भने ‘एमाओवादी निर्वाचन र लोकतन्त्रमा विश्वास नगरी जालजेल र षडयन्त्रमा विश्वास गर्ने पार्टी हो, त्यसैले मंसिर ४ को निर्वाचन विथोल्ने रणनिति प्रयोग गरिरेहेको छ ।’ ओलीले देशलाई फेरि हिंसामा लान खोज्ने अलोकतान्त्रिक तत्वलाई एमालेले तह लगाउने चेतावनी दिए । आगामी संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदय हुने दावी गर्दै नेता ओलीले एमालेको बहुमत आएमा मात्र तोकिएको समयमा संविधान बन्ने बताए । नेकपा माओवादीलगायतको मोर्चाले आह्वान गरेको बन्दका कारण मध्य र पूर्वी नेपालको जनजीवन कष्टकर बनेको छ । माओवादीको बन्दले ती जिल्लामा विहानैदेखि गाडी चलेका छैनन् भने बजार पसल पनि केही मात्रै खुलेका छन् । सवारी साधन नचल्दा यात्रुहरु हिँडेरै आफ्नो गन्तव्यतर्फ जान बाध्य भएका छन् । यातायातका साधनमा लगाइएको रोकका कारण निर्धारित समयमा लक्ष्यमा पुग्न नसकेर यात्रुहरु बाटोमा अलपत्र परेका छन् । बिहानदेखि सिरहा, सप्तरी, धनुषा, रौतहट, चतवन लगायतका जिल्लामा सडकमा टायर बालेर बाटो अवरुद्ध पारिएको छ । बन्द -पूर्वी तराई (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मध्य पहाड (सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर) । बनेपामा बन्दको प्रतिकार गरिएको छ । बिहान स्थानीय ब्यापारीहरुले बन्दको विरोधमा प्रर्दशन गरेपछि दोहोर झडप हो । चाडवार्डको मूख्यमा बन्द गर्दा ब्यापार ब्यवासयी खतरामा पर्ने भन्दै उनीहरुले विरोध गरेको हुन् । दोहोरो झडपका क्रममा प्रहरी नेकपा माओवादीका जिल्ला इन्चार्ज चुडामणि गौतम सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक