20131119

निर्वाचन शान्तिपूर्ण र सफल भयो भन्दै खुशीयाली मनाउदै निर्वाचन आयोग र गृह मन्त्रालय, बैद्य बा का आफ्नै गन्थन ! १० वर्षे सशस्त्र द्वन्द्वको उद्गस्थल रोल्पाको थबाङमा शून्य भोट !!!

निर्वाचन आयोगले अहिलेको संविधानसभा निर्वाचनमा नेपालको इतिहासमै बढी मतदान भएको जनाएको छ । ७० प्रतिशतभन्दा बढी मत खसेको भन्दै निर्वाचन आयोगले निर्वाचन सफल भएको दावी गरेको छ । उप्रेतीले भने ‘इतिहासकै सबैभन्दा बढी मत खसेको छ, प्रतिशत अझै बढ्नसक्छ।’ निर्वाचन सकिएपछि आयोजित
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगले प्रयोग गरेको नयाँ प्रविधिका कारण निर्वाचनमा उत्साहजनक सहभागिता भएको बताए । देशभरिबाट १८४५६ मतदान केन्द्रमध्ये जुम्लाको देपालगाउँमा एउटा मतदान केन्द्रमात्र मतदान स्थगित भएको छ। उप्रेतीले रौतहट, डोल्पालगायत जिल्लामा ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी गराए। उनले रोल्पाको थवाङमा एक मत पनि नखस्नुलाई अपवादको रुपमा लिएको बताए । गृह मन्त्रालयले मंगलबार भएको दोस्रो संविधानसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण भएको जनाएका छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरेर गृह सचिव जनार्दन नेपालले चुनाव शान्तिपूर्ण रहेको बताए । अप्ठ्यारो परिस्थितिमा चुनाव गर्नुपर्ने स्थिति भएपनि जिम्मेवारीबोधका साथ शान्तिपूर्ण रुपमा मतदान गराएको उनको दावी छ । गृहसचिव नेपालले प्रारम्भिक अनुमानअनुसार देशभर ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए । ‘दुई तिहाई मत खसेको छ’ उनले भने, ‘अन्तिम सूचना आउँदासम्म ७० प्रतिशतभन्दा माथि हुन सक्छ ।’ उनले काठमाडौंमा ८२ प्रतिशतभन्दा धेरै मतदान भएको जानकारी दिए । रोल्पाको थवाङमा शुन्य मतदान नभएको उनको भनाई छ । सुरुमा कोही पनि एजेन्ट नबसेको भएपनि पछि स्थानीय प्रशासनसँगको सहकार्यमा केही मत खसेको उनले स्पष्ट पारे । गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले देशभर ३७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले चुनावमा भएको झडपका घटनामा २५ घाइते जना घाइते भएको जानकारी दिंदै घाइतेलाई उपचारको व्यवस्था गर्न निर्देशन दिएको बताए । कोइरालाले जुम्लाको झारजलास्थित त्रिभूवन उच्च मावि मतदान केन्द्रमामात्रै मतदान स्थगित भएको जानकारी दिए ।

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावमा शक्ति दुरुपयोग गरेर चुनाव गराएपनि यो संविधानसभाले जनताको संविधान दिन नसक्ने जनाएको छ । मोर्चाले सम्पूर्ण शक्तिको दुरुपयोग गरेर गरिएको निर्वाचनले जनताको संविधान नबन्ने र वर्तमान सङकटको राजनीतिक निकास पनि दिन नसक्ने जनाएको हो । मोर्चाले एक विज्ञप्ती जारी गर्दै संवादमार्फत राष्ट्रिय निकास निकाल्न आग्रह गरेको छ । ‘राजनीतिक निकासको लागि जुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन’ मोर्चाका नेता एवं माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले फेरिपनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग हार्दिक आग्रह गर्दछौं ।’ राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन गर्न सरकार र चार दललाई दबाब दिन गरिएको यातायात हड्ताल सफल भएको मोर्चाको दाबी छ । ‘४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङकुश ढङगले गरिएको दमनका बावजुद पनि चक्काजाम र बहिस्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘त्यसको लागि चक्काजाम तथा बहिस्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हादिर्क धन्यवाद ज्ञापन गर्दछ ।’ मोर्चाले चक्काजाम र बहिस्कार आन्दोलनको क्रममा राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर दमन, धरपकड र आतङक सिर्जना गरेको आरोप लगाएको छ । मोर्चाले देशभर ५ सय जनाभन्दा बढी नेकपा–माओवादी सहित ३३ दल सम्बद्ध नेता, कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाइएको जनाएको छ । मोर्चाले पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न पनि माग गरेको छ ।
१० वर्षे सशस्त्र द्वन्द्वको उद्गस्थल रोल्पाको थबाङमा नेकपा माओवादीका कार्यकर्ताले एकीकृत नेकपा माओवादीका कार्यकर्तालाई भोट हाल्नबाट रोकेपछि अन्ततः शून्य भोट भएको छ। वीर बलभद्र उच्च मावि थबाङमा रहेको तीन वटै मतदान केन्द्रमा प्रत्यक्षतर्फ कुनै पनि मतदाताले भोट नहालेपछि शून्य मतदान भएको हो। विगत संविधान सभामा करिव ३ हजार ६ सय मतदाता रहेको थबाङमा अहिले भने १ हजार ८ सयले ७८ जनाले मात्र फोटो सहितको मतदाता परिचय पत्र बनाए थिए। समानुपातिकतर्फ भने ७७ भोट परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फको भोट हालेका हुन्। पूर्व संविधान सभा सभासद् सन्तोष कुमार बुढामगर सहितका नेताको अगुवाईमा नेकपा माओवादीले थबाङलाई शून्य भोट बनाएको हो। एमाओवादी कार्यकर्तालाई भोट हाल्नबाट छेक्न थबाङका मुख्य नाकाहरुमा नेकपा माओवादीले आफ्ना युवाहरुलाई खटाएको थियो। ती युवालाई भोट हाल्न खोज्नेलाई भौतिक रुपमै आक्रमण गर्न नेकपा माओवादीले निर्देशन समेत दिएको एमाओवादीले आरोप लगाएको छ। नेकपा माओवादीले भोट हाल्न खोज्न मगरात्त राज्य समितिका सदस्य मौसम रोकामगर, एमाओवादी थबाङ गाविस संयोजक ग्रिस पुनमगर, पूर्व लडाकु विन प्रसाद पुनमगर 'टार्जन' सहित केहीलाई मंगलबार केही घण्टा नियन्त्रणमा लिई मतदान सयम सकिए पछि छोडेका थिए। नेकपा माओवादीका करिव दुई दर्जन युवाहरुले आफूहरुलाई दिउँसो २ बजे अपहरण गरी जंगलतिर लगेको र पाँच बजेपछि छोडी दिएको मगरात्त राज्य समिति सदस्य रोकामगरले टेलिफोनमा बताए। थबाङले पुनः शून्य मतदानको नतिजा दोहोर्‍याएर अर्को इतिहास कायम गरेको थबाङ निवासी पूर्व संविधान सभा सभासद् सन्तोष कुमार बुढामगरले प्रतिक्रिया दिए । 'हामी थबाङबाट राज्यलाई एकताको सन्देश दिएका छौं । शून्य भोट बनाउनु नै थबाङको एकताको सन्देश हो', पूर्व सभासद् बुढामगरले भने, 'एमाओवादीका केही साथीहरु भोट हाल्न खोज्नु भएको थियो तर हाम्रो भोट हाल्न नजानुस् भन्ने आग्रहलाई मान्नु भयो।' आफूहरुको आग्रहलाई अटेरी गरी भोट हाल्न गए थबाङमा रक्तपात मच्चिने सम्मका चेटावनी सभासद् बुढामगरले दिएका थिए। भोट हाल्नबाट जनतालाई रोक्न गाविसका सवै वडामा आफ्ना कार्यकर्ता परिचालन गरिएको नेकपा माओवादी थबाङ गाविसका इन्चार्ज जय प्रकाश रोकामगर 'प्रताप'ले बताए । रोकामगरले भने 'सबै वडामा कार्यकर्ता परिचालन गरेर जनतालाई सम्झाउनेसँगै नाचगान पनि गर्‍यौं। हाम्रो शून्य भोटको रणनीति सफल भयो। यही नै थबाङको लागि गौरवको कुरा हो।' पञ्चायत देखि नै कम्युनिष्ट राजनीतिको एकहोरो प्रभाव परेको थबाङमा २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचन र २०५४ सालको स्थानिय निर्वाचन शून्य मतमा सीमित भएको थियो। उद्गमस्थलमा भोट हालेर थोरै मात्र भए पनि आफ्नो उपस्थिति जनाउन चाहाने एमाओवादी र जसरी पनि शून्य मत बनाउन चाहाने नेकपा माओवादी बीच थबाङमा चलेको जुहारी यसपाली पनि शून्य मतमै गएर टुङगिएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक