20131024

छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै आएका गोरखा, फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नीले फेरि तेस्रो आमरण अनशन सुरु गरे

छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै आएका गोरखा,
फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नीले फेरि आमरण अनशन सुरु गरेका छन् । महिनौंदेखि वीर अस्पताल बस्दै आएका उनीहरूको यो तेस्रो आमरण अनशन हो । हाल स्पेशल वार्डको बेड नम्बर १६ र १७ मा बस्दै आएका दम्पतीले माग पूरा नभएसम्मका लागि कुनै हालतमा नतोड्ने भन्दै बिहीबार बिहान ११ बजेबाट अनशन सुरु गरेका हुन् । माग पूरा नभएसम्म अब कुनै हालतमा अनशन नतोड्ने उनीहरूले बताए । अधिकारी दम्पतीले अनशन सुरु गरेलगत्तै सिंहदरबारमा गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरीका अधिकारीबीच बैठक बसेर त्यसबारे छलफल भएको थियो । गृह स्रोतका अनुसार सरकारले अधिकारी दम्पतीको माग पूरा गर्नेबारे
विगतमा सुरक्षा संयन्त्रलाई दिइएको निर्देशनको कार्यान्वयन कहाँ पुग्यो र अब के गर्न सकिन्छ भनेर चासो देखाएको थियो । अधिकारी दम्पतीका १७ वर्षीय छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । त्यसको एक वर्षपछि अधिकारी दम्पतीले माओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेल, तथा माओवादी कार्यकर्ताहरू छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले छोराको हत्या गरेको
अभियोग लगाउँदै उनीहरुविरुद्ध किटानी जाहेरी प्रहरीमा दिएका थिए । तर प्रहरीले कुनै पनि अभियुक्तहरूविरुद्ध अनुसन्धान नथालेपछि आन्दोलनमा उत्रेका अधिकारी दम्पती गोरखाकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि न्याय पाऊँ भनी उनलाई भेट्न काठमाडौं आएका थिए । भेट्न नपाएपछि उनीहरू प्रधानमन्त्री निवास बालुवाटारमै अनशनमा बस्न थालेका थिए । प्रहरीले कहिले उनीहरूलाई समातेर गोरखै पुर्‍याई छाडिदिने, कहिले अस्पताल लगेर भर्ना गरिदिने गर्दै आएको थियो । गत जेठ ३१ गते प्रहरीले उनीहरूमा पागलपन भएको भन्दै मानसिक अस्पतालमा भर्ना गरिदिएको थियो । त्यसको सर्वत्र आलोचना भएपछि अस्पतालले उनीहरू मानसिक हिसाबले स्वस्थ नै भएको भन्दै असार ७ गते डिस्चार्ज गरिदिएको थियो । अस्पतालबाट निक्लेको केही क्षणमै उनीहरू अन्तरिम मन्त्रिपरिषदा अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्ना कुरा राख्न बालुवाटार पुगेका थिए । त्यहाँ पहिलेजस्तै प्रहरीले रोकेपछि उनीहरू सडक पेटीमै आमरण अनशनमा बसेका थिए । अनशनमा बसेको आठौं दिन अधिकारी दम्पतीको हालत नाजुक बन्दै गएपछि उनीहरूलाई प्रहरीले वीरअस्पताल लगेर छाडिदिएको थियो । अस्पतालमा पनि उनीहरू थुप्रै साता अनशनमै बसेपछि स्लाइन दिएर उनीहरूको ज्यान जोगाइएको थियो । मन्त्रिपरिषदा अध्यक्ष खिलराज रेग्मी आफैं भेट्न गएर उनीहरूको माग पूरा गर्न कुनै कसर बाँकी नराख्ने आश्वासन दिएर अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह पनि गरेका थिए । सरकारकै निर्देशनमा प्रहरीले रामप्रसाद अधिकारीलाई भदौ २० मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अधिकारीविरुद्ध अनुसन्धान भएको भन्दै सरकारले आग्रह गरेपछि उनीहरूले अनशन बसेको ४५ दिनपछि भदौ २२ मा त्यसलाई तोडेका थिए । प्रमाण नपुगेका भन्दै अधिकारीलाई सरकारी चितवनका वकिलले मुद्दै नचलाई असोज १६ मा छाडिदिएका थिए । त्यसपछि रुष्ट अधिकारी दम्पतीले न्याय नपाएको भन्दै फेरि अनशन सुरु गरेका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक