20130911

माओवादी का एउटा कमान्डर र प्रचण्डका अँग रक्षकले सार्वजनिक गरे प्रचन्ड, सिता र प्रकाशको उदाङिएको अनुहार : "प्रचण्डहरुलाई रगतले पोल्छ । शहीद परिवारको आँशुले डुबाउँछ । घाइते अपाङ्गको पीडाले यिनलाई खरानी बनाउनेछ । सर्वहारा बर्गको हितका लागि भनेर बन्दुक पड्काउन यिनैले सिकाएका हुन् हामीलाई "

* ‘मात्तिएका बेला प्रचण्ड निवासमा डलर फालाफाल’

* हरेक विहान प्रचण्डकहाँ नआए सुमार्गीको घाँटीबाट खानै छिर्दैनथ्यो । मुख धुन पनि प्रचण्ड निवास आउँथ्यो ऊ । कहिलेकाहीं राती बाह्रबजे पनि हामीलाई उठाएर प्रचण्ड सुमार्गीकहाँ जान्थे ।
सबैले एक चोटि पढ्नै पर्ने एमाओबादीको असलियत र यथार्थ कहानी 
 जनताको मन जितेर ‘ठूलो दल’ बन्ने होडमा मुख्य–मुख्य राजनीतिक दल राम्रै रस्साकस्सीमा जुटेका छन्। तर, तिनले आफ्नै कार्यकर्तापंक्तिमा विद्यमान असन्तुष्टि, वितृष्णा र आक्रोश नबुझ्दा तिनको हविगत के होला ? लडाकुलाई गाई चराउन पठाउने, ‘परियार, विक’ भएबापत छोइछिटो गर्ने, रक्सीले मातेर मत्थु भएपछि ‘महाराज’ हरुलाईझैं बोकेर सुताउनुपर्ने…† यी टाढाका कथा हैनन्, प्रचण्ड सुरक्षामा झन्डै तीन वर्ष बिताएका लडाकु कम्पनी भाइस कमाण्डर विष्णु परियार ‘शक्ति’ का भोगाइ हुन् ।
लडाकु कम्पनी भाइस कमाण्डर विष्णु परियार ‘शक्ति’। तस्विरः यादव देवकोटा।
तत्कालिन लडाकु कम्पनी भाइस कमाण्डर विष्णु परियार ‘शक्ति’। तस्विरः यादव देवकोटा।
गाई र कुकुरको स्याहार
पहिला प्रचण्डलाई महान सर्वहारावर्गका नेता भनेर ब्यारेकमा फोटो राखी सलाम ठोक्ने गरिन्थ्यो । छैठौं डिभिजनबाट भर्खरै तेस्रोमा सरुवा भएर आएको थिएँ । त्यतिबेला तेस्रोबाट १०–१२ जना प्लाटुन कमाण्डरभन्दा माथिको टोली हेडक्वार्टरको एडिसी जानुपर्ने खबर आयो । हेडक्वार्टरमाथि सेक्युरिटी थ्रेट बढेको छ भनेर जनसेनाको योजनामा नयाँबजार पुगेँ, चितवनको एउटा टिम लिएर । दुईजोर ड्रेस र बुट बोकेर चौविस घण्टे ड्युटी सकिँदासम्म पनि नचकराई खट्नुपर्छ भनी आएको थिएँ । साथीहरुलाई दासको रुपमा प्रयोग गरिएको देखेँ । पाँच दिनसम्म ड्युटी दिइएन । शुरुमा गाई चराउन जानुपर्ने रहेछ । जनयुद्धमा लागेर
जन्म दिने बाबुआमालाई स्याहार गर्न पाएनौँ । गाई चराउँदिनँ । २४ घण्टा ड्युटी गर्न आएको सिपाही हुँ । गाई चराउने, गोबर, कुकुरको गुहु सोहोर्ने घरको माथिदेखि तलसम्म पोछा लगाउने काम मबाट हुँदैन, त्यो काम गर्न मन लागे जनसेना छाडेर जहाँ पनि जान सक्छु भनी प्रतिवाद गरेँ । मेरो कमाण्डमा ड्युटी टिम थियो भने अभियानको कमाण्डमा सेक्युरिटी टिम । त्यसमाथिको कमाण्ड युवराज दुलाल ‘शरद’ र होल कमाण्ड सन्तु दराई ‘परवाना’ ले गर्थे।

‘विक’ लाई बर्जित
मीना भन्ने सहकर्मी हुनुहुन्थ्यो नयाँबजारमा । उहाँलाई कार्यलयमा प्रचण्डपत्नी सीताको एडिसीका रुपमा काम गर्न ल्याइएको थियो । एकदिन बानेश्वरस्थित अजेय सुमार्गीको घरमा जाने क्रममा सीताले ‘बहिनी, तिम्रो जात के हो ?’ भनी सोध्नुभयो । ‘म विश्वकर्मा’, मीनाले यति भनेपछि सीताले उहाँलाई कुनै पनि दिन आफ्नो कोठाभित्र छिर्न दिनुभएन । ‘हामी पाँचौं डिभिजनबाट एउटी बहिनी बोलाउँछौं, तपाई तल ड्युटी टीममा जानुस्’ भनेर तल पठाउनुभयो । एउटा दलित भएको कारण कम्युनिष्ट पार्टीको अध्यक्षको परिवारले एडिसी राख्न मानेन ।
सुमार्गी र सुरक्षाकर्मी
हरेक विहान प्रचण्डकहाँ नआए सुमार्गीको घाँटीबाट खानै छिर्दैनथ्यो । मुख धुन पनि प्रचण्ड निवास आउँथ्यो ऊ । कहिलेकाहीं राती बाह्रबजे पनि हामीलाई उठाएर प्रचण्ड सुमार्गीकहाँ जान्थे । त्यो सबै सम्पत्तिको लागि थियो । जनसेनाको कमाण्ड औपचारिक तबरले विशेष समितिमा हस्तान्तरण गर्ने शक्तिखोरको कार्यक्रम सकिएपछि हेटौंडा गयौँ । त्यहाँ सुमार्गीको घर रहेछ, जसलाई स्थानीयहरु  माइलो घर भन्दा रहेछन् । त्यहाँका स्थानीयले बताएअनुसार सुमार्गीको प्रगति प्रचण्डको संगतपछि मात्रै भएको हो, त्यसरी पत्याउनै नसक्नेगरी । हेटौंडामा मात्रै तीनवटा घर रहेछ । काठमाडौंको घरमा राती जाँदा हामीलाई लैजाँदैनथे । प्रहरी लैजान्थे । त्यसै कारण हामीले विरोध गर्‍यौं– घरमा झाडु लगाउन, जुत्तामा पालिस लगाउन, गाडी धुनचाँहि पिएलएका साथी चाहिने, देश विदेश घुम्दा, राती राती हिँड्दा पुलिस लिएर सुटुक्क हिँड्ने भनेर । यो कुरा मैले सीधै प्रचण्डसँगै भनेको हुँ । उहाँको जवाफ हुन्थ्यो, ‘तपाईंहरुको मुल्याङ्कन एकठाउँमा छ, प्रहरीको अर्को ठाउँमा । उहाँहरुलाई पनि राखिसकेपछि एक खालको विश्वास गर्नुपर्छ ।’ हालका डिएसपी (त्यतिबेला इन्स्पेक्टर) दानबहादुर मल्ल अहिले पनि त्यहीँ कार्यरत हुनुहुन्छ, रामजी केसी धेरैजसो प्रचण्डसँग जाने गर्नुहुन्थ्यो । प्रचण्ड कहाँ जान्थे, के गर्थे हामीलाई थाहा हुन्थेन । हामीले सोध्यो भने हिजो सुमार्गीकहाँ गएर आएको भन्थे ।
मदिरामा मस्त
प्रचण्ड कहिलेकाँही मदिरा सेवन गरेर अनियन्त्रित हालतमा आइपुग्थे । अजय सुमार्गीकहाँ बसेर प्रचण्डले रक्सी खाएको मैले नै देखेको छु थुप्रैपटक। कोठामा झाडु लगाउन जाँदा कोठामा बसेरै पनि पिएको देखेको छु । कहिले त बिहानैदेखि पिउन थाल्ने । एकदिन दिनभरि टन्न पिएर लर्खराउँदै आएपछि हामीले हातै समाएर गाडीमा बसाल्नुपर्ने र हातैले समाएर गाडीबाट ओछ्यानमा पुर्‍याउनुपर्ने अवस्था पनि आयो । त्यो दिन सुमार्गीकहाँ प्रचण्ड, अनन्तहरु थिए खाईपिई गर्नेमा । खाएर अलि ज्यादती नै गर्नेचाँहि प्रचण्डको छोरा प्रकाशले हो । मातेको बेला कहिलेकाँही डलरै पनि बाँड्थे । सिंगापुरका डलर । ‘ल तिमीहरुले कहिले देख्न पाउँछौ र लेऊ’ भन्दै जाँड खाने कुरा प्रचण्ड निवासमा सामान्य थियो । प्रकाशले अह्राउने र शिव खकुरेलहरु जर्किनमा लोकल भन्दै रक्सी बोकेर आउने गर्थे । हुँदै जाँदा साथीहरुले ज्यादती नै गर्न थाले । एकदिन रक्सी खाएर अनियन्त्रित भएपछि प्रकाशलाई मैले नै आधा घण्टा पोष्टमा थुनिदिएँ ।
मलाई त थाहा थिएन, कमरेड परवाना (सन्तु दराई) ले जाँड खाने रहेछन् । शरदले खाएको चाँहि  देखेनौं । उनको रुची पैसामा थियो । शिविरबाट आएको हाम्रो पैसा त आफ्नै गोजीमा हाले नै, प्रचण्डको नाम जोडेर यति धेरै बाहिरी काम मिलाउन दौडिन्थे, मलाई लाग्छ उनले काठमाडौंमा राम्रै घर जोड्ने पैसा जम्मा गरेका छन् । एकदिन रक्सी खाएर दुईजना साथीले मेरो बेडमै बान्ता गरिदिए । त्यसको ठूलो बिरोध गरें । विरोधपछि भोलिपल्ट जर्नादन शर्मा ‘प्रभाकर’ सहित बसेर छलफल भयो । छलफलमा मैले भनेँ, ‘कि त जँड्याहाहरुलाई सरुवा गर्नुस्, कि नखाने हामीहरुलाई ।’ निष्कर्षमा ‘आइन्दा जाँड खाएको फेला पारेमा कारवाही गरेर सरुवा गर्ने’ भन्ने भयो । छलफल भएको तीनदिनपछि म ६–९ को ड्युटीमा थिएँ, पेरिसडाँडाको एउटा कार्यक्रम सकेर आए । त्यो दिन सशस्त्रको टोलीले खसी काटेको थियो । सात बजेतिर रामजी केसीले बोलाएर परवानालाई लगे । मैले ड्युटी पोष्टबाट परवानाले रक्सी खाइरहेको देखेँ । त्यसपछि बसेको समीक्षा बैठकमा परवानामाथि कारवाहीको माग गरेँ । परवानाले मलाई नजरबन्दको शैलीमा थुन्नुभयो । पाँचदिनसम्म ड्युटीमा राख्नुभएन । मलाई एकजना कमरेडले सुनाउनुभयो, ‘शक्ति, तँलाई त यस्तै हो भने रामहरिलाई मारेझैं मारेर बोरामा हाली विष्णुमतिमा फाल्नुपर्छ भन्दैछन् ।’ सत्य के हो भने, प्रचण्ड निवासमा हामी नोकर थियौं, शरद, परवानाहरु नोकरको नाइके थिए ।
शिविर फिर्ता
दोस्रो चरणको प्रमाणिकरणपछि स्वेच्छिक अवकासको कुरा आयो । प्रचण्डले भन्नुभयो, ‘बाहिर कसले के भन्छन् त्यसको मतलव नगर्नुस् । जबसम्म सर्वहारावर्गको मुक्ति हुँदैन तबसम्म जनमुक्ति सेना कायम रहन्छ ।’ त्यही भनेर हामीलाई शिविरमा फर्काइएको हो । सर्वहारावर्ग भनेको त कमरेड प्रचण्ड, अनन्त, हिसिला यमी, पासाङ, महरा, प्रभाकरजस्ता राजधानीमा ठूल्ठूला महल बनाउने, जनमैत्री अस्पताल किन्ने, गँड्यौला जम्मा गर्दै हिँड्नेहरु पो रहेछन् † उनीहरु सर्वहारावर्गबाट मुक्त भएर नवधनाढ्य पुँजीपतिवर्गमा रुपान्तरण भए । त्यसपछि जनसेना विघटन भयो । त्यही विघटनको योजना कार्यान्वयन गर्ने क्रममा हामीलाई नयाँबजारबाट डिभिजन कार्यालयमा पठाइयो ।
शिविरको साउती
शिविरमा फर्किएको केही दिन डिभिजन सेक्रेटरी जनक विष्ट ‘कुवेर’ ले भने, ‘खड्ग विश्वकर्माजस्ता ‘डाङ्ग्रा’ लाई अघि लाएर के गति पर्लान् र वैद्य ?’ जातीय कुरा आएपछि मैले प्रतिवाद गरेँ । त्यसपछि उनले हातपात गरे । डिभिजनमा १८ करोड रकम जम्मा भएको थियो । भिसी उदय चलाउनेलगायत भएर ‘एक करोड डिभिजन चलाउन राखौँ, बाँकी रकम या त शिविरका सबै सदस्यबीच दामासाहीले बाँडौँ, नत्र केही वाइसियल, केही बहिर्गमित लडाकू र केही पैसा स–सना बालबच्चा भएका आमा समूहलाई दिऊँ’ भनी माग गरियो । त्यसको केही दिनमा कमाण्डर राजेशले १३ करोड पार्टीलाई बुझाएको रिर्पोटिङ्ग गरे । तर, उनले पैसाको हिसाब लुकाउन आफूनिकट ब्रिगेड कमाण्डरलाई जनही २१ लाख, ब्रिगेड भिसीलाई सात लाख, बटालियन कमाण्डरलाई तीन लाखका दरले बाँडे । अबकासबाट आउने दिन राति १ बजेसम्म हाम्रो कोठा बाहिर सेक्युरिटी राखिएको थियो । मेरो कोठा बाहिर ब्रिगेड भिसी रमेशलाई इन्सास बोकाएर ड्युटीमा राखिएको थियो । रामहरिलाई पेटमा लौरोले हानेर मार्ने गोविन्द बटाला ‘जीवित’ ले बाहिर निस्किइस् भने हातखुट्टा भाँच्छु भनी धम्की दिए । त्यही कुवेरले कुटेर मेरो घाँटीनेर लागेको घाउको दाग अहिलेसम्म पनि छ । पछि त्यो कुवेर डिभिजनकै एकजना कमरेडको पत्नी (जो भलिबलको कोच पनि थिइन्) लाई लिएर भाग्यो । राजेशले दाङ सदरमुकाम घोराहीमा पाँच तले घर बनाएको छ । पोखरामा मास्की कन्स्ट्रक्सन खोलेको छ ।
तत्कालिन लडाकु कम्पनी भाइस कमाण्डर विष्णु परियार ‘शक्ति’को परिचयपत्र। तस्विरः यादव देवकोटा।
तत्कालिन लडाकु कम्पनी भाइस कमाण्डर विष्णु परियार ‘शक्ति’को परिचयपत्र। तस्विरः यादव देवकोटा।
प्रचण्डको हविगत
प्रचण्डहरुलाई शहीदको रगतले पोल्छ । शहीद परिवारको आँशुले डुबाउँछ । घाइते अपाङ्गको पीडाले यिनलाई खरानी बनाउनेछ । सर्वहारा बर्गको हितका लागि भनेर बन्दुक पड्काउन यिनैले सिकाएका हुन् हामीलाई । मान्छे मारौँला भनेर बन्दुक पड्काउन सिकेको, लडाइँमा लागेको होइन । समाज फेर्न, समाजका जाली फटाहा, शोषक सामन्तको उत्पीडन अन्त्य गर्न, सुन्दर, स्वाधीन नेपाल बनाउन भनेर १४ हजारभन्दा बढी नेपाल आमाकी छोराछोरीले रगत बगाए । दैलेख, फुजेललगायतका घटना उठाएर शान्तिका पुजारीहरुलाई सम्मानित गर्न खोजिएपछि उनीहरु घुँडाबाट आँशु बगाएर रुन थालेका छन् । तर लेखेर राख्नोस् प्रचण्डजस्ता नेपाली सर्बहाराबर्गको महान् धोखेवाजलाई तिनै सर्वहारा वर्गका छोराछोरीले छाड्ने छैनन् । हिजो प्रचण्डले सेना बनाए । आज त्यो सेनालाई बिचल्ली बनाएर छाडे । यो सर्पलाई दूध खुवाएर छाडा छाडेजस्तो हो । हिजोआज प्रचण्ड बाघ हौं, सिंह हौं भनेर भाषण गर्छन् । त्यो बाघ त्यही जनसेनाले बनाइदिएको हो । अब जनसेना नै उनीसँग नरहेपछि उनी बाघको खोल ओढेको स्यालमा रुपान्तरण भएका छन् । त्यो स्याललाई बाघले टोकेरै छाड्छ ।
अवकासको दिनमा पाएको पाँच लाख रकमबाट औषधि खाँदाखाँदै आधा सकिएको छ । बाँकी रकमले धेरै दिन चल्दैन । बाँकी जिन्दगी कसरी चलाउने भनेर रन्थनिएको छु । जीवन सग्लो हुनेहरु अरब भएपनि गएर बाँकी जीवनको मेसो मिलाउँदैछन् । म घाइते भएर दागैदाग लागेको शरीर बोकी न अरबै जान सक्छु न यहाँ काम गरेर खान सक्ने हालतमा छु । सानैदेखि युद्धमा लागें । बन्दुक चलाउन बाहेक अरु केही काम जानेको छैन । न त नेताजीका छोराछोरीले जस्तो ठूल्ठूला डिग्री हासिल गरेर बाक्सामा सर्टिफिकेट थुपार्न सकेको छु । म त न मरिजानु न गरिखानुको हालतमा भौँतारिइरहेको छु ।
लडाइँमा उर्वर जीवन
०५६ देखि माओवादीमा लागेँ । त्यसबेला पन्ध्र बर्षको थिएँ । शुरुमा कलाकारिता र पछि सैनिक फिल्डमा सरिक भएँ । दलित परिवारमा जन्मिएँ । समाजमा दलितलाई कुकुरभन्दा पनि तल्लो तहको जनावरजस्तो व्यवहार गरिन्थ्यो । माओवादीले जनयुद्ध शुरु गरिसकेपछि दलितहरुले अलि श्वास फेर्ने वाताबरण बन्दै गयो । त्यसले माओवादीप्रति सकारात्मक बनाएपनि माओवादी नै हुनेबारे सोचिसकेको थिइनँ । मेरो परिवार एमाले पृष्ठभूमिको हो । माओवादीको कार्यक्रममा बा नगएपछि माओवादीले कुटपिट गर्‍यो, बा त्यही कुटपिटका कारण आजसम्म कान सुन्न सक्नुहुन्न । मैले त्यसपछि के सोचेँ भने, बाले सधैं यसरी कुटपिट व्यहोर्नुभन्दा माओवादीमा गएर त्यहाँ भएका गलत कामसँग जुध्नुपर्छ । शुरुको दुई वर्ष नाच्ने गाउने गर्दै हिँडियो । सोह्र बर्ष पुगेपछि सेनामा जोडिनुपर्छ भन्ने पार्टीको लाइन थियो । त्यही लाइनअनुसार सेनामा गएँ । मसँगै एकैदिन पार्टीमा लागेर सेनामा आएका साथीमध्ये विशालले पिलीमा शहादत प्राप्त गर्नुभयो । राकेशले जुम्लामा, कर्ण, चाइनिज तीनगिरेमा शहीद भए । हामी एकैदिन माओवादीमा गएर पनि बाँचिरहनेमा शायद म एक्लो छु। गाउँमा गएर तिनका बा–आमालाई भन्नसक्ने कुरा केही छैन । देखाउन सक्ने कुरा केही छैन ।
सैन्य फिल्डमा गएपछि ३२-३३ वटा ठूल्ठूला लडाईमा सहभागी भएँ । साह्रै कहालीलाग्दा तीतामीठा अनुभव भएका लडाइँहरुमा पनि सहभागी भएँ । खारा भीडन्तमा धेरै साथी शहीद भए । धेरै घाइते भए, धेरैले हातखुट्टा गुमाएर आउनुपर्‍यो । म आफैं घाइते भएँ । साथीहरुले घिसार्दै ल्याएर बचाए । पेटमा गोली लागेको थियो । आन्द्रा बाहिर निस्किएको रहेछ । आजको यो बेथिती देख्नुरहेछ, जिउँदै रहेँ । तानसेन भिडन्तपछि तौलिहवा हमलामा सरिक भएँ । टाउकोमा गोली लागेको ठाउँमा आजसम्म पनि रौं उम्रिएको छैन (टाउकोको खत देखाउँदै) । पण्डौन, चिसापानी, रम्भापुर, बुटवल, सुनवल, तीनगिरे, चित्रे भञ्ज्याङ्ग, जुम्ला सदरमुकाम, पिली, गणेशपुरजस्ता मोर्चाहरुमा बन्दुक बोकेर फिल्डमा सामेल भएँ । गणेशपुरमा कमरेड जीत, पशुपतिजस्ता कमाण्डरसहित आधुनिक हतियार गुमायौं । ५० जनाको शाही फौज छ । तिनको घाँटी समाएर पनि जित्नुपर्छ भनी सूचना सम्प्रेशण भएको थियो । बिष्फोट भन्ने साथी सेनाको कब्जामा परिसकेको रहेछ । उसले सेनालाई सबै सूचना दिएछ । हामीलाई थाहा भएन । विष्फोट कता जानुभयो भन्ने कुरा त भयो, तर कतै छुटे होला भन्ने लागेर मोर्चा खोल्न अघि बढियो । लड्दै जाँदा सेना पछाडि हट्दै गयो । भित्री भागमा पुगेर कब्जा गर्न थाल्दा सेनाले बाहिर अर्को घेरा बनाएर काउन्टर शुरु गर्‍यो । मेरो हात र खुट्टामा छर्रा लाग्यो (उनले छर्रा लागेर घाउ भएको हात खुट्टाको दाग देखाए) । रगत बगाउँदै भागेर नजिकै  किसानको घरमा गइ भकारीमा लुकेँ । धानको भकारी रगतको आहालले भरिँदा पनि किसानले गाली गर्नुभएन । भात खुवाउनुभयो । तीनदिनपछि त्यहाँबाट निस्केर पार्टी सम्पर्कमा गएँ र उपचार गराएँ ।
(जनआस्था साप्ताहिकका लागि यादव देवकोटासँको कुराकानीमा आधारित) / Hamra kura

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक