20140112

पृथ्वीनारायण शाहको सालिक ढालिएको ठाउँमा अर्को कुनै नेपाली नागरिकको सालिक राख्नुपर्यो‍ भने ती व्यक्तिबारे के हाम्रो देशका नेताहरुबीच सर्वसम्मती होला ?

सालिक ढाल्दैमा इतिहास मर्दैन !

- एकराज पाठक 


आधुनिक नेपालका प्रथम शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिक ढालिएको ठाउँमा अर्को कुनै नेपाली नागरिकको सालिक राख्नुपर्यो‍ भने ती व्यक्तिबारे के हाम्रो देशका नेताहरुबीच सर्वसम्मती होला? आफ्नै पार्टीभित्र त प्रधानमन्त्रीका लागि निर्विरोध उम्मेदवार भेट्न नसकिरहेको अहिलेको अवस्थामा यिनै दलहरूको सहमतिमा त्यस्तो सालिक राख्नुपर्ने व्यक्ति भेट्न के सम्भव होला र? यदि सम्भव छैनभने सालिक भत्काउने र भत्काउन आदेश दिनेले सोच्नुपर्छ सालिक भत्काउन भन्दा त्यस ठाउँमा सालिक राख्ने व्यक्ति भेट्न सयौँ गुणा गाह्रो काम रहेछ। नेपालमा वि सं २०६३ को लोकतान्त्रिक आन्दोलनसँगै नेपाल राष्ट्रको एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक भत्काउने अभियान नै चल्यो र कयौँ ठाउँमा भत्काइए पनि। देशकै इतिहास मेट्नेगरी गरिएको त्यस कर्मपछि आजसम्म आइपुग्दा देश गणतन्त्रमा प्रवेश गरिसकेको छ र यसले पूरै सातवर्ष पनि नाघेको छ। आज त्यही सालिक ढाल्ने अभियानको दलका नेता कार्यकर्ताहरुलाई सोध्न मन लागेको छ कि–के उनीहरूकै पार्टीका एकजना नेताको सालिक त्यही भत्काइएकै ठाउँमा राख्नुप¥यो भने उनीहरूमा सर्वसम्मती हुन सक्ला? कदापि सक्दैन। त्यसैले भत्काउन जस्तो सजिलो बनाउन हुदैन, भड्काउन जस्तो सजिलो मिलाउन हुँदैन।  बितेका सात वर्षयता पुस महिना लागेपछि एउटा अभियान नै सुरु हुने गरेको छ– राष्ट्रिय एकता दिवस मनाउनुपर्छ र पुस २७ का दिनलाई पनि पृथ्वी जयन्तीका रुपमा राष्ट्रिय बिदा दिनुपर्छ भनेर। अहिले पनि काठमाडौँमा त्यो अभियान सुरु भएको छ। एकजना उद्यमी भरत बस्नेत र नेपालको राजनीतिक इतिहासका खोजकर्ता डा. रमेश ढुङ्गेलले यो अभियानको नेतृत्व गरिरहेका छन्। नेपाल राज्यको एकीकरण गरी विभिन्न राज्य रज्यौटाका रुपमा छरिएर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँध्नेजस्तो जटिल कार्य सम्पन्न गर्ने पृथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने कामको पुनः थालनी गर्न सरकारलाई उहाँहरूले आग्रह गरिरहनुभएको छ। यो अभियानले एक कान, दुईकान मैदान गर्दै देशव्यापी स्वरुप पनि ग्रहण गरिरहेको छ। मूर्ति भञ्जनको यो अन्यापूर्ण कामका विरुद्धमा जनताको भावना बदलिँदो छ। सालिक ढाले पनि आश्था ढल्दैन भन्ने भावना नेपाली नागरिकमा जाग्रित भइरहेको छ। सालिक ढाल्दैमा इतिहास मर्दैन भन्ने वास्तविकता आजको नेपाली समाजमा पनि मूर्त रुपमा उठ्न थालेको छ। राजा ज्ञानेन्द्रले आफै प्रधानमन्त्री बनेर देशमा गरेको कुशासनको सजाय उनका कम्तीमा पनि १२ पुस्ता पुराना पूर्खालाई दिनु भनेको नेपालका निर्माता पृथ्वीनारायण शाहप्रति सबैभन्दा ठूलो अन्याय हो भन्ने निश्कर्षमा नेपाली जनता लगभग पुगिसकेको अनुभूति भएको छ। 
 
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होइनन् भन्ने इतिहास कतै भेटिँदैन। हुनत इतिहास जित्नेहरूको मात्र लेखिन्छ र हार्नेहरूका कथा पनि हराउँछन् भन्ने पनि गरिन्छ। तर हामीसँग उपलब्ध ऐतिहासिक तथ्य तथा समग्र राजनीतिक इतिहासलाई केलाउँदा नेपालको एकीकरण गर्ने पृथ्वीनाराण शाहा बाहेक अर्का कुनै व्यक्ति पनि कसैले अघि सार्न सकेको छैन। उनले नेपाल राज्यको निर्माणका लागि गरेका कामहरूको बयान लेखिएका इतिहास मात्र नभई एकीकरण युद्ध लडेका हतियार र समग्री नै हामीसँग कहिंकतै अझै संरक्षित नै छन्। यति जीवित इतिहासलाई सालिक ढालेर जबर्जस्ती मेट्न खोज्नुभन्दा मुर्खतापूर्ण कार्य अरु के हुनसक्ला। हुनत राज्य व्यवस्थाको आमूल परिवर्तनका क्रममा हुने क्रान्तिले कानुन मान्दैन। आन्दोलनको आँखा हुदैन र त्यसमा संलग्न भीडले आफु अगाडिको जस्तो वस्तुलाई पनि ध्वंस गर्नसक्छ। आन्दोलनको भीडले सही र गलत छु्याउन पनि सक्दैन र जसका कारण असल पात्र र घटनाले पनि अपमान व्यर्होनु पर्ने अवस्था आउन सक्छ। तर आन्दोलन पछिको सङ्क्रमणकालीन अवस्थामा नै सही मार्ग र वस्तुको पहिचान गर्नुपर्छ। यो अवधि संवेदनशील हुने भएकाले नै यसै समयमा राजनेताको आवश्यकताको परिकल्पना राजनीतिशास्त्रले गरेको हो। तर हामीसँग भने यस्ता राजनेता नभइदिँदा उबेलाको बेथिति अझै सम्हालिन सकेको छैन। पृथ्वीनारायण शाहको सालिक पनि त्यही हुलमुलमा फालिएको हो, ढालिएको हो। देशको कुनै राजनीतिक दलले औपचारिक रुपमा निर्णय गरेर यस्तो निर्देशन पक्कै दिएको थिएन। नत त्यसपछिको कुनै सरकारले नै नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका होइनन् भनेर नै निर्णय गरेको छ। यसरी सङ्क्रमणकालकै नाममा भएको यस अन्याय उनीप्रति अझै फिर्ता हुन सकिरहेको छैन। 
 
वास्तवमा पृथ्वीनारायण शाह उ समयका युगिन नेता थिए। बेलायती आकासमा सूर्य कहिल्यै अस्ताउँदैन भन्ने हुँकारका साथ साम्राज्यको पञ्जा बेलायतले भारतसम्म फैलाईसकेको थियो। नेपाललाई पनि भूरै टाकुरे राज्यहरूलाई मिलाएर सिङ्गो देश नेपाल नबनाएको भए ती कयौँ सानातिना राज्यहरु पराधिनताको चक्रमा परिसक्थे होला। त्यसैले त्यस समयमा पृथ्वीनारायण शाहले एक स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा रहनसक्ने नेपालको निर्णय गरेर नेपाली जनतालाई कहिल्यै विदेशीसामु शिर झुकाउनबाट बचाएका छन्। हुनत ती सालिक ढाल्ने बेलामा उनलाई केन्द्रीय राज्य व्यवस्थाका हिमायती भनिन्थ्यो। उनले नेपाललाई भौतिक एवम् भौगोलिक रुपमा एकीकरण गरेको र सबै नेपालीलाई भावनात्मक रुपमा जोड्न नसकेको पनि आरोप लगाइएको थियो। तर पृथ्वीनारायण शाहले नेपाल सबै जातको साझा फूलबारी हो भनेर दिएको अभिव्यक्तिले यी पछिल्ला आरोपहरुलाई कदापि स्वीकार्दैन। त्यसैगरी उनले एकीकरणको अभियानमा साथ लिएका बिराज बखेती, बिसे नगर्ची र यस्तै यस्तै विभिन्न जातजाती र सम्प्रदायका व्यक्तिबाट पनि के थाहा हुन्छ भने उनी हाल अमूर्त रुपमा नाम लिने गरिएको समावेशी राज्य व्यवस्था भन्दा पनि धेरै समावेशी थिए। तर त्यस समयमा उनले गरेको योगदानकै कारण हामी आज नेपाली भएर शिर उँचो राखेर हिँड्नसक्ने भएका छौ । उनले दक्षिण तर्फको बादशाह बडा चतुर भएकाले उसबाट नेपाल राज्यलाई बचाउनुपर्छ भनेर दिने गरेका अभिव्यक्तिबाट पनि उनको राष्ट्रियताप्रतिको भाव प्रष्टै झल्किन्छ।
 
पृथ्वीनारायण शाहले दिएका कयौँ उपदेशहरू नेपालजस्तो देशको राजनीतिमा कहिल्यै पनि असान्दर्भिक र पुराना हुदैनन्। नेपाल दुई ढुङ्गाबीचको तरुल हो भनेर आजभन्दा साढे दुईसय वर्षअघि गरेको भविष्यवाणी आज झन अर्थपूर्ण र सान्दर्भिक छ। नेपाल त्यस यतादेखि नै उत्तर र दक्षिणका दुईवटा निकै ठूला ढुङ्गाको चेपुवामा छ। खेतीयोग्य जमिनमा बस्ती नबसाल्नु र खाली भएका ठाउँमा घर छन् भने बस्ती अन्यत्रै सारेर खानी सञ्चालन गर्नु भन्नेजस्ता त्यस समयकै दुरदर्शी यी उद्गारले नेपालको आर्थिक विकासका लागि धेरै महत्वपूर्ण सुझाव दिएका छन्। तर यतिखेर हाम्रा धान झुल्ने खेतका फाँटहरूलाई घडेरीका रुपमा चिरा पारेर त्यसै छोडेका छौँ। खेती नै नेपालको मुख्य आधार हो भने उनको उपदेशलाई ग्रहण गरेर कृषिमा लगानी र लगाव नबढाउने हो भने हाम्रो उन्नती पक्कै छैन। त्यसैले यी र यस्ता अनगिन्ती उपदेशलाई अङ्गिकार गरेर हिँड्नुको सट्टा हामी उल्टै पृथ्वीनारायण शाहकै सालिक भत्काउँदैछौ। उनको अपमानमा नै राष्ट्रियता र बहादुरी देखिरहेका छौँ।
 
नेपाल आफ्नै प्राचिन इतिहास र मौलिकता नभएको देश कदापि होइन। प्राचिन इतिहास रहेका विश्वका ८/१० वटा देशमा नेपालको पनि गरिमामय उपस्थिति रहन्छ। यस्तो इतिहाससँग शासन व्यवस्था पनि पक्का जोडिन्छ। यस्तो व्यवस्थामा राजा आउँछन् जान्छन्। शासकहरू आउँछन् जान्छन्, कुनै राजनीतिक व्यवस्थाका वंशज पनि आउँछन् जान्छन्। तर तिनले छाडेर गएका राम्रा र नराम्रा कामहरू भने त्यस देशसँग इतिहासका पानामा सुरक्षित नै रहन्छन्। तर ती राम्रा काम र संस्कृतिलाई त्यसपछि आउने पुस्ताले इमान्दारिताका साथ संरक्षण गरिदिनु पर्दछ। अन्यथा असल काम गर्नेहरूप्रति अन्याय हुनेछ। भोलिको पुस्ताले इतिहासबाट केही प्रेरणा पनि पाउने छैन। झन पृथ्वीनारायण शाह त नेपाल निर्माण गर्ने जगको ढुङ्गो नै हुन्। जगको ढुङ्गोले बहन गर्नुपर्ने गारोको भार उनैले बहन गरेका हुन्। कुनै पनि घर वा त्यसको संरचनालाई जोगाई राख्न जगको ढुङ्गाको कतिधेरै महत्व हुन्छ? अब हामीले त्यो जगको  ढुङगालाई झन बलियो पार्ने कि हल्लाउने हाम्रै हातमा छ। तर जगको ढुङ्गो हल्लाउँदा घरै भत्किनसक्छ भन्ने वास्तविकतालाई भने हामी कसैले पनि नबिर्सिउँ। त्यसैले पुस २७ गतेलाई यसअघि जस्तै पृथ्वी जयन्ती मात्र नभई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने परम्पराको पुनः थालनी गरेर पृथ्वीनाराण शाहप्रति न्याय गरौँ। हामीले एकता दिवस नै मनाउन मान्दैनौ भने हामी नेपालीबीच एकता पनि कसरी कायम होला र? यो मुलुक पृथ्वीनारायण शाहले साना दुःखले आर्जेका होइनन, सबैलाई चेतना भया। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक