20131123

गोरखाका एक प्रत्यक्षदर्शी पत्रकारको बर्णन : गोरखा जिल्लाबाट बाबुराम भट्टराईले चुनाव यसरी जित्नुभएको हो

- ईश्वर ढकाल 


यसपालि दोस्रो संविधानसभाको निर्वाचन मेरो लागि पहिलो खुसी  थियो भने निर्वाचनको रिपोटिङ गर्न पाउनु अर्को खुसीको अवसर । बिहानै सात बजे आफ्नो मताधिकारको सदुपयोग गरेर म र रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजङ थापा सदरमुकामतर्फ लाग्यौं। सडकको छेउछाउमा रहेका हरेक विद्यालयहरु मतदान केन्द्रमा परीणत भएका थिए। मतदाताहरु पनि धेरै नै उत्साहित भएर मतदान केन्द्रतर्फ लम्किरहेका थिए। सबैले भर्खर सकिएको वडादसैं र दिपावलीभन्दा चुनावी माहोल अझ रमाइलो मानिरहेको आभास हरेकको अनुहारमा देखिन्थ्यो। लाग्यो- एक पटक चुनेर पठाएका प्रतिनिधिले संविधान बनाउन नसके पनि यो पटक भने कुशल प्रतिनिधि पठाउन सबै हतारिएका जस्ता ।  सदरमुकाम जादै गर्दा हामीले बाटोका प्रत्येक गतिबिधिहरु रेडियोबाट प्रत्यक्ष प्रसारण गर्दै थियौं। करीब दस बजे हामी जिल्ला प्रशासन पुग्यौ।   गोरखाका प्राय: सबै पत्रकार दाजुहरु जम्मा भईसकेका थिए । हामीले एकछिन जिल्ला प्रशासनमा गतिविधिहरु बुझ्ने सल्लाह गर्यौ तर प्रसाशनले मुलढोका नै बन्द गरेर कोही पनि पत्रकार र निर्वाचन पर्यवेक्षकलाई भित्र जान नदिएको बताइयो। यत्तिकैमा एक जना दाजुको मोबाईल बज्यो- घैरुङ गाविसको हिमालय माविको मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताबाट
कांग्रेसका कार्यकर्ता कुटिएका छन भनेर ।
एघार बजिसकेको थियो, भोक पनि लाग्दै थियो बिहानै मकै र चिया खाएका थियौ, पेट खालि भईसकेको थियो । प्रशासन नजिकैको होटेलमा भएको खाना बाडिचुडी खाने निर्णय भयो ।
हतार-हतार खाना खाएर हामी घैरुङतर्फ जान कस्सियौं। मध्यान्हसम्म सबैतिर चुनाव तातिसकेको थियो- पत्रकार दाजुहरुको मोबाईल मिनेट- मिनेटमा बजिरहेको थियो । कहिले यहाँ कुटपिट भयो, कहिले यहाँ एकोहोरो मतदान भईरहेको छ आदिआदि।
भने कहिले रेडियोको लाइभ प्रसारणको कल, कहिले टेलिभिजनको कल। एकजना दाजु दिक्क मान्दै भन्दै हुनुहुन्थ्यो अब त झन नयाँ नयाँ नम्बरबाट पनि फोन आउन थाल्यो।

बीच बाटोतिर पुगेका थियौ - मलाई फोन आयो- नाम्जुङ गविसको जनशक्ति उमाविको मतदान केन्द्रमा बूथ क्याप्चर भयो भनेर । हाम्रो गाडी झन द्रुत गतिमा दौडियो ।
कच्ची बाटो जेनतेन अगाडि बड्दै थियौ बुन्कोट गविसको लाखेडाँडा पुगेपछि एउटा रेडक्रसको एम्बुलेन्स भेट भयो। हामीले त्यसलाई रोक्यौ-घैरुङ्मा कुट्पिट्बाट घाइते भएका बिष्णु ढकाल, नन्दलाल रेग्मी र बिबेक ढकाललाई गोरखा हस्पिटल ल्याइरहेको रहेछ। हामीले फोटो खिचेर त्यहीँ रफ्तारमा अगाडि बड्यौं ।

हामीसँग गोरखा पत्रकार महासंघका सभापति कैलाशबाबु श्रेष्ठ पनि साथमै हुनुहुन्थयो। उहाँ फेरि घरी एमाओवादीको जिल्ला इन्चार्जलाई त घरी प्रमुख सुरक्षा अधिकारीलाई फोन गरेर घ्यालचोक गाविसमा जानु भएका कान्तिपुर टेलिभिजनका पत्रकार एवम गोरखकाली एफ यमका स्टेसन मेनेजर भीमलाल श्रेष्ठलाई वाइसिएलले रेडियोमा लाइभ गरेको भनेर घेरेर राखेका रहेछन,तुरुन्त सकुसल फिर्ता गराइदिन बिन्ती बिनय गर्दै हुनु हुन्थ्यो ।
यतिबेलासम्म हाम्रो बाटो छोट्टीईसकेको थियो। हामी नाम्जुङ गाविसको मतदान केन्द्र पुग्यौ । त्यहाँ केहीबेर भित्र गएर अबलोकन गर्यौ । बिजुलीको बिल तिर्न लाइन लागेको जस्तै लाइन थियो त्यहाँ । एकोहोरो भोट् हालिरहेका । शंका लगिरहेको थियो - दरौदी दैनिकका सम्पादक साथै अन्नपूर्ण दैनिकका समाचारदाता शिब अप्रिय दाजु अलीक जिज्ञासु हुनुहुन्थ्यो । उक्त केन्द्रका निर्वाचन अधिकृत मीनबहादुर रम्तेल थिए। उहाँलाई प्रश्न गरियो - यहाँ सबै दलका प्रतिनिधिहरु हुनुहुन्छ त  प्रश्न भुइमा नखस्दै अधिकृतले खाना खान जानु भएको छपाँच मिनेट भयो आउनु भाको छैन भन्नु भयो।
हाम्रो मनमा अरु शंकाको डेरा बढ्न थाल्यो र हामीले कांग्रेसका प्रतिनिधिलाई खोज्ने प्रयास गर्यौ । एक जना प्रतिनिधि भुमिनन्द लमिछानेको सम्पर्क नम्बर भेटियो र फोन गर्‍यौ । उहाँ घरमा गएर बस्नु भएको रहेछ।
मतदान केन्द्रमा आउनको लागि आग्रह  गर्दा फर्कने वातावरण नभएको बताउनु भयो।

त्यसपछि हामी घैरुङतर्फ अगाडि बढ्यौ । डरलाग्दा अग्ला-अग्ला भीर छिचोल्दै २० मिनेट पछि हामी घैरुङ गाविसको हिमालय मावि मतदान केन्द्र पुग्यौ । गाडी रोकेर त्यहाँको प्रांगणमा यसो उभीदैगर्दा अचम्मको दृश्य देखियो - जहाँ गोप्य भनेपनी सामुहिक रुपले तीन- चार जना भएर मतपेटिकामा मतपत्र खसाइरहेका  केहीबेर अघि कुटपिट भएको ठाउँ भएकोले हामी अली बढी नै उक्त केन्द्रमा आँखा गाडीरहेका थियौ।
 स्थिति सामान्य भईसकेको रहेछ । तर, भर्खर देखेको नाम्जुङ र त्यहाँको दृश्यमा भने केही भिन्नता पाइएन ।
करिब एक घन्टापछि हामी सोही गविसको नजिकै रहेको अर्को मतदान केन्द्र जाने सोच गर्यौ । करिब २ मिनेट अगाडि एउटा बाटोकै छेउमा अवस्थित घरको आगनमा टेबल राखेर पाँच - छ जनाको समूहले चुनावको अघिल्लो दिनमै बाडिसक्नु पर्ने मतदाता परिचय पत्र चुनावकै दिनमा मतकेन्द्र नजिकै बाडिरहेका थिए।

केहीबेरमै भगवती हिमालय उमाविमा पुगेर हामी रोकियौं । बलियो सुरक्षा घेरा भित्र एक जना पनि मतदाता नरहेको उक्त केन्द्र अलि फरक खालको थियो।
नजिकै भएको झगडाको असरले हो या भोट हालेर मतदाताहरु फर्किसकेका हुन मतदाताको उपस्थिति शून्य प्राय: त्यस ठाउँमा करिब १५-२० जवा सशस्त्र प्रहरीहरु र सोही संख्यामा घाम तापेर डिलमा बसेका वाइसिएलहरु थिए।
हामी पुगेको करिब पाँच मिनेट पछि सुरक्षाकर्मीहरु पनि फर्किए। हामी त्यहाँको अवस्था नियाल्दै थियौ - केहीबेरमा ८-१० जनाको समूह आइपुग्यो।
पहिलेदेखीनै बसीरहेका एक जनाले मुख खोलिहाले- 'ल हाम्रा मोबाईल टोली आइपुगे, ल केटा हो आ-आफ्नो मताधिकारको सदुपयोग गरिहाल।' तर तिनिहरु अली पर गएर बसिराखे। हामीले बुझेउ माथिको केन्द्रबाट तल झरेका रहेछनजहाँ कुट्पिट भएको थियो।

केहीबेर सुनसान छायो । हामी पनि फर्कने तरखर गर्दै थियौ छेउबाट एउटा आवाज आयो- बल्ल ढुक्क हुने भयो। खै के को ढुक्क हो अब न बलियो सुरक्षाकर्मी न पत्रकार । यत्तिकैमा हामीलाई फोन आयोडा. बाबुराम भट्टराई आफ्नु मतदान क्षेत्रमा भोट हाल्न जाने रे ठीक तीन बजे।
अनी हामी फर्कियौ । मनकामनाको तीनमाने हुँदै । साह्रै भोक लागिसकेको थियो। सुन्तलाको बारीमा गाडी रोकेर सुन्तला खाइयो,रुखमै चडेर टिप्दै थियौ।
लगातार फोनमा टिर्र-टिर्र रिङ्ग बजेको-बज्यै। उठाउँदै हैरान थिए सबजना । फेरि नयाँ-नयाँ खबरहरु आउन सुरु भयो- अस्राङमा  नवजाग्रिती उमावी, चन्डेश्वरी प्रावी र जनशक्ति प्राविमा बूथ क्याप्चर भयो रे, अनी अर्को फोन बज्दै थियो- बोर्लाङदर्बुङ,भुम्लिचोकलगायतका ठाउँहरुमा एमाओवादीले मनोमानी ढंगले मतदान गरेका छन भनेर।

यत्तिकैमा बेलुका भईसकेको थियो । हामी फेरि जिल्ला प्रशासनमा गयौंथप के के छन त भनेर।
त्यहाँ पुग्दा निर्वाचन धाधलीपूर्ण भयो भनेर नेपाली कांग्रेस र नेकपा एमालेले उजूरी दिन लाग्दै रहेछन्। अनी दुई दिनपछि निर्वाचनको पारीणाम आयो - बाबुराम भट्टराई भारी मतले बिजयी ।
बिजयको बाटो यस्तो देखियो। 
ढकाल गोरखाका पत्रकार हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक