20140101

प्रचण्डविरुद्ध दुई जना वरिष्ठ नेताले मोर्चाबन्दी गरे

प्रचण्डविरुद्ध पार्टीका अर्का दुई जना वरिष्ठ नेताले मोर्चाबन्दी गरेका छन् । समानुपातिक तर्फको सभासद् छनौट गर्दा मापदण्ड मिचेको भन्दै एकीकृत माओवादीका नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्ड समक्ष लिखित असहमति राखेका छन् । असहमति पत्र बोकेर बुधबार साँझ अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा पुगेका उनीहरुले एकलौटी रुपमा गरिएको समानुपातिकको छनोट अमान्य रहेको भन्दै सच्याउन माग समेत गरेका छन् । सभासद्को सूची बनाउँदा मापदण्ड मिचेको, २० जिल्लालाई प्रतिनिधित्वविहीन बनाएको, शहिद, वेपत्ता, अपांग र त्यागी नेतालाई प्राथमिकतामा नपारेको, जनयुद्ध दवाउन भूमिका खेलेको व्यक्तिलाई छनौट गरेको भन्दै त्यसलाई सच्याउन उनीहरुले माग गरेका हुन् । विरोधपत्र बुझाउँदै बाबुराम–नारायणकाजीद्धयले यसबारे गम्भीर बन्न प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले भने सभासद छनोट मापदण्ड अनुसार नै भएको भन्दै यसमा कुनै हेरफेर हुन नसक्ने अडान लिएका थिए । ‘तपाईहरुले उठाएको यो विषयले पार्टीलाई झनै अप्ठ्यारो त पर्दैन ?’ प्रचण्डले भनेका थिए । कुनै प्राविधिक त्रुटि भएको भए सच्याउन भने तयार रहेको भन्दै पन्छिन खोजेपछि ‘टालटुले कुरा गरेर उम्कन नखोज्नुस् कामरेड’ भन्दै प्रचण्डसँग आक्रोश पोखेका थिए । अध्यक्ष प्रचण्डले बिहीबार छलफल गर्ने
आश्वासन दिएर दुवै नेताहरुलाई फिर्ता पठाएका छन् । एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले निर्वाचन आयोगमा बुझाएको सूची संसोधन नहुने बताएका छन् । पार्टीमा सँधै फरक धुव्रमा हुने बाबुराम र नारायणकाजी समूह आफ्नो स्वार्थको बेलामा भने एक हुने गरेको छ । यसअघि तीन बर्षअघि पनि प्रचण्डलाई ठीक पार्न भन्दै बाबुराम र नारायणकाजीले मोहन वैद्यसँग हात मिलाएका थिए । मंगलबार आ-आफ्नो गुटको भेला गरेका बाबुराम र नारयाणकाजी गुट बुधबार भने नजिक देखिएको छ ।
यसले एमाओवादीमा पुनः गुटबन्दी बल्झिएको छ । यसअघि एमाओवादीका शीर्ष नेतृत्वले पार्टीको विभिन्न औपचारिक कार्यक्रममा कार्यकर्तासामु गुट९ उपगुट अन्त्य गरी एकताबद्ध हुने प्रतिबद्धता जनाउँदै आएका थिए ।
यस्तो छ संयुक्त विरोधपत्र 
१. केन्द्रिय समितिले तय गरेको मापदण्ड मिचिएको ।
२. २० जिल्ला प्रतिनिधिविहीन बनाइएको ।
३. सहीद परिवार वेपत्ता परिवार, घाइते, अपांग र त्यागीहरुलाई प्राथमिकता नदिइएको ।
४. आन्दोलनमा कुनै योगदान नभएकालाई छानिएको ।
५. चुनाव अन्तरघात र निष्क्रिय बस्नेलाई समेत छनौट गरिएको ।
६. फरक मतको सम्मान नगरिएको ।

एक–अर्कालाई सिध्याउने रणनीति 
समानुपातिक सभासद् चयन प्रक्रियाले एमाओवादीभित्रको झगडा फेरी भुसको आगो सरी सल्किएको छ ।
देशका विभिन्न जिल्लामा सभासद् चयन प्रक्रियाले लिएर कार्यालयमा तालाबन्दी र आगजनी मात्र होइन, राजीनामा र आन्तरिक झडप समेत सुरु भएको छ ।
अध्यक्ष प्रचण्ड कुनै पनि हालतमा पछि नहटने अडानमा छन् भने वरिष्ठ नेता बाबुराम भट्टराईले समानुपातिकको सूची नसच्याए निर्वाचन आयोगमा उजुरी दिने चेतावनी दिइसकेका छन् । पर्सामा बुधबार भएको झडप पनि प्रचण्ड र बाबुराम पक्षधरबीच केन्द्रमा भएको दुई लाइन संघर्षकै उपज भएको नेताहरुले बताएका छन् ।
पार्टीको सांगठानिक संरचनाका बारेमा बहस भइरहेका बेला समानुपातिक सभासद् चयन प्रक्रियाले झनै ठूलो भाँडभैलो निम्त्याइदिएको छ । जसका कारण एमाओवादीमा प्रचण्ड र भट्टराईका दुई गुटले एक–अर्कालाई सिध्याउने रणनीति बनाएका छन् ।
नेतृत्व चुनाववाट छानिनु पर्ने र बढीमा दुई कार्यकाल मात्रै एउटै ब्यक्तिले नेतृत्व गर्न पाउनु पर्ने वकालत गरिरहेका बेला प्रचण्ड पक्षले चुनाववाटै बाँबुरामलाई बढार्ने रणनीति तय गरेको छ । त्यसका लागि समानुपातिक चयनपछि उत्पन्न विवादलाई व्यवस्थापन गर्न प्रचण्ड तल्लीन छन् ।
चुनावमा पराजयको दोष आफुमाथि मात्रै लगाएर दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाउने र चुनाववाट नेतृत्व चयन गर्ने प्रस्ताव भट्टराईले राखेपछि एमाओवादी अध्यक्ष प्रचण्डले बाबुरामले भने बमोजिम चुनावमा जाने र बाबुरामलाई नै बढार्ने नयाँ काइदा फेला पारेका हुन् । भर्खरै सम्पन्न एमाओवादीको केन्द्रीय कमिटी र पोलिटब्युरोका पूर्व सदस्यहरूको बैठकमा भट्टराईले संगठन निर्माणको आधार र पद्दति बदल्न प्रस्ताव राखेका थिए । जसमा एउटै ब्यक्तिले दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाउने कुरा समेटेको छ ।
पूर्वपोलिटब्युरोको बैठकमा भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठवाट समेत आफुमाथि निर्मम आलोचना भएपछि दाहालले भट्टराई र श्रेष्ठलाई ठीक पार्नेगरी सांगठनिक प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
त्यस्तो प्रस्ताव आफुवाट नल्याएर आफु निकटका केन्द्रीय नेतावाट ल्याउने दाहालको तयारी छ । उनले २६ पुसदेखि बस्ने केन्द्रीय समितिको अर्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पनि बाबुरामवाट आफुमाथि प्रहार गरिएको अस्त्र बाबुरामतिरै फर्काउने तयारी गरेका छन् । प्रचण्ड चुनाववाट नेतृत्व चयनका लागि तयार भएका छन् र चुनावमार्फत नै बाबुरामलाई बढार्ने उनको योजना रहेको छ । पार्टीको तल्लो तहमा बाबुराम र नारायणकाजी दुवैको हालत पतला छ । त्यसैले दाहाल ति तहमा पनि चुनाव गराउने पक्षमा छन् ।
प्रचण्डको लाइन अनुसार नेता जनार्दन शर्मा लगायतले चुनाववाटै नेतृत्व चयन गर्ने प्रस्ताव त अध्यक्षको पुरानो प्रस्ताव भएको वताउन थालेका छन् । प्रचण्डले माघमा पार्टीको सांगठनिक सम्मेलन गर्ने र चुनाववाट आफूलाई थप शक्तिशाली बनाउने र बाबुरामलाई बढार्ने योजना तय गरेका हुन् ।
अघिल्लो पटक हेटौंडामा सम्पन्न महाधिवेशनमा भट्टराईले आरक्षणका आधारमा नेतृत्व चयन गर्ने कुरा उठाएकाले आफुहरू चुनावमा नगएको प्रचण्ड पक्षको दावी छ । भट्टराई पक्षको रणनीति सांगठनिक सम्मेलनवाट दाहाललाई हटाउने रहेको छ । पार्टीको नीति एउटाले बनाउने र नेतृत्व अर्कैले गर्ने अवस्थामा पार्टी पराजित हुनु परेको बाबुराम पक्षले जोडदार रुपमा उठाउने भएका छन् । हेडक्वाटरका कमजोरीका रुपमा प्रचण्डलाई कमजोर बनाउन श्रेष्ठको पनि साथ लिने रणनीति बाबुरामको छ ।
चुनाव गर्दा तल्लो तहमा अझै दाहालको पकड बढ्ने र आरक्षण प्रणाली हटाउँदा भट्टराई र श्रेष्ठ पक्ष बढारिने दाहालको अनुमान छ । चुनाववाट नेतृत्व चयन गर्नु पर्ने बाबुरामहरूको माग पुरा गरेर चुनाववाटै बाबुरामहरूलाई बढार्ने प्रचण्डले नयाँ योजना आफु निकटहरूसँग बसेर बनाएका हुन् । बाबुराम र श्रेष्ठले आफुमाथि प्रहार गरेको अस्त्र झन् तिखो र धारिलो पारेर बाबुरामतिरै फर्काइदिने तयारी प्रचण्ड पक्षले गरेका छन् ।
बाबुराम र नारायणकाजी पक्षलाई तह लगाउन यसपटक प्रचण्ड पक्षले आफुवाट छुट्टिएर बनेको मोहन बैद्य समुहको नेकपा माओवादीको पनि साहारा लिने भएको छ । एमाओवादीले लिएको कार्यदिशा आफ्नो भएको तर, नेतृत्व प्रचण्डको भएका कारण चुनावमा पराजय भएको वताउँदै आएको भट्टराई पक्षलाई तह लगाउन प्रचण्ड पक्षले भट्टराईको कार्यदिशाकै कारण पार्टी फुटेको देखाउन बैद्यको साहारा लिने भएको हो ।
यदि भट्टराईको कार्यदिशा बोकेर नहिंडेको भए बैद्यहरूले पार्टी फुटाउने थिएनन् र पार्टीले यो हालतमा पराजय ब्यहोर्नु पर्ने थिएन भन्ने हल्ला सबै कमिटीसम्म पुर्‍याउने र बाबुरामहरू पराजित भएको अवस्थामा बैद्यहरूसँग पार्टी एकता हुन सक्ने सन्देश दिने दाहाल पक्षको रणनीति छ । सोही रणनीति अनुरुप दाहाल पक्षका नेता र वैद्य माओवादीका तल्लो तहका नेताहरूवीच भेटघाट पनि भएका छन् ।
माघमा विशेष सांगठनिक सम्मेलन गर्ने र त्यो सम्मेलनमा आफुले राजीनामा दिने प्रचण्डको भित्री तयारी छ । प्रचण्डले पार्टी अध्यक्षवाट राजीनामा दिएपछि सम्मेलनको बहुमतले त्यसलाई अस्वीकृत गर्ने र प्रचण्डविना पार्टीको नेतृत्व चल्न नसक्ने प्रस्ताव पारित गराएर दाहालले आफ्नो शक्ति पुनस्थापित गर्ने रणनीति अख्तियार गरेका छन् । त्यसो गर्दा प्रचण्ड थप शक्तिशाली हुनेछन् । कथंकदाचित दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नहुने प्रस्तावले हलको सेन्टिमेन्ट लियो भने प्रचण्ड पक्षको अर्को बैकल्पिक प्रस्ताव पनि हुनेछ । बैकल्पिक प्रस्तावमा प्रचण्डलाई सांगठनिक सम्मेलनले सर्बोच्च नेता घोषणा गर्ने र पार्टी अध्यक्षको जिम्मेवारी कृष्णबहादुर महरा वा पोष्टबहादुर बोगटीलाई दिने तर, बाबुरामहरूलाई परास्त गरिने बैकल्पिक तयारी उनीहरूको छ ।

समानुपातिक सभासद छनोटप्रति असन्तुष्टि जनाउँदै एकीकृत नेकपा माओवादीका प्रत्यक्ष निर्वाचित महेन्द्रबहादुर शाहीले राजीनामा दिनु भएको छ ।
केन्द्रीय सदस्य समेत रहेका शाहीसँगै जीवन बुढा, राज्य समिति सदस्य एवं वाईसीएल संगठन प्रमुख लक्ष्मीप्रसाद चौचागाई लगायत ११ जनाले पार्टीबाट राजीनामा दिनु भएको छ । ‘कर्णालीलाई उपेक्षा भो । दुर्गाबहादुर राउत जस्ता त्यागी मान्छेलाई सभासद बनाइएन’ शाहीले भन्नुभयो-’अन्याय भएकाले मैले सभासद र केन्द्रीय सदस्यबाट राजीनामा दिएको हुँ ।’
प्रचण्डलाई सम्बोधन गर्दै पार्टी कार्यालयमा बुझाइएको राजीनामा पत्रमा चुनाव अघि पार्टी अध्यक्ष प्रचण्डले कालिकोटबाट दुर्गाबहादुर राउत उज्वललाई समानुपातिक सभासद बनाउने प्रतिवद्धता जनाएपनि पूरा नभएको उल्लेख छ ।
प्रचण्डले आफ्नो प्रतिवद्धता पूरा गरेर उज्वलको मानहानी गर्नुका साथै कालिकोटे जनताको इजजतमा खेलबाड गरेको भन्दै राजीनामा पत्रमा भनिएको छ-’सुनियोजित र षड्यन्त्रमुलक ढंगले इमान्दार, संघर्षशिल, जनयुद्धका क्रममा घाइते भएमा, अपाङ्ग, सहिद परिवार, पिछडिएको क्षेत्रबाट १ नंम्बरमा सिफरिस, पार्टीले निर्धारण गरेको मापदण्डभित्र पर्ने, २०६४ को चुनावमा समेत पहिले ग्यारेन्टी गरेर पछि पाखा लगाइएका उज्वललाई स्वयंम प्रचण्डले प्रतिवद्धता पूरा जगरी व्यक्तिगत मानहानी र इज्जतप्रतिष्ठामाथि खेलवाड गर्ने काम भएको हुनाका साथै कालिकोटे जनता, पार्टी कार्यकर्ता र नेताको भावनामाथि खेलवाड गर्ने काम भउकाले सभासदसहिहत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट समाहिक राजीनामा दिएका छौं ।’
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी नेता मनरुप शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषद्को कोषाध्यक्ष रहँदा भ्रष्टाचार गरेको दावीसहित अख्तियारले मनरुपविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शाहीले समाज कल्याण परिषद् कार्य संचालन समितिको निर्णय पालना नगरी बदनियतसाथ नयाँ कार्णाली विकास केन्द्रलाई २५ लाख दिइ सार्वजनिक संस्थाबाट प्राप्त सुविधा र अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । अख्तियारले २५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन दफा ३ (१) को (च) बमोजिम सजाय माग गरेको छ ।
शाहीलाई प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्गबहादुर विश्वकर्माले नेपाल वायु सेवा निगमको कार्यकारी निर्देशक समेत बनाउनु भएको थियो ।
अख्तियारले समाज कल्याणबाट पाएको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको भन्दै नयाँ कार्णाली विकास केन्द्रका अध्यक्ष परेकबहादुर शाही, उपाध्यक्ष अंगबहादुर लामा र कोषाध्यक्ष गोपालबहादुर राउतविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले १४ लाख २३ हजार ६ सय ४६ रुपैयाँ ४७ पैसा बिगो कायम गरेको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट राजीनामा दिएर बाहिरिन एकीकृत नेकपा(माओवादी)लाई आग्रह गरेका छन्।

माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना नरहेको हुँदा पदका लागि लुछाचुँडी गर्नुभन्दा संविधानसभाबाट बाहिरिन एमाओवादीलाई सुझाव दिए।

बैद्यले, बहिस्कार गर्छौ भनेको एमाओवादीले विदेशी दबाबमा झुकेर संविधानसभामा जान लागेको आरोप समेत लगाए ।
संविधानसभा पश्चगामी र यथास्थितिवादीको हातमा गएको र अब किसान, मजदुर र उत्पीडित जाति, क्षेत्र, वर्गका जनताले आन्दोलनको तयारी गर्नुको विकल्प नरहेको अध्यक्ष वैद्यको भनाइ थियो ।

आफ्नो पार्टी वैकल्पिक र समानान्तर शक्ति भएको दावी गर्दै उहाँले राजनीतिक र शैक्षिक समस्या समाधानका लागि आन्दोलनको दिशामा अगाडि बढ्न विद्यार्थीलाई बैद्यले निर्देशन दिए। देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीचको एकता अहिलको आवश्यकता रहेकामा पनि उनले जोड दिए।

बैठकले संगठनात्मक संरचना, आन्दोलनका कार्यक्रम र सङ्गठनको राष्ट्रिय सम्मेलनलगायतका विषयमा निर्णय गर्ने अखिल (क्रान्तिकारी) का सचिव रत्न ढकालले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक