(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131222

काठमाडौंमा घरवाला र डेरावालाका बिषयमा नागरिकमा प्रकाशित मन छुने यो समाचार तपाईं पनि पढ्न नभुल्नुहोला

* बिहान ४ नबज्दै बागमती खोलातिर लाग्छन्। दिसा–पिसाब गर्छन्। र, अलि सफाजस्तो देखिने बागमती किनारको पानीले हातमुख धुन्छन्, दाँत माझ्छन् र एक बाल्टिन पानी बोकेर पुनः डेरा फर्किन्छन् !*
देशका सबै भागबाट एउटा–एउटा सपना बोकी असंख्य मान्छे काठमाडौँ आएका छन्। साँघुरिँदै गएको काठमाडौँमा साँघुरो कोठामा असुविधाजनक जीवन बाँचिरहेका डेरावालहरू लाखौँ छन्। घरभेटी र डेरावालको सम्बन्ध सदा द्वन्द्वग्रस्त रहिआएको छ। डेरावालको नजरमा घरभेटी काम नलाग्ने हुन्छ भने घरभेटीको नजरमा डेरावाल काम नलाग्ने! सजना बराल र अम्मर जिसीले काठमाडौँका कुना–कुना चहारेर डेरा जीवनलाई नजिकबाट नियाल्न खोजेका छन्। 
भाडा– प्रतिकोठा तीन हजार 
बत्ती– प्रतियुनिट १२ रुपैयाँ
फोहर उठाउने खर्च– मासिक ४० रुपैयाँ
पानी– आफैँले व्यवस्था गर्नुपर्ने
ट्वाइलेट र प्यासेज फोहर गर्न नपाइने
पाहुना ल्याउन नपाइने
होहल्ला गर्न नपाइने
महिना मरेको भोलिपल्टै भाडा तिर्नुपर्ने
यिनै शर्त स्विकारेर सञ्जय महतो र उनका पाँच जना साथीले काठमाडौँ, सिनामंगलको एक घरमा एउटा कोठा बहालमा लिएका छन्। बल्लतल्ल पाएको कोठा नफुत्काउने सोचमा रहेका उनीहरू बिहान ४ नबज्दै बागमती खोलातिर लाग्छन्। दिसा–पिसाब गर्छन्। र, अलि सफाजस्तो देखिने बागमती किनारको पानीले

हातमुख धुन्छन्, दाँत माझ्छन् र एक बाल्टिन पानी बोकेर पुनः डेरा फर्किन्छन्। यो उनीहरूको दैनिकी हो।
घरछेउको छाप्रे–ट्वाइलेटमा पानीको हाहाकार भएपछि उनीहरूले अँध्यारैमा बागमतीको बाटो तताउन थालेका हुन्। ‘खोलामै दिसा गर्छाैं,' २४ वर्षीय सञ्जयले भने, 'त्यहीँको पानीले दाँत माझ्छौँ। बोकेर ल्याएको पानी फिल्टरमा हाल्छौँ। र, त्यसले सागसब्जी पखाल्छौँ। कहीलेकाहीँ त्यही पानीले भात पनि पकाउनुपर्छ।' अहिलेसम्म उनले चार पटक बागमतीको पानीले भात पकाइसकेको बताए। घरभेटीलाई 'ट्युबवेल खनिदेऊ' भन्दा 'कोठा सरे हुन्छ' भन्ने जवाफ पाएपछि सञ्जयको टोलीले मर्नुभन्दा बहुलाउनु निको ठानी बागमतीको पानी प्रयोग गर्न थालेको बतायो। 'अरू कोठाका मान्छे जारको पानीले काम चलाउँछन्,' कवाडीखानामा काम गर्ने सञ्जयले भने, 'हामीसँग त चामल किन्ने पैसोसम्म हुँदैन। कहाँ पानी किन्न सक्नु?'
पानी, बिजुली बत्ती र ट्वाइलेट, उपत्यकावासीका साझा समस्या हुन्। यद्यपि, यी सुविधाका अभाव बहालवालालाई बढी छ। यी समस्या झेल्नुअघि काठमाडौँमा शरण लिन चाहनेलाई पहिलो चरणको झन्झट अर्थात् कोठा खोज्ने सास्ती झन् ठूलो छ। भनेजस्तो कोठा यहाँ बिरलै पाइन्छन्। 'बरु आमा किन्छु भन्यो भने तुरुन्तै पाइएला,' काठमाडौँ, नेपालटारका छत्रमान तामाङ भन्दै थिए, 'तर, भनेका बेला बस्नलायक कोठा पाउन मुस्किल छ काठमाडौँमा।' यो समस्या फ्ल्याट खोज्नेलाई भन्दा एउटा वा दुइटा कोठा भाडामा लिन चाहनेका लागि बढी भएको उनले बताए।
डेरा खोजिदिने पेशा
'कोठा खाली हुनुमात्रै पर्छ, बस्न आउनेको ताँती लाग्छ,' काठमाडौँ, पेप्सीकोलाकी लीलाकुमारी अधिकारीले भनिन्, 'राम्राजति कोठा टाठाबाठाले उम्काइहाल्दा रै'छन्। हामीजस्ता सोझासाझा त खोजेको–खोज्यै हुन्छौँ।' काठमाडौँमा कोठा खोज्न मुस्किल हुन थालेपछि यहाँ कोठा खोजिदिने व्यवसाय फस्टाउन थालेको छ। सांगठनिक तथा व्यक्तिगत रूपमा यो व्यवसाय चलाउनेको संख्या बढ्दो छ। विगत छ वर्षदेखि यो पेशा अँगाल्दै आएकी गीता अधिकारी अहिलेसम्म हजारौँलाई कोठा खोजिदिएको बताउँछिन्। कोठा खोजिदिएबापत एक हजार रुपैयाँ शुल्क लिने उनले दुई छोरी र एक छोरालाई निजी स्कुल र कलेजमा पढाइरहेकी छिन्। ‘व्यवसाय राम्रै छ,' उनले भनिन्, 'चिनजान बढेको छ। अहिले त दिनकै पाँच/छ जनालाई कोठा मिलाइदिनुपर्छ। दौडादौड हुन्छ मलाई।'
यही व्यवसायमा लागेर काठमाडौँमा घर ठड्याएका छन्, रामहरि नेवारले। उनले काठमाडौँ उपत्यकाभरि सेवा दिने गरेका छन्। 'एकएक घरको जानकारी राख्नुपर्छ,' उनले भने, 'जति बढी जानकारी भयो, काम गर्न उति सजिलो हुन्छ।' उनलाई बहालमा कोठा चाहिनेले मात्र होइन, घरभेटीले समेत ‘मेरो घरमा मान्छे पठाइदेऊ’ भन्ने गरेका छन्।
नयाँ बानेश्वरको शान्तिनगरमा 'अर्चना आवास तथा बसोबास सेवा केन्द्र' नामक कोठा खोजिदिने संस्था नै चलाएर बसेका छन्, अच्युत नेपाल। पछिल्लो समय एक–दुइटा कोठा अलग्गै पाउन मुस्किल पर्ने उनले बताए। 'अधिकांश घरभेटीले फ्ल्याटै भाडामा दिन चाहन्छन्,' अच्युतको अनुभव छ, 'रिङरोडभित्र विद्यार्थीलाई कोठा खोज्न अलि गाह्रो हुन्छ। साथीभाइ ल्याएर होहल्ला गर्ने, पानी र ट्वाइलेट बढी प्रयोग गर्ने र सरसफाइ नगर्ने भएकाले विद्यार्थीभन्दा स–सानो परिवारलाई नै कोठा दिन खोज्छन् साहूहरू।' उनको संस्थाले कोठा मिलाइदिएबापत एउटा कोठाको एक हजार र त्योभन्दा बढी भएमा दुई हजार शुल्क डेरावालबाट लिने गरेको छ।
डेरावालका समस्या
हप्तौँ डुलेर कोठा फेलापारिसकेपछि पनि राजधानीमा आनन्दले बस्न कहाँ पाइन्छ र? पैसा तिरेपछि पाउनुपर्ने आधारभूत सेवासुविधाको गन्धसमेत सुँघ्न पाउँदैनन्, कतिपय डेरावालले। अभावैअभावमा बाँच्न बाध्य छन् उनीहरू। कहीँ पानीको समस्या, कतै कोठा गुफाजस्ता अँध्यारो र चिसो हुने, कहीँ ट्वाइलेट नहुने, कतै सडकको होहल्लाले कानै खाने! अझ, घरभेटी पनि गनगने पर्योै भने त झन् कोठा सर्दाको सास्ती हुन्छ। घरभेटीमात्रै होइन, वल्लो–पल्लो कोठाका छिमेकीसँग तालमेल मिलेन भने पनि बहालमा बस्नेलाई समस्या आइलाग्ने गरेका छन्।
बालकुमारी बस्ने फर्निचर मिस्त्री दिपेश शर्मा ‘शुद्ध पिउने पानी’ भनिएको जार बिहानै ट्वाइलेटमा खन्याउँछन्। प्रतिजार ४५ रुपैयाँ खर्चिने उनी नुहाउन र लुगा धुन पनि जारकै पानी प्रयोग गर्छन्। ‘बजारबाट मिनरल वाटर किनेर कोही राजामहाराजाले ट्वाइलेटमा हाल्ने, लुगा धुने, नुहाउने गर्छन् होला र?’ आफूले त्यसो गर्न सकेकोमा गर्व गर्छन् उनी, 'धारोमा पानी नआएपछि यसै गर्नुपर्यो ।'
गर्मी महिनामा खासै समस्या नभए पनि जाडो याममा धाराको पानी ठ्याप्पै सुक्ने भएकाले यो बेला पानीको बिजोग हुने मनमैजु–७ की सरस्वती आचार्यले बताइन्। 'किनेर साध्यै नहुने,' उनले भनिन्, 'इनारकै पानीले नुवाइधुवाइ गर्छौं हामी त। पानी पहेँलै हुने भए पनि ननुहाई भएन। के गर्नु, साह्रै समस्या छ।' राजधानीका अधिकांश घरपरिवार ट्युबवेल तथा इनारको पानी प्रयोग गर्न बाध्य छन्।
जेजस्तो भए पनि पानीको त विकल्प छ कमसे कम। आफू बसेको घरमा ट्वाइलेट नै नहुने वा ट्वाइटेल बस्न पालो कुर्नुपर्नेहरूको हालत कस्तो होला? खोटाङकी स्थायी बासिन्दा जमुना नेपालीले शुक्रवारसँग आफ्नो दुःख यसरी साटिन्, 'कोठा रोडवारि छ, ट्वाइलेट रोडपारि। दिउँसोलाई ठीकै छ। राति चाहिँ ट्वाइलेट जान सकिँदैन। डर लाग्छ। बाटा वा प्लास्टिकको झोलामा दिशा–पिसाब गरेर बिहान ट्वाइलेटमा लगेर फाल्दिन्छौँ।'
पाँचवटा परिवारसँग ट्वाइलेट सेयर गर्दै आएका अर्जुन दाहाल अपर्झट परेका बेला 'टेन्सन' हुने बताउँछन्। 'म बस्ने फ्ल्याटमा जम्माजम्मी १५ जना छौँ,' उनले भने, 'बिहानदेखि रातिसम्मै कोही न कोही ट्वाइलेट गएकै हुन्छ। आफूलाई चाहिएका बेला कहिल्यै जान पाइँदैन। अरू बेला त च्यापेर पनि बस्न सकिन्छ। तर, पखाला लागेको बेला समस्यै हुन्छ।' उनले पनि धैरै पटक प्लास्टिक प्रयोग गरेको बताए। उनीकहाँ भएको ट्वाइलेट पाँच फुट पनि अग्लो नहुँदा नुहाउनको पनि उस्तै समस्या भएको अर्जुनले बताए। 'बसी–बसी नुहाउनुपर्छ,' उनी दिक्क छन्, 'यो काठमाडौँ त बस्न लायक ठाउँ नै होइन वास्तवमा।'
अर्थोक यस्तै–उस्तै भए पनि घरभेटी असल परिदिए त्यसैलाई आफ्नो अहोभाग्य ठान्छन् डेरावालहरू। तर, त्यस्तो अवसर पाउन पनि मुस्किल पर्ने उनीहरूको अनुभव छ। 'भाडामा बस्नेलाई त मान्छे नै ठान्दैनन्,' ठमेलका प्रेमप्रकाशले घरभेटीको पोल खोले, 'महिनैपिच्छे भाडा बढाइदिने, ठाड्ठाडै बोल्ने, ट्यांकी फुल हुँदाहुँदै पनि पानी नदिने, कौसीमा जान नदिने आदि गर्छन्। यहाँका घरभेटीलाई पैसा भए पुग्छ। अरूको समस्यासँग मतलबै छैन।'
बानेश्वर, ठूलो खरीबोटकी सानुमाया राईलाई पनि आफ्ना घरभेटीको ताल देखेर रीस उठ्छ। ‘कोठामा नयाँ खाट थप्दा ‘एक्लै बस्छौ, किन चाहियो यत्रो खाट?’ भनेर सोधे,' उनले दुखेसो पोखिन्, 'ठूलो खाट ल्याएपछि अरू मान्छे ल्याउँछे भन्ने पीर परेछ तिनलाई।' सानुमायाले कोठामा साथीभाइ, आफन्त कोही ल्याउन पाउँदिनन्। कोठाबाहिर जुता देख्यो कि घरभेटी साहुनी ढोका ढकढकाउन आइपुग्ने उनले बताइन्। काठमाडौँमा 'चप्पल गन्ने' घरभेटीदेखि आजित डेरावाल थुप्रै छन्। बढी पाहुना ल्याएर हल्ला गरेको भन्दै अघिल्लो डेराबाट निकालिएका नयाँ बसपार्क, बालाजुमा बस्ने खुसकुमार श्रेष्ठ भन्छन्, 'मान्छे भा'को ठाउँमा मान्छे आइहाल्छन् नि। मान्छे नै देख्न नसक्नेले त जंगलमा घर बनाएर बस्नू नि।'
काठमाडौँ, रिङरोडभित्रका डेरावाललाई लुगा सुकाउन पनि समस्या हुन्छ। घरभेटीले छतमा जान नदिने र वरिपरि कम्पाउन्ड पनि नहुनेहरूलाई गाह्रो पर्ने गरेको छ। 'भाउजू सुत्केरी हुँदा साह्रै समस्या भा'थ्यो,' बालाजु, बाइपासमा बस्ने अशोका डीसी भन्छिन्, 'हाम्रो कोठामा घामै लाग्दैन। छतमा जान दिँदैनन्। सानो नानीका लुगा सुकाउन, भाउजूलाई तेल लगाइदिन यहीँ (बालाजु–बाइसधारा) आउँथ्यौँ। सुत्केरी मान्छे यता र उता गर्दा भाउजूलाई कम्ता दुःख भएको होइन।'
महँगो भाडा
बानेश्वर, अनामनगर, बिजुलीबजार, थापागाउँ, बबरमहल, शान्तिनगर गेट, तीनकुने सुविधानगरदेखि कोटेश्वरसम्मका घर र फ्ल्याटको भाडा सुनिनसक्नु छ। यस क्षेत्रमा घर भएकाहरूले एउटा किचन र तीन कोठासहितको फ्ल्याटको भाडादर प्रतिमहिना कम्तीमा २५ हजार रुपैयाँ तोकेका छन्। प्रायः नेता, सभासद् बसोबास गर्ने भएकाले यी क्षेत्रका घर मालिकले भाडादर बढाएका हुन्।
ती घरमा बस्ने विद्यार्थी र सर्वसाधारण मजदुर भने मर्कामा परेका छन्। 'धनीमानीले त जति पनि भाडा तिर्लान्,' बानेश्वर क्याम्पसका विद्यार्थी अखिलेश भण्डारीले भने, 'हामीजस्ता विद्यार्थीले जति भन्यो उति भाडा दिन सक्दैनौँ।' घर, क्षेत्र र सेवासुविधाअनुरूप सरकारले भाडादर तोकिदिनुपर्ने डेरावालको माग छ।
घरभेटीका आफ्नै पिरलो
घरभेटीले आफ्ना आनीबानी र सेवासुविधामा गर्ने छुच्याइँदेखि डेरावाल जति दिक्क छन्, डेरावालका 'चर्तिकला'देखि उति नै वाक्क छन् घरभेटीहरू पनि। समयमा भाडा नतिर्ने, जाँडरक्सी खाएर होहल्ला गर्ने, सरसफाइ नगर्ने, पानी बढी चलाउनेजस्ता समस्या झेल्नुपर्छ घरभेटीले। 'बत्ती, पानीको अभाव सबैलाई छ,' नयाँ बानेश्वरका घरमालिक बुद्धिनारायण पौडेल भन्छन्, 'यसमा हामीले केही गर्ने सक्दैनौँ। रह्यो कुरा किचकिचको, त्यो त डेरावाल गतिलो परे घरभेटीले गनगन गर्नैपर्दैन। कसैकसैले अचाक्ली गर्छन् र पो।'
सानेपाका घरधनी सोमनाथ खनाल चाहिँ खाना पकाउँदा भित्ता कालो पारिदिने र झ्याल–ढोका तोडफोड गरिदिने डेरावालदेखि रुष्ट छन्। भन्छन्, 'अचेल त कोठा दिँदा एउटा सम्झौतापत्रमा साइन गराएर दिने गरेको छु। त्यसमा कोठा फोहर भए रङ लगाइदिनुपर्ने, झ्याल–ढोका फुटेकोमा बनाइदिनुपर्ने, दुई महिनासम्म भाडा नतिरे फाइन लाग्नेजस्ता शर्त छन्।' यति गरेपछि आफूले किचकिच गरिरहनुनपर्ने उनले बताए।
बहाल करमा असन्तुष्टि
कोठा भाडामा दिएबापत घरधनीले सरकारलाई कर बुझाउनुपर्छ। तर, राजधानीका अधिंकाश घरधनीले कर तिर्ने गरेका छैनन्। कालिमाटीका रिसब पनेरु ‘सरकारले हामीलाई के दिएको छ र हामीले सरकारलाई कर तिर्नुपर्ने?’ भन्दै कड्किए। ‘बत्ती, पानीको पैसा महिनैपिच्छे तिरेकै छौँ क्यारे,' उनले भने, 'पैसा तिरे पनि बत्ती बाल्न पाएको होइन। पानीका कारण झगडै पर्छ घरमा। जनतालाई सुविधा दिए पो जनताले पनि सरकारलाई हेर्छन्। यस्तो तालले त बहालकर–सहालकर केही तिरिँदैन।' कीर्तिपुरका जयराम महर्जन पनि आफूले सरकारसँग ‘गिभ एन्ड टेक’कै नीति लिएकाले बहाल कर नतिरेको बताउँछन्। उनले कीर्तिपुरका प्रायः स्थानीयले घर बहालकर नतिर्ने गरेको खुलाए। ‘यहाँका प्रायः मान्छेको अर्को आम्दानीको स्रोत छैन। बहालको पैसाले गुजारा चलाउँछन्। कर तिर्योि भने उनीहरूलाई खानै पुग्दैन,’ महर्जनले थपे।
महानगरपालिकाको कुरा
काठमाडौँ महानगरपालिका, राजस्व विभाग प्रमुख महेश काफ्ले भने अनुमान गरेभन्दा दोब्बर बहालकर उठाएकोमा फुरुङ्ङ छन्। तर, कर उठाउन सरकारले मापदण्ड नबनाएकाले अधिकांश घरमालिकले कर नतिर्ने गरेको उनले स्विकारे।
काठमाडौँ महानगरपालिकाभित्र हाल १ लाख २७ हजार घरधुरीले बहाल कर तिर्नुपर्ने अनुमान गरिए पनि करिव चार हजारले मात्र कर तिर्ने गरेका छन्। काफ्लेका अनुसार गत आर्थिक वर्षमा ३ हजार ९ सय ९० जनाले बहाल कर तिरे। काठमाडौँ महानगरपालिकाले साउनदेखि कात्तिकसम्म ३ करोड ५२ लाख ८५ हजार ७ सय ८४ रुपैयाँ घरबहाल कर प्राप्त गरेको छ।
घरमालिकले प्रत्येक वर्ष सरकारलाई राजस्व कार्यालयमार्फत बहालको १० प्रतिशत र स्थानीय निकायमा वडा कार्यालयमार्फत दुई प्रतिशत गरी १२ प्रतिशत कर तिर्नुपर्छ। कर नतिर्नेको सम्पत्ति रोक्कासम्म गर्न सक्ने महानगरले पछिल्लो पटक विभिन्न कार्यक्रम तथा योजना ल्याएर अनुगमनसँगै सबैलाई कर तिर्न आग्रह गरेको छ। आग्रहभन्दा अरू केही गर्न नसकेको महानगरपालिकाले अहिलेसम्म कर नतिर्ने कसैलाई पनि कारबाही गर्न सकेको छैन। घरबहाल सम्बन्धमा मापदण्डको अभाव भएकाले आग्रह गर्ने भन्दा अरू केही गर्न नसकेको काफ्लेको गुनासो छ। ‘कसले कति भाडा लिन पाउने? कति लिन्छ? कर तिर्छ, तिर्दैन? त्योबारे स्पष्ट हुनै गाह्रो छ। कर तिर्नुपर्छ भन्ने ज्ञान भएकाहरू तिर्छन्। तिर्न मन नलाग्नेहरू तिर्दैनन्,’ उनले भने।

डेरावालको प्रिय कीर्तिपुर
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेका सुर्खेतका सुरत बीसी कीर्तिपुर बस्छन्। अरूभन्दा भाग्यमानी छन् उनी। छेउछाउका कोठामा भाडा बढे पनि उनको भने ‘पुराना डेरावाल’ भनेर घरभेटीले कोठा भाडा बढाएनन्। एउटै घरमा अरूले दुई हजारदेखि २५ सय रुपैयाँसम्म तिरे पनि उनी भने १५ सय रुपैयाँ ‘गोजीमा भएका बेला’ दिन्छन्। ‘छ महिनाको एकमुष्ट तिरे पनि केही भन्दैनन्,' सुरतले भने, 'आफ्नै काकामामाजस्ता छन् घरभेटी।’ भाडामा बसेको अनुभूति नै हुन्न उनलाई।
कीर्तिपुरकै तनानी टोलमा बस्ने मोहन सिंह सोनामको डेरा जीवन भने कष्टपूर्ण छ। ‘घरभेटी त सोझै छन् तर पानीको दुःख छ यहाँ,' उनले भने, 'इनार खन्ने चलन छैन यता। सार्वजनिक धारोमा पानी लिन जानुपर्छ। धारो अलि टाढै भएकाले झ्याऊ भा'छ।' जसोतसो डेढ वर्ष बिताइसकेका उनी अझै चार/पाँच वर्ष कीर्तिपुरमै संघर्ष गर्ने बताउँछन्। 'अरू ठाउँमा जस्तो होहल्ला हुँदैन। कोठा पनि न्यानो खालको छ। क्याम्पस नजिकै भएकाले अन्त सर्ने सोच छैन,' उनले भने।
परिवारसहित दुई दशक काठमाडौँको डेरा जीवन बिताएका जाजरकोटका शेरबहादुर शाही अहिले कीर्तिपुर बस्छन्। उनले यो अवधिमा दर्जनभन्दा बढी घर फेरिसकेका छन्। अहिलेको बसाइबाट उनी सन्तुष्ट छन्। भन्छन्, ‘घरभेटी असल छन्। अरू कुरा पनि ठिकै छ यहाँ।’ स्नातक पढ्नेबेलादेखि काठमाडौँमा डेरामा बस्न थालेका उनले धेरै अनुभव बटुलेका छन्। 'बत्ती र पानीको समस्या जहिले पनि भोगियो। अरू ठाउँमा जस्तो चोरी र लुटपाटका घटना यहाँ हुँदैनन्,' उनले भने।
देशैभरिका विद्यार्थीले बसोबास गर्ने ठाउँ हो कीर्तिपुर। जहाँ १५ सय देखि दुई हजार रुपैयाँसम्ममा राम्रै कोठा पाइन्छ। पाँचथरका विशाल बान्तवा राई भन्छन्, 'कीर्तिपुरका घरभेटीहरू अन्तका तुलनामा असल हुन्छन्। डेरावाललाई हेप्ने, थर्काउने गर्दैनन्।'

सभासद्लाई डेरा पाउन मुस्किल
डी. विनोद
नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–२ बाट संविधानसभा निर्वाचनमा जितेका रेवती भण्डारीले काठमाडौँमा डेरा खोज्न आफन्त लगाएका छन्। संविधानसभाको बैठक बस्नुअघि नै काठमाडौँमा आफ्नो व्यवस्था मिलाइसक्नुपर्ने चटारो छ, उनलाई। तर, उनले डेरा पाउन सकेका छैनन्। भन्छन्, 'संविधानसभा बैठकका लागि काठमाडौँमा बस्नुपर्ने, तर, डेरा पाउनै मुस्किल!'
मंसिरको दोस्रो सातादेखि नयाँ बानेश्वरमा डेरा खोज्ने नेताको ताँती लाग्न थालेको छ। संविधानसभा निर्वाचनमा जितेर आएका र समानुपातिक सूचीमा नाम भई सभासद् बन्न लागेकामात्र होइनन्, तिनका नजिकका मानिसहरू पनि डेरा खोज्न सामूहिक रूपमा हिँड्न थालेका छन्। कतै भाडा दर मिल्दैन भने धेरै ठाउँमा डेरा पाउनै मुस्किल छ। डेरा खोज्ने संस्था 'अर्चना आवास तथा बसोबास सेवा केन्द्र'का सञ्चालक अच्युत नेपालका अनुुसार घरभेटीहरू सभासद् र नेतालाई कोठा भाडामा दिनै मान्दैनन्। 'नेतालाई धेरै मान्छे भेट्न आउने भएकाले पार्किङको समस्या हुने, ट्वाइलेट फोहर हुने भएकाले घरभेटीहरू नेतालाई कोठा दिन मान्दैनन्,' उनले भने।
दाङ क्षेत्र नम्बर–४ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद् बुद्धिराम भण्डारीले पनि डेराका लागि आफ्ना साथीभाइ र आफन्तलाई भनिरहेका छन्। 'काठमाडौँमा डेरा पाउन यसै गाह्रो छ, त्यसमा नेता, सभासद् भनेपछि झनै गाह्रो,' भण्डारीका सहयोगीले भने।
नयाँ बानेश्वर चोकमा रहेको संविधानसभा भवनलाई नजिक हुने गरी त्यस वरिपरि डेरा खोज्ने चटारो यति बेला धेरै सभासद्लाई परेको छ। समानुपातिकका सभासदको निर्क्याेल भइनसक्दै पनि डेरा पाउन मुस्किल भइसकेको छ। नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित सीताराम मेहताले तत्काल कलंकीमा पढ्न बसेका छोराहरूको डेरामा बस्ने सोच बनाएका छन्। काठमाडौँ आएपछि उनले बेग्लै डेरा खोज्ने बताए। तर, डेरा कहाँ खोज्ने र पाइने नपाइनेबारे उनलाई केही थाहा छैन।
डेरावाल नेता
कांग्रेसलाई आरोप लाग्ने गरेको छ– सामन्ती र पूँजीवादी सोच भएको पार्टी। २०४६ सालको राजनीतिक परिर्वतनपछिको अधिकांश समय सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप कांग्रेस नेताहरूमाथि लाग्ने गरेको छ।
कांग्रेसका केही नेतास“ग गृहजिल्लामा मनग्गे सम्पत्ति छ तर राजधानीमा ठूलो पूँजी छैन। केहीले भने राजधानीमै भएको सम्पत्ति पनि लुकाएका छन्। तर, कतिपय नेता भने पटक–पटक मन्त्री भएर पनि डेरामै बस्छन्। डेरामा बस्नेमा सभापति सुशील कोइरालादेखि कनिष्ठ केन्द्रीय सदस्यसम्म छन्।
लामो समय शक्तिमा रहे पनि सभापति कोइरालाको आफ्नो घर छैन। लामो समयदेखि उनी बुद्धनगरस्थित भाञ्जाको घरमा बस्दै आएका सुशील पछिल्ला दिनमा महाराजगञ्जतिर भाडामा सरेका छन्। उनी महिनामा ५० हजार रुपैयाँभन्दा बढी भाडा तिर्छन्। सभापति जस्तै डेरावाल हुन्, महामन्त्री कृष्णप्रसाद सिटौला पनि। सिटौला चण्डोलमा भाडाको घरमा बस्छन्। २०६२/०६३ आन्दोलनसम्म मैतीदेवी बस्दै आएका सिटौलाले पछिल्लो चार वर्षमा तीन घर फेरेका छन्। कहिलकाहीँ उनी आफ्ना डेराका समस्या सहयोगी र शुभचिन्तकलाई सुनाउने गर्छन् रे, 'भनेजस्तो घर पाइँदैन, भनेजस्तो घर भए पानी हुँदैन, पानी भए पार्किङ हुँदैन।'
सहमहामन्त्री पूर्णबहादुर खड्का पनि भाडाको घरमा नै बस्छन्। पटक–पटक मन्त्री बनेका खड्काको दुःख पनि सिटौलाको जस्तै छ। पूर्व महामन्त्रीद्वय विमलेन्द्र निधि र कुलबहादुर गुरुङका साथै भीष्म आङदम्बे, बद्री पाण्डे, कविता सरदार वातर, पार्वती डीसी चौधरी, सुजाता परियार, बाबुराम राना, मीनाक्षी झा, राजनप्रसाद पन्त, डिल्लीराज रेग्मी, फरमुल्लाह मन्सुरसहितका नेताको उपत्यकामा घर छैन। उनीहरू पनि डेरामै बस्छन्।

डेरा अनुभव

उहिलेका मनकारी घरभेटी
ध्रुवचन्द्र गौतम, उपन्यासकार
धेरै वर्ष डेरामा बसियो। पहिला वीरगञ्ज बस्थेँ। त्योबेला कोठाभाडा दश/पन्ध्र रुपैयाँ हुन्थ्यो। वीरगञ्ज बस्दा म सानै थिएँ। घरभेटी मजाका थिए। 'हाम्रोमा आउनोस्, कोठा खाली छ' भन्नेको लहर हुन्थ्यो।
२०३६ सालमा वीरगञ्ज छोडेर काठमाडौँ भित्रिएँ। त्यतिबेला मेरो उमेर १६ वर्षको थियो। सुरुमा दाइको कोठामा बसँे। दाइ आफ्ना साथीसँग न्युरोडमा बस्नुहुन्थ्यो। उहाँहरूको 'ग्याङ' मा थपिएको थिएँ म। धेरै जना बस्ने भएकाले बाथरुमको समस्या हुन्थ्यो। हामीले बिहान पालैपालो बाथरुम जाने रुटिन बनाएका थियौँ।
राति सुत्ने बेला हामी भुइँमा लहरै ओछ्यान लगाएर पल्टिन्थ्यौँ। बत्ती र पानीको पैसा तिर्नुपर्दैन थियो त्यो बेला। काठमाडौँमा कोठाभाडा महिनाको १० देखि १२ रुपैयाँ हुन्थ्यो। खानेकुरा पनि सस्तो थियो। भात–तरकारी पकाउन झ्याउ लागेको दिन हामी पैसा उठाएर घरछेउको होटेलमा खाना खान जान्थ्यौँ। चालिस रुपैयाँले पेटभरि मासुभात खान पाइन्थ्यो।
धेरै समय बसियो, दाइसँग। बिहेपछि म अलग्गिएँ। बुढाबुढी धोबीधारामा बस्न थाल्यौँ। त्यहाँका घरभेटीको अझै याद आउँछ। उनी साह्रै असल थिए। भाडा बढाउन पनि अनकनाउँथे। हामी आफैँ कुरा बुझेर भाडा तिर्थ्यौं। त्यहाँ मासिक सय रुपैयाँको दरले कोठा भाडा तिर्नुपर्थ्याे।
पारिवारिक संख्या बढ्न थालेपछि हामी धोबीधाराबाट बागबजार सर्न बाध्य भयौँ। फराकिलो कोठाको खोजीमा बागबजार पुगेका हामी झन् साँघुरो कोठामा थलियौँ। भाडा पनि महिनाको १ सय ६० रुपैयाँ। एक त महँगो भाडा, त्यसमाथि साँघुरो कोठा! घरभेटी पनि छुच्चा थिए त्यहाँका। धेरै बसिएन त्यहाँ।
बागबजारबाट हामी प्याफल सर्यौँ । कति दुई कोठामा गुजारा चलाउनु भनेर त्यहाँ चाहिँ सिंगै फ्ल्याट भाडामा लियौँ। घरभेटी रमाइलै थिए। डेरा यताउता सर्दा दुःख हुने भएकाले अलि लामै समय त्यो घरमा बस्ने सोच थियो। तर, वर्षदिन बित्न नपाउँदै घरभेटीले 'घरको मर्मत गर्नुपर्योै' भनेर हामीलाई हटाए।
त्यसपछि हामी चार/पाँच महिना बत्तीसपुतलीमा बस्यौँ। घामको मुखै देख्न नपाउने कोठा र पानीको पनि समस्या भएकाले त्यहाँ धेरै टिक्न सकिएन। पैसो जोडजाड पारेर मैले मैजुबहालमा घर बनाएँ। बीस वर्षजति त्यहीँ बसेँ। त्यो घर बेचेर मैले फेरि चुनदेवीमा घर बनाएँ। अहिले चुनदेवीमै बसेको छु।
मैले डेरा सर्ने क्रममा डेरा जीवनमै आधारित 'बालुवामाथि' र 'डापी' भन्ने उपन्यास लेखेँ। तिनले मलाई डेरा भाडा तिर्न धेरै सहयोग गरे। पहिले र अहिलेको डेरा जीवनमा आकाश–पातालको फरक छ। ऊबेला घरभेटी र डेरावालको सम्बन्ध प्रगाढ हुन्थ्यो। अहिले त आफ्नै घरमा को बस्छ, आफू कसको घरमा बसिएको छ भन्ने पनि अत्तोपत्तो हुँदैन।
प्रस्तुतिः सुकृत/Nagarik

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक