20131223

एमाले र कांग्रेसले आफ्ना मागहरु अस्वीकार गर्दै लल्कारेपछि एमाओवादी नेताहरु भने अन्यौलमा फसे !

राजनीतिक सहमति जुटाउनका लागि सोमबार बिहान बबरमहलस्थित शान्ति कोषको सचिवालयमा वार्तामा जुटेका तीन दलका शीर्ष नेताहरु आपसमा चर्काचर्की र भनाभन गरेर उठेका छन् । बैठकबाट निस्किएर केही नेताले वार्ता सकारात्मक भएको पत्रकारहरुलाई औपचारिक प्रतिक्रिया सुनाए पनि ३ घण्टा बसेको बैठकमा एमाले र कांग्रेसका नेताहरुले चुनाव जितिसकेपछि केको शर्त ? भन्दै एमाओवादी नेतालाई हप्काएका थिए ।main-leaders
‘बैठकमा कांग्रेसका सभापति सुशील कोइराला र एमालेका केपी ओली र ईश्वर पोखरेल आक्रामक देखिए,’बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘झलनाथ खनाल, शेरबहादुर देउवा,माधव
नेपाल र रामचन्द्र पौडेल सकारात्मकजस्तो देखिए पनि ओली र कोइरालाले मान्दै मानेनन् ।”चुनाव सकिएर परिणाम आइसकेको अवस्थामा पनि के को शर्त ?’ भन्दै केपी ओलीले बैठकमा थर्काउन खोजेको सहभागी नेताले बताएका छन् ।
‘तपाईहरु समानुपातिकको सूची बुझाए बुझाउनोस्, नबुझाए नबुझाउनोस् त्यो तपाईहरुको विषय हो’ बैठकमा ओलीले एमाओवादी नेतालाई भनेको कुरा स्मरण गर्दै स्रोतले भन्यो, ‘ईश्वर पोखरेल र सुशील कोइरालाको पनि भनाइ यही थियो । सुशीलले त झन उच्चस्तरीय राजनीतिक समिति गठन गर्नै हुन्न भनेर ढीट गर्नुभयो, जसले गर्दा कुरा मिलेन ।’
प्रचण्डको जवाफ
तपाईहरुले जितेको हुनाले जे पनि गर्छौं भन्नुहुन्छ भने जे-जे मन लाग्छ त्यही गर्नोस्, हामी उठ्यौं भन्दै प्रचण्ड बैठकबाट उठेपछि विनानिश्कर्ष वार्ता भाँडिएको स्रोतले अनलाइनखबरलाई बतायो । बैठकमा प्रचण्डले १० गते आफूहरुले निर्वाचन आयोगमा समानुपातिक सभासद्को नाम नपठाउने बताउनुभएको थियो । ‘१० गते हामी सूची बुझाउँदैनौं, महिना दिनपछि बुझाए बुझाउँला, नबुझाए नबुझाउँला, तपाईहरुलाई जे मन लाग्छ, त्यही गर्नोस् ।’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
आफ्नै शर्तको खाडलमा फस्यो एमाओवादी
धाँधलीको छानविन, संविधान संशोधन र आफ्नो नेतृत्वमा उच्चस्तरीय राजनीतिक समितिको गठन नगरिए समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा नबुझाउने अडान राख्दै आएको एमाओवादी आफ्नै अडानका कारण धर्मसंकटमा फसेको छ । संविधानसभाको बहिस्कार गर्ने एमाओवादीको नीति नभएको हुनाले ऊ संविधानसभा सहभागी हुन र उपयोग गर्न चाहन्छ । तर, कांग्रेस र एमालेका नेताहरुले एमाओवादीका कुनै पनि शर्त नमान्ने स्पष्ट पारेपछि अब संविधानसभामा जाने कि नजाने भन्ने आफैंले दुविधाको खाडलमा एमाओवादी फसेको छ ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले संसदबाटै छानविन समिति बनाए पनि मान्य हुनुपर्ने र संविधान संशोधनलगायतको शर्त तेर्स्याउन नहुने पार्टीभित्र अडान राख्दै आएको भए पनि प्रचण्डलगायतका नेताहरुले उच्चस्तरीय राजनीतिक समितिको संयोजकलगायतका नयाँ शर्त तेर्स्याएपछि एमाले र कांग्रेसका नेताहरु सहमतिबाट पर भागेका हुन् ।
अब एमाओवादीले के गर्ला ?
यो प्रश्नमा स्रोत भन्छ, ‘अब पार्टीले पुस १० गते समानुपातिकको सूची बुझाउने सम्भावना छैन । तर, संविधानसभा बहिस्कार गर्ने र बाहिरै बस्ने पनि हाम्रो नीति छैन । तर, निर्वाचन आयोगमा हामी आफैंले हस्ताक्षर गरेर १० गते नामावली बुझाउने प्रतिवद्धता पनि जनाइसकेको अवस्था छ ।’ बबरमहलको वार्तामा एमाओवादीलाई तिम्रा शर्त मानिँदैन, जे गर्छौ गर भनेर हिँडेका एमाले नेताहरु सभासद छनौटका लागि बल्खुमा बैठकका लागि जुटेका छन् ।
कांग्रेसले पनि सभासद छनौटका लागि संसदीय समितिको बैठक डाकेको छ । निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने अन्तिम म्याद बुधबारसम्म तोकिएको भए पनि एमाओवादीको भने न बैठक बस्ने मिति निश्चित छ, न त सभासद् छान्ने । एमाले र कांग्रेसले आफ्ना मागहरु अस्वीकार गर्दै लल्कारेपछि एमाओवादी नेताहरु भने अन्यौलमा फसेजस्तै भएका छन् । - online khabar.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक