20131027

बारा क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार तथा नेकपा एमालेका नेता महमुद आलमको हत्यामा एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहसहित ३ जनाको संलग्नता !

बारा क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार तथा नेकपा एमालेका नेता महमुद आलमको हत्यामा एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहसहित ३ जनाको संलग्नता रहेको नेपाल प्रहरीको अनुसन्धान टोलीले जानकारी दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार बाराको कलैयामा उनीहरूलाई
सार्वजनिक गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा मध्य क्षेत्रीय, अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले पनि हत्यामा कुशवाहको संलग्नता रहेको पुष्टि गरेको हो। पूर्वसभासद् प्यासीले करिब ६ महिनाअगाडिदेखि नै आलमको हत्या गर्ने योजना बनाएको भए पनि धेरै कारणले उनी असफल भएको र असोज १८ गते मात्रै उनी सफल भएको आफूहरूले अनुसन्धानका क्रममा फेला पारेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो। उहाँले एमाले नेता प्यासीले आलमको हत्या गराउनका लागि २०१३ को अगस्ट ३० मा भारतबाट दुई जना सुटरलाई नेपाल बोलाएको भए पनि तत्कालीन समयमा आलम उम्मेदवारका लागि टिकट लिन काठमाडौं गएका कारण उहाँको हत्या गर्ने योजना असफल भएको जानकारी दिनुभयो। डीआईजी अर्यालका अनुसार आलमको हत्याका लागि भारतीय दुई जना सुटरहरू पनि काठमाडौं गएका थिए। सो समयमा काठमाडौंको भीड र सर्वसाधारणहरूको चापका कारण हत्या योजना असफल भएपछि सुटरहरू सोही दिन काठमाडौंबाट भारत गएका थिए। सो समयपछि पनि प्यासीले पटकपटक भारतीय नागरिक अतिक खानलाई आलमको हत्या किन नगरेको भन्दै सोध्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। वीरगन्जमा अस्थायी रूपमा बस्दै आएको भारत अलिगढका खानले आलमको हत्या गर्नमा व्यवस्थापकको भूमिका
निर्वाह गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई पनि प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। त्यसरी नै भारत रक्सौलका पत्रकार बर्मा भनिने राजु श्रीवास्तवलाई पनि प्रहरीले आइतबार नै सार्वजनिक गरेको छ। उनीहरू दुवै जनाले आलमको हत्याका लागि सहयोग गरेका थिए। खानले सुटरहरूको व्यवस्थापनको काम गर्ने र श्रीवास्तवले सूचना आदानप्रदान गर्ने काम गरेको डीआईजी अर्यालले जानकारी दिनुभयो। असोज १८ गते बिहान ११ः३० बजे आलममाथि गोली प्रहार गरेर भारतीय सुटरहरू वीरगन्जको बाटो हुँदै त्यही दिन भारत पुगेका थिए। वीरगन्जको एभरेस्ट होटल अगाडि आफूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल त्यही छाडेर सुटरहरू भारत छिरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। सोही दिन आलमको सबै गतिविधि पनि प्यासी आफैंले र आफ्नो मान्छेमार्फत सुटरहरूलाई गराउन लगाएको प्रहरीले जानकारी दिएको छ। आलमको हत्यामा एमालेकै पूर्वसभासद् एवं राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य ५० वर्षीय रामचन्द्र प्यासी कुशवाह, भारत सिभिल लाइन अलिगढ घर भई हाल वीरगन्ज–४ लक्ष्मी टोल बस्दै आएका ४२ वर्षीय अतिक खान र भारत विहारको रक्सौल निवासी ३८ वर्षीय राजु श्रीवास्तव रहेका थिए। आलमको हत्यामा एमालेकै पूर्वसभासद् एवं राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य ५० वर्षीय रामचन्द्र प्यासी कुशवाह, भारत सिभिल लाइन अलिगढ घर भई हाल वीरगन्ज–४ लक्ष्मी टोल बस्दै आएका ४२ वर्षीय अतिक खान र भारत विहारको रक्सौल निवासी ३८ वर्षीय राजु श्रीवास्तव रहेका थिए। बारा जिल्ला बन्जरिया–८ निवासी प्यासी पहिला शिक्षक तथा समाजसेवी हुँदै लामो समयदेखि एमालेको राजनीतिमा लागेका जिल्लाकै एक राजनीतिक व्यक्तिका रूपमा परिचित थिए। खान सिभिल इन्जिनियरिङमा डिप्लोमा गरी वीरगन्जवरपर क्षेत्रमा आपराधिक क्रियाकलापको व्यवस्थापकका रूपमा र श्रीवास्तव पत्रकारिताको माध्यमले सूचना व्यवस्थापकका रूपमा काम गर्दै आएको प्रहरीको भनाइ रहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले प्रारम्भिक रिपोर्टमा पूर्वसभासद् कुशवाहको योजनामा आलमको हत्या भएको खुलेको जानकारी दिए। ‘हामी अनुसन्धान प्रक्रियामा छौं अहिलेसम्म आलमको हत्या रामचन्द्रकै योजनामा भएको आधार भेटिएको छ, हामी थप अनुसन्धानमै छौं’, डीआईजी अर्यालले भने– ‘आन्तरिक द्वन्द्व नै हत्याको कारण हो भन्ने हाम्रो ठम्याइ छ।’ हत्याका लागि राजनीतिक प्रतिस्पर्धी एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहको सम्पर्क भारतीय र दुबईमा रहेका अपराधीसँग गराएको प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। ब्युरोका अनुसार अन्दाजी ६ महिना अगाडिदेखि नै आलमको हत्या योजना बनेको थियो। त्यसका लागि कुशवाहले भारत रक्सौलका बर्मा भन्ने राजुसँग छलफल गरेका थिए। यी दुवैको योजनामा राजुले कुशवाहको सम्पर्क भारतीय र दुबईमा रहेका अपराधीसँग गराएपछि आलम हत्यामा ७ जना भारतीय नागरिक खटिएका थिए। खान पेसाले सिभिल इन्जिनियर र राजु भारतीय एक अखबारमा पत्रकारिता गर्दै आएका व्यक्ति हुन्। यसैबीच असोज ६ गते काठमाडौं जोरपाटीमा कपडा सिलाउने काम गर्दै आएका भारतीय नागरिक महमद समसुल हकमाथि पनि आलमकै सुटरहरूले गोली प्रहार गरेको र उनी आलम हुन सक्ने शंकाका कारण गोली प्रहार भएको प्रहरीको अनुसन्धानमा उल्लेख छ। हक भने अहिले स्वस्थ्य रहेको प्रहरीको भनाइ छ। पत्रकार सम्मेलनमा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक विज्ञान शर्माले आलम घटनाको विषयमा थप अनुसन्धान जारी नै रहेको जानकारी दिनुभयो। अञ्चल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अपराधमा संलग्न जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने बताउनुभयो। उक्त पत्रकार सम्मेलनमा बाराका प्रमुख जिल्ला अधिकारी निदेश भट्टराई, प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलगायतका उच्च सरकारी र सुरक्षा अधिकारीको उपस्थिति थियो। आलमको असोज २४ गते उपचारका क्रममा नै निधन भएको घोषणा गरिएको थियो। आलमको ठाउँमा एमालेले उनकै पत्नी जुजानालाई टिकट दिइसकेको छ। रामचन्द्र प्यासीलाई एमालेले यसअघिको निर्वाचनमा समानुपातिकका तर्फबाट सभासद् बनाएको भए पनि यसपटक भने समानुपातिकको सूचीमा उनलाई राखेको छैन। - See more at: http://www.newsofnepal.com/headline-news/2013/10/18528/#sthash.aCTj3ayN.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक