20140205

ठुलो सपना बोकेर नेपाली विद्यार्थी गए युके, अहिले भएको छ बिचल्ली, खोइ किन चुके !!!

लण्डन पुगेका थुप्रै नेपालीको बिचल्ली भएको छ । लण्डनस्थित ग्लीण्डर युनिभर्सिटीको स्पोन्सरमा एल एस बी एफ कलेजमा सिमा कोर्समा अध्ययनरत दर्जंनौ नेपाली विद्यार्थी अलपत्र परेका हुन । युनिभर्सिटी र कलेजबीचको सम्झौता तोडिएपछि ग्लीन्डर फिर्ता बोलाइएका उनीहरुलाई विश्वविद्यालयले लिन अस्वीकार
गर्दै देश फर्किन भनिएपछि चार दर्जन बढी नेपाली विद्यार्थी समस्यामा परेका छन् । महंगो शहर लण्डनमा बाँच्न र केही रकम साँच्नका लागि नेपाली विद्यार्थीले काममै जोड दिँदाको परिणाम हो यो । न्यूनतम ८० प्रतिशत हाजिरी, पाँच वटा विषय उत्तीर्ण गरेको नतिजा लगायतका विभिन्न मापदण्ड पूरा गर्न नसकेको भन्दै नेपालीसहित झण्डै दुई सय विद्यार्थीको स्पोन्सर युनिभर्सिटीले रद्द गरिदिएको हो । यस विषयमा युके बोर्डर एजेन्सी (युकेबीए) लाई पनि जानकारी गराइएको भन्दै युनिभर्सिटीले सबै विद्यार्थीलाई ६० दिनभित्र आ–आफनो देश फर्किने तयारी गर्न आग्रहसहित इमेल पनि पठाएको छ । इमेलमा युनिभर्सिटीको निर्णयमा कुनै पुनर्विचार हुन नसक्ने र विद्यार्थीहरुलाई यसको बिरुद्धमा अपिल गर्ने अधिकार नभएको समेत जानकारी गराइएको छ । तर, विद्यार्थीहरुले भने पठनपाठन गराउन पर्याप्त भौतिक पुर्वाधार नभएका कारण विद्यार्थीको कमजोरी देखाएर युनिभर्सिटीले निष्कासन गरेको दाबी गरेका छन । आफूहरुलाई तीन वर्षको शुल्क यसअघि नै एकैपटक बुझाउन लगाएको भन्दै उनीहरुले नियोजित रुपमा विश्वविद्यालयले ठगी गरेको आरोप लगाएका छन् । उनीहरुमध्ये धेरैले सातदेखि आठ हजार पाउण्डसम्म ९करिब १० लाख रुपैंया० शुल्क बुझाएका थिए । झण्डै तीन वर्ष लामो सिमा कोर्सको अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई एक वर्ष पनि पूरा नहुंदै देश फर्किन भनिएपछि पीडित विद्यार्थीहरु यतिबेला आन्दोलित भएका छन । उनीहरुले युनिभर्सिटीले आफनो व्यापारिक स्वार्थका लागि आफूहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डरविरुद्ध हाई कोर्टमा मुद्दा दायर गराएका छन । सो मुद्दामा सोमबार भएको प्रारम्भिक सुनुवाइमा अदालतले विद्यार्थीहरुलाई अध्ययन पूरा नहुंदै देश फर्काउनुपर्ने कारण एक हप्ताभित्रमा पेश गर्न ग्लीन्डरलाई आदेश दिएको पीडितमध्येका एक विद्यार्थी सुमन बिसुरालले जानकारी दिए । त्यस्तै युकेबीए लाई पनि ती विद्यार्थीहरुको विषयमा तत्काललाई कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको उनले बताए । यसअघि पीडित विद्यार्थीहरुले आफूहरुमाथि अन्याय भएको भन्दै कयौंपटक ग्लीन्डर युनिभर्सिटी र एलएफबिएस कलेजमा धर्ना समेत दिएका छन् । गत अप्रिलमा भएको सम्झौताअनुसार ग्लीन्डर युनिभर्सिटीले स्पोन्सर गरेका झण्डै चार सय विद्यार्थीहरु एलएफबिएस कलेजमा सिमा कोर्समा अध्ययनरत थिए । कलेजको स्पोन्सरमा रहेका विद्यार्थीहरुले काम गर्ने अधिकार नपाउने भएकाले धेरै विदेशी विद्यार्थीहरु आकर्षित गर्ने उद्देश्यले सो सम्झौता गरिएको थियो । त्यसक्रममा भर्ना भएका सयौं विद्यार्थीबाट अत्यन्तै कडाइका साथ तीन वर्षको शुल्क सुरुमै उठाइएको थियो । तर, केही समयपहिले सो सम्झौता तोडिएपछि ग्लीन्डरले स्पोन्सर गरेका विद्यार्थीहरुलाई ग्लीन्डरमै पठनपाठन गराउने निर्णय भएको थियो । त्यसक्रममा निर्धारण गरिएका मापदण्ड पूरा गर्न नसकेका विद्यार्थीको स्पोन्सर विश्वविद्यालयले रद्द गरिदिएको हो । तर, ती मापदण्ड पूरा गर्ने अन्य दुई सय विद्यार्थीहरुलाई पनि अन्तरवार्ताको लागि बोलाइएको छ । अन्तरवार्ता पास गर्न नसक्नेहरुको पनि स्पोन्सर रद्द गरिने युनिभर्सिटीले बताएको छ । बेलायतमा अहिले करिब २० हजारको हाराहारीमा नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ । खासगरि, सन् २००९ मा भिसा प्रक्रिया सहज भएपछि करिब १५ हजार नेपाली बेलायत पुगेका थिए । तर, अधिकांश विद्यार्थी कठिन आर्थिक अवस्थासँग संघर्ष गरिरहेका छन् । यो अवधिमा आत्महत्या गर्ने, डिप्रेशन लगायतका रोगको शिकार हुने र पढाइ नसकी नेपाल फर्कने नेपाली विद्यार्थीको संख्या पनि उस्तै छ । कतिपय भने पढाई छाडेर अवैधानिक रुपमा काम गरिरहेका छन् ।
- ध्रुबराज अर्याल, लण्डन 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक