20140210

दुई तिहाइ मतका साथ ७४ बर्सिय अविवाहित सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित, कोइरालाको पक्षमा ४ सय ५ मत खसेको छ भने विपक्षमा १ सय ४५ मत !

सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गरेलगतै नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद, प्रचण्डले सरकार गठनका विषयमा कांग्रेस र एमालेवीच भएको ७ बुँदे सहमति असंवैधानिक भएको प्रतिक्रिया दिए, कमल थापाले कांग्रेस सभापति सुशील कोइरालालाई ‘विचरा’को संज्ञा दिए, एमालेले सहमतिबाट पछि हेट सरकारमा नजाने चेतावनी !
नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी मुलुकको ३७ औं र गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री हुन् । ७५ वर्षीय कोइराला अविवाहित छन् । व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा कोइराला ४ सय ५ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कोइरालालाई कांग्रेससँगै एमाले, राप्रपा, मालेसहितका दलहरुले मत दिएका छन् । सातबुँदे सहमतिसँगै
एमाले नेता केपी शर्मा ओलीको समर्थनमा कोइराला उम्मेदवार बनेका थिए । संसदमा ५ सय ५३ सभासद उपस्थित भएकोमा १ सय ४८ ले भने विपक्षमा मतदान दिएका छन् । एकीकृत नेकपा माओवादी राप्रपा नेपालसँगै मधेसी दलहरु विपक्षमा छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाले एक वर्षभित्र संविधान निर्माण गर्न प्रतिवद्ध रहेको बताए । उनले शान्ति, स्थायीत्व, लोकतन्त्र र विकासका लागि काम गर्ने समेत बताए । यसअघि प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले आफ्नो १२ प्राथमिकता सार्वजनिक गरेका थिए । जसमा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने वातावरण बनाउने बताएका छन् । विधिको शासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको प्रतिवद्धता छ । सपथ मंगलबार मात्र यसैबीच नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले मंगलबारमात्र सपथ लिने भएका छन् । कोइरालाले मंगलबार दिउँसो राष्ट्रपति रामवरण यादबबाट शीतल निवासमा सपथ लिने भएका हुन् ।

सभापति सुशील कोइराला दुई तिहाइ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदमा सोमबार भएको निर्वाचनमा कोइरालाको पक्षमा ४ सय ५ मत खसेको छ भने विपक्षमा १ सय ४५ मत मात्र खसेको छ । मत कोइरालाको पक्षमा दुई तिहाइ खसेपनि संविधानसभामा रहेका संविधासभामा रहेका ३० मध्ये १६ दल मात्र कोइरालाको पक्षमा छन् । दुई स्वतन्त्र सभासदले पनि कोइरालालाई मतदान गरेका छन् । विपक्षमा एमाओवादी, राप्रपा नेपालसहितका १४ दल छन् । कोइरालाको पक्षमा रहेका दल र मतसंख्या १.नेपाली कांग्रेस- १९४ २. नेकपा एमाले- १७३ ३. राप्रपा-१२ (सभामुखले भोट हाल्न पाउँदैनन) ४. नेकपा माले- ५ ५. राष्ट्रिय जनमोर्चा -३ ६. नेकपा संयुक्त- ३ ७. परिवार दल- २ ८. दलित जनजाति पार्टी-२ . थरुहट तराई पार्टी-२ ९. समाजवादी जनता पार्टी- १ १०. मधेस समता पार्टी १ ११. संघीय सदभावना पार्टी १ १२. अखण्ड नेपाल १ १३. संलोराम (थरुहट) १ १४. जनता दल १ १५. जनजागरण पार्टी १ १६. स्वतन्त्र सभासद २ विपक्षमा उभिएका दल र मतसंख्या १. एनेकपा माओवादी -८० २. राप्रपा नेपाल-२४ ३. फोरम लोकतान्त्रिक- १४ ४. तमलोपा-११ ५. फोरम नेपाल- १० ६. सदभावना पार्टी- ६ ७. संघीय समाजवादी पार्टी- ५ ८. नेमकिपा ४ ९. राष्ट्रिय मधेस समाजवादी पार्टी-३ १०. तमसपा नेपाल-३ ११. राष्ट्रिय जनमुक्ति पार्टी- २ १२. फोरम गणतान्त्रिक १ १३. नेपाः पार्टी १ १४. खम्बुवान राष्ट्रिय मोर्चा १

सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गरेलगतै नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भएको छ । पार्टीभित्रैबाट चर्को विरोध भएपछि कांग्रेसका वार्ताकारहरुले गृह दिन नसक्ने जनाउ दिएका छन् भने एमालेले सहमतिबाट पछि हेट सरकारमा नजाने चेतावनी दिएको छ । मन्त्रालय बाँडफाडबारे कांग्रेस र एमाले वार्ता टोलीबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन । ‘कांग्रेस हिजोको सहमतिबाट पछि हटेको निष्कर्ष नजिक पुगेका छौं’ एमाले वार्ता टोली सदस्य एवं सचिव विष्णु पौडेलले भने-’कांग्रेस गृह मन्त्रालय दिन तयार भएन भने हामी सरकारमा जाँदैनौं ।’ यसअघि कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्दै गर्दा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले ‘खोलो तर्‍यो, लौरो बिर्सियो‘ नगर्न चेतावनी दिएका थिए । कांग्रेसको वार्ता टोलीले गृह मन्त्रालय दिन सक्ने बताएपछि संस्थापन पक्षकै नेताहरुले चर्को विरोध गरेका छन् । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएर संसदबाट बाहिर आउन नपाई विवाद सुरु भएको थियो । उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरुले कोसँग छलफल गरेर एमालेलाई गृह मन्त्रालय दिने सहमति गरेको भन्दै आपत्ति जनाएका थिए । पार्टीभित्रैबाट चर्को विरोध भए एमाले वार्ताकारहरुले एमालेलाई गृह बाहेकको मन्त्रालय रोज्न आग्रह गरेका छन् । कोइराना निकट मानिएका केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने-’गृह मन्त्रालय दिने कुरै आउँदैन । गृह र अर्थबाहेकका मन्त्रालय दिने भनेका छौं ।’


एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सरकार गठनका विषयमा कांग्रेस र एमालेवीच भएको ७ बुँदे सहमति असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
व्यवस्थापिका संसदको बैठकले कोइरालालाई मुलुकको ३७ औँ प्रधानमन्त्रीमा चयन गरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सरकार गठनका विषयमा दुई दलवीच भएको सहमति असंवैधानिक भएको बताएका हुन् ।
उनले भने, ‘सरकार गठनका विषयमा दुई दलवीच भएको सहमति असंवैधानिक छ । यसबारे अरु टिप्पणी म गर्न चाहन्न ।’ प्रचण्डले कोइराला नेतृत्वको सरकारले गर्ने राम्रा कामको समर्थन जनाउने र बाटो बिराउन खोजे आलोचना गर्ने वताए । उनले भने,’ढिलै भए पनि मुलुकले प्रधानमन्त्री पाएको छ, सरकार गठनको प्रक्रियाको थालनी भएको छ ।’
प्रचण्डले संविधान लेखनका लागि भने आफ्नो पार्टी सहमतिका साथ कांग्रेस एमालेसँग मिलेर अघि बढ्ने बताए । उनले भने, ‘संविधान लेखन कार्य अहिलेको प्राथमिकता हो । एक वर्षभित्र संविधान दिनुपर्छ, हामीले त्यसबारे प्रतिवद्धता पनि जनाइराखेका छौँ । ‘
एमाओवादी नेता प्रचण्डले विपक्षमा मतदान गरे पनि संविधान निर्माणमा भने मद्दत गर्ने बताएका छन् । व्यवस्थापिका संसदको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले भने, ‘नवनिर्वाचित प्रधानमन्त्री सुशीलजीले पनि एक वर्षभित्र संविधान बनाउने प्रतिवद्धता जनाउनुभएको छ । जनतालाई नयाँ संविधान दिनुपर्छ । सबैले मद्दत पनि गरौँ, एक वर्षमा नयाँ संविधान बन्नेछ ।’


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले कांग्रेस सभापति सुशील कोइरालालाई ‘विचरा’को संज्ञा दिएका छन् ।
कांग्रेस र एमालेवीच सहमति भई कोइरालालाई एक वर्षका लागि प्रधानमन्त्री बनाइएकोमा व्यंग्य गर्दै थापाले सोमबार व्यवस्थापिका संसदभित्र समय लिएर भने- ‘विचरा सुशील कोइरालाको अहाजै देखि दिनगन्ती शुरु भयो ।’
सुशील कोइराला भद्र र शालीन व्यक्ति भएता पनि केही सैद्धान्तिक विमतिका कारण आफ्नो दलले कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको थापाले संसदमा बताए ।
नेता थापाले पूर्वसभाममुख सुवास नेम्वाङलाई पुनः सभामुख बनाउने सहमतिभएकोमा अग्रीम वधाइ दिादै उनी पनि एक वर्षका लागि सभामुख बन्नुले कांग्रेस एमालेबाट मुलुकलाई तदर्थवादतर्फ धकेल्न खोजिएको आरोप लगाए ।
एकसाता पहिलेसम्म नयाँ राष्ट्रपति बनाउनुपर्छ भन्नेमा व्यवस्थास्थापिका दुईतिहाइ रहेको भन्दै थापाले राष्ट्रपतिको नवीकरण गर्ने कुरा गरेर कांग्रेस र एमालेले जागिरलाई नवीकरण गर्न खोजेको तर्क गरे ।

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि.सं. १९९६ साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । आज उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’ ठहरिएका छन् । वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका कोइरालाले विसं. २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला विगत ५० वर्षदेखि निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् । विसं.०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२ औँ महाधिवेशनबाट कोइराला सभापतिमा निर्वाचित भएका हुन् । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला अहिले समकालीन नेताहरुमध्ये सबैभन्दा सादा जीवन व्यतीत गर्ने पार्टी सभापति हुन् । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि १६ वर्षसम्म प्रवास भारतमा बसेका कोइरालाले कोलकाता र पटनामा पत्रकार सम्मेलन गरी भारतीय एवं अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने महत्वपूर्ण काम गरेका थिए । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला पार्टीको १२ औं महाधिवेशनबाट नेता शेरबहादुर देउवालाई पराजीत गर्दै पार्टी सभापतिमा निर्वाचित हुनुभएको हो । भारतमा क्रुर यातना वि.सं. ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो । विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए । पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए । विसं. ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् । वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् । विसं. ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक-पटक अस्वीकार गर्दै आएका थिए । ०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित भएका कोइराला पार्टीको संसदीय दलको नेतामा शेरबहादुर देउवालाई १६ मतले पराजित गर्दै निर्वाचित भएपछि प्रधामन्त्रीको कुर्सीमा पुग्न सफल भएका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक