20131029

प्रचण्डले मोहन वैद्यलाई ‘ज्ञानेन्द्रजस्तै’, ‘विचरा’ र ‘माया लाग्दो’ भनिरहेका बेला नेकपा- माओवादीका सचिव देव गुरुङले प्रचण्डलाई मुख्य भिलेन, सामाजिक फासीवादी, संघीयता विरोधी, भ्रष्ट र आपराधिक चरित्रको व्यक्ति को उपाधी दिँदै भने हेरौँला कसरी हुन्छ चुनाव !

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्यलाई ‘ज्ञानेन्द्रजस्तै’, ‘विचरा’ र ‘माया लाग्दो’ भनिरहेका बेला नेकपा- माओवादीका सचिव देव गुरुङले भने प्रचण्डलाई चार दलीय सिन्डीकेटका मुख्य भिलेन, सामाजिक फासीवादी, संघीयता विरोधी, भ्रष्ट र आपराधिक चरित्रको व्यक्ति बताउनुभएको छ । यही विश्लेषणका आधारमा चुनावमा प्रचण्ड र एमाओवादीमाथि प्रहार केन्दि्रत गरिएको गुरुङको स्पष्टीकरण छ । ‘संघीयता र अग्रगमनको पक्षधर प्रचण्ड र एमाओवादीमाथि नै तपाईहरुले प्रहार केन्दि्रत गर्नुको कारण के हो ? बहिस्कारका नाममा तपाईहरुले आफ्नै मित्रशक्तिमाथि यसरी प्रहार केन्दि्रत गर्नु राजनीतिक पूर्वाग्रह होइन र ?’ अनलाइनखबरले गुरुङलाई भेटेर यस्तो प्रश्न राख्दा उहाँले प्रचण्ड र उहाँको दलमाथि प्रहार केन्दि्रत गर्ने नीति सही भएको जिकिर गर्नुभयो । माओवादी सचिव गुरुङले प्रचण्डमाथि नै आक्रमण केन्द्रित गर्नुपर्ने कारणहरु एक-एक गर्दै केलाउन थाल्नुभयो । गुरुङका नजरमा प्रचण्ड र एमाओवादीमाथि नै चुनावमा
प्रहार केन्दि्रत गर्नुपर्ने कारणहरु यस्ता रहेछन् :
सहमति भाँड्ने मुख्य भिलेन
संविधानसभाको निर्वाचनमा ३३ दललाई सहभागी गराउने र खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराएर चुनावको मिति सार्ने विषयमा कांग्रेस र एमालेसमेत सहमत भइसकेको अवस्थामा सहमति बिथोल्ने एकमात्र व्यक्ति प्रचण्ड रहेको गुरुङको आरोप छ । ’चार दलमध्ये मधेसी दलले तीन पार्टीमा सहमति भए मान्य हुने बताएका थिए, कांग्रेस र एमालेका शीर्षनेताहरु पनि खिलराजलाई राजीनामा गराउन र हामीलाई चुनावी प्रक्रियामा ल्याउन सहमत भैसकेका थिए, तर प्रचण्ड एकजनाले गर्दा सहमति भाँडियो ।’
गुरुङले अनलाइनखबरसँग भन्नुभयो-’सहमति भाँड्ने मुख्य भिलेन प्रचण्ड नै हुन् । त्यसैले हामीलाई सहमतिमा आउन नदिन जसले मुख्य भूमिका खेल्यो, यसैका विरुद्ध प्रहार केन्दि्रत गर्नु कुनै पूर्वाग्रह होइन ।’ गुरुङले थप्नुभयो,- ‘हामी त पूर्वाग्रही भयौं रे, तर कसले गर्दा सहमति भाँडिएको हो भन्ने कुरा त दुनियाँलाई थाहा छ नि, चार दलको सिन्डिकेटभित्रका पनि मुख्य अवरोधक प्रचण्ड नै हुन् । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसमेत सहमतिकै पक्षमा हुनुहुन्थ्यो, तर प्रचण्डले नै हुन नदिएको हो ।’
प्रचण्ड संघीयताका पक्षधर पनि होइनन्
‘उहाँ संघीयताको जुन कुरा गरिरहनुभएको छ, त्यो जनता ढाँट्ने मेलोमात्रै हो, संघीयता पक्षधर भए उहाँले अघिल्लो संविधानसभामा किन संघीयतालाई असफल पार्नुभयो ?’ गुरुङको तर्क छ, ‘उपसमितिको संयोजक प्रचण्ड आफैं हुनुहुन्थ्यो, चार सयभन्दा बढीले हस्ताक्षर गर्दा, शीर्षनेताको निवासमा घेर्दा पनि उहाँले पहिचानसहितको संघीयतामा जान दिनुभएन ।’
जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाका पालामा प्रचण्ड र बाबुरामले संघीयता छाडेर ल्याप्चे लगाएको र मधेस आन्दोलनले मात्रै संघीयतालाई स्थापित गरेको बताउनुभयो । ‘उहाँहरुले संघीयता छाडेर राति नै गिरिजाप्रसादका सामु सहमति जनाउनुभयो, बरु एमालेका माधव नेपालले पूर्ण समानुपातिकको पक्षमा नोट अफ डिसेन्ट लेख्नुभयो ।’ गुरुङले अनलाइनखबरसँग भन्नुभयो,-’अहिले चुनाव जित्नका लागि प्रचण्डले पहिचानसहितको संघीयता भनिरहनुभएको छ, उहाँ खस बाहुनलाई त्यही ठीक, जनजातिलाई भेटे त्यही ठीक भन्नेखालको मान्छे हुनुहुन्छ ।’ माओवादी सचिव गुरुङको थप आरोप छ,- ‘कसैलाई प्रचण्ड पहिचानसहितको संघीयता पक्षधर हो भन्ने लागेको छ भने त्यो भ्रममात्रै हो, २० औं वर्ष सँगै काम गरेको हामीलाई उहाँको आन्द्राभुँडी थाहा छ ।’
प्रचण्ड ‘सामाजिक फासीवादी’
‘प्रचन्ड डेमोक्रटिक पनि हैनन् ।’ अनलाइनखबरसँग विशेष कुराकानी गर्दै गुरुङले भन्नुभयो, ‘आफूसँग असहमत हुनेलाई गिरफ्तार त के मार्नेसम्मको हर्कत गर्न सक्ने मान्छे हो उहाँ । विगतमा यस्ता घटना कति भए कति । बाबुरामजीलाई गिरफ्तार गरियो, रामहरी श्रेष्ठलाई मारियो । बाबुराम पक्षका मजदुरहरुलाई फरक विचार राखेकै कारण कुटियो ।’
कांग्रेस, एमालेलगायतका ‘बुर्जुवा’ पार्टीले पनि लोकतन्त्रको मर्म विचार गर्ने बताउँदै गुरुङले भन्नुभयो, ‘प्रचण्डजस्ता सामाजिक फासीवादीले जे पनि गर्छन्, आफूसँग असहमत हुनेलाई पिट्ने, मार्ने तहसम्मको निचतामा पनि ओर्लन्छन् । यस्तो नीच हर्कत बाबुराम भट्टराई पनि गर्दैन्न्, बुर्जुवा पार्टीले पनि सामान्य नैतिकताको ख्याल गर्छन् ।’
एमाओवादीमा भ्रष्टीकरण
माओवादी नेता गुरुङले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीलाई भ्रष्टीकरण भैसकेको दलको संज्ञा दिनुभयो । ‘यो डेमोक्रेटिक पनि छैन, विपक्षीप्रति असहिष्णु र सामाजिक फासीवादी प्रकारको छ र भ्रष्टाचारमा लिप्छ छ । वुर्जुवा पार्टीले पनि हिसाव-किताव र पारदर्शितामा ख्याल गर्छन्, तर प्रचण्डले जे गरे पनि जवाफदेहिता छैन ।’ प्रचण्डप्रति आक्रमक देखिनुभएका गुरुङले अनलाइनखबरसँग भन्नुभयो, ‘एमाओवादीभित्र इमान्दार क्रान्तिकारीहरु पनि हुनुहुन्छ, तर उहाँहरु अल्पमतमा परिसक्नुभयो, चैतेहरुको बहुमत भैसक्यो, अत्रिकांश राम्रा साथीहरुलाई पनि विभिन्न केसमा मुछेर भ्रष्टीकरण गरियो ।’
राष्ट्रिय स्वाधीनताविरोधी
बहिस्कारवादी नेता गुरुङले प्रचण्डलाई राष्ट्रिय स्वाधीनताविरोधी र भारतको एक नम्बर दलालको संज्ञासमेत दिनुभएको छ । ‘एमाले र कांग्रेसले समेत गर्न नसकेका सन्धी सम्झौतामा ल्याप्चे लगाउने प्रचण्डबाट राष्ट्रिय स्वाधीनतामा सबैभन्दा बढी खतरा छ ।’ गुरुङले भन्नुभयो, ‘हामीलाई सिध्याउन भारतले कांग्रेस र एमाले बढी प्रचण्ड र बाबुरामलाई नै प्रयोग गर्न चाहिरहेको छ ।’
कांग्रेस, एमालेभन्दा प्रचण्डबाट खतरा
‘आगामी चुनावमा एमाओवादीले हार्‍यो र कांग्रेस एमालेले जिते भने तपाईहरुलाई मुद्दा लगाएर जेलमा कोच्ने सम्भावना छ रे नि ?’ अनलाइनखबरको प्रश्नमा गुरुङले भन्नुभयो, ‘प्रचण्डले त झन जेलमा हाल्ने मात्रै होइन, मार्न पनि सक्छन् । जनसेनाको शिविरमा सेनालाई रातारात घेरा हाल्न लगाएर हतियार खोस्नेले हामीलाई गिरफ्तार गर्नु त सामान्य हो, प्रचण्डले हामीलाई सिध्याउन जे पनि गर्न सक्छन् ।’ उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘कांग्रेस र एमालेले भन्दा उनले हामीलाई माया गर्ने भए चार दलमा अरु सहमत भैसकेका बेला प्रचण्डले किन हामीलाई चुनावमा आउन दिएनन् ?’ उहाँले थप्नुभयो- ‘यसैबाट प्रष्ट हुन्छ कि भारतसँग मिलेर हामीलाई सिध्याउने सबैभन्दा ठूलो भिलेन प्रचण्ड नै हुन् ।’ प्रचण्ड राष्ट्रिय स्वाधीनता र डेमोक्रेसीका लागि सबैभन्दा ठूलो खतरा हुन् ।
चुनाव प्रचण्डले नै जित्ने
‘आगामी चुनावमा कसले बहुमत ल्याउला ?’ अनलाइनखबरको प्रश्नमा गुरुङले भन्नुभयो,’हामी बहिस्कार अभियानमा भएकाले यो चुनावको हारजीतको आँकल गरेका छैनौं, तर भारतको डिजाइनमा चुनाव भएकाले उसैका असली दलालहरुले चुनावमा बुहमत ल्याउने सम्भावना छ । कांग्रेस एमाले भन्दा प्रचण्ड र बाबुराम नै अहिले भारतका लागि असल सेवक हुन् । हामी राष्ट्रवादीलाई सिध्याउन कांग्रेस र एमालेबाट सम्भव नभएपछि भारतले बाबुराम र प्रचण्डलाई रोजेको छ ।’
चुनाव अब प्राविधिकरुपमा मात्रै
मंसिर ४ मा हुने भनिएको दोस्रो संविधानसभाको चुनाव राजनीतिक रुपमा असफल भैसकेको र अब प्राविधिकरुपमा मात्रै असफल पार्न बाँकी रहेको बताउनुभयो । ‘०६४ सालमा सबैलाई खोजी खोजी ल्याएर सहमति गर्दै चुनाव गरिएको थियो, अहिले हामी चुनावमा आउछौं भन्दा पनि बाहिर राखेर चुनावको नाटक गरिँदैछ, त्यसैले यो चुनाव राजनीतिक रुपमा विगतमा ज्ञानेन्द्रले गरेजस्तै प्राविधिक चुनावमात्रै हुनेछ ।’ गुरुङले भन्नुभयो,- ‘हामी यो चुनावलाई प्राविधिकरुपमा समेत स्थगन गर्न र नयाँ राष्ट्रिय सहमतिका आधारमा निर्वाचन गर्नका लागि प्रेसर दिइरहेका छौं ।’
दुई माओवादी भिड्ने खतरा
माओवादी सचिव गुरुङको आक्रमक प्रस्तुतीले आशन्न निर्वाचनका क्रममा दुईर् माओवादीवीच तीव्र मुठभेड हुने संकेत गरेको छ । वैद्य माओवादीले एमाओवादीका उम्मेद्वारमाथि देशैभरि आक्रमण गरिरहेका छन् । यसक्रममा वैद्य पक्षका कार्यकर्तालाई धरपकड गराउने सम्भावनासँगै दुईपक्षको सम्बन्ध शत्रुतापूर्ण बन्दै जाने खतरा बढेको छ । अर्कोतर्फ वैद्य पक्षले देशैभरिबाट एमाओवादीका शीर्ष नेतालाई हराउने र चुनावमा पराजय गराई रीस फेर्ने नीति लिन सक्ने देखिएको छ । माओवादी नेता गुरुङले कांग्रेस र एमाले भन्दा एमाओवादीबाट आफूहरु असुरक्षित रहेको बताउनुले उनीहरुको निशाना प्रचण्डतिरै सोझिएको प्रष्ट पारेको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेद्वारलाई अगि्रम वधाइ दिनुभएको छ । काठमाडौं १ मा प्रचण्डकी छोरी रेणु दाहाल एमाओवादीतर्फबाट उम्मेद्वार हुनुहुन्छ । ‘राजनीतिक भूकम्पको केन्द्र नयाँ वानेश्वरका बासिन्दालाई अगि्रम बधाइ छ, तपाईहरुको यो उपस्थिति हेर्दा हामीले चुनाव जितिसक्यौं ।’ छोरीको चुनाव क्षेत्रअन्तरगत नयाँ बानेश्वर चोकमा मंगलबार बिहान आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाजुरादेखि ताप्लेजुङसम्म भ्रमण गरेको बताउँदै देशैभरि एमाओवादीको लहर आइसकेको र आफ्नो पार्टीले जितिसकेको दाबी गर्नुभयो । ‘कांग्रेस र एमालेका नेताहरु आफ्नै चुनाव क्षेत्रमा मात्रै सीमित छन्, म कस्तो छु भने राष्ट्रकै नेता भएकाले २ सय ४० वटै चुनाव क्षेत्रको उम्मेद्वारजस्तो भएको छु ।’ उहाँले भन्नुभयो, -मैले बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुर, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा र मधेसका धेरै जिल्लामा घुमिसकें, देशैभरि एमाओवादीको पक्षमा लहर आएको छ ।’

ज्ञानेन्द्र हत्यारा, एमाले धोकेबाज, कांग्रेस आफ्नै रुखले किचियो
नेपाली कांग्रेसले विगतमा बहुमत ल्याउँदा पनि देशको नेतृत्व गर्न नसकेको र आफ्नै रुखले किचिएर बहुमतको सरकार ढलेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेताहरुले रुक्माङगद कट्वाल प्रकरणमा आफूलाई रुखमा चढाएर फेद ढालेको आरोप लगाउनुभयो । ‘आफ्नै रुखले किचिने कांग्रेस र अर्कालाई माथि चढाएर फेल ढाल्ने एमालेजस्ता धोकेवाजले देशको नेतृत्व गर्न सक्दैनन् ।’ प्रचण्डले भन्नुभयो, मैले छिमेकी देशको चीन र भारतको भ्रमण गरेर अब देशको जिम्मेदारी (जिम्मेवारी) हामीले गर्छौं भनेको छु, हेटौडा महाधिवेशनले पनि देश हामीले जिम्मा लिने निर्णय गरेका छौं ।’
घोषणापत्रमा राष्ट्र नेताको संज्ञा दिइएका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिँदै ‘हत्यारा’ शब्द प्रयोग गर्नुभयो ।
मधेसमा ५० सीट थप्ने दाबी
अघिल्लो संविधानसभामा मधेसमा थोरै मत आएका कारण पार्टीले बहुमत पुर्‍याउन नसकेको भन्दै उहाँले यसपालि मधेसबाट ५० सीट थपिने दाबी गर्नुभयो । जनताले इतिहासमा एकपटक एउटा दललाई अवसर दिने भन्दै कांग्रेस र एमालेले इतिहासमा त्यो अवसर पाइसकेको र अब देशको नेतृत्व गर्न नसक्ने प्रचण्डले दाबी गर्नुभयो ।
नयाँ बानेश्वर चोकको कृष्ण सदन छेउमा बनाइएको सानो मञ्चबाट निकै ठूलो भीडलाई सम्बोधन गर्दै आफूहरुले चुनाव नजिते संविधान नबन्ने र देशले मात्रै नभई भावी सन्ततीले समेत दुःख पाउने उहाँले बताउनुभयो । मञ्चमा एमाओवादी केन्द्रीय सदस्य उर्मिला अर्याल, पूर्वसभासद झक्कु सुवेदी, केन्द्रीय सदस्य चूडामणि खड्कालगायतको उपस्थिति थियो । विभिन्न ठाउँबाट नारा जुलुसका साम कार्यकर्ताहरु उपस्थित थिए । जुलुसमा केही डाक्टरहरुसमेत सेता लुगामा रेणु दाहालको व्यानर बोकेर सहभागी भएका थिए ।
मिडिया र निर्वाचन आयोगमाथि रेणुको आलोचना
यसैवीच सभालाई सम्बोधन गर्दै प्रचण्ड पुत्री रेणु दाहालले मिडिया र निर्वाचन आयोगलाई आलोचना गर्नुभयो । उहाँले आफ्ना प्रतिश्पर्धी दलहरुलाई वर्ग बैरी र दुश्मन को संज्ञा दिनुभयो । रंगीन भित्तेपात्रो र पोष्टर छापेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा उहाँले मञ्चबाटै आयोगलाई जवाफ दिँदै कांग्रेस र एमालेले प्रयोग गरेको रंगीन बोर्डहरु हटाउन आग्रह गर्नुभयो ।
एमाओवादी उम्मेद्वार दाहालले काठमाडौं क्षेत्र नं १ माओवादीमय बनेको बताउनुभयो । आफ्ना प्रत्यासी प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का जनताको समस्या समाधान नगरेकाले जनतामा आक्रोश रहेको रेणुले बताउनुभयो । आफूले चुनाव जितेको खण्डमा प्रकाशमानको गल्तीबाट पाठ सिक्दै काठमाडौं १ मा राष्ट्रिय योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभयो ।
मिडियाले आफ्नो बारेमा अनर्गल प्रचार गरेको आरोपसमेत लगाउनुभयो । दाहालको चुनावी सभामा आचारसंहिता विपरीत रंगीन पोष्टरहरु जतात्यतै टाँगिएको थियो । जुलुसमा सहभागीहरुले पनि त्यस्तै रंगीन ब्यानरहरु प्रयोग गरेका थिए । कार्यक्रममा करिब ३ हजार मानिसहरु विभिन्न दलबाट प्रवेश गरेको भन्दै केहीलाई प्रचण्डका हातबाट टीका लगाइएको थियो ।
- Source Onlinekhabar




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक