20131229

प्रचण्डद्वारा आफ्ना कार्यकता बिदेश गएका र देशमै हुने ले पनि मतदाता नामावली मा नाम नलेखाएकोले हारिएको दाबी !

प्रचण्ड र बाबुरामका अभिब्यक्ती हेर्दा सुन्दा लाग्छ वहाँ हरु सहि सलामत त हुनुहुन्छ ??!! 

एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना धेरै मतदाताहरु विदेश गएको बताउनुभएको छ । अन्य धेरै मतदाताले सूचीमा नामै नलेखाएको प्रचण्डको विश्लेषण छ । पेरिसडाँडामा आइतबार आयोजित केन्द्रीय समितिको बैठकमा संक्षिप्त मन्तव्य दिने क्रममा प्रचण्डले यस्तो बताउनुभएको हो । बैठकमा बोल्दै उहाँले चुनावमा पार्टी
पराजयका कारणहरु खोतल्ने क्रममा धेरै मतदाताहरु विदेश गएका र पार्टीले मतदाता सूचीमा नाम लेखाउने अभियानमा ध्यान नदिँदा धेरैले मतदान गर्न नपाएको बताउनुभयो । ‘हाम्रा धेरै भोटरहरु विदेश गए, धेरैको मतदाता सूचीमा नामै लेखिएन’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो । आमसभामा धेरै मान्छे देखिए पनि उनीहरुको मतदातासूचीमा नाम नभएकाले भोट नहालेको प्रचण्डको विश्लेषण थियो । तर, पार्टी तेस्रो भए पनि जनमतको हिसाबले अझै पहिलो भएजस्तै आफूलाई लागिरहेको उहाँले बैठकमा बताउनुभयो । ‘जनमत हेर्दा अहिले पनि हाम्रै पार्टी पहिलोजस्तो लागिरहेको छ, प्रचण्डको भनाइ उद्धृत गर्दे बैठकपछि एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने,’ भोट कम आउँदैमा पार्टी सकिइहाल्यो भन्ने होइन ।’ अध्यक्ष प्रचण्डले मिडियामा आएजस्तो नेताहरुका वीचमा विवाद र असमझदारी नरहेको केन्द्रीय सदस्यहरुलाई बि्रफिङ गर्नुभयो । निर्वाचनमा धाँधली भएकाले पार्टीले पराजय व्यहोरेको भए पनि आन्तरिक कमजोरीकै कारण धाँधली गर्ने वातावरण बनेको उहाँले बताउनुभयो । ‘धाँधली रोक्न हामीले तयारी गर्न सकेनौं’ बैठकमा प्रचण्डको भनाइ थियो ।

 'अप्रत्याशित' चुनावी हारसँगै एमाओवादीमा आन्तरिक संकट गहिरिँदै गएको छ। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा.बाबुराम भट्टराईबीचको विवाद पार्टीभित्रको बैठकमा मात्र सिमित रहेन । सामाजिक सञ्जालबाट पनि सर्वत्र छरिएको देखियो। यसको पहिलो कारण पार्टीभित्र र बाहिर पनि हारको दोष एक अर्कालाई थोपर्न खोज्नु नै हो। जब एमाओवादीको चुनावी नतिजा आफूले सोचेभन्दा विपरित आयो तब प्रचण्डले मतगणनास्थलबाट मओवादी प्रतिनिधि फिर्ता बोलाएर मतगणना स्थगित गर्ने अनी अदृश्य शक्तिले व्यापक धाँधली गरेको आरोप लगाए। र मतगणना स्थगित गर्ने माग राखे। प्रचण्डले राखेको यो माग उनीमाथि भट्टराईले पारेको दबाब नै थियो। तर धाँधली प्रमाणित गर्न सजिलो थिएन । यो आरोपले शिक्षित वर्ग र विशेषगरी भारत र पश्चिमा शक्ति चिँढिने नै भए। खास गरी अदृश्य शक्ति भनेर भारतीय अधिकारीले आफूलाई आरोपित गर्न खोजेको बुझे। यहीँ परिप्रेक्षमा भट्टराई मिडियाँसँग टाढिए र सामाजिक सञ्जालमार्फत यसको दोष प्रचण्डलाई लगाउन खोजे। प्रचण्ड पक्षधरले पनि यसको जिम्मा भट्टराईलाई नै लगाउन खोजे। दोस्रो,प्रचण्डले भट्टराई र भारतको लाइन पछ्याउदा बर्बाद भएको मौखिक सर्कुलरनै जारी गरे। अनि भट्टराई पनि के कम, उनले सामाजिक सञ्जालमार्फत एक व्यक्ति दुई पटकभन्दा बढी पार्टी नेतृत्वमा बस्न नहुने अडान सार्वजनिक गरे। यसको अर्थ थियो- चुनाव हार्नु भनेको प्रचण्ड नेतृत्व असफल हुनु हो। जब प्रचण्ड पुत्र प्रकाश र उनका निकट भनेर चिनिएका नरेन्द्रजङ पिटरलगायत बाबुराम भट्टराइविरुद्द खनिए। भट्टराईले फ्रेन्च राजनीतिक चिन्तक भोल्टायरलाई उदृत गर्दै फेसबुकबाटै त्यसको जवाफ दिए-''हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैं सक्षम छु।' संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ५४ सदस्य छन् । गरिबीले झगडा निम्त्याउँछ भनेझै प्रचण्ड भट्टराई र अर्का सदस्य नारायणकाजी श्रेष्ठबीच कसले कति सदस्य पाउने भन्ने विषयमा विवाद चुलिएको छ। खासगरी प्रचण्ड पक्षधरले प्रत्यक्षमा चुनाव जितेको अनुपातमै समानुपातिक पनि भागबण्डा हुनुपर्ने मत राखेपछि विवादले उग्र रुप लिएको हो। एमाओवादीले प्रत्यक्षमा जितेको २६ सिटमध्ये भट्टराईसहित उनका पक्षधरले ५ सिट श्रेष्ठ पक्षधरले १ र बाँकी प्रचण्ड पक्षधरले जितेका थिए। आज(आइतबार) बस्ने केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गर्नेछ। तर सजिलो छैन निर्णय लिनलाई। अर्को महत्वपूर्ण प्रश्न भनेको आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने हो। पार्टीका नेताका अनुसार प्रचण्ड नेतृत्वको माओवादी दुई तर्फबाट अतिक्रमित हुने देखिन्छ। पार्टीका जुझारु कार्यकर्ता वैद्य समूहतीर जाने खतरा देखिन्छ भने अन्य कार्यकर्ता एमालेतर्फ। एक केन्द्रीय सदस्य भन्छन्-पार्टी भित्रको एक पङ्ती कहिलै पनि सत्ताबाहिर रहेन चाहे त्यो जनयुद्द कालमा होस् या शान्ति प्रक्रियापश्चात नै । यसैगरी वैद्यले पनि यहि मौका छोपी पार्टीको सांगठनिक भेला बोलाएका छन्। उनले प्रचण्ड नेतृत्वको एमाओवादीको खस्कदो स्थिति र अन्तर पार्टी कलहबाट कसरी अधिकतम् फाइदा लिनेमा ध्यान केन्द्रीत गरेको देखिन्छ। तर, पार्टीको कार्यनैतिक प्रश्न नै एमाओवादीको लागि सबैभन्दा जटिल देखिन्छ। जातीइ संघीयताको नारा पार्टी हारको प्रमुख कारण भएको पार्टी नेतृत्वको बुझाई छ। पार्टीका वरिष्ठ नेता श्रेष्ठले यस विषयलाई 'पुनरावलोकन' र 'परिवर्तन' हुनुपर्ने अडान राखिसकेका छन्। अर्कोतर्फ एकल पहिचानका पक्षधर भट्टराई भने घुमाउरो ढंगले उग्र जातीयताको नारा पार्टीले छोड्नुपर्ने सार्वजनिक गरिसकेका छन्। जस्तो की हालै मात्र उनले आफ्नो फेसबुक मार्फत समावेसी राष्ट्रियता समावेसी लोकतन्त्र र समावेसी विकास पार्टीको प्राथमिकतामा पर्नुपर्ने कुरा राखे। 'पहिचान' भन्ने शब्द उनको प्राथमिकतामा परेन। तर, यो मुद्दा छोडेर हिँड्न पनि त्यती सहज छैन। यसबाट भएका समर्थक गुम्ने पनि उत्तिकै खतरा हुन्छ। संघियताकै प्रश्नमा कांग्रेस एमालेसँग नमिलौ उनीहरुले मिलेर संविधान बनाइदेलान् भन्ने डर मिलौ त क्रान्तिकारी एजेन्डा छुट्ने डर। एमाओवादीलाई अगाडिको बाटो जटिल छ। अब एमाओवादीलाई कार्यकर्तको सामना कसरी गर्ने भन्ने अर्को महत्वपूर्ण प्रश्न हो। पार्टीको संगाठिक भेला बोलाउ कार्यकर्ताको हप्की खाने डर नबोलाउ पार्टी संगठन विग्रने डर। यहि भएर भर्खरै मात्र उनले केन्द्रीय समिति बैठक भन्दा अघि भूतपूर्व पोलिटब्यूरोहरुको भेला डाकेका थिए। चुनावको भएके भनिएके धाँधलीबारे संसदीय छानवीन गर्ने अन्य पार्टीसँग गरिएको सम्झौताले कार्यकर्तामाझ केही राहत भने यसले दिनेछ। यसैगरी घाइते अपांग र पुराना कार्यकर्तालाई समानुपातिक सूचीमा राख्ने निर्णयले पनि उनीहरुलाई कर्ही मद्दत गर्नेछ। तर पार्टीलाई जुझारु रुपमा राख्नलाई त्यती सहज छैन। एमाओवादीमा अबको नीति भनेको' एन्टाइ-इनकम्बेनासी फ्याक्टर'लाई भजाउनु नै हो। त्यसैले एमाओवादी सरकारमा जान नहुनेमा शीर्ष नेतृत्वको मत मिलेको छ। 'तर पार्टी पछिल्लो चुनावी परिणामबाट तेस्रो स्थानमा पुगेपछि अर्को चुनावमा यो रणनीति पनि सफल हुनेमा धेरै आशा गर्ने ठाउँ छैन,' एमाओवादीका एक शीर्ष नेता भन्छन्। एमाओवादीको अबको स्थिति भनेको कांग्रेस र एमालेले खेल्ने भूमीकामा पनि निर्भर गर्नेछ।

बाबुरामलाई खुल्ला पत्र

खिमलाल पन्थी 


आदरणिय क.बाबुराम नमस्कार
कुशल रही सोही कामना गर्दछु ।
तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्ने आँट आउँदा आफैले आफैलाई प्रश्न गरेको थिएँ । के म यो पत्र लेख्न लायक छु ? मनले जबाफ दियो पक्कै पनि । फेरि तपाईंलाई नै सम्बोधन गरेर किन यो पत्र लेख्ने ? प्रश्न उब्जियो । जबाफ आत्माले दियो । किन नगर्ने पूर्व जनसरकार प्रमुखलाई , किन नगर्ने पूर्वअर्थ मन्त्रीलाई ,किन नसोध्ने पूर्वप्रधानमन्त्रीलाई?
पत्र पढ्दै गर्दा तपाईँको मनमा आउला कुनै एलिट समूह वा कुलिन घराना वा यस्तै सुकिलामुकिलाको प्रतीनिधित्व गर्नेले लेख्ने आँट गर्‍यो। तपाईंहरुले सोच्ने तेत्ती नै हो आजकाल।
ठ्याक्कै अहिले चे ग्वेभारा को एउटा भनाई याद आयो 'क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ । आडम्बर रहित बाँच।' मलाई लाज लायो चे का तिनै अनुयाईहरुको आजकालको जीवनशैली देखेर। के माओवादी आडम्बर रहित छ ? अहँ । कहिले तेस्तो देखिएन। हिजो २०६३ मा खैरो कमिजमा बालुवाटार देखिएका प्रचन्ड- बाबुरामहरु आज फेरि तेही कमिजमा रमाउन सक्छन?
उच्च बर्गको नेतृत्व गर्ने भयो अब माओवादी ।
थबाङ भुल्यो।
हजारौँको बलिदानी भुल्यो ।
बेपत्ता भुल्यो।
हिजो मकै भुटेर जङगलमा लगेर दिने आम जनतालाई भुल्यो।
युद्दमा हिड्दा बास बसेको झुपडीलाई बिर्सियो।
आज आलिशान महलमा बस्ने भयो । करोडौँको गाडीमा यात्रा गर्छ। कुरी कुरी तिम्रो सर्बहाराकारण।
पहिलो संविधानसभामा जनताको अपार बिश्वासलाई तिलान्जली दिनुभो।
जनमत को कदर गर्नुको साटो जितको उन्माद लिएर जिम्मेबारी बोध नगरि आत्मरतिमा रमाउनु भो। पहिलो गणतान्त्रिक सरकारले सिन्कोसम्म भाँचेन । हजुरको अर्थमन्त्रालयले बाहेक।
राजस्व बृद्धीमा पाएको सफलतालाई आम नागरिकले सलाम गरे कै हुन। तर, त्यहिँनिर युवा स्वरोजगार भनेर चैते माओवादीले मोटरसाइकल किन्ने स्रोतबाहेक अन्य उप्लब्धी शून्य नै रहयो ।
त्यतीबेला महङ्गीले नागरिकलाई त्राहिमाम पार्यो।
जग्गा दलालले उब्जनीयोग्य जमिन प्लटिङ गरे। चैते माओवादीले दलाली गरे , घर बनाए घडेरी जोडे । बस जनयुद्धको अर्को छलाङ देखा पर्‍यो।
अनाबस्यक रुपमा सेनापतीलाई बिबादमा ल्याएर आफ्नै साख गुमाउनु भो । जनसरोकार नै नभएको पशुपतिको पुजारी काण्डले अझै कुरी कुरी गरिरहन्छ तपाइँहरुलाई। कुनै तागतले नसकेपछी सत्ता छोड्न बाध्य हुनुपर्‍यो। 
पुन अर्कोपटक कार्यकर्तालाई भ्रम छरेर राष्ट्रियताको राग अलाप्दै सडकमा उतार्नु भो। परिणाम सबैले देखे भोगे देश झन्नै दुर्घट्ना मा फस्यो।  पछी सात्तामा जान अनेक हत्कण्डा  अपनाएर सफल हुनु भो। सबैको आशाको केन्द्र बनेको बाबुराम प्रधानमन्त्री हुँदा सबैतिर खुशीयाली छायो।
तर परिणाम मुस्ताङ म्याक्स , सेना समायोजन र काठमाडौंको सडक बढाउनेबाहेक केहि देखिएन। हो सेना समायोजन गर्न तपाईँको भूमिकालाई सबैले सम्मान गरेकै छन्। तर, ठीक अर्को पाटो इतिहासमै बिबाद रहेको बिप्पा सम्झौता गरेर तपाईँलाई लाग्दै आएको भारतप्रस्त को आरोपलाई बल पुग्ने गरी काम गर्नु भो। सबैभन्दा भ्रस्ट मन्त्रिमण्डल देखियो।
आजकाल सामाजिक सञ्जालमा तपाईँका कुराहरु दैनिकजसो आईरहेका छन्। आफ्नो नालायकीपनलाई छोप्न जतिसुकै भ्रम छर्न खोजे पनि अब सबैले बुझे तपाईँहरुको नलायकी। संम्विधानसभालाई जिवित राख्न सक्ने अवस्था हुँदाहुँदै भङग गर्नु भो। आफैंले स्वीकार गर्नुभो गल्ती भो।
एक होइन ,दुई होईन , तीन होईन कयौँ पटक चुक्नु भो। कयौँ गल्ती गर्नु भो।
आफ्नै हातमा डाडुपन्युँ थियो आफै भान्से हुनु हुन्थ्यो। चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो। तर, गर्नु भएन। गर्नु भो त केबल आफ्ना आसे पासेलाई मात्र।
पर कुनामा बसेर भान्सेले खाना दिएला र भोको पेट भरम्ला भनेर रित्तो थाल थापेर बस्नेहरु भोकै रहे उनिहरुको पालो न आउँदै पहिले नै टाठा बाठाले खाना रित्याए। जो बाठा थिए तिनैले मात्र सत्ताको स्वाद पाए। स्वाद मात्र होईन भाबी सन्ततिलाई पुग्ने गरी बँचाएर राखे अनि तपाइँहरुलाई लात हाने र सँगै भोकै बस्नेहरुले देखाई दिए अहिले चुनावमा।
तपाईं सत्तामा हुँदा कसले रोकेको थियो जनपक्षीय काम गर्न ? कसले भन्यो संविधानसभा भंग गर्न ? आफ्नो असक्षमतालाई लुकाउन अहिले किन अनेकौ बाहाना बनाउनु हुन्छ ? चुनावमा पार्टीले यतिकै हारेको होईन यावत कुराहरुले भूमिका खेलेका हुन।
धाँदली कतै भएको होइन। पार्टी हारका पछाडि तपाईँहरु कथित मुख्यालयका टाउके नै जिम्मेबार हुनुहुन्छ । अहिले लाज पचाउन नसकेर निकालेको बखेडाले झन साख गिराउँछ बन्द गर्नुहोस नखरा। युवा जसले उज्जवल भविश्यको आशामा भावि नेपालको कार्यभार सम्हाल्ने जिम्मा तपाईँहरुलाई दिन रगत बगाए। कती बेपत्ता भए । कयौँ घाइते छन् जसले उपचार अभावमा कस्टकर जीवन यापन गर्दै छन्।
ति सबैको मूल्य कहिले चुकाउनु हुन्छ ? तिनै युवा जसले युद्दको समयमा आफ्नो छातिमा गोली थापे ति युवा कतारको मरुभुमिमा रगत र पसिनासँग भोको पेट साट्दै छन्। जो सोझासाझा थिए ति सबै पलायन हुन बाध्य पार्नु भो।
जो बाठा थिए ति सबैले सताको स्वाद चाखे तपाईँहरुको चाप्लुसी गरे । सहरमा घर घडेरी जोडे। तपाईँहरु तिनैको जयजयकार मा रमाउनु भो ।
अर्को त्यस्तै बाठो युवा जसले लामो समय हजुरको सहयोगी बनेर काम गर्‍यो उसको आर्थिक अवस्था देख्दा कुनै राणा साहेवकोभन्दा कम्ता देखिन्न । हुनत हजुरको पुत्र बराबरको मान्छे तेत्ती पनि नहोस । सर्बहाराको पुत्रले बिहे गर्‍यो राजर्सि शैलीमा ।
प्रचण्डको पुत्रले ५०० किलो मासुको भतेर लाउँदा सारा अबधले कुरी कुरी गर्‍यो। एक चिम्टी सिन्दुरले आफ्नो बिहे सम्पन्न गरेको बाबुराम आफ्नो राजकुमारलाई आशिस दिन दलबल सहित अबध गयो ।
ति सबै देखेका जनताले देखाइदिए चुनाबमा राजकुमार का बा लाई तेस्रो स्थान दिएर।
अब फेरी सोध्न मन लायो कुन मुखले सर्बहाराको नेतृत्व गर्ने हैसियत राख्नु हुन्छ ? कुन मुखले साँस्कृतिक क्रान्तिको अलाप जप्नु हुन्छ ? अहिले तपाईँले चलाउन खोजेको नयाँ लोकतन्त्रको बहसले मेरा यी प्रश्नहरुको जबाफ दिने हैसियत राख्छ ? मलाई थाहा छ तपाइँ मेरो यो पत्रको जबाफ दिन उचित ठान्नु हुनेछैन । तर, याद राख्नुस यही युवा कुनै बेला भट्टराईले आन्तरिक पार्टीमा लोकतन्त्रको आवाज उठाउँदा भट्टराईलाई साथ दिएको हो।
अहो पत्र लेख्दा लेख्दै रातको एक बजेछ बिहानै पसिनासँग पैसा साट्न जानु छ।
तपाईँ र तपाईँका आसेपासेहरु सप्पै को जय होस।
लालसलाम
खिमलाल पन्थी
पन्तको ब्लगबाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक