20131024

कानुन लत्याउँदै माओवादीले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई समानुपातिक उम्मेदवार बनाए !

निर्दोशलाई मारेर रगत ले लतपतिएको अनुहार लिएर हिंडेको हत्यारा बालकृष्ण ढुँगेल जसलाई सर्बोच्च अदालतले सर्बस्व सहित जन्म कैदको फैसला गरिसकेको छ, उसलाई प्रहरी भन्छ फरार छ, तर माओवादीले बनायो संबिधान सभाको उमेदवार !!! कठै हाम्रो देशको कानून !!??  
आफ्नै सहमतिमा बनेको संविधान सभा निर्वाचन सम्वन्धी कानुन लत्याउँदै माओवादीले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई समानुपातिक उम्मेदवार बनाएको छ। संविधान सभा निर्वाचन सम्बन्धी ऐनले फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएको व्यक्ति संविधान सभा सदस्य हुन नसक्ने उल्लेख गरेको छ। सर्वोच्चबाट दोषी ठहर भइसक्दा पनि जेल नगएर खुलेयाम हिँड्ने, डुल्ने छुट पाएका ढुंगेलको नाम एमाओवादीले सूचीको २ सय ६५ नम्बरमा राखेको छ। माओवादी प्रवक्ता अग्नि
सापकोटाले जानेबुझेरै ढुंगेलको नाम सिफारिस गरेको बताएका छन्। 'बालकृष्णजीको विशुद्ध ज्यान मुद्दा नभएर द्वन्द्वकालको घटना भएकाले चुनाव लड्न मिल्छ, त्यसैले हामीले समानुपातिकमा उठाएका हौं,' उनले भने, 'सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउनुपर्ने विषय हो।' कानुनका ज्ञाताहरुले भने सर्वोच्च अदालतबाट ज्यान केस ठहर भएका व्यक्ति विद्यमान कानून अनुसार उम्मेदवार हुन नपाउने जिकिर गरेका छन्। 'फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति उम्मेदवार हुन नपाउने प्रष्ट व्यवस्था छ,' पूर्व नायव महान्यायाधिवक्ता नरेन्द्रराज पाठकले भने, 'कुनै दलले त्यस्ता व्यक्ति उठाए भने उजुरी पर्छ, तुरुन्त बदर गर्नैपर्छ।' फौजदारी अभियोगमै सर्वोच्चबाट फैसला भएकाले कांग्रेसका खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले र तराई मधेस जागरण अभियानका संयोजक जेपी गुप्ता उम्मेदवार बन्न पाएका छैनन्। सर्वोच्च अदालतले २०६६ पुसमा ढुंगेललाई ज्यान मार्ने उद्योगमा सजाय सुनाएको थियो। संविधान सभा निर्वाचनका लागि दलहरुले बुझाएको अन्तिम सूची निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको छ। एमाओवादी, कांग्रेस, एमालेलगायत प्रमुख दलले ३ सय ३५ जना नै उठाएका छन्। एमाओवादीले पार्टी प्रवेश गरेकै दिन दुई जनालाई समानुपातिक उम्मेदवार बनाएको छ- लार्केल लामा र टासी स्याङ्वो गुरुङसेनी। माओवादी स्रोतका अनुसार मंगलबार बिहान ९.३० बजे एमाले त्यागेर प्रचण्डसँग टिकोटाले गरेर एमाओवादी प्रवेश गरेका उनीहरुको नाम त्यही दिन दिउँसो समानुपातिकमा राखियो। दलहरुले पहिले नै बुझाएको समानुपातिकको सूची संशोधन गर्ने अन्तिम दिन थियो त्यो। सिन्धुपाल्चोकका लामा र मुस्ताङकी गुरुङ्सेनी अघिल्लो संविधान सभामा एमालेबाट समानुपातिक सभासद् थिए। उनीहरु तात्तातै नभए पनि एमाले वा कांग्रेस छाडेकाहरुलाई माओवादीले प्राथमिकतासाथ समानुपातिक सूचीमा राखेको छ। एमालेका पूर्व सभासद्हरु सिन्धुलीका विषमलाल अधिकारी दनुवार, संखुवासभाकी लक्की शेर्पा लगायतले माओवादीको समानुपातिक टिकट पाएका छन्। एमालेको सांस्कृतिक फाँटमा रहेर 'आमा दिदी बहिनी हो' जस्ता चर्चित गायनमार्फत् लोकप्रिय जेबी टुहुरेलाई पनि माओवदीले समानुपातिक सूचीमा राखेको छ। उनी दुई वर्षअघि नै माओवादी प्रवेश गरेका हुन्।प्रचण्डका सूरक्षा प्रमुख सन्तकुमार दरैलगायत पनि सूचीमा परेका छन्। विराटनगरको गोल्छा घरानाका राजकुमार गोल्छा समानुपातिकमा परेका छन् । उनले कांग्रेसले दिइसकेको टिकट त्यागेर एक महिनाअघि माओवादी प्रवेश गरेका थिए। उनी हंसराज गोल्छाका कान्छा छोरा हुन्। राजकुमारकी साख्खे भाउजू राजलक्ष्मी गोल्छालाई भने एमालेले समानुपातिक सूचीमा राखेको छ। उनले लिखित निवेदन नै दिएर टिकट चाहिन्न भन्दा पनि पार्टीले उनलाई उम्मेदवार बनाएरै छाड्ने सुर कसेको छ। यसअघि संविधान सभा सदस्य रहिसकेका अर्बपति विनोद चौधरी यसपाला समानुपातिकमा छैनन्। उनी नवलपरासीको दुईवटा क्षेत्रबाट प्रत्यक्षमा सिफारिस भएका थिए। तर पार्टीले अन्तिम सूचीमा राखेन। लगभग एक महिना अघि एमाले प्रवेश गरेका राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन पनि एमालेको समानुपातिकमा छन्। हेटौडाका चर्चित वामपन्थी नेता बद्रीप्रसाद खतिवडा, एमालेका केन्द्रीय नेताहरु पनि उल्लेख्य संख्यामा समानुपातिकमा छन्। विद्यार्थी नेताहरु रामकुमारी झाक्री, ठाकुर गैरे, राजेन्द्र राई पनि समानुपातिकमै छन्। कांग्रेसले भने नवप्रवेशीहरुलाई खासै प्राथमिकता दिएका छैन। चिनिएका तीन जना व्यापारी परेका छन्- विराटनगरका महेश जाजु, शशिकान्त अग्रवाल र दिव्यमणि राजभण्डारी। सुजाता कोइराला बस्दै आएका मण्डिखाटारको घर अग्रवालकै नाममा छ। पत्रकार हरिहर बिरही, पूर्वअर्थ सचिव रामेश्वरप्रसाद खनाल र कवि श्रवण मुकारुङ पनि समानुपातिकमा परेका छन्। हेर्नुहोस् तीन पार्टीका समानुपातिकमा को-को परे - See more at: http://m.setopati.com/news/4851/#sthash.blMLSujv.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक