20140112

राजनीति किन बिग्रियो ? नेताहरुको अयोग्यताका कारण ।

यो सम्झनुहोस्, जुन दिन लोकसेवाको लाइन घट्छ, त्यो दिन पासपोर्टको लाइन घट्छ, पुलिस रिपोर्टको लाइन घट्छ र विमानस्थलमा लाइन आफै घट्छ 


 -मधुसूदन पौडेल

पुस २५ मा पत्रकार मित्र सुदर्शन सापकोटाले फेसबुकमा स्टाटस लेखे, ‘आज चार ठाउँको युवा लाइन हेरेर आइयो । पासपोर्ट लिने, लोकसेवाको फारम बुझाउने, पुलिस रिपोर्ट बुझाउने र विदेश उड्ने ।’ २० शब्दमा उनले लेखेको यो स्टाटसले नै नेपालको राजनीति, अर्थतन्त्र र समाजको मार्मिक चित्रण गरेको छ । काठमाडौंको चारैतिर अहिले देखिने यो लाईन जब छोट्टिदै जानेछ, बुझ्नुपर्छ देशको राजनीति ठीक दिशामा अगाडि बढ्ने छाटकाँट शुरु भएछ । अर्थतन्त्रमा सुधारको आशा पलाएछ र, नेपाली समाजको दुःख कम हुन थालेछ । तर युवाहरुको यो लाईन कहिले छोटो होला ? अब बन्ने सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले के यसको जवाफ देलान् । यो प्रश्नको जवाफ दिएर सत्ता सम्हाल्ने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको खाँचो हो । हो, पक्कै पनि रातारात राजनीति र अर्थतन्त्रमा सुधार ल्याउन सम्भव नहोला । तर, सुधारका लागि प्रधानमन्त्री प्रतिवद्ध रहने हो भने परिस्थितीमा चमत्कारिक सुधार ल्याउन सकिन्छ भन्ने उदारहण नेपालको छिमेकी भारतीय राज्य विहारका मुख्यमन्त्री नितिश कुमारले दिईसकेका छन् ।
कोरिया जाने सपना:  भाषा परीक्षा दिन लागेको नेपाली युवाको लाइन
चार ठाउँमा लागेको युवा लाईनको एउटै अर्थ हो, देशमा रोजगारीका अवसर छैनन् । रोजगारीका अवसर किन सृजना भएनन् ? अर्थतन्त्र गतिहिन भएका कारण । अनि अर्थतन्त्र किन गतिहिन भयो ? राजनीतिक अवस्था

राम्रो नभएका कारण । राजनीति किन बिग्रियो ? नेताहरुको अयोग्यताका कारण । समस्याको आखिरी चुरो राजनीतिक नेताहरुमा पुगेर टुंगिन्छ । के यो अंकगणितको हिसावलाई कुनै राजनीतिक दलका नेताले अर्को सुत्र प्रयोग गरि समाधान गर्ने हिम्मत राख्छन् ? मलाई लाग्छ, उनीहरुमध्ये कसैले पनि यो हिसाब अर्को तरिकाबाट हल गर्न सक्नेछैनन् । उत्तर त्यहि नै हो, नेताहरु असक्षम भएका कारण नेपाली युवाले दुःख पाए ।
प्रत्येक बर्ष नेपाली श्रम बजारमा चार लाख युवा प्रवेश गरिरहेका छन् । तर, रोजगारी सृजनाको हिसाव हेर्ने हो भने केही हजारमा पुगेर टुंगिन्छ । अनि बाँकी युवा पासपोर्ट बनाउन परराष्ट्र मन्त्रालय अगाडिको खुला सडकमा लाईन लाग्नुको विकल्प रहँदैन । उनीहरु खाडी, मलेसियाका लागि आवस्यक सस्तो कामादरको माग पूर्ति गरिदिन काठमाडौंमा पासपोर्ट बनाउने, पुलिस रिपोर्ट बुझाउने र एयरपोर्टमा लाईन भरिरहेका छन् । देशभित्र अलि पैसावालका छोराछोरी हौं भन्नेहरु पनि त्यसैगरि लाईनमा छन्, पढ्ने बहानामा अमेरिका र युरोपको वैदेशिक रोजगारीमा जान । प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय युवाले देश छोडिरहेका छन् । मलेसिया र खाडी मुलुकमा जाने युवा दुई÷चार बर्षमा फर्किन्छन् तर अमेरिका युरोप हानिने सायद अब नागरिकता परिवर्तन गरेपछि मात्रै देशमा पाईलो टेक्लान् ।
के युवा विहिन देशले आर्थिक समृद्धि हासिल गर्न सम्भव छ ? सायद योभन्दा मुर्ख प्रश्न केही हुन सक्दैन । देश विकासका लागि सबैभन्दा ठूलो सम्पत्ती युवा जनशक्ति हो । सन् १९७० पछि उदाएका ‘एसियन टाईगर’ हुन् वा खाडीको मरुभुमिमा लहराएको आर्थिक समृद्धि । ती मुलुकको विकासका लागि आखिरमा यति धेरै युवाहरु आवश्यक भईरहेको छ कि सोही कारण प्रत्येक दिन १२ सय नेपाली युवा त्यता लागिरहेका छन् । भारत, बंगलादेश, फिलिपिन्स लगायतका देशबाट यसैगरी यी विकासोन्मुक मुलुकतर्फ युवा गईरहेका छन् । त्यसैले यदि नेपाल पनि न्युनतम आर्थिक विकासको गतिमा अगाडि बढ्ने हो भने हाम्रा युवालाई स्वेदशमै रोक्न सक्नुपर्छ । उनीहरुलाई कामका अवसर उपलब्ध गराउनुपर्छ । युवा जनशक्ति नेपालका लागि बोझ होईन, आर्थिक विकासको यात्रा अगाडि बढाउन चाहिने अत्यन्तै ठूलो साधन हो । 
केही विद्वान र राजनीतिज्ञहरु दावी गरिरहन्छन्, रेमिटयान्स नै हाम्रो अर्थतन्त्रको आधार हो । तर, रेमिट्यान्स नेपाली अर्थतन्त्रका लागि भ्रम बाहेक केही होइन । हो, आजको गर्जो टार्न नेपाली युवाले खाडीका मरुभूमिमा छाती फुटाएर कमाएको दिनार काम लागेको छ । तर, के नेपाली दाजुभाईले यसैगरि खाडीका मरुभुमिमा भेडा चराएर देशमा पठाएको रेमिटयान्सको बार्षिक बजेट बनाएर देश चलाउन सम्भव छ ? अब धेरै दिन रेमिटयान्स अर्थतन्त्र चलाएर सत्तामा बस्न पाउने दिन बाँकी छैनन् । नेपाली युवाका लागि देशभित्रै रोजगारीका अवसर सृजना गरिदिनका लागि चाल्नु पर्ने कदमतर्फ नयाँ प्रधानमन्त्रीले बिशेष होसियारी पु¥याउनुपर्छ । अन्यथा उनको सरकारको अल्पायुको कारण यिनै युवा बन्नसक्छन् । किनभने राजनीतिज्ञ असक्षम भएकै कारण विदेशी भुमिमा नेपाली युवाले पोख्नु परेको रगत र पसिनाको हिसाब आखिर एक दिन नेताले चुकाउनुपर्नेछ ।  
दोस्रो संविधानसभा निर्वाचनमा जनतासँग भोट माग्दा शुसिल कोईराला, झलनाथ खनाल, पुष्पकमल दाहाल, डा. रामशरण महत, सुरेन्द्र पाण्डे र डा. बाबुराम भट्टराईले देशभित्र बार्षिक तीनलाख रोजगारी सृजना गर्छु भनेर बाचा गरेका छन् । चुनावमा जनतासँग गरिएको बाचा आखिर उहिले उहिलेका चुनावमा गरिने गफ जस्तै फोस्रा आश्वासन सावित गराउन अब पनि संभव छ ? जनतालाई अब छल्नु सम्भव छैन भन्ने लाग्छ भने उनीहरुले यो प्रतिवद्धता पुरा गर्नुपर्छ । 
हो, नेताहरुले जतिसुकै गफ दिएपनि यहि बर्ष वा अर्को बर्षभित्रै बार्षिक तीन लाख रोजगारी सृजना गर्न सम्भव हुनेछैन । तर, पहिलो बर्ष थप ५० हजार, दोस्रो बर्ष ७५ हजार र तेस्रो बर्ष एक लाखका दरले रोजगारी बृद्धि गर्ने आर्थिक विकासको मार्गचित्रका साथ सरकार अघि बढे्न भने दलका झुठलाई जनताले माफी दिनेछन् । र, युवाहरुले सकारात्मक कदमका लागि अर्को केही बर्ष धैर्य गर्नेछन् । तर, जनतासँग गरेका प्रतिवद्धता सबै झुठमा परिणत भए भने बुझे हुन्छ, सत्ताको महलमा पासपोर्ट बनाउन रातभर जागराम बस्नुपर्ने युवाले पक्कै पनि ढुंगा हान्नेछन् । र, सत्ता सुख खोसिन पनि सक्छ ।
कोरिया जाने सपना:  भाषा परीक्षा दिन लागेको नेपाली युवाको लाइन

रोजगारी सृजना गर्न त्यति गाह्रो पनि छैन । दलहरुले सार्वजनिक गरेका आफ्ना घोषणापत्र प्रति इमान्दारीता मात्रै देखाउन सके पनि धेरैहदसम्म सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । योजनाको कुनै कमि छैन । आर्थिक विकासका लागि चाल्नुपर्ने कदमका बारेमा पनि दलगत विभेद छैन । आवस्यकता, इमान्दारीताको र कर्मचारीतन्त्रलाई नियन्त्रणमा राख्न सक्ने क्षमताको हो । नेपालमा लगानी गर्न चाहने बाह्य र आन्तरिक लगानीकर्तालाई अवरोध नगरेमात्रै पनि नेपालमा विकासको नयाँ अध्याय शुरु हुने अवस्था छ । दलहरुले देशभित्र ठूला पुर्वाधारमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई सहज वातावरण बनाईदिने साझा बाचा गरिसकेका छन् । 
विकासका केही योजनाहरु जस्तै माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती लगायतका जलविद्युत् आयोजनाहरु, फास्ट ट्रयाक जस्ता द्रुत गतिका सडक कार्यान्वयनमा ल्याउनु युवामा उत्साह जगाउने आधार बन्नेछ । नेपालजस्तो सुन्दर मुलुकमा बार्षिक १० लाख पर्यटक ल्याउन सकिएको छैन । कम्तिमा बार्षिक २० लाख पर्यटक ल्याउने योजना कार्यान्वयन मात्रै गर्न सके यहाँ लाखौको संख्यामा थप रोजगारी सृजना हुन्छ । अहिले पाईपलाईनमा रहेका आयोजना कार्यान्वयनमा जाँदाको दिनमा मात्रै पनि नेपाली युवाको लाईन सबैतिर कमसेकम आधाले छोटिनेछ । सामान्य सुधारबाट धेरै उपलब्धि हाँसिल गर्न सकिने अवसर प्रशस्त छन् ।
निजि क्षेत्रमा आकर्षक रोजगारीका अवसर सृजना नभएकै कारण लोकसेवा आयोगमा युवाको लाईन लम्बिदै गएको हो । अहिले नै पनि नेपालका केही राम्रा नीजि कम्पनीमा जागिर पाएका युवा सरकारी जागिरको पछि लाग्दैनन् । अझ भनौं यस्ता प्रतिस्पर्धी क्षमता भएका युवा सरकारी जागिर छोडेर निजी कम्पनीमा प्रवेश गर्न रुचाउँछन् । निजि क्षेत्रमा आकर्षक तलब र सुविधा पाउने वित्तिकै सरकारी जागिरको हैसियत त्यसै खुईलिएर जानेछ । हजुरबुवाले पेन्सनका लागि सरकारी जागिर खाएका थिए भनेर नाती पनि त्यतै लाग्ने जमाना त्यतिवेला रहनेछैन । तर, यसका लागि नेपालमा एक पटक कम्तिमा पनि लगानीको खोलो बग्ने वातावरण बनाउनैपर्छ । 
न्युन तलब, न्युन अन्य सुविधा भए पनि घुस खाने प्रशस्त अवसरका कारण सरकारी जागिरको आकर्षण बाँकी रहेको हो । तर, जुन दिन सरकारी अड्डामा घुस खान नपाउने दिन आउँछ, त्यो दिन लोकसेवा आयोगको भीड घटेर जानेछ । अहिले अन्यत्र न्युन अवसर रहेका कारण सरकारले उपलब्ध गराउने केही सिमित रोजगारीका लागि लोकसेवामा युवा लाइन लागेका हुन् । यो सम्झनुहोस्, जुन दिन लोकसेवाको लाइन घट्छ, त्यो दिन पासपोर्टको लाइन घट्छ, पुलिस रिपोर्टको लाइन घट्छ र विमानस्थलमा लाइन आफै घट्छ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक