20140201

न्यायका लागि आमरण अनशन बसेको एकसय दिनसम्म पनि न्यायको अनुभूति नपाउनु यो भन्दा अर्को विडम्बना के हुन सक्ला ?

“उहाँहरुको स्वास्थ्य अवस्था जटिल हुँदै गइरहेको छ । अक्सिजन, स्लाइनले मात्र जीवन बचाइरहेको छ ।”
nandalal-gangamaya
न्यायका लागि आमरण अनशन बसेको एकसय दिनसम्म पनि न्यायको अनुभूति नपाउनु योभन्दा अर्को विडम्बना के हुन सक्ला ? न्यायका लागि भन्दै अधिकारी दम्पतीले पछिल्लोपटक सुरु गर्नुभएको अनशन आज एक सय दिन पुगेको छ । अहिले उहाँहरु वीर अस्पतालमा नै अनशनमा छन् । अक्सिजन, स्लाइनले
मात्र ती दम्पतीको श्वासप्रश्वासलाई जीवन्तता दिइराखेको छ । ती दुई तत्वलाई झिकिदिने हो भने उनीहरुको अवस्था जटिल हुने चिकित्सकहरुले बताएका छन् । अस्पतालका निर्देशक प्रा डा बुलन्द थापाले भने, “उहाँहरुको स्वास्थ्य अवस्था जटिल हुँदै गइरहेको छ । अक्सिजन, स्लाइनले मात्र जीवन बचाइरहेको छ ।”
 गोरखा फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने एकसूत्रीय माग राख्दै पटकपटक अनशन बस्दै आएका छन् । पछिल्लोपटक अधिकारी दम्पती कात्तिक ८ गतेदेखि अनशन बस्न सुरु गरेका हुन् । यसअघि पनि अधिकारी दम्पती अस्पतालको आकस्मिक कक्षमा अनशनमा बसेका थिए । सर्वाेच्च अदालतले अधिकारी दम्पतीको मागलाई सम्बोधन गर्न र खाना खुवाई जीवन रक्षा गर्न सरकारलाई आदेशसमेत दिएको थियो । सरकारले हत्याका आरोपितलाई पक्राउ गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुले ४८ दिनपछि सो समयमा अनशन अन्त्य गरेका थिए ।
तर हत्याका आरोपितलाई कानुनी दायरामा नल्याएपछि उनीहरु पुनः अनशनमा बसेका हुन् । “मैले छोराको हत्यारालाई किटानी जाहेरीका साथ २०६१ जेठ २४ गते नै प्रहरीसमक्ष निवेदन दिएको थिएँ । तर प्रहरी र सरकारले हत्यारालाई किन पक्रँदैन ? किन मैले न्याय पाइनँ, न्याय पाइन्छ कि भनेर बूढाबूढी अनशन बसेका हौँ” नन्दप्रसादले भने ।
अधिकारी दम्पतीको शरीर यतिखेर दुब्लाएको छ । शरीरमा अन्नको चारो नपरेको त एकसय दिन पुग्यो नै । पानी पनि नपिएको त्यति नै दिन पुगिसकेको छ । यसबीचमा उनीहरुका मागलाई सम्बोधन गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र गृह सचिव जनार्दन नेपाल अनशन स्थलमा चारपटक पुगिसकेका छन् । ।
 वीर अस्पतालका निर्देशक प्रा डा थापा त दिनमा दुईपटकसम्म अधिकारी दम्पतीको स्वास्थ्य अवस्था बुझ्न शैयामा नै पुगिरहेका छन् । तर उनीहरुका प्रयासले हालसम्म सार्थकता पाएको छैन । किन त ? सचिव बास्कोटा भन्छन्, “कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ, यस घटनाको अनुसन्धानमा सरकार संवेदनशील छ ।”
अर्कोतर्फ राष्ट्रिय मानव अधिकार आयोगले समेत अधिकारी दम्पतीको जीवन रक्षाका लागि पटकपटक सरकारको ध्यानाकर्षणसमेत गराइसकेको छ । यसैबीच अधिकारी दम्पतीले सुरु गर्नुभएको अनशन एकसय दिन पुगेको दिन विभिन्न मानव अधिकारवादी संघ संगठनले उहाँहरुको जीवन रक्षाका लागि आज प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् ।-  रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक